विवाहेत्तर सम्बन्धको सकस ः एउटा बिराउने, शाखा पिराउने  « Khabarhub

विवाहेत्तर सम्बन्धको सकस ः एउटा बिराउने, शाखा पिराउने 



घटना–१
माघ २७ गते ललितपुरको इमाडोलमा एक महिलाले छोरा र छोरीको हत्या गरेपछि आफूले घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरिन् । ३६ वर्षीया रविना महर्जनले घरको छतबाट हाम्फालेको छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घरभित्र जाँदा दुई बालबालिका अचेत अवस्थामा भेटिएका थिए ।

उनीहरूलाई पनि अस्पताल लगिएको थियो । छोरा र छोरीको मृत्यु भएको केही घण्टापछि आमाको मृत्यु भएको थियो । ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको उनले तकियाले मुख थुनेर त्यसपछि आत्महत्या गरेकी थिइन् । छिमेकीका अनुसार परिवार भित्र बेमेल थिएन । तर धेरै नबोल्ने महिला भएकाले कुनै मनमा कुण्ठा थियो कि भन्ने आशंका गरिएको छ ।

घटना–२

फागुन ४ गते झापामा एक महिलाले ५ वर्षीया छोरी सहित आत्मदाहको प्रयास गरिन् । २८ वर्षीया माया रम्तेलले छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाहको प्रयास गरेकी थिइन् । शरीरको अधिकांश भाग आगोले जलेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

छोरीको त्यही दिन नै मृत्यु भएको थियो । केही दिनपछि आमाको पनि मृत्यु भयो । घटनास्थल नजिकै मायाको ‘सुसाइट नोट’ फेला परेको थियो । उक्त नोटमा रम्तेलले आफ्नो पति परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेकी थिइन ।

घटना–३

फागुन ९ गते काठमाडौं नागार्जुनमा एक पतिले श्रीमती, छोरी र नातिनीको हत्या पछि आत्महत्या गरे । ३७ वर्षका राजु भनिने काजी विश्वकर्मा (घिमिरे) ले आफ्नी श्रीमती ३८ वर्षीया प्रेमकुमारी श्रेष्ठ, छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र नातिनी (छोराको छोरी) २ वर्षीया सिवाना श्रेष्ठको हत्या गरेर आत्महत्या गरेका थिए ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार काजीले मर्नुअघि ससुरा र सालीलाई फोन गरेर आफूले हत्या गरेको र आफू पनि मर्न जान लागेको बताएका थिए । उनको शव डेराबाट केही पर ह्वाइट गुम्बाको जंगलमा फेला परेको थियो ।

नाबालक छोराको मोबाइलमा पनि काजीले आफूले हत्या गरेको व्यहोराको भिडियो भेटिएको थियो । भिडियोमा श्रीमतीको विवाहेत्तर सम्बन्धले अप्रिय घटना हुने स्थिति आएपछि हत्या गरेको स्वीकारेका छन् । काजी ईश्वरीका दोस्रो श्रीमान् हुन् ।

अनिशा उनीहरूकै छोरी हुन् । नातिनी भने ईश्वरीको पहिलो श्रीमानबाट जन्मिएका छोराकी छोरी हुन् । हत्याको समयमा नाबालक छोरा र सिवानाकी आमा (बुहारी) बाहिर थिए । सिवानाका बाबु वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।

माथिका प्रतिनिधिमूलक घटनाहरूले पछिल्लो समय पारिवारिक कलहका कारण परिवारका सदस्यहरूको हत्या गरेर आत्महत्या गर्ने क्रूर प्रवृत्तिलाई चित्रण गरेको देखिन्छ ।

 

नेपाल प्रहरीको तथ्याङ्क अनुसार यो पाँच आर्थिक वर्षमा करिब ३३ हजारले आत्महत्या गरेको पाइन्छ ।

प्रहरी प्रवक्ता भीम ढकाल हत्याको प्रवृत्ति फेरिएको बताउँछन् । उनी भन्छन्, ‘दशक पहिले आपराधिक घटना नचिनेका मान्छेबाट हुन्थे । अहिले करिब ८० प्रतिशत अपराध चिनेकाबाट हुन थालेको छ ।’

‘पारिवारिक तनाव, रिसीइबी, आर्थिक संकट, विवाहेत्तर सम्बन्ध जस्ता कारणले व्यक्तिहरुले यस्तो क्रुर निर्णय लिएका छन्, उनले भने ‘पछिल्लो समय परिवार, नातेदार, चिनेका व्यक्ति समाजभित्रै यस्ता घटनाहरु हुन थालेको छ ।’

आधुनिकीकरण र सामाजिक सञ्जालको प्रयोगले परिवार र समाजभित्र नैतिकता, आत्मीयता घट्दै गएको छ । परिवारभित्रकै कलहले अपराधको रुप लिएको ढकालको बुझाइ छ ।

प्रतिशोधले बढायो हत्या र आत्महत्या : समाजशास्त्री

‘पख तँलाई देखाउँछु’ भन्ने बदलाको चरम अवस्थाले हत्या र आत्महत्या बढेको समाजशास्त्री सविता प्रसाई बताउछिन् । आफ्ना सन्तान कै हत्या गर्ने सोच आउने अवस्था भनेको अपराधिक मानसिकता हो ।

उनी भन्छिन्, ‘यो मानसिक रुपमा असन्तुलन मान्छेले मात्रै गर्न सक्छ । मानिसको जीवनमा उतारचढाव आउनु स्वाभाविक हो । हरेक मानिसको जीवनमा दुख पीडा छन् । यसको समाधान मृत्यु नभएको प्रसाईँ बताउँछिन् ।

‘अहिले समाजमा आफ्नै सन्तान र श्रीमतीको हत्या गर्ने अवस्था विवाहेत्तर सम्बन्धले उत्पन्न गराइरहेको छ ।’ यसमा शिक्षा, सचेतना लगायत आर्थिक र सामाजिक कुराहरुले पनि प्रभाव पारिरहेको छ ।

अर्कालाई हानी पुर्‍याउने ‘सोच’ मानसिक बिरामीको लक्षण : मनोचिकित्सक

मनोचिकित्सक डा. ईश्वरी खनालका अनुसार अर्कालाई हानी पुर्‍याउने सोच मानसिक बिरामी भएको बताउँछन् । आत्महत्याको विविध प्रकृतिमध्ये आफ्ना सन्तान वा परिवारको सदस्यको पहिले हत्या गर्ने र पछि आफूले आत्महत्या गर्ने नयाँ ट्रेन्ड सुरु भएको देखिन्छ । सन्तानको हत्या गरेर आफू आत्महत्या गर्नुको दुई कारण छ ।

उनी भन्छन्, ‘पहिले एक आफू नरहेपछि सन्तानले दुख नपाउन भन्ने हो । दोस्रो आफू नरहने भएपछि सन्तान पनि नरहुन् वा उनीहरुलाई पनि हानी गर्ने भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ, ‘अर्को विवाहेत्तर सम्बन्ध देखियो भने सन्तान मेरो होइन भन्ने शंकाले पनि हत्या गरेको देखिन्छ ।’
आत्महत्या कुनै न कुनै मानसिक समस्याको अवस्था हो । ‘९० प्रतिशत बढी आत्महत्याको घटनामा मानसिक समस्या देखिएको खनाल बताउँछन् ।

भन्छन्, ‘आफूले आफूलाई हानी गर्ने आत्महत्याको रुप हो, यो वंशाणुगत पनि हुन्छ ।’ परिवारमा पहिले कसैले गरेको छ भने अर्को पुस्तामा पनि यस्तो घटना हुने सम्भावना हुन्छ । मानसिक विरामी वंशाणुगत हुने उनी बताउँछन् ।

कुनै एक मानिसको आत्महत्याले कम्तिमा १३५ जनालाई प्रत्यक्ष असर पार्ने खनाल बताउँछन् । उनी भन्छन्, ‘प्रत्येक आत्महत्याको पछाडि २०/२५ पटकको असफल प्रयास रहेका हुन्छन् ।’

‘प्रत्येक ४० सेकेण्डमा कुनै न कुनै व्यक्तिले विश्वको कुनै कुनामा आत्महत्या गरिरहेका हुन्छन ।’ ती मृत्यु मध्ये ७७ प्रतिशत आत्महत्या निम्न र मध्यम आय भएको देशमा हुने गरेको खनालले बताए ।

सोच, व्यवहार, जोखिम वा असफल प्रयासलाई समयमा नै पहिचान गर्न सक्यौ भने आत्महत्याको दरमा कमी ल्याउन सकिने उनी बताउँछन् ।

हाम्रो समाजमा अझ पनि मानसिक स्वास्थका बारेमा खुलेर कुरा गर्दा हिनताबोध महसूस गरेको देखिन्छ । तर आफ्ना समस्याका बारेमा परिवार, साथी, मनोचिकित्सक वा मनोपरामर्शदातालाई सुनाउँदा मात्र पनि आत्महत्याका लागि निरुत्साहित बनाउँछ र जीवन जिउने आशा जगाई रहेको हुन्छ ।

आत्महत्याको सोच आउँदा एक्लै बस्न मन लाग्ने, कसैसँग बोल्न मन नलाग्ने , काममा जोस जाँगर नआउने, जिन्दगी बेकार जस्तो लाग्ने, लागूपदार्थ वा मादकपदार्थ सेवन गर्न मन लाग्ने जस्ता लक्षण हुन्छन् । यस्तो अवस्थामा परिवारको सदस्यसँग समय व्यतीत गर्नुपर्ने डाक्टरको सल्लाह छ ।

नेपालको संविधानले हरेक नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूत गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ७ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् ।

द्रष्टव्य : आत्महत्या समस्याको समाधान होइन । आफूलाई परेको समस्याका निर्धक्क बहस गरौं । अनाहकमा बहुमूल्य जीवन बर्बाद नगरौं ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : ०२ बजे

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाडौं–  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय

इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

तेहरान– इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन्

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा