संसद् छिरेका लघुवित्तपीडित भन्छन्– दुर्गा प्रसाईँलाई ‘नो इन्ट्री’ | Khabarhub Khabarhub

संसद् छिरेका लघुवित्तपीडित भन्छन्– दुर्गा प्रसाईँलाई ‘नो इन्ट्री’

‘संसदमा जस्तै अरु ठाउँमा पनि छिरेर देखाउँछौं’ 



काठमाडौं– गठबन्धन सरकारले राजधानीका महत्वपूर्ण प्रशासनिक ठाउँमा निषेधाज्ञा लगाएको धेरै भइसक्यो । सिंहदरबार र संसद् भवन वरपर डोरी टाँगेर सर्वसाधारणलाई समेत हिँड्न रोक लगाइएको छ । तर, यही निशेधाज्ञाकै बीचबाट फागुन १४ गते ४९ जना लघुवित्त पीडितहरू संसद् भवन परिसरमै छिरे र चर्को नाराबाजी गरे ।

 

गाउँबाट न्याय माग्न काठमाडौं आएका ४८ महिलाले सरकारको निषेधाज्ञा र सुरक्षा व्यवस्थालाई सजिलै तोडिदिए । सरकारले अहिले एक पुरुष र ४८ महिलासहित ४९ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ । न्याय खोज्दै आएका उनीहरूमाथि मुद्दा चलाउने सरकारको तयारी छ ।  

आखिर, लघुवित्त पीडितहरू प्रहरीलाई छक्याउँदै कसरी छिरे त संसद् परिसरमा ? लघुवित्त पीडित संघर्ष समितिका लुम्बिनी प्रदेश सचिव अब्दुल साहका अनुसार उनीहरु संसद्को गेट नै तोडेर भए पनि भित्र छिर्ने योजनाका साथ नयाँ बानेश्वर पुगेका थिए । तर, गेट तोड्नै परेन । 

संसदको बैठक सकिएर सांसदहरु गाडीमा बाहिर निस्कने ठिक्क बेला भएको थियो, त्यही मौका छोपेर ४९ जनाको समूह गेटबाट हुरुरु भित्र पसिहाल्यो । भित्र पुगेर नारा लगाउन थालेपछि प्रहरीको भ्यान आइपुग्यो र कसैलाई नछुटाई ४९ जनालाई नै गाडीमा कोचेर नयाँ बानेश्वर प्रहरीवृत्तमा पुर्‍याइयो । 

अरु ठाउँमा पनि छिर्ने तयारी  
लघुवित्त पीडित संघर्ष समितिका प्रदेश सचिव साहले संसद् भवन प्रवेश अन्तिम नभएको चेतावनी दिए । सरकारसँग गुहार माग्दा वेवास्ता गरेपछि सरकार ब्युँझाउन संसद् भवनमा छिर्नुपरेको उनले बताए । सरकार भन्दा जनता ठूलो हो भनेर देखाउन संसद् भवन छिरेको उनले बताए । साहले भने, ‘सरकार सुतेको छ कि ? कान त तताउनुपर्यो, ब्युझाउनुपर्यो ।’ 

साहले भने ‘४८ जना महिला र एक जना पुरुष पक्राउ परेका छन् । हामी मर्न तयार छौ । जे पनि हुन सक्ने तयारीमा हामी प्रवेश गरेका हौं । मुद्दा हालिसक्यो, एकहप्ताको म्याद थप गरेको छ ।’ 

संसद् पस्नुभन्दा तीन दिनअघि फागुन ११ गते नेपाल राष्ट्र बैंक अगाडि जुलुस प्रदर्शन भएको थियो । अब्दुल भन्छन्, ‘निषेधाज्ञा  तोडेको आरोपमा १६ जना हिरासतमा पुगे । रातभरि राखेर प्रहरीले भोलिपल्ट छोडिदियो । सरकारले कुनै वास्ता नगरेपछि यो प्रकृतिको आन्दोलनले नहुने रहेछ भनेर संसद् भवन छिरेका हौं ।

पीडितहरू ठूलो सङ्ख्यामा काठमाडौं भित्रिँदै
मिटरब्याज पीडितहरुजस्तै लघुवित्त पीडितहरू पनि काठमाडौं छिरेका छन् । उनीहरु फागुन १ गतेदेखि चितवनको मुग्लिनबाट काठमाडौंका लागि हिँड्न सुरु गरेका थिए । उनीहरु फागुन ६ गते काठमाडौं आइपुगे ।

हाल भइरहेका प्रदर्शनमा ६५ जिल्लाका पीडितहरू सहभागी छन् । टोलीमा ७०- ७५ वर्ष पुगेका वृद्ध-वृद्धा पनि छन् । आफूहरू १२ हजारको सङ्ख्यामा रहेको संघर्ष समितिका नेताहरूको दाबी छ ।

न्याय माग्दै ठूलो सङ्ख्यामा काठमाडौं छिरेका लघुवित्त पीडितहरू अहिले पशुपति क्षेत्रका भण्डारखालमा आश्रय लिएर बसेका छन् । संसद भवनको घटनापछि प्रहरीले उनीहरुलाई भण्डारखालबाट बाहिर निस्कन दिएको छैन । पक्राउ परेका ४९ जना भने प्रहरी कार्यालयमै छन् ।  साहले अरु निषेधित ठाउँमा पनि यसैगरी छिरेर देखाउने बताए ।

तराईबाट काठमाडौं प्रवेश गर्दा हावापानी नमिल्ने रहेछ । धेरैजना बिरामी भएको उनले खबरहबलाई सुनाए । उनले भने, ‘औधषिउपचार गर्नुपरेको छ । ज्वरो, रुघाखोकी, हातखुटा दुख्ने भएको छ । अझै बाटोमा अरु आइराखेका छन् । बस्ने ठाउँको समस्या भयो । पानी छैन, ट्वाइलेट छैन, व्यवस्थापनमा निकै समस्या भएको छ ।’ 

साह भन्छन्, ‘प्रहरीले मंगलबारदेखि गौशाला भण्डारखालबाट बाहिर निस्कन दिएको छैन । नास्ता खान बाहिर जान्छु भन्दा पनि दिएका छैनन् ।’

‘जनयुद्ध लडियो, प्रहरीको बन्दुकसँग डर छैन’
लघुवित्तका कर्मचारीले घरमा बस्नै नदिएकाले आउनुपरेको पीडितको गुनासो छ । नेपालगञ्जदेखि काठमाडौं आएकी गंगा घर्ती उमेर ४७ वर्ष पुगिन् । उनले न्याय नपाउदाँसम्म काठमाडौंमै बस्ने बताइन् ।

गंगा भन्छिन्, ‘अब अर्कोपालि म संसद् भवन छिर्ने हो । म सशस्त्र आन्दोलनकी लडाकु पनि हुँ ।’

ठूलो छोरा तीन महिनाको हुँदा जनयुद्ध लडेको गंगा बताउँछिन् । उनी भन्छिन्, ‘अहिले त्यो छोराले भर्खर प्रहरीमा जागिर खाएको छ । मलाई बन्दुक, गोलीसँग डर छैन । न्यायको लडाइँका लागि छातीमा गोली थाप्न तयार छु । ’

लघुवित्तका कर्मचारीले ४० वटा नम्बरबाट फोन गरेर लोकसेवा पढ्न बसेकी २४ वर्षकी छोरीलाई टर्चर दिएको गंगाले सुनाइन् । छोरीलाई लघुवित्तले दिएको टर्चरले आफूलाई रोगी बनाएको उनी बताउँछिन् ।  भन्छिन्,  ‘केही समय अगाडि मात्रै बिहे गरेका ज्वाइँले पनि थाहा पाए । छोरी छोड्दिने हुन् कि भन्ने चिन्ता छ ।  

काठमाडौंमा आफैले खानाको व्यवस्था गर्नुपरेको र दैनिक ५ सय रुपैयाँ खर्च भएको गंगाले सुनाइन् । उनले भनिन्, ‘महिला दिदीबहिनीलाई घरमा बस्यो, लघुवित्तका कर्मचारीले बाँच्न दिएका छैनन् । हामीले १८ सय भन्दा बढी महिलाहरूलाई गुमाइसक्यौँ । उनीहरूले आत्महत्या गरे । एकलाख भन्दा बढी महिला विस्थापित भए । कसैको डिभोर्स भयो, कसैले लघुवित्तको ऋण तिर्न घर जग्गा बेचेर सडकमा आए ।’

उनले थपिन्, ‘पाँच लाख महिला विदेश पलायन भए, इन्डियाका गल्लीमा ज्याला मजदुरी गरेर बस्नुपरेको छ । त्यसरी कमाएको पैसाले ब्याज र किस्ता तिर्नुपर्ने अवस्था छ । त्यसैले दिदीबहिनीहरु प्रहरी, बन्दुक कसैसँग डराउँदैनन् ।’ 

गंगा काठमाडौं आएको १५ दिन भयो । उनी भन्छिन्, ‘अहिलेसम्म कुनै पार्टीका नेताहरु हाम्रो समस्या समाधानका लागि न बोल्छन्, न भेट्न आएका छन् । कसरी बसेका छन् भनेर हेर्नसमेत कोही आएको छैन ।’ 

‘मरे पनि मै मरौंला भनेर काठमाडौं आएँ’

नेपालगञ्जकी मातासरी गुरुङ उमेरले ६१ वर्ष पुगिन् । लघुवित्तका कर्मचारीले दिनरात घरमा आएर बसिनसक्नु गराएपछि घर छोडेर आन्दोलनमा आएको उनले सुनाइन् ।

मातासरी भन्छिन्, ‘किस्ता, ब्याज जति तिरे पनि सकिँदैन । एक समूहमा बसेँ, त्यो समुहको ऋण तिर्न अर्को समुहबाट निकालियो, त्यसलाई तिर्न अर्को समुहबाट निकालियोत्यसैगर्दा गर्दा–गर्दा धेरै समूह बन्यो ।’

जग्गा बेचेर तिर्दा पनि ऋण नसकिएको निराशापन उनीभित्र गहिरो थियो । केही बाँकी नरहेपछि सडकमा नआउनुको विकल्प नरहेको उनले सुनाइनन्
मातासरी भन्छिन्, ‘छोरानाति छन्, तिनले के खाने, कसरी बाँच्ने ? मरे पनि मै बुढी मरौँला भनेर आन्दोलनमा आएकी हुँ । घरमा बस्नै नदिएपछि के गर्ने ?’

दुर्गा प्रसाईँलाई ‘नो इन्ट्री’
लघुवित्त पीडितको आन्दोलन भन्नेबित्तिकै धेरैले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सम्झन्छन् । किनभने, प्रसाईँले आफ्ना हरेक भाषणमा लघुवित्त, सहकारी र बैंकका ऋणीहरूको कुरा उठाउने गरेका छन् ।

तर, संसद् भवन प्रवेश लगायतका कार्यक्रममा दुर्गा प्रसाईँको हात छैन । यो आन्दोलनको नेतृत्व मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त पीडित संघर्ष समितिले गरिरहेको छ । 

संघर्ष समितिका प्रदेश सचिव साह दुर्गा प्रसाईँले पीडितहरूको आन्दोलनलाई राजावादीसँग जोडेर राजनीतिकरण गरेको आरोप लगाउँछन् । त्यसैले दुर्गा प्रसाईँलाई यो आन्दोलनमा छिर्न नदिने उनी बताउँछन् ।

साहले प्रसाईँबारे खबरहबसँग भने, ‘उनी राजनीति गर्छन् तर यो संघर्ष समिति पीडितहरूको आन्दोलनका लागि स्थापना भएको हो । लघुवित्तका पीडितले न्याय पाउनुपर्छ, यो राजनीति गर्ने अखडा होइन ।’ 

सरकारले जस्तो परिस्थितिमा लैजान्छ, त्यही अनुरूप आन्दोलन हुने साहले बताए । उनले भने, ‘सरकारले हाम्रो पीडा बुझिदियोस्, हामी गाउँ फर्किन्छौँ । हामी यहाँ नेता बन्न आएका होइनौँ ।’ 

याे पनि…

लघुवित्त :२३ लाख नेपालीको ऋणमोचन कति सम्भव ?

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ५ : १३ बजे

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको

एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौं– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

काठमाडौं- ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता 

काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि