खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार | Khabarhub Khabarhub

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार



किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका चर्चाको केन्द्रमा थियो, चलन चल्तीको शब्दमा पानीढुंगा अर्थात ‘खुवालुङ’ । तर पछिल्लो समय गुमनाम जस्तै बनेको ‘खुवालुङ’ फेरि एक पटक चर्चामा आएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको मन्त्रिपरिषद्ले मंगलबार ‘खुवालुङ’ संरक्षण गर्ने निर्णय गरेपछि ‘खुवालुङ’ चर्चामा आएको हो । प्रदेश राजधानी कायम भएपछि पहिलो पटक विराटनगर बाहिर धनकुटा रहेको सम्पर्क कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पवित्र तीर्थस्थल खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा विकास गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका सम्शेर राईले प्रदेश सरकारले किराती समुदायको आस्था केन्द्र रहेको ‘खुवालुङ’लाई संरक्षण गर्ने एजेण्डा नीति तथा कार्यक्रममा समावेश भएकाले सोही अनुसार ‘खुवालुङ’ संरक्षण र प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताए ।

मन्त्री राईले ‘खुवालुङ’ तुवाचुङ र हलेसीलाई धार्मिक सांस्कृतिक स्थलका रुपमा विकास गरेर लाने सरकारको नीति रहेको बताए । कसरी यी  तीन धार्मिक एव पर्यटकीय क्षेत्रलाई संरक्षण गर्दै विकास गर्न सकिन्छ भनेर किरात संस्कृतिका जानकार विज्ञसहितको एक कार्यदल बनाएर उनीहरूले दिएको प्रतिवेदनका आधारमा काम अगाडि बढाउने प्रदेश सरकारको योजना रहेको मन्त्री राईले जानकारी गराए । 

हलेसीको विकास र प्रवर्द्धनका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भएपनि खुवालुङ,  तुवाचुङको संरक्षणका लागि सरकारको नीतिमा समावेश गरिएकोले ती क्षेत्रको लागि छुट्टै बजेट व्यवस्थापन गर्ने जनाइएको छ । 

खुवालुङ उदयपुरको मैनामैनी र धनकुटाको साँगुरीगढी गाउँपालिकाको संगमस्थलमा रहेको सप्तकोशी नदीको बीचमा त्रिवेणी भन्ने स्थानमा छ । किरात धर्मावलम्बीहरूको अलिखित मुन्धुममा उल्लेख भए अनुसार खुवालुङको इतिहास ६ हजार वर्ष पुरानो छ ।

पूर्वीय सभ्यतासँग समेत जोडिएकाले त्यसको संरक्षणको विषयले चर्चा परिचर्चा पाउँदै आएको छ । किराती समुदायले ‘खुवालुङ’ संरक्षण र प्रवर्द्धन गर्न सके विश्वभरका किरातीको प्रसिद्ध धार्मिक स्थलका रूपमा यसलाई चिनाउन सकिने बताउँदै आएका छन् ।

‘खुवालुङ’सुनसरीको सप्तकोशी तिरमा रहेको हिन्दु धर्मावलम्बीहरूको तीर्थस्थल बराहक्षेत्रदेखि करिब ५ किलोमिटर उत्तरमा छ । जहाँ उत्तरपश्चिमबाट सुनकोशी, दूधकोसी, भोटेकोशी, तामाकोशीलगायतका नदी मिसिएर आउँछन भने उत्तरपूर्वबाट आएका अरुण र तमोर नदी जोडिएपछि सप्तकोशीमा परिणत हुन्छ । 

सप्तकोशी नदीमा जल यातायातलाई सहज बनाउन ‘खुवालुङ’ फुटाउन लागेको भनेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले भाषण गरेपछि किरात अगुवाहरूले यसको विरोध  गरेका थिए ।

८ फागुन २०७७ मा विराटनगरमा आयोजित एक सभामा तत्कालीन  प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशीमा जेटबोट चलाउने बारे लामो भाषण गरे । उक्त भाषणमा उनले जेटबोट चलाउने आफ्नो योजनामा तगारो बनेको सप्तकोशी माझको एउटा ढुंगो क्रेन लगाएर फुटाउने बताएका थिए । त्यसलगतै किराँत अगुवाहरूले यसको विरोध  गरेका थिए । 

सप्तकोशीमा जल यातायात सुचारु गर्न अन्य विकल्पहरु नखोजी सरकारले खुवालुङ (पानीढुंगा) फुटाउने बताएपछि संस्कृतिकर्मी, सम्पदाविद्, वृहत नागरिक आन्दोलन लेखक, संरक्षणकर्मीहरुले ‘खुवालुङ बचाउ आन्दोलन’ चलाएका थिए । नागरिक तहमै विरोध भएपछि तत्कालीन  सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो ।  

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीयल दलका नेता इन्द्र आङ्म्बोले किरातीहरुको धार्मिक आस्थाको केन्द्र रहेको  खुवालुङलाई प्राकृतिक रुपमा कायम गर्न त्यसलाई फुटाउने भन्दा पनि संरक्षण गर्ने उद्देश्यले आफू आर्थिक मामिला तथा योजना मन्त्री भएको समयमा सरकारी तहबाट सम्बोधन गरेको बताए । 

खासगरी किरात समुदायले त्यहाँ साकेला थान बनाउन माग गरेको र त्यही अनुसार नै गुरुयोजना  निर्माण भइसकेकोले राज्यले त्यहाँ निकै ठूलो लगानी लगाउनुपर्ने र सो अनुसारको ठूलो प्रतिफल आइहाल्ने अवस्था नरहेको भन्दै आङ्म्बोले भने ‘खुवालुङ धार्मिक र सांस्कृतिक स्थल हो, त्यसैले त्यसको संरक्षणमा सरकार लाग्नु पर्छ ।’

चर्चा बढी, काम कम
तात्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८ र ०७९ को बजेट भाषणमा सप्तकोशीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए ।

 किराती समुदायले आफ्नो आस्थाको केन्द्र रहेको भन्दै संरक्षणमा सरकार लाग्नु पर्नेमा उल्टै खुवालुङ फुटाउने योजना विरुद्ध संस्कृतिकर्मी, सम्पदाविद्, लेखक र संरक्षणकर्मीहरुले ‘खुवालुङ बचाउ आन्दोलन’ चलाएका थिए । जसबाट सरकार ‘खुवालुङको  फुटाउने आफ्नो निर्णयबाट पछि हटन बाध्य भएको थियो । तात्कालिन समयमा ‘खुवालुङ  फुटाउने सरकारी योजनालाई विफल तुल्याउने कार्य भएपनि  किराँतीहरुको मुन्दुमी शक्ति केन्द्र सांस्कृतिक स्थल भनिएको ‘खुवालुङको विकास र प्रवर्द्धनका निम्ति त्यसयता कुनै काम हुन सकेको देखिदैन ।

किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष दोर्पाध्वज राईका अनुसार ‘खुवालुङ’ फुटाउने कार्य विफल भएपनि संरक्षणको काम हुन सकेन । संघीय सरकारसंग पौंठेजोरी खेलेको प्रदेश सरकारले खुवालुङलाई ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गर्ने बताएको थियो । 

प्रदेश नम्बर १ सरकारको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक नीति तथा कार्यक्रमको १३५ बुँदामा ‘किराती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ्ग ढुंगाको संरक्षण गर्दै जलयातायात सँगै त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिनेछ’ उल्लेख गरिएको थियो ।  

सप्तकोशीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने संघीय सरकारको नीति तथा कार्यक्रम विपरित प्रदेश सरकारले भने खुवालुङलाई संरक्षण गर्दै जल यातायात सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याएको बताए पनि स्थिर सरकार नहुँदा सरकारले बजेट तथा नीति कार्यक्रममा समावेश कार्यक्रम कार्यान्वयनमा जान सकेन । किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष राईले प्रदेश सरकारले तत्कालीन समयमा खुवालुङ संरक्षण र प्रर्वद्धनका लागि केही प्रयास गरेपनि अस्थिर राजनीतिक कारण कार्यान्वयनमा जान नसकेको बताए ।

उनले तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा खुवालुङ संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वृहत गुरुयोजना बनाउने पहल गरिएपनि त्यसले सार्थकता पाउन नसकेको प्रस्ट पारे । 

अहिले संघबाट पनि चालु आर्थिक वर्षमा खुवालुङसहितका अन्य ६ वटा क्षेत्रलाई समेट्दै संरक्षण र प्रवर्द्धनका निम्ति ९० लाख बजेट विनियोजन गरिएको भएपनि कामको सुरसार छैन । 

देउता घर बनाउन २ रोपनी जग्गा दाताबाट उपलब्ध भएको र थप १५ लाख रुपैयाँमा  ३ रोपनी जग्गा खरिद गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ । 

उपाध्यक्ष राईले खुवालुङलाई किरात (राई, लिम्बू, याक्खा, सुनुवार) समुदायले आस्थाको केन्द्र मान्दै आएकाले सुनकोशी, अरुण र तमोरको त्रिवेणी एवं उदयपुर, धनकुटा र भोजपुरको सिमानामा रहेको खुवालुङलाई पवित्र धार्मिकस्थल वराह क्षेत्रजस्तै बनाउन सकिने स्पष्ट गरे । 

पुर्खा जोड्ने सेतू
किरात राई भाषामा ‘खुवा’ भनेको पानी हो भने ‘लु’भनेको ढुंगा । कोशीको बीचमा भएको यो ढुंगालाई सोही कारण खुवालुङ भनिएको हो । यसलाई पानीढुंगो पनि भन्ने गरिएको छ । अनुसन्धाता एवम लेखक भोगिराज चाम्लिङका अनुसार मुन्धुमी लोककथाअनुसार किरातीका पुर्खा खुवालुङ क्षेत्रबाट बाँडिएका हुन् । 

‘उहिले किराँती पुर्खाहरूले पार गर्ने बेला खुवालुङ बन्द थियो । पहिलो समूहले खुवालुङ खुलाउन जुरेली चराको भोग दियो । चराको रगत परेपछि खुवालुङ खुल्यो र पहिलो समूहले नदी पार गर्‍यो’, खुवालुङको ऐतिहासिक पृष्ठभूमि प्रष्ट गर्दै चाम्लिङ थप्छन ‘त्यसपछि दोस्रो समूह आइपुग्यो र आफ्नै चेलीको औंला थोरै चोट पारेर खुवालुङलाई रगत पारिदियो । खुवालुङ खुल्यो । उनीहरू पनि कोशी तरेर पहाडतर्फ उक्लिए ।’

किराती पुर्खाका थुप्रै समूहले पटकपटक खुवालुङ पार गरेको र खुवालुङ पार गरेपछि किरातीहरू आआफ्नो बाटो लागेको चाम्लिङ बताउँछन । सप्तकोशीका विभिन्न धार समातेर हिँड्नेहरु प्रकारान्तरले किरात समुदायका विभिन्न हाँगामा बाँडिएको उनी बताउँछन । उनका अनुसार जसले  तमोर पछ्यायो, उनीहरू अहिले लिम्बू भनेर चिनिन्छन

अरुण नदीको धार पहिल्याउँदै अघि बढ्नेहरु याम्फू, लोहरूङ, मेवाहाङ राई भनेर चिनिए । जुन समूहले  दूधकोशी पछ्यायो, उनीहरू तिलुङ, चाम्लिङ, वाम्बुले, जेरोङ, बाहिङ-बायुङ, बान्तवा, साम्पाङ, दुमी, कोयी, कोयू, कुलुङ, खालिङ, नाछिरिङ, थुलुङ राई भनेर चिनिएको र सुनकोशी पछ्याउनेहरु कोँइच सुनुवार, जिरेल, सुरेल, हायू, थामी भनेर चिनिएको उनी बताउँछन् ।  त्यस्तै खुवालुङ नतरी तराईमै बस्नेहरु थारू, धिमाल, मेचे, कोचे बनेर चिनिए । 

‘मुन्धुमी मिथकले खुवालुङलाई किरातीहरूको साझा थलोका रूपमा व्याख्या गरेको छ’, चाम्लिङ भन्छन् ‘मुन्धुमअनुसार खुवालुङभन्दा मुनि दक्षिणतिरको भूभाग थारू, धिमाल, मेचे, कोचेहरूको हो, उत्तरतर्फको भूभाग किरातीहरूको । त्यसैले खुवालुङ एउटा सांस्कृतिक सिमाना पनि हो ।’ खसवालुङ किरात नछुङ (धामी)हरूले धेरै  संस्कार गर्ने क्रममा पुकार्ने थलो पनि हो ।

‘सांस्कृतिक यात्राको थालनी नियामा भन्ने आदिम थलोबाट सुरु भएर पैतिप, जोजिला, खैबर, जम्मु, योँला, थारू–बाजी–साप्ते, वराहा–चतरा हुँदै खुवालुङ आइपुग्छ’, चाम्लिङ थप्छन् ‘अर्को भाषामा भन्दा किरातीहरूको आदिम बसाइँसराइको वर्णनका क्रममा उल्लेख हुने एउटा महत्वपूर्ण  थलो पनि हो खुवालुङ ।’

किरात धर्मग्रन्थ ‘मुन्धुम’मा पनि खुवालुङबारे प्रष्ट उल्लेख गरिएको खम्बु बताउँछन् । उनी भन्छन्, ‘किरात समुदायले कुनै कार्य (अनुष्ठान) शुरू वा अन्त्य गर्दा खुवालुङको नाम उच्चारण गर्ने परम्परा छ ।’ मुन्धुम अनुसार नै किरातीको पुर्खा खुवालुङलाई सिमाना मानेर विभिन्न क्षेत्रमा फैलिएको जनविश्वास रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ४ : १६ बजे

धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०/८१

हनुमन्ते नदी पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान

भक्तपुर – भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि

दार्चुलाबाट लक्ष्यभन्दा कम यार्सागुम्बा निकासी

दार्चुला – गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम

गाजामा मृत आमाको कोखबाट नवजात शिशुको उद्धार

गाजा – इजरायली आक्रमणमा ज्यान गुमाएकी एक आमाको कोखबाट एक

सालको अवैध काठसहित भारतीय सफारी गाडी नियन्त्रणमा

रौतहट –सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्रबाट