इलाममा खोई माओवादीको भोट ? | Khabarhub Khabarhub

इलाममा खोई माओवादीको भोट ?


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेर आफ्नो उम्मेदवार नै उठाएको थिएन । तर, आइतबार फाकफोकथुम गाउँपालिकाको मतगणना भइरहँदा माओवादीको भोट एमालेमा ‘ट्रान्सफर’ भएको देखिएन । माओवादीको भोट ट्रान्सफर नहुँदा सुरुवाती चरणमा कांग्रेसले अग्रता पायो ।

प्रमाणका लागि फाकफोकथुम वडा नम्बर १ को नतिजा हेरौं ।

गत स्थानीय चुनावमा वडा नम्बर १ मा कांग्रेस र माओवादीका बेग्लाबेग्लै उम्मेदवार थिए । कांग्रेसका वडाध्यक्ष कर्णबहादुर लिम्बुले एक्लै ८०४ भोट ल्याएर जितेका थिए । यहाँ माओवादीका भोजबहादुर बोहोराले २२६ मत ल्याएका थिए । एमालेका बेगबहादुर निरौलाले ४७७ मत पाएका थिए ।

उपचुनावमा वडा नम्बर १ बाट एमाले र माओवादी मिल्दा यहाँ ७ सयको हाराहारीमा मत खस्नुपर्ने हो । तर, सुहाङले ५३४ मत मात्रै पाएका छन् । कांग्रेसको मत पनि ८ सय बाट घटेर ६५७ मा झरेको छ । एमालेको भागमा विगतको भन्दा ६७ मत मात्रै थपिएको छ । यसले प्रश्न जन्माएको छ– आखिर कहाँ गयो माओवादीको २२६ मत ?

स्थानीय चुनावमा वडा नम्बर २ मा कांग्रेस र माओवादी मिल्दा ७१४ मत आएको थियो । एमालेले एक्लै ७०७ मत ल्याएको थियो । तर, अहिलेको उपचुनावमा यो वडामा एमालेको मत ७ सयबाट घटेर ५२९ मा खुम्चिएको छ । माओवादीले सघाउँदा मत बढ्नुपर्ने उल्टो पहिलेको भन्दा घटेको छ । यो वडामा त माओवादीले एमालेलाई भोटै दिएको देखिएन । कांग्रेसले पहिले माओवादीसँग मिल्दा ७ सय ल्याएको थियो, अहिले ४८८ मा झरेको छ । यो वडामा पनि प्रश्न उब्जेको छ- कहाँ गयो माओवादीको मत ?

फाकफोकथुम वडा नम्बर २ बाट पूर्वमाओवादीसमेत रहेका मिलन लिम्बु (रास्वपा)को पक्षमा ९४ मत खसेको छ भने स्वतन्त्र मुढामा १२४ मत परेको छ । कतै माओवादीको मत एमालेमा नपरेर त्यता खसेको त होइन ? प्रश्न गर्ने ठाउँ छ ।
अब वडा नम्बर ३ को माओवादी मत हेरौं ।

गत स्थानीय चुनावमा फाकफोकथुम वडा नम्बर ३ मा एमालेले एक्लै  जितेको थियो । यहाँ एमालेका दिपेन्द्र लिम्बुले एक्लै ७५८ मत ल्याएका थिए । कांग्रेसका उपेन्द्र पौडेलले एक्लै ६७२ मत ल्याएको थियो । माओवादीका ठटबहादुर राईले वडाध्यक्षमा २९ मत ल्याएका थिए ।

अहिले उपचुनावमा माओवादीले सघाएका बेला सुहाङले स्थानीय चुनावमा एमालेले एक्लै पाएको भन्दा कम मत बटुलेका छन् । यहाँ सुहाङको पक्षमा ५५८ मत मात्र परेको छ । जबकि स्थानीय चुनावमा एमालेले एक्लै ७५८ मत पाएको थियो । माओवादीको २९ मत थपिनुपर्नेमा एमालेले यस वडाबाट २ सय मत गुमाएको छ ।

हुन त वडा नम्बर ३ मा कांग्रेसको मत पनि ६७३ बाट घटेर ५०३ मा खुम्चिएको छ । नयाँ भनिएका मुढा र घण्टीले यस वडाबाट क्रमशः ११७ र ९७ मत लगेका छन् । प्रश्न त यो वडामा पनि उही नै छ- खोई माओवादीको मत ? सुहाङले किन पाएनन् माओवादीको भोट ?

फाकफोकथुमका तीनवटा वडामा मतगणना सकिँदा माओवादीको भोट एमालेमा ट्रान्सफर भएको भए सुहाङले सहजै अग्रता दिनुपर्ने हो । तर, एमालेले अपेक्षित नतिजा पाउन सकेन । तथापि, साँझ पर्दै गएपछि बल्ल सुहाङले कांग्रेसलाई पछि पार्दै अग्रता लिएका छन् ।

वडा नम्बर ४ ले सुहाङलाई अग्रता दिलाएको हो । यो वडाबाट सुहाङले ९१२ मत पाउँदा कांग्रेसका डम्बर खड्काले ५३९ मत मात्र पाए । यस वडामा मुढाले १६३ र घण्टीले ७१ मत पाए ।

यो वडामा भने एमालेले शानदार फिलता पाएको छ । गत स्थानीय चुनावमा यो वडामा नेपाली कांग्रेसले १०१९ मतका साथ जित हात पारेको थियो भने एमाले ८६८ मात्र पाएको थियो । अहिले यहाँबाट सुहाङले झण्डै ४ सय मतले अग्रता लिएका छन् । यो वडामा माओवादीको मत कति थियो भन्ने स्पष्ट छैन । किनभने स्गानीय चुनावमा यस वडामा माओवादीको कुनै अस्थित्व देखिएको थिएन ।

आखिर माओवादीको भोट अपेक्षितरुपमा सुहाङ नेम्वाङमा किन ट्रान्सफर हुन सकेन ? यो प्रश्न एकातिर छँदैछ, अर्कोतर्फ आगामी दिनमा देशको राजनीतिमा माओवादी पार्टीकै भूमिका के होला भन्ने प्रश्न पनि यो उपचुनावले जन्माएको छ ।

केन्द्रमा गठबन्धन गरे पनि रास्वपाले आफ्नै उम्मेदवार खडा गरेर मतदातालाई भोट हाल्ने ठाउँ दिनुका साथै आफ्नो दलको स्वतन्त्र पहिचान रक्षा गरेको छ । एकीकृत समाजवादीले पनि थोरै नै मत आए पनि उम्मेदवार खडा गरेको छ ।

तर, सरकारको नेतृत्व गरिरहेको माओवादीले भने न आफ्नो उम्मेवारी दिन सक्यो, न त गठबन्धनप्रतिको इमान्दारिता नै निभाउन सक्यो । यसले भविष्यमा माओवादीको अस्थित्वमाथि नै प्रश्न उब्जाउने संकेत फमफोकथुमले दिएको छ ।

यो पनि- 

फाकफोकथुमको रस्साकसी : कांग्रेस र एमालेलाई पुरानो जनमत जोगाउन हम्मे

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : २५ बजे

वैतेश्वरको मैनापोखरीमा तीज विशेष सांस्कृतिक महोत्सव हुने 

मैनापोखरी– दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाले नेपाली हिन्दु नारीहरूको

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै

दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङ – यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी