पाइतालामुनि गाडिएको बमको त्रास, हजार वर्षमा पनि छिमल्न असम्भव  | Khabarhub Khabarhub

युद्ध कहर

पाइतालामुनि गाडिएको बमको त्रास, हजार वर्षमा पनि छिमल्न असम्भव 



प्रथम र द्वितीय विश्वयुद्ध समापन भएको शताब्दी भइसक्दा पनि ती युद्धले छोडेर गएको त्रासले पृथ्वीवासीलाई त्यतिकै पीडा दिइरहेको छ । प्रथम विश्वयुद्ध ताका सुरुवात गरिएको ल्याण्डमाइन अर्थात् जमिनमा बिछ्‌याइएको विस्फोट पदार्थले प्रतिवर्ष विश्वमा हजारौँ मानिसको ज्यान जाने गरेको छ ।

अपाङ्ग हुनेको सङ्ख्या पनि हजारौँ छ । विश्वको परमाणु शक्ति सम्पन्न तथा गृहयुद्धमा होमिएका राष्ट्रहरू मात्र नभएर नेपाल जस्तो मुलुक पनि अहिले यसको चपेटामा परेको छ । माओवादी युद्धताका राखिएका भूमिगत  विस्फोटले अहिले पनि जनधनको क्षति हुने क्रम रोकिएको छैन । केही महिनाअघि पाँचथरमा दुई अबोध बालबालिकाले ज्यान गुमाए । वर्षेनी यस्ता अप्रिय घटनाका खबर आउन छोडेका छैनन् ।

भूमिगत विस्फोटको सुरुवात कसरी भयो भन्ने जानकारी लिऊँ– प्रथम विश्वयुद्धमा अमेरिकालगायत अन्य शक्ति राष्ट्रहरूले हवाईका अलावा स्थलगत आक्रमण गर्न थालेपछि उनीहरूलाई मार्न युरोपेली मोर्चाले जमिनमुनि विस्फोट पदार्थ ओछ्याएको थियो । त्यसताका उक्त भूमिगत बारुदी बम विष्फोट हुँदा एक बमबाट १ देखि ५ जनासम्म विपक्षी सेना मारिएका थिए । कालान्तरमा यही बारुदी बमलाई शक्तिशाली बनाइयो । र दोस्रो विश्वयुद्धमा उक्त शक्तिशाली विष्फोटक पदार्थ जमिनमा बिछ्‌याएर युद्धको प्रयोग गरिएको ट्याङ्कर ध्वस्त गरियो । भूमिगत विष्फोटक पदार्थ ओछ्याएको ठाउँबाट युद्धका लागि ट्याङ्क लैजाँदा उक्त बारुदी बम विष्फोट भएर ट्याङ्कको अलावा सैनिक पनि मारिन्थे ।

प्लास्टिक प्रयोग गरेर बनाइएका बारुदी बमहरू जमिनमा बिछ्याएपछि उक्त ठाउँ नजिक युद्धक ट्याङ्क आएपछि एक निश्चित दूरीभित्र कम्पनले विस्फोट भएपछि ट्याङ्क तथा सैनिक ध्वस्त हुन्थे ।

त्यसबेला टिनको बट्टामा प्राणीनाशक बारुद भरेर विस्फोट पिन त्यो बट्टामा नियमानुसार फिट गरी जमिनमुनि बिछ्याइन्थ्यो । उक्त पिन यस्तो तरिकाले तय गरिन्थ्यो कि त्यहाँ माथिबाट मानिस अथवा अन्य प्राणी स्वतः विस्फोटमा पर्थ्यो । जर्मनीले सन् १९३५ बनाएको उत्तर अफ्रिकाको मुहिममा सन् १९४१ मा विस्फोट भएको एस माइन विस्फोट पदार्थ भने एन्टी प्रोसोनल माइन थियो । जुन बेलनाकारको टिनको बट्टामा बारुदको साथै धातुको तत्व भरेर जमिनमुनि बिछ्‌याइएको थियो । त्यसको विस्फोट पिनमा एउटा तार जोडेर जमिनमाथि राखिएको थियो । उक्त संवेदनशील तारमा मानिस अथवा कुनै प्राणी अल्झनासाथ त्यो विष्फोट हुन्थ्यो ।

यसप्रकार जमिनमुनि विस्फोट पदार्थ राख्न लागियो । तत्कालै बेलायत र अमेरिकाजस्ता त्यसबेलाका शक्तिशाली मुलुकहरूले यीभन्दा पनि अत्यन्त घातक प्राणीनाशक भूमिगत विस्फोट पदार्थ निर्माण गरेर जमिनमा बिछ्याउन थाले । द्वितीय विश्वयुद्धपछि यी मुलुकले बनाएको भूमिगत विस्फोट अरु मुलुकले बनाएभन्दा आधुनिक थिए ।

प्लास्टिक प्रयोग गरेर बनाइएका बारुदी बमहरू जमिनमा बिछ्याएपछि उक्त ठाउँ नजिक युद्धक ट्याङ्क आएपछि एक निश्चित दूरीभित्र कम्पनले विस्फोट भएपछि ट्याङ्क तथा सैनिक ध्वस्त हुन्थे । अमेरिकाले सन् १९६० मा बनाएको १८ एल क्लेमोर मोडलको प्राणीनाशक जमिनमा बिछ्याएको विस्फोट पदार्थ नै एक उत्कृष्ट उदाहरण हो । यसपछि विश्वका कुनाकुनामा यो मोडलका लाखौँ बारुदी बम भूमिगतका लागि बनाएर प्रयोगमा ल्याइने गरिएको छ ।

विश्वयुद्ध बाछिटाको दुष्प्रभाव
विश्वको इतिहासमा सर्वप्रथम मानव समाजले आफ्नो पागलपनको पूरा परिचय यस युद्धमा दियो । युद्धमा ३२ देशले भाग लिएका थिए । जसमध्ये बेलायत, फ्रान्स, रुस, अमेरिका, इटली, बेल्जियम, चीन, जापान आदि देश एकातिर र जर्मनी अष्ट्रिया, हंगेरी, बुल्गेरिया, टर्की अर्कोतर्फ युद्धको तम्तयारीमा थिए । यो युद्ध एशिया, युरोप र अफ्रिका केन्द्रित थियो । सन् १९१४ मा शुरु भएको युद्ध चार वर्षपछि सन् १९१८ मा समाप्त भयो ।

विश्वका ६ करोड ५० लाख सैनिकले यस युद्धमा भाग लिएका थिए । त्यसमध्ये ८० लाख सैनिकहरू त्यस युद्धमा मारिए । ६० लाख अपाङ्ग भए । १५ सय ६५ दिन युद्ध लडियो ।

विशेषतः उग्र राष्ट्रवाद, साम्राज्यवाद, सैनिकवाद, विश्व संघको अभाव, बदलाको भावना अनि बोस्निया, हर्जगोभिनाको तत्कालीन समस्यालाई युद्धको बीउ मानिएको थियो । यी सबै कारणहरू प्रमुख भए पनि अष्ट्रियाका राजकुमार आर्कड्युड र उनकी पत्नी बोस्नियाको राजधानी सरायो घुम्न गएका बखत २८ जून १९१४ मा एकजना सर्वियाली क्रान्तिकारीले गोली हानी उनीहरूको ज्यान लिएका थिए । अष्ट्रियाले यसको दोष सर्वियामाथि लगाएर ४८ घण्टाको अल्टिमेटम दिँदै स्पष्टिकरण माग गर्‍याे । अल्टिमेटम पूरा भएपछि २८ जुलाई १९१४ मा सर्वप्रथम अष्ट्रियाले सर्वियामाथि आक्रमण गरी प्रथम विश्वयुद्धको श्रीगणेश गर्‍याे ।

पहिलेदेखि नै जर्मनी र फ्रान्सबीचको शत्रुताका कारण यी दुवै देशहरू आआफ्नो गुट निर्माणमा लागे । फलस्वरुप युरोपमा जर्मनी, अष्ट्रिया, हंगेरी मिलेर एउटा मुख्य गुट निर्माण भयो । यसलाई ‘त्रिगुट सन्धि’ भनियो । यसैगरी फ्रान्स, ब्रिटेन र रुस संलग्न रही ‘त्रि राष्ट्रिय सम्झौता’ नामक अर्को गुटको निर्माण भयो । युरोपका यिनै दुईवटा प्रमुख गुटको नेतृत्वमा प्रथम विश्वयुद्ध भयो ।

विश्वका ६ करोड ५० लाख सैनिकले यस युद्धमा भाग लिएका थिए । त्यसमध्ये ८० लाख सैनिकहरू त्यस युद्धमा मारिए । ६० लाख अपाङ्ग भए । १५ सय ६५ दिन युद्ध लडियो । प्रत्येक दिन ४० करोड डलर खर्च भयो । यसमा शहरको बर्बादी र अन्य अप्रत्यक्ष खर्चहरू भने समावेश छैन । पछि सन् १८१४ मा त्रिगुट सन्धि अन्तर्गतका राष्ट्रहरू अष्ट्रिया, जर्मनी, हंगेरी आदिले त्रि राष्ट्रिय सम्झौताका राष्ट्रहरूसँग आत्मसमर्पण गरेपछि उनीहरूसँग फ्रान्सका नगरहरू पेरिस र मर्सेलिजका विभिन्न सन्धिहरू भएपछि युद्ध समाप्तको घोषणा भयो ।

दोस्रो विश्वयुद्धको बीउ
प्रथम विश्वयुद्ध समाप्त भएको ठीक दुई दशकपछि दोस्रो विश्वयुद्ध सुरु भयो । पेरिस र मर्सेलिजका सन्धिहरूबाट त्रिगुट अन्तर्गतका राष्ट्रहरू सन्तुष्ट थिएनन् । यी सन्धिहरू पछि पराजित राष्ट्रहरूमाथि विजित राष्ट्रहरूले धेरै नै अत्याचार गरे । विशेषगरी सो सन्धि जर्मनीका लागि प्रतिस्पर्धात्मक, कठोर, अपमानजनक सावित भयो । जर्मनीलाई हरेक दृष्टिकोणबाट कमजोर बनाउने प्रयास गरियो । उसको सीमा घटाइयो । सेना र आयस्रोत माथि पनि नियन्त्रण गरियो । त्यसैगरी जर्मनीमा हिटलरको उदय भइसकेको थियो । फलस्वरुप जर्मनी पुनः बदलाको निहुँ खोज्न थाल्यो । यी लगायत गुटबन्दी, राष्ट्रसंघको असफलता, सशस्त्रीकरणको होडबाजी, विस्तारवादी भावना, तानाशाही शक्तिको उदय आदि द्वितीय विश्वयुद्धका प्रमुख कारण थिए ।

द्वितीय विश्वयुद्धपछि नै विश्वभर शीतयुद्ध सुरु भयो । युद्धमा २ करोड २० लाख सैनिक मारिए ।

सन् १९३९ मा सुरु भएको द्वितीय विश्वयुद्धमा विशेषगरी हिटलरले पोल्याण्डमाथि आक्रमण गरी त्यहाँका विभिन्न शहरहरूमा बम वर्षा गराए । ३ सेप्टेम्बरमा फ्रान्स र बेलायतले त्यो आक्रमण रोक्न जर्मनीलाई चेतावनी दिएपछि पनि जर्मनीले आक्रमण जारी राखेकोले फ्रान्स र बेलायतले जर्मनी विरुद्ध युद्धको घोषणा गरे ।

सन् १९४० को जुन महिनासम्ममा जर्मनीले नर्वे, बेल्जियम, हल्याण्ड र फ्रान्समाथि अधिकार कायम गरिसकेको थियो । यसैबीच, हिटलरले अनायास आक्रमण गरे । रुसले जर्मन आक्रमणको डटेर मुकाबिला गर्‍याे । ७ डिसेम्बर १९४१ मा जापानले हार्वरमा अमेरिकी जहाजमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिका पनि युद्धमा उत्रियो । सन् १९४३ मा इटाली र १९४५ मा जर्मनीले आत्मसमर्पण गरे । अमेरिकाले सन् १९४५ को अगष्ट ६ मा जापानको शहर हिरोसिमामा बम प्रहार गर्‍याे । अगष्ट ९ मा नागासाकीमा अर्को अणुबम विस्फोट पछि जापानले पनि आत्मसपर्मण गर्‍याे । दोस्रो विश्वयुद्ध भयंकर विलापसाथ ६ वर्षपछि समाप्त भयो ।

द्वितीय विश्वयुद्धपश्चात विश्वका विभिन्न मुलुृकमा गरेर ४० करोड भूमिगत बारुदी बम बिछ्याइसकिएको छ । जसमा ७० वटा मुलुकमा मात्र अहिले १० देखि २० करोड विष्फोटक पदार्थ बिछ्याइएका छन् ।

द्वितीय विश्वयुद्धपछि नै विश्वभर शीतयुद्ध सुरु भयो । विभिन्न सैनिक गृहहरू पनि निर्माण भए । सामान्यतः अमेरिका, बेलायतलगायत राष्ट्रहरूको नेतृत्वमा साम्यवादी विरोधी सैनिक गृह नेटोको स्थापना भयो भने तत्कालीन सोभियत संघको नेतृत्वमा साम्यवादीहरूको ‘वार्सा सन्धि सङ्गठन’ नामक सैनिक गुट निर्माण भयो । युद्धमा २ करोड २० लाख सैनिक मारिए । ३ करोड ४० लाख अपाङ्ग, ११ खर्ब डलरको भौतिक क्षति भयो । अणुबमको प्रभाव अहिले पनि जापानले भोगिरहेको छ ।

केही वर्षदेखि जमिनमा बिछ्याइएको विष्फोटक पदार्थको अन्वेषणपश्चात नष्ट गर्न लागिपरेको संस्था आईबीसीएलका प्रमुख जेडी विलियम्सलगायत अन्य वैज्ञानिकहरूले निकालेको संयुक्त डाटाअनुसार द्वितीय विश्वयुद्धपश्चात विश्वका विभिन्न मुलुृकमा गरेर ४० करोड भूमिगत बारुदी बम बिछ्याइसकिएको छ । जसमा ७० वटा मुलुकमा मात्र अहिले १० देखि २० करोड विष्फोटक पदार्थ बिछ्याइएका छन् । जुन हजारौँको संख्यामा विस्फोट हुने गर्छ । यही अभियानको खातिर विलियम्स नोबेल पुरस्कारबाट सम्मानित भए । उनीहरूकै सर्वेक्षणले क्रोएशिया, इजरायल, रुस एङ्गोला, कम्पुचिया र अफगानिस्तानमा लाखौँ संख्यामा विष्फोटक पदार्थ जमिनमुनि गाढिएका छन् । ती देशमा प्रत्येक महिना हुने विष्फोटमा झण्डै दुई हजार प्रभावित हुन्छन् । १२ सय मारिन्छन्, अरु अपाङ्ग हुन्छन् ।

यसबाहेक युद्धग्रस्त मुलुकमा बारुदी सुरुङ हटाइन्छ । तर त्यसको १३ गुना अर्थात् २० लाख नयाँ विष्फोटक पदार्थ जमिनमा बिछ्याइन्छ । साइन्स टुडेको एक सर्वेक्षणका अनुसार सन् १९८० को दशकपछि हरेक वर्ष विश्वमा वर्षेनी ७० देखि ७५ लाख बारुदी बम जमिनमा बिछ्याइन्छ । यो तथ्यांकअनुसार यसपछि कहीँ पनि विष्फोटक पदार्थ नबिछ्याई अहिले भूमिगत रहेका सम्पूर्ण विष्फोटक पदार्थ मात्र हटाउन झण्डै एक हजार वर्ष लाग्ने अनुमान गरिएको छ ।

माओवादी युद्ध हुनुअघि यस्ता विष्फोटक पदार्थ चट्टानी भीर पखेरा फुटाएर सडक, नहर निर्माणमा प्रयोग गरिन्थ्यो । तर युद्धको शुरुवातसँगै नेपालमा माओवादीहरूले यस्ता विष्फोटक पदार्थ जनिमनमुनि दर्जनौँको ज्यान लिएको छ । यसैगरी प्रहरी सेनालो पनि ब्यारेक सुरक्षाका नाममा उत्तिक्कै भूमिगत माइन बिछ्याएका छन् ।

विकसित मुलुकहरूले जासूसी भूउपग्रहद्वारा यस्ता प्रकारका भू विष्फोटक पदार्थ बिछ्याइएको पत्ता लगाउन थालेपछि त्यस्ता क्षेत्रमा ट्यांकको प्रयोग गरेर युद्ध गर्न खतरा हुने भएकाले लडाकु विमान, ब्यालेस्टिक क्षेप्यास्त्र, ड्रोन तथा हेलिकोप्टरबाट युद्ध गर्न थालिएको छ । अझ ती सबैको ठाउँ अब साइबर युद्धले लिन थालेपछि त युद्धको शैलीमै परिवर्तन आएको छ ।

हतियार कम्पनीहरू एन्टीहेलिकोप्टर भूमिगत बारुदी बम बनाउने तयारीमा जुटेका छन् । सम्भवतः यो दशकभित्र १०औँ लाख एन्टी हेलिकोप्टर विष्फोटक बनाएर बिछ्याइने छ । यसले हेलिकोप्टरको आवाज तरंगसँगै एक निर्धारित दिशा तय गरेर हेलिकोप्टरमाथि क्षेप्यास्त्रको गतिमा विस्फोट भएर हेलिकोप्टर समेत ध्वस्त पार्नेछ । दोस्रो विश्वयुद्धमा प्रयोग गरिएका ट्यांकले त युद्धको नक्सा नै बदलिदिएको थियो । तर यस्ता ट्यांकको नक्सा नै बदलिदिने भूमिगत विष्फोटक पदार्थ पारस्परिक रुपले प्राणीनाशक र ट्यांक प्रतिरोधी गरी दुई प्रकारका भए पनि एन्टीहेलिकोप्टरले यसको विकास क्रममा नौलो आयाम थप्दैछ । 

स्मार्टमाइन व्यापारको होड
ल्याण्डमाइन विष्फोटक उत्पादन गर्ने मुलुकले अरबौँ डलर हात पार्छ । हुन त अहिले ब्याट्रीको चार्ज रहेसम्म चल्ने त्यसपछि स्वतः निष्क्रिय हुने टाईम बम खालका माइनहरू बनाउने एजेण्डा पनि उठेका छन् । यस्ता माइनहरूले युद्धका बेला काम गर्ने अरु बेला निस्क्रिय हुँदा जनधनको क्षति नहुने तर्क हतियार निर्माण कम्पनीहरूको रहेको छ । जसलाई स्मार्ट माइन भनिन्छ । आमनागरिकले यस्ता विष्फोटकबाट आत्तिने अवस्था अन्त्य हुने विश्वास गरिएको छ ।

लामो समयसम्म ब्लास्टेड ल्याण्ड माइनको निर्माण तथा बिछ्याउने कार्यमा रोक लगाउन नसकेपछि संयुक्त राष्ट्रसंघले नै यस्ता टाईम बम प्रकारका स्मार्ट माइन बनाउनुपर्ने आवाज उठाउँदै आएको छ । ल्याण्ड माइन निर्माण कार्यमा आणविक शक्तिसम्पन्न मुलुक मात्र नभएर गृहयुद्ध तथा राज्य प्राप्तिका युद्धमा होमिएका युगोस्लाभिया, क्रोएशिया, हर्जगोभिना, भियतनाम, इराकजस्ता दर्जनौँ मुलुक सक्रिय छन् ।

विगत दुई दशकदेखि एकै यन्त्रबाट एकै ठाउँ ओछ्याइएका प्राणीनाशक र ट्यांकनाशक भूमिगत विष्फोटक पदार्थ पालैपालो विष्फोटन हुने पद्धतिको प्रयोग गरिँदै आएको छ । यस्तो प्रकारको विष्फोटक पदार्थ अहिले विश्वका २२ राष्ट्रले उत्पादन गर्ने गरेका छन् । हर्जगोभिना, क्रोएशिया युद्धमा प्रयोग गरेबापत यस्ता ल्याण्ड माईनको मूल्यवृद्धिसँगै आकार र विष्फोटन शक्ति घटाइएकाले ल्याण्ड माइनको पनि घोटाला हुँदै आएको निष्कर्ष उनीहरूले निकाले । यसको रहस्यश्रीलंकाको तमिल टाईगर आर्मी लिट्टेले पत्ता लगायो । कच्चा पदार्थ ल्याएर लिट्टे स्वयंले यस्ता पदार्थ बनाउने गरेको थियो । अहिले यस्ता ल्याण्ड माइनहरू विश्व बजारमा चीनका उत्पादन बढी उपयोग हुने गरेका छन् । हुन त युगोस्लाभियाले बनाएको यस्ता ल्याण्ड माइन खाडी युद्धमा इराकले कुबेती भूमिमा  बिछ्याएको थियो । अरबौँ डलर  ल्याण्ड माइन पत्ता लगाउन र निष्क्रिय गर्न खर्च हुन्छ ।

यस्ता ठाउँ पत्ता लगाउने काम अब माहुरीले गर्ने भएको छ । अमेरिकाको मन्थ्यान युनिभर्सिटीमा यसको परीक्षण सम्पन्न भएको छ ।

भूमिगत विस्फोटक पदार्थ खोज्न पहिलोपल्ट सन् १९३८ मा पोल्याण्डका सैनिकले एक इलेक्ट्रिक मेसिन आविष्कार गरे । यो मेसिन हातमा लिएर ल्याण्डमाइन बिछ्याइएको ठाउँमा कुचोले झैँ बढार्दै यो मेसिन चलाउँदा भूमिगत विस्फोटक पदार्थमा रहेको धातुका कारण सञ्चालकको कानमा लगाएको हेडफोनमा खतराको घन्टी बज्यो । सो स्थानमा चिनो लगाएर सेनाहरूले ल्याण्डमाइन निष्क्रिय गर्थे । सन् १९४० मा बेलायतले पनि यो कार्य अपनायो । तर जर्मनीले सन् १९४२ मा काठबाट बनाइएको ‘होल्जमाइन ४२’ नामक विस्फोटक पदार्थ अफ्रिकाको भूमिमा बिछ्याइएपछि यस्ता मेसिनको उपयोगमा ह्रास आयो । त्यसताका जर्मनीमा उत्पादित यस्ता ल्याण्डमाइन करोडौँको संख्यामा भूमिगत गरियो । विगत दुई दशकदेखि प्लास्टिक, सिसा, काठका ल्याण्डमाइन बनाएर प्रयोगमा ल्याइएकाले यसलाई पत्ता लगाउन विश्वकै लागि चुनौती बनेको छ ।

यस्ता ठाउँ पत्ता लगाउने काम अब माहुरीले गर्ने भएको छ । अमेरिकाको मन्थ्यान युनिभर्सिटीमा यसको परीक्षण सम्पन्न भएको छ । ल्याण्डमाइन माटो, जमिन तथा जमिनमुनि रासायनिक तत्व चुहावट हुन्छ । जुन पानीमार्फत विरुवाले सोसेर लिन्छ र माहुरीले ती रसायन माटो तथा विरुवाबाट लिएर आफ्नो चाकामा ओसार्छ । यही कार्य पत्ता लगाउन एउटा ग्रीनहाउस खोलेर डा. बोनस सेन्टले न्यूमेक्सिकोको स्याण्डिया नेशनल ल्याबोरेटरीका रसायनशास्त्रीसँग मिलेर लाखौँ माहुरीलाई प्रशिक्षण दिँदैछन् । प्रशिक्षणपश्चात माहुरी छाडिने छन् र ती गएर रसायन तत्व ल्याउने छन् । माहुरीको सहायताले यस्ता ठाउँ पत्ता लगाई जमिनमुनिको विस्फोटक पदार्थ निष्क्रिय बनाउने कार्यमा सफलता पाउनेमा विद्वानहरू आशावादी छन् ।

यस्ता विस्फोटक पदार्थ निर्माण तथा प्रयोगमा प्रतिबन्धका लागि विश्वमा पटक पटक विश्व सम्मेलन भएका छन् शक्तिराष्ट्रहरूको । सम्मेलन उत्पादनमा बन्देज लगाउनेदेखि भूमिगत विस्फोट अत्याधुनिक मेसिन निर्माण गरेर नष्ट गर्ने लक्ष्यसहितको नियम बनाइएको थियो । यसको पक्षमा १२५ देशले हस्ताक्षर गरेका छन् । तर अमेरिका रुस, चीन उत्तरकोरिया, इजरायल, मिश्र, भारत, पाकिस्तान, इरान, इराक, टर्की, लिबिया, भियतनाम र दक्षिणकोरियाले सन्धिमा हस्ताक्षर गरेनन् । आणविक शक्ति सम्पन्न राष्ट्रले यसको धन्दा फैल्याउने काम गरिरहेका छन् । यही हिसाबले ल्याण्डमाइनले स्थान पाउने हो भने अबको आधा शताब्दीमा विश्वका कुनाकुनाका जमिनमा जंगलका बृक्षझैँ भूमिगत विस्फोटक पदार्थ बिछ्याइएको हुनेछ । पृथ्वीको खुटटामुनि मान्छेले बिछ्याएको काललाई शक्ति राष्ट्रले समयमै विवेक नपुर्याउने हो भने स्थिति थप जटिल बन्ने निश्चित छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : ०१ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै