खेलकुद

सुनसरीको चतरामा ‘स्टोनस्किपिङ’ प्रतियोगिता हुने

By खबरहब

October 28, 2024

सुनसरी- सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सह-आयोजनामा चतरा नहरमा आगामी कात्तिक १६ गते प्रतियोगिता आयोजना हुने धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

‘पर्यावरण प्रवर्द्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताका विजेता क्रमशः पहिलो, दोस्रो र तेस्रोले नगद २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

‘नेपालकै सबैभन्दा ठूलो चतरा नहरमा यो खेल आयोजना हुँदैछ। यो खेल सामान्यत: नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिन्छ’, संयोजक नवराज विष्टले भने, ‘पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ, त्यसको गणना गर्ने गरिन्छ । सबैभन्दा बढी अङ्क ल्याउने विजेता बनाइन्छ ।’

क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गर्ने चतरा हाइकिङका संस्थापक विजयकुमार राउतले जानकारी दिए । उनका अनुसार गत वर्ष यो प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र सञ्चारकर्मी लक्ष्मण कटुवाल तेस्रो भएका थिए । उनीहरूले क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष रूपमा खेलिने गरिन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् ।

गत वर्ष एक सयजना प्रतिस्पर्धीले सहभागिता जनाएको प्रतियोगितामा यस वर्ष बढ्ने आयोजकको विश्वास छ ।