तपाईंमध्ये कतिले औषधी पसलमा चिकित्सकले पूर्जामा लेखेकै औषधी पाउनु भएको छ? अधिकांश औषधी पसलले सो सरहकै काम गर्ने भन्दै अरु औषधी भिराउने गरेका छन्। त्यही प्रवृत्तिको मारमा वर्षौंदेखि सरकारले नै उत्पादन गर्दै आएको औषधी सिटामोल पर्दै आएको छ। ज्वरो आएको बिरामीलाई चिकित्सकले आफ्नो पूर्जामा ‘सिटामोल’ लेखिदिन्छन्। मेडिकल पुगेपछि हातमा अर्कै पत्ता थमाइन्छ।
सिटामोल नेपाल सरकार उद्योग मन्त्रालय अन्तर्गतको नेपाल औषधी कम्पनीले निकाल्ने लोकप्रिय औषधी हो। सिटामोल नामको औषधी उत्पादन गर्ने अधिकार कानुनले उसलाई मात्र दिएको छ। तर औषधी पसलमा डाक्टरको पूर्जा लिएर सिटामोल माग्दा निजी र भारतीय कम्पनीका औषधीको पत्ता लिएर आमउपभोक्ता फर्कन बाध्य छन्। औषधी उत्पादनको क्षमता नभएर होइन, कमिसनको माखेसाङ्लोका कारण उपभोक्ता गुणस्तरीय औषधी पाउनबाट बञ्चित भएका हुन्।
काभ्रे घर भएर कपन बस्दै आएका ६५ वर्षीय भक्त खड्का आफूले पहिला पहिला खाने गरेको सिटामोल नपाएकोमा गुनासो गर्छन्। उनी भन्छन्– ‘पहिले पहिले हामीले खाने सिटामोल अर्कै थियो। त्यसले ज्वरो आएको, टाउको दुखेको एकैछिनमा निको हुन्थ्यो। तर आजभोलि पाउने सिटामोलले केही काम नै गर्दैन।’
मेडिकलमा नपाए पनि स्वास्थ्य चौकीमा पाइने पुरानो सिटामोल अहिले त्यता पनि पाउन छोडेको उनको गुनासो छ। खड्का जस्तै धेरैले सरकारी सिटामोल खोज्ने गरेको महाप्रबन्धक कैलाश पनेरु बताउँछन्।
खबरहबसँगको कुराकानीमा महाप्रबन्धक पनेरुले काठमाडौँ उपत्यका लगायत ग्रामीण भेगमा सिटामोलको माग हुने गरेको बताउँदै केही दिनअघि डडेलधुरामा चलाएको स्वास्थ्य शिविरमा यस्तो गुनासो आफैंले सुनेको उल्लेख गरे।
लिमिटेडले वार्षिक पाँच करोड बराबरको औषधी बेच्ने गरेकोमा तीन करोड चक्की सिटामोल रहने गरेको पनेरुको भनाइ छ। तर यो सिटामोलको प्रयोग ग्रामीण क्षेत्रका केही जिल्ला अस्पताल र स्वास्थ्य चौकी बाहेक सहरी क्षेत्रमा बिरलै पाइन्छ।
धेरै अस्पताल तथा फार्मेसीको औषधी खरिद प्रक्रिया टेण्डरमार्फत हुने गर्दछ। खरिदकर्ताले गुणस्तरभन्दा पनि नाफा हेर्छन्। जुन सस्तो भयो त्यही नै खरिद गर्छन्। जसले गर्दा आफ्नो सिटामोल बिक्री नभएको लिमिटेडको भनाइ छ।
कमिसनले सिध्यायो सिटामोलको साख
धेरै अस्पताल तथा फार्मेसीको औषधी खरिद प्रक्रिया टेण्डरमार्फत हुने गर्दछ। खरिदकर्ताले गुणस्तरभन्दा पनि नाफा हेर्छन्। जुन सस्तो भयो त्यही नै खरिद गर्छन्। जसले गर्दा आफ्नो सिटामोल बिक्री नभएको लिमिटेडको भनाइ छ।
जिल्ला अस्पताल सल्यानमा कार्यरत फर्मासिष्ट रघुवीर यादव यो सत्य स्वीकार्छन्। खबरहबसँगको कुराकानीमा फर्मासिष्ट यादवले भने, ‘हामीकहाँ आउने जति पनि औषधी टेण्डरमार्फत आउँछ र केही औषधी प्रदेश स्वास्थ्य निर्देशनालयले पठाउँछ। निर्देशनालयले पठाउने औषधीमा नेपाल औषधी लिमिटेडको सिटामोल पनि समावेश छ भने बाँकी औषधी उनीहरुले कहाँबाट ल्याउँछन्, त्यो हामीलाई थाहा हुँदैन।’
सिटामोलको अभाव भइरहने सल्यानमा अहिले भने पर्याप्त मात्रामा सिटामोल रहेको र उपभोक्ताले केही गुनासो नगरी सिटामोल लैजाने गरेको उनले बताए।
गुणस्तरमा नो कम्प्रोमाइज
नेपाल औषधी कम्पनी लिमिटेड सरकारी कम्पनी भएकाले यहाँका उत्पादन गुणस्तरयुक्त रहेको पनेरु दाबी गर्छन्। उनी भन्छन्, ‘हामी त सरकारी कम्पनी हो। हाम्रो आफ्नै ल्याब छ। औषधी व्यवस्था विभाग छ। यी सबैबाट हामीले प्रक्रिया पु-याएरै उत्पादन गरेका हुन्छौं। र हामी सरकारी तवरबाट भएको हुनाले पारदर्शिता, जवाफदेहिता सबै कुरालाई ध्यान दिएर गरेका हुन्छौं। त्यसकारण हाम्रो औषधीमा गुणस्तरीय छ, छैन भनेर आम उपभोक्तालाई पनि थाहा छ।’
अरू कम्पनीको सिटामोल र नेपाली औषधीको सिटामोल नागरिकलाई सँगै दिने हो भने सरकारी सिटामोल छनोटमा पर्ने उनको दाबी छ। तर यो सिटामोलले काम नगरेको भन्दै बिरामीले अन्य सिटामोल माग्ने गरेको केही फर्मासिष्टको भनाइ छ।
अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत फर्मासिष्ट दिपेश दाहाल भन्छन्-‘नेपाल औषधी कम्पनी लिमिटेडको सिटामोल मात्रै होइन, अन्य पारासिटामोल, निको, लगायतका नेपाली कम्पनीका उत्पादनका कुनै पनि औषधीले काम नगरेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन्।’
अहिले धेरै सेवाग्राहीले भारतिय कम्पनीको मेडोमोल नामक औषधी खोज्ने गरेको बताउँदै दाहालले भने, यहाँका उत्पादनमाथि उपभोक्ताको संशय छ।
जेठो अस्पतालमा सिटामोलको साम्राज्य
निजी अस्पतालमा कार्यरत फर्मासिष्टले सरकारी सिटामोलको गुणस्तरमाथि प्रश्न उठाइरहँदा देशकै जेठो स्वास्थ्य प्रदायक संस्था वीर अस्पतालमा भने सिटामोलको माग हुने गरेको तथ्य भेटिएको छ। फार्मेसी इञ्चार्ज मानबहादुर महरा अस्पतालमा ४ वटा कम्पनीका सिटामोल उपलब्ध भएपनि धेरै सेवाग्राहीले कागजी पत्तावाला सिटामोल माग्ने गरेको जानकारी दिए।
निजी अस्पतालमा कार्यरत फर्मासिष्टले सरकारी सिटामोलको गुणस्तरमाथि प्रश्न उठाइरहँदा देशकै जेठो स्वास्थ्य प्रदायक संस्था वीर अस्पतालमा भने सिटामोलको माग हुने गरेको तथ्य भेटिएको छ।
जिटुजी मार्फत मासिक ५० हजार ट्याब्लेट सिटामोल आउने गरेको र त्यसले पनि नपुगेको उनले बताए। नेपाल औषधी लिमिटेडको उत्पादन बन्द भएसँगै बजारमा सिटामोल अभाव भएको थियो। पछि २०७४ सालमा उत्पादन सुरु भएको र जिटुजीमार्फत औषधीहरु सप्लाई गर्ने निर्णय भएसँगै वीर अस्पतालले औषधी खरिद गरेर यसको सुरुवात गरेको महराको भनाइ छ।
बेला बेलामा सिटामोलको अभाव भएको भन्ने कुराहरु सुन्नमा आउँछ। तर वीर अस्पतालमा भने त्यसयता सिटामोलको अभाव नभएको उनले बताए। सिटामोल मात्रै नभएर नेपाल औषधी कम्पनीका धेरै औषधी वीर अस्पतालमा पाइने गरेका उनको भनाइ छ।
सरकारकै अर्को निकाय भन्छ- प्रतिस्पर्धामा उत्रिनुको विकल्प छैन
नेपाल औषधी कम्पनी लिमिटेडले सरकारले नै सिटामोल नकिनिदिएको गुनासो गरिरहँदा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल भने अहिलेको खुला बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताउँछन्।
सिटामोलमा एकाधिकार हुँदा पनि माग अनुसार पुग्दैन भने यो प्रतिस्पर्धी जमानामा नेपाल औषधी लिमिटेडले के बेचेर खान्छ ? उनले प्रश्न गरे। खबरहबसँग कुरा गर्दै महानिर्देशक ढकालले भने सिटामोलमा त नेपाल औषधी लिमिटेडलाई लगभग एकाधिकार छ, तर बेच्न सकेको छैन भने मान्छेलाई नचाहिएरै त्यस्तो भएको त होइन ? जबरजस्ती किन भन्न त हामीले पनि मिल्दैन। सरकारले पनि बाहिरको औषधी बन्द गरेर नेपाल औषधी कम्पनीको मात्रै सिटामोल किन्नुपर्छ भनेको छैन। त्यसको लागि कम्पनीको आफ्नै पहल आवश्यक रहेको महानिर्देशक ढकालको भनाइ छ।
‘सरकारी कम्पनी हो। औषधीको गुणस्तर राम्रो छ। केही उत्पादन भण्डारण लगायत विभिन्न कारणले गर्दा गुणस्तरहीन पनि होलान्। ती औषधीलाई हामीले पहिचान गरी गुणस्तरहीन हुन नदिन विभिन्न किसिमका असल अभ्यासको पालना गर्ने गराउने र निगरानी बढाउने काममा विभाग जुटेको छ।’
केही फार्मेसीले यो सिटामोल गुणस्तरीय छैन भन्छन् नि ? भन्ने खबरहबको प्रश्नमा उनी भन्छन्– ‘सरकारी कम्पनी हो। औषधीको गुणस्तर राम्रो छ। केही उत्पादन भण्डारण लगायत विभिन्न कारणले गर्दा गुणस्तरहीन पनि होलान्। ती औषधीलाई हामीले पहिचान गरी गुणस्तरहीन हुन नदिन विभिन्न किसिमका असल अभ्यासको पालना गर्ने गराउने र निगरानी बढाउने काममा विभाग जुटेको छ।’
नेपाल औषधी लिमिटेडका औषधी बिक्रीका लागि पहल गर्न सरकार पनि सहमत रहेपनि कम्पनीले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने भन्दै महानिर्देशक ढकाल भन्छन्, ‘सरकारी काममा प्रक्रियाबाट अलग हुन मिल्दैन। खरिद निकाय छन्। उनीहरुका आवश्यकता के कस्ता छन्, तिनीहरुको परिपूर्ति हुनुप-यो।’
उनका अनुसार नेपालमा १७ करोड ट्याब्लेट सिटामोल आवश्यक पर्छ। लिमिटेडको मात्रै औषधी किन्नुपर्छ भन्ने हो भने त्यो क्षमता कम्पनीको छैन। जबकी कम्पनीले वार्षिक जम्मा ५ करोडको औषधी बेच्दै आएको छ।
प्रतिक्रिया