अर्थसंक्षेप : नेप्सेमा गिरावट, कारोबार ८ अर्ब बढी र ब्रोइलर कुखुराको भाउ बढ्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेप्सेमा गिरावट, कारोबार ८ अर्ब बढी र ब्रोइलर कुखुराको भाउ बढ्यो


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ एक महिनामै प्रतिकिलो १५ रुपैयाँसम्म बढाएको छ । यता,नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । यस्तै, ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित ई–रिभल्भिङ इन्डियन कजिन रेस्टूराँमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसरी नै, जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । यता,नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.३० अंकले घटेको छ ।

प्रमुख आर्थिक समाचारहरु :

ब्रोइलर कुखुराको भाउ बढ्यो, अब प्रतिकिलो १५ रुपैयाँ महँगो पर्ने

 राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ एक महिनामै प्रतिकिलो १५ रुपैयाँसम्म बढाएको छ ।

जिउँदोमा प्रतिकिलो र १० र तयारी मासुमा प्रतिकिलो १५ रुपैयाँका दरले भाउ बढाइएको हो । भाउ बढाएसँगै संघले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० र तयारी मासुको मूल्य प्रतिकेजी ३१५ रुपैयाँ निर्धारण गरेको छ ।

बजारमा भने जिउँदो कुखुरा र तयारी मासु दुबैको भाउ अहिले नै संघले तोकेभन्दा बढी छ । छाता संस्थाले नै भाउ बढाएपछि बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य थप बढ्नेछ ।

जाडो बढेको र बिहेको लगन परेका महिनामा बढी खपत हुने हुँदा कुखुुराको भाउ वर्षेनी बढ्ने गर्छ । तर, चिसोका बेला उत्पादन भने घट्ने गर्छ ।

लेखामान र लेखापरीक्षणमान बोर्ड अध्यक्षमा ढुङ्गेल र निरौला
नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उनहरूलाई नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए ।

सो अवसरमा नवनियुक्त अध्यक्षहरूले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताएका थिए ।

सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच आज भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा उनीहरुबीच भएको भेटवार्ताका क्रममा नेपाल र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ । 

फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतापत्रमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइकाले हस्ताक्षर गरेका हुन् ।
उक्त परियोजनामार्फत नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तिय परिचालन गर्ने लक्ष्य राखिएको छ । अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत, ‘डिजिटलाइजेसन’, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्ने जनाइएको छ ।

ज्योति विकास बैंकका ग्राहकलाई ई–रिभल्भिङमा छुट
ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित ई–रिभल्भिङ इन्डियन कजिन रेस्टूराँमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र रेस्टूराँबीच छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

बैंकका ग्राहकहरूले उक्त रेस्टूराँमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण काठमाडौँको न्युरोडमा रहेको यो रेस्टूराँले ग्राहकहरूको मन जितिरहेको बैंकको दाबी छ ।

हालै बैंकले काठमाडौँस्थित अचार घर, नेपाल हाउस रेस्टूराँ एण्ड बार र महोत्सव रेस्टूराँ एण्ड बारमा आफ्ना ग्राहकलाई १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरिसकेको छ । साथै, बैंकले काठमाडौँस्थित प्रख्यात शोयाछा ट्रेडर्समा १८ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै र देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई छुट र सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङबीच शिष्टाचार भेट  भएको छ ।

आज मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपाल र दक्षिण कोरियाबीच रहेको सौहार्द्रपूर्ण सम्बन्ध पछिल्ला वर्षमा थप प्रगाढ र सुमधुर बन्दै गएकामा खुसी व्यक्त गर्दै दुई देशका साथै जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोग निरन्तर अभिवृद्धि भइरहेको बताए।
नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार र प्रवर्द्धन गर्न कोसेढुङ्गा सावित गरेको मन्त्री भण्डारीले उल्लेख गरे । 

‘नेपालको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा दक्षिण कोरिया महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको छ’, उनले भने, ‘नेपालमा कृषि, उद्योग, पर्यटन, निर्यात प्रवर्द्धन र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान र सीपबाट हामी थप लाभान्वित हुन चाहन्छौँ ।’

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ ।
गत वर्ष यहाँ ३४ हजार सात सय ६२ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन दशमलव छ प्रतिशतले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिए। गुणस्तरीय र उन्नत जातका बीउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धतालगायत कारण धान उत्पादन बढेको उनले बताए। 

‘केही स्थानमा धान पसाउने बेला रोग, कीराको समस्या देखिए पनि समग्र जिल्लाभर उत्पादन बढेको छ । किसानले उन्नत जातको बीउको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिँचाइ, आधुनिक प्रविधिको प्रयोगलगायत कारणले उत्पादनमा वृद्धि आएको हो’, प्रमुख चौधरीले भने। 

उनका अनुसार यस वर्ष जिल्लामा आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । गतवर्ष आठ हजार दुई सय हेक्टर क्षेत्रमा खेती गरिएको थियो ।

मध्यपहाडी लोकमार्ग : बागलुङ र पर्वतमा पाँच पुल बन्दै

 मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा एकै पटक पाँच वटा पुल निर्माण सुरु गरिएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा चार वटा पुल निर्माण थालिएको हो । 

मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण सुरु भइसकेको छभने मोदीखोलामा दुई वटा पुलको काम यही मङ्सिरभित्र सुरु हुने भएको छ ।

पातीखोलामा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको लोकमार्ग कार्यालय पर्वतकी सव–इन्जिनियर अस्मिता भट्टराईले जानकारी दिए। काठेखोला, पातीखोला र मोदीखोलामा पुल बनेर यातायात सञ्चालन गरिए पनि लोकमार्ग फराकिलो बनाएपछि पुललाई थप चौडा बनाइने उनको भनाइ छ । उनका अनुसार काठेखोला, डिमुवा सुन्दरेखोला र मोदीखोलामा एक–एक र पातीखोला दुई वटा पुल निर्माण गर्न लागिएको हो ।

सव–इन्जिनियर भट्टराईले भने, ‘सुन्दरे खोलामा अहिलेसम्म पुल बनेकै थिएन, यहाँ आवश्यक देखिएको हुँदा पहिलो पटक पुल बनाउने भएका हौँ, अन्य ठाउँमा वर्षौँ अगाडि पुल बनेका थिए, ती पुल साँघुरो र जीर्ण बन्दै गएको हुँदा त्यस स्थानमा दोहोरो गाडी ओहोरदोहोर गर्न सक्ने गरी पुल निर्माण थालिएको हो ।’

मलको अभावले खेती गर्न समस्या, गहुँ छरेका छैनन् किसानले

कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गरेको घेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उनको दैनिकी आजभोलि  रासायनिक मलको खोजीमा बितिरहेको छ ।

भजनीलगायत आसपासका बजारमा मलको खोजीमा रहेका उनलाई मल नपाइएपछि गहुँखेती गर्न नपाइने होकी भन्ने चिन्ताले सताउन थालेको छ ।

‘खेतमा पहिलेदेखि नै रासायनिक मल प्रयोग गर्दै आएकाले मल नहालेर उब्जनी हुँदैन’, उनले भने,– ‘दिनभर मलका लागि दौडधुप हुन्छ, साँझ रित्तो घर फर्कनुपरेको छ ।’

स्थानीय बजारमा मलको सहज आपूर्ति नहुँदा हरिप्रसादजस्तै भजनीका कैयौँ किसानले अझै खेती लगाउन सकेका छैनन् । गहुँखेती गरेका किसानहरू पनि मल नपाएर तनावमा रहेका छन् । समयमा मल नपाएपछि मल नहालेरै गहुँ छरेका लक्ष्मण चौधरीको समस्या पनि उस्तै छ । उनले नौ बिघा क्षेत्रफलमा गहुँ लगाएका छन् ।

‘नेपाली बजारमा मल कतै पाइँदैन । पाइए पनि एक कट्टा मल पाइन्छ, नौ बिघा खेतमा त्यो एक कट्टाले कसरी पु¥याउनु ?’ उनले भने,– ‘भारतीय बजारबाट व्यवहार हेरेर किसानलाई आफ्नो प्रयोगको लागि मल ल्याउन दिएको भए पनि सहज हुन्थ्यो ।’

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न  विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।

पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि एक करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा अन्तर्गतको एक योजनालाई ३० लाख बिनियोजन भएको हो । 

प्रमुख पोषनाथ शर्माले बजेट बिनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन र सम्झौताको प्रक्रिया अघि बढाएको बताए। धवलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्ग योजना भने निर्देशनालय मार्फत कार्यान्वयन हुने उनले बताए।
अन्नपूर्ण गाउँपालिका–५ का खोप्रा लेकमा पर्यटकीय पूर्वाधार र रघुगङ्गा गाउँपालिकाको काली बराह मन्दिर हुँदै धवलागिरी आइसफल जाने पदमार्ग योजनाका लागि २०–२० लाख बजेट प्राप्त भएको छ । 

रघुगङ्गा गाउँपालिका–४ को नागीदेवी मन्दिर संरक्षण, वडा न। ३ को गायत्री मन्दिर संरक्षण, वडा नं. –२ को माझखर्क–ओखरबोट हुदै साझपानी पदमार्ग, बेनी नगरपालिका –७ को शान्तिपार्क, वडा नं.–२ को ध्यानकुटी पूर्वाधार, वडा नं. ६ को मसिनढुंगा थाकनपोखरी एकपाटे पदमार्ग, धवलागिरी गाउँपालिका–५ मल्कवाङ डाडाकटेरी ररावर हुँदै ग्यासखार पदमार्ग र मालिका–७ बिम–तल्लोगाउँ पदमार्गका लागि १०–१० लाख बजेट प्राप्त भएको छ । 

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार  ?
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज प्रतितोला ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन १८३० रुपैयाँ रहेको चाँदी आज १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

उद्योगीका घरमा बिजुली काट्ने निर्देशन भएको छैन : प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड फिडरमार्फत महसुल बक्यौता नतिर्ने उद्योगीका घरमा जोडिएको लाइन काट्ने निर्देशन जारी नभएको जनाएको छ ।

कतिपय मिडिया र सामाजिक सञ्जालमा बक्यौता नतिर्ने उद्योगीका घरमै लाइन काट्न सक्ने भन्ने खबरहरू सार्वजनिक भएसँगै प्राधिकरणले यस्तो प्रतिक्रिया दिएको हो ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार, प्राधिकरणको नियमावलीमा नै सरकारी बाँकी बक्यौता सरह असुल उपर गरिने व्यवस्था रहेको छ । तर, त्यसका लागि विद्युत् नियमन आयोगको समेत रायका आधारमा निर्णय हुनेछ ।

महसुल बक्यौता नतिरेको खण्डमा उद्योगीका घरमा जोडिएको लाइन काट्ने व्यवस्था भने रहेको उनको भनाइ छ । तथापि, हालसम्म प्राधिकरणले कुनै पनि उद्योगीको घरमा विद्युत् लाइन नकाटेको उनको दाबी छ ।

प्रवक्ता घोषले अहिलेसम्म महसुल बक्यौता नतिर्ने उद्योगीका घरको लाइन काट्ने निर्देशन जारी नभएको समेत बताए ।

नेप्से ८ अंकले घट्यो, कारोबार ८ अर्ब बढी
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.३० अंकले घटेको छ । नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा पुगेको हो । आज ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता शेयर कारोबार भएको छ । 

यस्तै ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार १२८ पटक शेयर किनबेच भएको छ । 

३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
१३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने १० वटा समूह घटेको छ । 

बिहीबार विकास बैंक समूह १.०५ प्रतिशतले बढेर ५ हजार ८६१.१२ विन्दुमा पुगेको छ । त्यस्तै, जीवन बीमा ०.४७ प्रतिशतले बढेर १३ हजार ५६७.८८ विन्दुमा र ट्रेडिङ समूह ९.२५ प्रतिशतले बढेर ४ हजार २२९.१९ विन्दुमा पुगेको छ । 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ८ : ०२ बजे

कीर्तिपुरमा बालेन्द्र, रवि र प्रचण्डको परीक्षा

काठमाडौं– संघीय राजधानीस्थित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबारे जबर्जस्त केही

बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा

विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा

नेपाल सेरामिक इण्डष्ट्री जनकपुर बोल्ट्सको ‘डेकोर पार्टनर’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली जनकपुर बोल्ट्सले नेपाल

एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को टोली चितवन राइनोजले आफ्नो