ढुङ्गामा कला भर्दै गोविन्द बोटे « Khabarhub

ढुङ्गामा कला भर्दै गोविन्द बोटे


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका– १३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपरेका छन् । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन व्यस्त छन् ।

४३ वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन् । खोलाका ढुङ्गा ल्याएर आकर्षक मूर्ति कुद्नु उनको दैनिकी बनेको छ । ‘तीन दिनमा एउटा मूर्ति तयार पार्छु, आफ्नै हातले ढुङ्गालाई सुन्दर आकृति बनाउँदा निकै खुसी लाग्छ’, बोटेले भने, ‘यो कलाले आफू मरेर गए पनि  युगयुगसम्म जीवन्त रहने हुँदा आफूले गरेको पेसाप्रति सन्तुष्ट छु ।’

बोटेलाई परिवारको पनि उत्तिकै साथ सहयोग रहेको छ । बोटे समुदायका उनलाई  बुबाले खोलामा माछा मारेर जीविकोपार्जन गर्दै हुर्काएको अझै याद छ । बुबाले खोलामा गएर माछा मार्ने काम गोविन्दलाई कति पनि मन परेको थिएन । सानैदेखि चित्र कोर्न मन पराउने उहाँ ढुङ्गाको मूर्ति बनाउन थालेपछि यो नै अहिले व्यावसायिक पेसा बनेको छ ।  

‘अहिलेसम्म पाँच सयभन्दा बढी देवीदेवताको मूर्ति बनाइसकेको छु’, बोटेले भने, ‘१५ वटाभन्दा धेरै सालिक बनाएर बिक्री गरिसकेको छु ।’ ढुङ्गामा आकृति कुद्ने काम चुनौतीपूर्ण रहेको गोविन्दको भनाइ छ । एकाग्र भएर छिनो र ढुङ्गासँग खोल्नुपर्ने हुँदा कहिलेकाहीँ आँखा र टाउको दुखे पनि यही काममा आनन्द मिलेको उनको भनाइ छ ।

‘सालिक बनाउन २० दिनसम्म लाग्छ, एउटा सालिक बनाएको ४५ हजारसम्म लिने गरेको छु’, उनले भने ।

हिजोआज गोविन्दलाई ढुङ्गा कुद्न २१ वर्षीय छोरा कमलले पनि साथ दिन थालेका छन् । उमेरले भर्खर युवावस्थामा लागेका कमलको सोख पनि बुबाको जस्तै मूर्तिकार बन्ने छ ।

कक्षा १० सम्म पढेका कमल केही समय भारत गएर काम पनि गरिसकेका छन् । त्यहाँको रहनसहन नमिलेपछि उनी पुनः घर फर्किए । अहिले बुबासँगै उनी पनि मूर्ति बनाउन सिकिरहेका छन् । पछिल्लो समय लोपोन्मुख हुँदै गएको ढुङ्गाको मूर्तिलाई संरक्षण गर्न पनि आफूले बुबासँग मूर्ति बनाउन सिकिरहेको कमल बताउँछन् ।

बाबु छोरा गोविन्द र कमलले मूर्ति बनाउने पेसालाई थप व्यवस्थित बनाउन चाहेका छन् । यतिका वर्षबाट ढुङ्गाको मूर्ति बनाउने पेसामा आबद्ध रहेका बोटे परिवारलाई आजसम्म कुनै निकायले सहयोग नगरेको गुनासो गरेका छन् ।

‘स्थानीय सरकारले ढुङ्गा कुँद्न आवश्यक पर्ने औजार सहयोग गरे राहत मिल्ने थियो’, गोविन्दले भने, ‘यो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि कुनै निकायले पहल गरे हुने हो ।’ सबैले यो मेहनत र पेसालाई बुझिदिए यो कला बचाउन सकिने उनको विश्वास छ । अहिलेका युवा यो ढुङ्गाको काम गर्ने इच्छा नदेखाउँदा यो पेसा नै मर्ने हो कि भन्ने चिन्ता गोविन्दमा देखिन्छ ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १२ : ०४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्