कांग्रेसको दलाली गर्ने माओवादी कसरी कम्युनिष्ट हुन्छ ? | Khabarhub Khabarhub

कांग्रेसको दलाली गर्ने माओवादी कसरी कम्युनिष्ट हुन्छ ?



चुनावमा पहिलो स्थान प्राप्त नेपाली कांग्रेस यति बेला तेस्रो पार्टी नेतृत्वको सरकारमा सहायक बनेर बसेको छ । सत्ताको साँचो गठबन्धनको अर्को दल एकीकृत समाजवादीलाई सुम्पने समय निकट हुँदै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका गतिविधि र अभिव्यक्तिमा काँध फेर्न चाहेको लक्षण देखिन थालेका छन् । सत्तामा जाने मनस्थिति नरहेको र आफू मिसन ०८४ मा लागेको अभिव्यक्ति दिने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने हरियो बत्ती बालेर सत्ता र शक्तिको आगो ताप्न चाहेको च्याँखे थापिसकेका छन् । यदि यसो भयो भने एमाले सत्ताको रजगजमा फर्कने, दाहालको प्रधानमन्त्री पद कायम रहने दोहोरो स्वार्थले काम गर्न सक्ने देखिन्छ । भुईँको टिप्न खोज्दा पटक पटक पोल्टाको गुमाउन पुगेको एमाले आफ्ना रणनीतिमा किन बारम्बार असफल भइरहेको छ ? मिसन ०८४ को नाममा प्रमुख प्रतिपक्षी एमाले वर्तमानका विकृति, विसंगतिप्रति किन मौन छ ? संसदमा उसको भूमिका किन प्रभावकारी बन्न सकेको छैन ? यी लगायतका विषयमा एमाले पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेलसँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

आगामी दिनमा एमालेको चालबाजी र रणनीति के हो ? 
एमाले यो एक वर्ष मात्र प्रतिपक्षमा बसेको हैन । ३ वर्षदेखि निरन्तर प्रतिपक्षमा छ । हिजो पनि हामीलाई सर्वोच्च अदालतमार्फत अपदस्थ गर्दा सरकारमा त यही गठबन्धन थियो । हामी मुलुकमा राजनीतिक स्थायित्व भएको हेर्न चाहन्छौँ ।  राष्ट्रिय हितको रक्षा भएको हेर्न चाहन्छौँ । विकास निर्माण र समृद्धिको यात्रा पूरा गरेको हेर्न चाहन्छौँ । जनताको सुरक्षा र जीविकाको प्रत्याभूति भएको हेर्न चाहन्छौँ ।

तर गठबन्धनले त्यसो गरेको छैन । यसले त मुलुकमा एकपछि अर्को अस्थिरता, सामाजिक युद्ध र आर्थिक असफलता निम्त्याइरहेको छ । जनता समसामयिक माग राख्दा मारिनु पर्ने, हरेक ठाउँमा निषेधित क्षेत्र बनाएर जनताको मौलिक अधिकारलाई अवरोध गर्ने जस्ता काम गरिएका छन् । अहिलेको सरकारले आफ्नै मन्त्रिपरिषद् सदस्यको पनि सुरक्षा गर्न सक्दैन ।

वर्तमान सरकारमा गणितको सुविधा भएका कारण यो समीकरणलाई कता लैजाने हैन, समीकरणले उनीहरूलाई कता लान्छन् भन्ने प्रश्न अगाडि आएको छ । त्यसैले हामी मुलुकलाई सकारात्मक दिशा, विकास र राष्ट्रिय हितको पक्षमा अगाडि लैजान्छौँ ।

अवसर पाउँदा नगर्ने बाहिर बसेर आदर्शका कुरा गर्ने यो त संस्कृति नै हो ।  आफू सरकारमा हुँदा के गर्नुभयो ?

अवसर पाउँदा १५ औं योजना तयार गरेका थियौँ । पूर्वाधारको विकासमा होस् वा संविधान कार्यान्वयन सन्दर्भमा कानुन, नियमावली बनाउने वा शान्ति सुरक्षा प्रत्याभूति वा भ्रष्ट्राचार नियन्त्रण वा प्रतिव्यक्ति आम्दानी बढाउने र आर्थिक बित्तलाई अगाडि बढाउने विषय हुन् । ओली सरकार बन्दा तथ्याङ्कगत रूपमा काम गरेका छौँ । वर्तमान सरकारको ध्यान काममा छैन ।

अवसर पाउँदा एमालेले जनताको पक्षमा हिजो ०५१  र ०७७ सालमा ऐतिहासिक काम गरेको छ । त्यसबखत हामी राष्ट्रियतालाई सुदृढ गर्ने काममा लाग्यौँ । कालापानीबाट भारतीय सेना हट्नु पर्छ भन्यौँ । यसबाहेक राष्ट्रिय हित संरक्षणमा महत्त्वपूर्ण काम गरेका छौँ ।

चीनसँग व्यापारमा पारवहन सन्धि गर्‍यौं । उ संग कहिले पनि नाकाबन्दी नगर्ने विषय अघि बढाएका छौँ । भूराजनीतिक चलखेललाई नेपाल पस्न दिएनौं । नेपालको स्वाभिमान रक्षाको काम गर्‍यौं । त्यसैले अहिलेको गठबन्धनले काम गरेनौँ भन्दा यो गरेका थियौँ भनेर प्रति प्रश्न गर्नु न्याय सङ्गत हुँदैन ।

अहिलेको गठबन्धन सरकारले सुशासनको मानक स्थापित गर्ने क्रममा ठूलाठूला फाइल खोलेको छ । ठूला मान्छे जेल गएका छन् । कारबाही प्रक्रिया अगाडि बढेको छ । गरेकोलाई गरेको भन्न के को कन्जुस्याइँ ?

प्रचण्ड र नारायणकाजी सरकारमा गएपछि सुशासनका पक्षमा ठूला ठूला  जार्गन प्रयोग गर्नुभयो । ललिता निवास प्रकरणमा माधव नेपालको नाम आएपछि बल्ल सीआईबी नै नेपालको निवासमा गएर बयान लिने र उसलाई साथी बनाउने अभियुक्त नबनाउने त्यो खालको काम सुशासनको शैली हैन नि । ललिता निवास प्रकरणको जग्गा छानबिनको प्रकरण त हामीले सुरुवात गरेको हो । अख्तियारको मुद्दा पनि हाम्रै पालामा चलेको हो । त्यस कारण त्यो फाइल प्रचारको विषय थियो । यो कानूनी प्रक्रिया र संवैधानिक निकायले आफ्नो ढङ्गले अघि बढाएको हो ।
सरकारले दिने सेवा, कर्मचारी नियुक्ति र लुम्बिनीमा ल्हारक्याल लामा जस्तालाई उपाध्यक्ष गराउने विषयमा कहाँ छ सुशासन ? यो सबै अर्कालाई फसाएर  आफू जोगिने नौटङ्की मात्रै हो । सुशासन कसरी कायम हुँदै छ ? विमानस्थल निजीकरण हुँदै छ । विमानस्थल जस्तो संवेदनशील ठाउँ विदेशी कम्पनीलाई दिएर नेपालको बचे कुचेको सार्वभौमिकतामा हस्तक्षेपको स्थिति बन्दै छ ।

मिडरब्याज पीडितहरू हिँडेर भृकुटी मण्डपमा आएर बसेका छन् । खानपान छैन । गरिब दिनदुखीको रक्षा गर्छु भन्ने सरकारले समाजकल्याण परिषद्को भवनमा बस्दा पनि निकालेर बाहिर पठाएको छ । जसको घरबारी छेकिएका छन् । किसानले दूधको मूल्य पाएका छैनन् ।

जुन फाइल खोले पनि एमालेको कनेक्सन भेटिने भएकाले एमाले सरकारप्रति अनुदार भएको भन्ने आरोपबारे के भन्नुहुन्छ ?

सरकारमा बसेका मान्छेहरू कम्युनिस्ट विरोधी, मार्क्सवाद विरोधी र केपी ओली विरोधीहरूले प्रायोजित ढङ्गले गरिएका व्याख्या हुन् । हामीले भनेका छौ– यदि यो सरकारसँग हिम्मत छ भने ०४६ साल यताका सबै फाइल खोलौँ । सबै नेताहरूलाई सम्पत्ति शुद्धिकरणमा लगेर छानबिन गरौँ ।

गिरी बन्धुको सन्दर्भमा एमालेका को को मुछिएका छन् त्यो पनि हेरौँ । नत्र एमालेलाई मात्र अनुदार भयो नभनौँ । यो सबै काण्डमा सबै फर्केर त्यही कांग्रेस र माओवादीमा नै पोल्टामा पुग्ने भएकाले उनीहरू फाइल खोल्न तयार नभएका हुन । प्रचारमा रमाउने तर काम नगर्ने यो सरकारको विशेषता हो । प्रतिबद्ध सरकारले एउटा विषय कति दिनसम्म त्यही फाइल खोलेर बस्ने त ?  त्यस्तो हैन एउटा फाइल खोलेपछि त्यसको अन्तिम टुङ्गोसम्म लैजान सकेको भए मुलुकमा नेताप्रति जनताको आक्रोश हुँदैनथ्यो ।

सबै फाइलमा पार्टीका नेताहरूले सौदाबाजी र मोलतोलको राजनीति गरेका छन् नि ?

हामीले कुनै पनि नेतालाई तर्साउने धम्काउने गरेका छैनौँ । त्यो हाम्रो इतिहास हेर्न सकिन्छ ।

संसद एमालेको भूमिका किन नदेखिएको ?

टेरामक्स काण्डमा झन्डा हल्लाएर अख्तियार जान कुन नैतिकताले दिन्छ ? छानबिन समितिले प्रकाश ज्वालालाई दोषी ठहर गरेपछि ती मन्त्री भइरहने यो सरकारले भर्खरै तीन मन्त्रीलाई बर्खास्त गर्नु पर्दैन ? प्रतिपक्षले सत्ता पक्षले गरेको आपराधिक कुकर्म र संविधानको उलङ्घन गरेका विषय प्रतिवाद गरी त्यसलाई ठिक ठाउँमा ल्याउन एमालेले भूमिका खेल्ने हो । त्यही सन्दर्भमा हामीले तीन मन्त्रीको राजीनामा मागेका छौँ । राजीनामा मागेको अर्थमा सदन एमालेले अवरुद्ध गरेको बुझ्नुपर्छ । मुलुकमा बढ्दो भ्रष्ट्राचार अन्त्य गर्नुपर्छ भनेर आवाज उठाएको हो । सत्ता पक्षले गरेको काम आँखा चिम्लेर हामी सहेर बस्दैनौँ ।

सुन तस्करीको सन्दर्भमा उच्चस्तरीय आयोग बनेर काम गर्दै छ । अर्को सीआईबीले गरेको अनुसन्धानको फाइल नै हरायो रे ! विधि भत्काएर विधिको शासन कसरी स्थापित हुन्छ ?

यो सरकारको सैद्धान्तिक एकरूपता छैन । समान विचारका मान्छे छैनन् । कांग्रेस पूँजीवाद र दलाल उपसंसारको प्रक्षपोषण गर्छ । माओवादीहरू कम्युनिजममा कांग्रेस र विदेशी हितको दलाली गर्छ । मधेशवादी दलहरू मधेशवादको छुट्टै आन्दोलन, दुई राष्ट्रियताको मुद्दा उठाएर अस्थिरता खडा गर्ने र सामाजिक सद्भाव र जातीय राजनीति प्रश्रय दिने मान्छेहरू यो सरकारमा छन् । भन्नुस् त यो सरकारले कुन ढङ्गले काम गर्छ ?

छानबिन गरेका प्रतिवेदन  बुझ्ने तर सार्वजनिक नगर्ने, सुन तस्करी प्रकरणको छानबिनको म्याद थपेको थपेकै गर्ने यस खाले सरकार अब मुलुकमा रहनु हुँदैन । जति छिटो यो सरकार हट्छ , मुलुकले स्थायित्व पाउँछ ।

यो सरकार बिदा भएपछि तपाईँहरूले कांग्रेस, प्रचण्डहरूलाई नै बोक्नुपर्ने होला । यिनैलाई एमाले पिठ्यूँमा बोकेर हिँड्दा फेरि कुशासनको अर्को अध्याय सुरु भएन र ?

त्यसैले अहिले हामी सरकारमा जान हतारो छैन भनिरहेको छौँ । मिसन ० ८४ का रूपमा पार्टीलाई शुद्धीकरणको अभियानमा लागेका छौँ । सरकारले र गठबन्धनले गरेको अपराध र कार्यक्रमको भण्डाफोर, जनताको तहमा जाने, जनतालाई रिझाउने, जनतामा राजनीतिप्रति उत्पन्न नैराश्य कम गरेर विश्वास बढाउने काम गरिरहेका छौँ । हाम्रो अहिलेको एजेन्डा सरकार फेर्ने हैन । यदि सरकार आफैँ असफल भयो भने सरकारविहीन त मुलुकमा हुँदैन । विकल्पका रूपमा एमाले तयार छ ।

फेरि पुस १० पुनरागमन हुने भयो हैन ?

हामीले प्रचण्ड जस्तो अस्थिर मान्छे बोकेर हिँड्ने भनेका छैनौँ । बोक्न जरुरी पनि छैन । अब  पुस १० सन्दर्भ पुरानो भइसक्यो । यति बेला हामी जनतामा विश्वास जगाउने र २०८४मा एकल बहुमतको सरकार बनाउने भनेर अघि बढिरहेका छौँ । यो गठबन्धन सरकारबाट केही हुँदैन । मुलुकमा अब मजबुत र बलियो राष्ट्रिय शक्ति चाहिन्छ । त्यो राष्ट्रिय शक्ति यही संविधानबाट निर्माण गर्न सकिन्छ ।

अहिले सुशासन र स्थिरताको सन्देश दिन नसकेका दललाई फेरि ०८४ मा पनि जनताले पत्याइदिनु पर्ने ?

यो संविधानलाई स्वीकार गर्न नचाहने मान्छेले एक पार्टीको बहुमत पुग्दैन भनेर प्रचार गरिरहेको हो । हामीले जनता र राष्ट्रको  पक्षमा काम गर्न सक्यौँ भने एउटा राजनीतिक पार्टीले पनि एकल बहुमत ल्याउन सक्छ । र हिजो माओवादी र हामी गठबन्धन गरेर चुनाव लड्यौँ र बहुमत प्राप्त गरेका हौँ । अब साना दलको जरुरी छैन । दुई वटा कोलर प्रणालीमा जानु पर्छ भन्ने हाम्रो सिद्धान्त हो । त्यसैले आगामी बहुमतको सरकार नेकपा एमालेको भनेर अगाडि बढेका हौं, जुन सम्भव छ ।

प्रचण्ड–माधव नेपालहरूले समाजवादी मोर्चा बनाएर एक खालको अभ्यास सुरु गरिसकेका छन् ।  उनीहरू त्यो नेतृत्व गर्छन् । कांग्रेस अर्को धारको नेतृत्व गर्छ । त्यसो भए राष्ट्रिय राजनीतिमा एमालेको पहिचान र भूमिका के हो ?

एउटा कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारलाई अदालत प्रयोग गरेर काँधमा दक्षिणपन्थी बोकेर  राजनीति गर्न चाहने व्यक्तिहरूले कथित समाजवादी मोर्चा बनाएका छन् । त्यसको अर्थ छैन । त्यसैले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह र समाजवादी आन्दोलनको स्पष्ट दृष्टिकोणले अघि बढ्ने पार्टी एमाले हो । त्यसैले एमालेको एकल नेतृत्वमा समाजवादी धारको नेतृत्व हुन्छ । अरु कुनै व्यक्ति वा सङ्गठन जुन ढङ्गले अहिले दक्षिणपन्थी गठबन्धन भएर दलाली गर्दै एकत्रित राष्ट्रिय सभाको लागि कांग्रेसको दलाली गर्नेलाई कम्युनिष्ट पार्टी कसरी भन्ने ? र आफ्नो नेकपा एमाले फुटाएर तिमिलाई सत्ता दिए भन्नेहरू कथित  समाजवादीलाई पनि कम्युनिष्ट भन्ने हो भने यो मुलुकको अस्थिरता झन् बढ्छ ।

कस्तो माक्सवादी स्कुल, कस्ता कम्युनिस्ट चरित्र भएका नेता जन्माउनु भएछ है नेपालका कम्युनिस्ट योद्धाहरूले ?

यो गाली गरेको हैन, चरित्रलाई विश्लेषण गरेको हो । हामीले हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा मार्क्सवाद, लेलिनवाद् र जनताको बहुदलीय बहुलबाद हो । मदन भण्डारीले अगाडि सारेको विचारलाई मानेका छौँ । अब  हामी एकल पार्टी संस्कृतिमा जान्छौँ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ४ : ०७ बजे

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,