जनावरमाथि सापकोटाको ‘सेक्सी’ नजर | Khabarhub Khabarhub

जनावरमाथि सापकोटाको ‘सेक्सी’ नजर

के मान्छेले जस्तै बाघ र लुइँचेले तर्क गर्न सक्छ ?


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 9 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

पूर्वीय दार्शनिक बात्सायनले कौटिल्यकालमा लेखेको ‘कामसूत्र’को चर्चामा अहिलेसम्म सेलाएको छैन । कश्मिरी दार्शनिक आचार्य कोक्कोकले ७ औं शताब्दीतिर संस्कृत भाषामा रचना गरेको रतिरहस्य नै पछि गएर ‘कोकशास्त्र’का रुपमा चर्चित भयो भन्ने मान्यता पनि छ । जे होस्, पूर्वीय संस्कृत साहित्यमा उपनिषदकालदेखि नै ‘कामशास्त्र’ अर्थात ‘सेक्सोलोजी’ सम्बन्धी धेरै किताबहरु लेखिएका पाइन्छन् । ‘कामसूत्र’ जसले लेखेको भए पनि यो मान्छेको रतिक्रियासँग सम्बन्धित शास्त्र हो, जनावरको होइन ।

मानिसको यौनको चर्चा गर्दा कहिलेकाहीँ सन्दर्भ या दृष्टान्तका क्रममा जनावरको प्रशंग पनि आउँछ । कामसूत्रमा पनि मृग, हरिण, घोडा, हात्ती, गोरु इत्यादिको चर्चा छ ।
पाश्चात्य प्राज्ञिक इतिहास हेर्दा १९ औं शताब्दीका चर्चित अमेरिकी नृबंशशास्त्री लुइस हेनरी मोर्गनको नाम अहिलेसम्म विशेष चर्चामा रहने गरेको छ । मोर्गनले सन् १८७७ मा लेखेको चर्चित पुस्तक ‘एन्सिएन्ट सोसाइटी’ मा मान्छेको परिवार र यौनको चर्चा गर्दा जनावरको यौन चरित्रमाथि पनि चर्चा गरिएको छ ।

मोर्गनका समकालीन एस्पिनसले ‘पशु समाज’ नामक किताब लेखे । पुस्तकमा उनले जुन प्रजातिका पशुपंक्षी समूह वा बथान बनाएर हिँड्छन्, त्यहाँ एकनिष्ट यौन सम्बन्ध नरहने विश्लेषण गरे । जहाँ एकनिष्ट यौन सम्बन्ध रहन्छ, त्यहाँ बथानको प्रादूर्भाव नहुने एस्पिनसले दाबी गरे । ‘सामुहिक बथान’ र ‘एकनिष्ठ यौन सम्बन्ध’ को विपरीत भावबारे ‘पशु समाज’ पुस्तकमा एस्पिनसले भनेका छन्, ‘बथान पशुहरुमा देखिने सबैभन्दा उच्च सामाजिक समूह हो । बथान विभिन्न परिवारहरु मिलेर बनेको जस्तो देखिन्छ । तर, सुरुदेखि नै परिवार र बथान परस्पर विरोधी हुन्छन् ।’

सन् १८८४ मा प्रकाशित ‘विवाह र परिवारको उत्पत्ति’ नामक पुस्तकमा एस्पिनसको विश्लेषण छ, ‘जहाँ परिवार घनिष्टरुपमा एकवद्ध रहन्छ, त्यहाँ दुर्लभ अपवादका रुपमा मात्र बथानको प्रादूर्भाव हुन्छ । यसको विपरीत जहाँ स्वच्छन्द यौनसम्बन्ध अथवा एउटा भाले जनावरको अनेक पोथी जनावरहरुसित यौन सम्बन्ध प्रचलित हुन्छ, त्यहाँ प्रायः स्वतः बथानको उत्पति हुन्छ ।’

आफ्नो दाबीलाई पुष्टि गर्न एस्पिनस केही जनावरहरुको उदाहरण दिँदै भन्छन्, ‘बथान (समूह) को उत्पत्तिका लागि पारिवारिक सम्बन्ध कमजोर हुनुपर्छ र हरेक जनावर आफू स्वतन्त्र हुनु आवश्यक हुन्छ । हामी चराचुरुङ्गीमा संगठित बगाल कमै भेट्टाउँछौं । यसको विपरीत स्तनधारी जनावरमा निश्चित हदसम्म संगठित जमात भेट्टाउँछौं । किनभने त्यहाँ प्रत्येक पशु आफ्नो परिवारमा हराउँदैन ।’ (एस्पिनसका माथिका उद्धरणहरु फेडरिख एङगेल्सको पुस्तक ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ बाट लिइएका हुन्)

एक्काइशौं शताब्दीसम्म आइपुग्दा जनावरहरुको यौनिक विशेषता र व्यवहारबारे धेरै अनुसन्धानहरु भइसकेका छन् । धेरै पुस्तकहरु प्रकाशित भएका छन् । त्यस्ता धेरै पुस्तकहरु ‘अमेजन’ मा अनलाइन किन्न पाइन्छन् । कतिपय निःशुल्क डाउलोड गरेर पनि पढ्न पाइन्छ । जनावरहरुको प्रेम, जनावरको यौनिक व्यवहार, जनावरको राज्यमा यौनको प्रकृति, जनावरको यौनिक नियन्त्रण, सेक्स एण्ड सिंगल पाण्डा जस्ता कैयौं किताबहरु विश्व बजारमा छ्याप्छ्याप्ती छन् । कुन जनावरको ‘गाँस, बास र सहबास’ कस्तो हुन्छ, इन्टरनेटमा सर्च गरेर पनि जानकारी लिन सकिन्छ ।

यही भीडमा पुस्तक बोकेर आइपुगेका छन् नेपाली पत्रकार एवं लेखक ददि सापकोटा । फ्रान्समा बसोबास गर्दै आएका सापकोटाले २०७६ सालमा ‘वनको वैभव’ शीर्षकको पुस्तक लेखेर ‘जनावरको मनदेखि यौनसम्म’ चर्चा गरेका थिए ।

सापकोटाले चार वर्षपछि, यसैसाता ‘जीवगाथा’ नामको अर्को किताब बजारमा ल्याएका छन् । दोस्रो कितावको उपशीर्षकमा जनावरको ‘गाँस, बास र सहवास’को चर्चा गरिएको छ ।

दुबै किताबको विषयवस्तु एकै छ । कतिपय त विषय समेत दोहोरिएका छन् । उही बाघ, हात्ती, चरा इत्यादिले कसरी सेक्स गर्छन् भन्ने वर्णन । दुबै किताब एउटै विषय, एउटै पारा र एउटै शैलीका छन् । एउटा पढेपछि अर्को खासै पढिरहनुपर्ने खालको छैन ।

पुस्तकको रोचक र सकारात्मक पक्ष

पत्रकार सापकोटाले लेखेका ‘वनको वैभव’ र ‘जीवगाथा’ दुबै पुस्तकले केही सकारात्मक सन्देश दिएका छन् ।

पहिलो, यो पृथ्वी मान्छेको मात्रै होइन, जनावरको पनि हो भन्ने वातावरणमैत्री मान्यतालाई पुस्तकले बढावा दिएको छ, यो पुस्तकको सबैभन्दा बढी सकारात्मक पक्ष हो ।

दोस्रो, सापकोटाले ‘इकोसिस्टम’ को चर्चा गर्दै मानिसको अस्थित्वका लागि पनि जीवजन्तु, चराचुरुङ्गी र जनावरहरु जोगाउनुपर्ने, वन जंगलको संरक्षण गरिनुपर्ने लविङ गरेका छन् । यो पनि समाजका लागि सकारात्मक योगदान हो ।

तेस्रो, जनावरहरुमा हुने भालेपोथीको यौन गतिविधिलाई चर्चामा ल्याएर उनले कामुक साहित्य मनपराउने पाठकहरुलाई मनोरञ्जन प्रदान गरेका छन्, यो पनि एउटा ‘कामशास्त्र’ टाइपको मनोरञ्जन साहित्य नै हो । मान्छेका जालझेलका कथा पढ्दा–पढ्दा वाक्क भएका कतिपय पाठकलाई पुस्तकले मनोरञ्जन दिन सक्छ । यसलाई पनि साहित्यको नजरबाट सकारात्मक नै मान्नुपर्ने हुन्छ ।

चौथो, पत्रकार सापकोटा विज्ञान विषय पढेका व्यक्ति होइनन्, अंग्रेजी साहित्यका विद्यार्थी हुन् । तर, उनी वन र वातावरणको क्षेत्रमा पत्रकारिताको लामो अनुभव सँगालेका अनुभवी व्यक्ति हुन् । जनावर र चराचुरुङ्गीको विषयमा अध्ययन, अनुसन्धान गर्ने उनको सोख हो । यसकारण उनले पुस्तकमा जति पनि जनावर र चराहरुका बारेमा उल्लेख गरेका छन्, त्यसमा उनको खोज, साधन र लगन राम्रोसँग झल्किएको छ ।

पुस्तकले धेरै जीवजन्तुको आनीबानी र स्वाभावबारे मानिसलाई एकमुष्ट जानकारी दिन्छ । यसले यो क्षेत्रका अनुसन्धानकर्ता र वन्यजन्तुबाट जोगिन खोज्ने समुदायलाई केही शिक्षा दिन सक्छन् । यो पनि पुस्तकको सुन्दर र सह्रानीय पक्ष हो ।

एउटा फिस्टोले दिनमा कतिवटा किराहरु खान्छ र त्यसले वन जोगाएको छ भन्ने उदाहरण दिँदै सापकोटाले सरकारलाई भनेका छन्, ‘बाघ जोगाउने नीति मात्रै बनाएर पुग्दैन, फिस्टो संरक्षणको नीति पनि बनाइनुपर्छ । त्यस्तै हात्तीको व्यवहारबारे जानकारी पाउनसके उसबाट हुने मानवीय क्षति कम गर्न सकिन्छ भन्ने सापकोटाको निष्कर्ष पनि सही छ ।

पाँचौं, सापकोटाको लेखनशैली सरर बगेको र छरितो पाराको मिठासयुक्त छ । पुस्तक पढ्दै जाँदा अल्छीलाग्दो प्रस्तुती छैन । यो शैलीका कारणले पनि यसलाई रमाइलो साहित्यको कोटीमा राख्न मिल्छ । मान्छेको साटो जनावरको ‘कामसूत्र’बारे चर्चा गरिएका यी पुस्तकहरु प्रकाश कोबिदका उपन्यास भन्दा कम ‘सेक्सी’ छैनन् ।

लेखकका तीन कमजोरी

लेखकले पुस्तकबाट केही सकारात्मक योगदानहरु दिँदा दिँदै पनि मुख्यतः तीनवटा कमजोरी गरेको देखिन्छ । एक– ‘वनको वैभव’ र ‘जीवगाथा’ उस्तै किताव निकालेर पाठकलाई धोका दिनु ।

दुई– जनावर र चराचुरुङ्गीका अन्य सुन्दर पक्षहरुको एकेडेमिक चर्चा भन्दा पनि ‘सहबास’ को सस्तो कथा पस्केर गम्भीर विषयलाई ‘छिल्लिएको साहित्य’ जस्तो बनाउनु ।

अनि तेस्रो– जनावरको भाषा बुझ्ने नाममा बाघले के सोच्छ, लुइँचेले कस्तो रणनीति बनाउँछ भन्नेजस्तो दार्शनिकरुपमै भ्रामक लाग्ने दाबीहरु पस्केर पाठकलाई उल्लू बनाउने प्रयास गर्नु ।
दुबै पुस्तक एउटै हुन् भन्ने त माथि चर्चा गरिसकियो । सेक्सको भद्दा प्रस्तुतीले पुस्तकलाई जनावरको ‘कोकशास्त्र’ मा रुपान्तरण गरेको कुरा पनि चर्चा गरिरहनुपरेन । चराहरु र अन्य जनावरका धेरैवटा सुन्दर पक्ष छन् । ती सुन्दर पक्षका अगाडि ‘सेक्स’ अन्त्यन्त गौण विषय हो ।

जस्तो– लुइँचे कति राम्रो चरा छ, तर लेखकले उसलाई यौनपिपासुका रुपमा विद्रूप चित्रण गरेका छन् । सेक्सप्रति अति आशक्ति मान्छेमा हुन्छ, जनावरका लागि त यो नितान्त प्राकृतिक र शारीरिक आश्वयकताभन्दा पर्तिर केही पनि होइन । तर, लेखकले मान्छेको कामुक चश्मा लगाएर जनावरको वर्णन गरेका छन् । यो निर्दोष चरा र जनावरहरुमाथिको गिद्धेनजर वा पूर्वाग्रही नजर हो कि हैन ? यो बहस गर्नुपर्ने विषय हो ।

अब लेखकको तेस्रो कमजोरीका रुपमा उनले जनावरको भाषा बुझ्ने नाममा कसरी ‘कारण र कार्य’ सम्बन्धी दार्शनिक मान्यतालाई विद्रूप बनाए भन्नेबारे चर्चा गरौं ।

के जनावरले तर्क गर्छ ?

लेखक सापकोटाको पुस्तकमा उल्लेखित केही चराचुरुङ्गीको यौन व्यवहार हेरौं ।

‘अड्कली अड्कली वीर्यपतन’ शीर्षकमा लेखक सापकोटाले यस्तो लेखेका छन्–

‘तित्रा, बट्टाई, मयूर, लुइँचे, कालिज, प्युरालगायत धेरै चराका भाले यौनका मामिलामा अति खेलाडी मानिन्छन् । ती साह्रै कामुक हुन्छन् । एकै दिनमा दर्जनसम्म पोथी फेर्ने हुन्छन् । यस्ता बहुपत्नी ओगट्ने चरामा कुनै कुनै भालेले एक दर्जनसम्म पोथीहरुसित लसपस गर्छन् । पोथी पनि के कम ? भाले फेरी फेरी सम्भोग गराउँछन् । …. प्रश्न उठ्छ– यतिधेरै पोथीसँग सम्भोग गर्दा कसरी तिनको वीर्य भण्डारले थेग्छ त ? धेरै जीवजन्तुको यौन रणनीतिबारे जानकारी प्राप्त भइसकेका छैनन् । तर लुइँचेहरु चाहिँ किफायती तरिका अपनाउन बाठा हुन्छन् । लुइँचेहरुले प्रत्येक सम्भोगमा एकै परिणाम र तरिकाले वीर्य छाड्दैनन्, पोथीको प्रजनन गुणस्तर र वरिपरि भएका भालेसँगको प्रतिस्पर्धा हेरेर अड्कली अड्कली छाड्ने गर्छन् । ….अन्य भालेको वीर्यसँग प्रतिस्पर्धा गर्न भालेहरुले यस्तो रणनीति अपनाउँछन् । …. यसमा सम्भवतः हार्न सकिने धेरै जोखिम हुनाले किन धेरै खर्च गर्ने भन्ने रणनीति हुन सक्छ ।’

सापकोटाको तर्कलाई पत्याउने हो भने लुइँचेले सम्भोग गरिरहेका बेला धेरै कुरा सोच्दो रहेछ । मनमा तर्कना गर्दोरहेछ । उसले शारीरिक आकर्षण वा कामुकताका आधारमा नभएर अरु भालेसँग प्रतिस्पर्धा गर्ने रणनीति ‘रणनीति’ नै बनाएर नियतबस सम्भोग गर्दोरहेछ । प्राकृतिक कारणले होइन कि छेउछाउ अरु भालेहरु पनि छन् भन्ने सम्झेर नियतबस खटाई–खटाई वीर्य खर्च गर्दोरहेछ । अझ रोचक त के छ भने भाले लुइँचेको यो रणनीतिक तत्वज्ञान ददि सापकोटालाई राम्रोसँग थाहा रहेछ ।

प्रश्न– कुनै पशुको रतिक्रिया उसको शारीरिक आवश्यकताको परिपूर्ति गर्ने प्राकृतिक कार्य मात्रै हो या रणनीतिक– कार्यनीतिसहितको तार्किक विश्लेषणात्मक कार्य हो ? यो दर्शनशास्त्रसँग जोडिएको प्रश्न हो । विज्ञानसँग जोडिएको विषय हो । ददि सापकोटाले सोचेजस्तो लुइँचेले अलि सोच्न सक्दैन कि ?

आफूलाई पशुपंक्षीको भाषाको बुझक्कड दाबी गर्ने सापकोटाले पुस्तकको अर्को ठाउँमा लेखेका छन्, ‘आकर्षक भालेसित सम्भोग गर्‍यो भने तिनबाट कोरलिने बचेरा सुन्दर र स्वस्थ हुन्छन् भन्ने पोथीहरुले ठान्छन् ।’

यहाँ पनि गम्भीर दार्शनिक प्रश्न उठ्छ । आकर्षक भाले देखेर पोथीहरु लोभिनु वा मोहित हुनु प्राकृतिक कुरो हो । तर, योचाहिँ भालेबाट बच्चा जन्माउने हो भने बचेरा सुन्दर र स्वस्थ्य हुन्छ भनेर पशुपंक्षीले विश्लेषण कसरी गर्न सक्छ ? यो त मान्छेले मात्र अनुमान मा विश्लेषण गर्न सक्ने विषय होइन र ?

यहाँनेर लेखक ‘कारण र कार्य’ को दाशर्निक मान्यताबाट नराम्रोसित चिप्लिएका छन् । उनी आफ्नो चेतना एउटी पंक्षीको टाउकोमा थोपर्न चाहन्छन् ।

जीवगाथा पुस्तकको एक भागमा सापकोटाले कतिपय चराले अण्डालाई गीत सुनाउने गरेको र सोही गीतका आधारमा पछि बचेराले सोही भाषा बोल्ने गरेको दाबी गरेका छन् । उनको यो दाबी महाभारतको कथामा अर्जुनले सुभद्रालाई चक्रब्यूहमा पस्ने र तोड्ने कथा सुनाइरहँदा अभिमन्युले आधामात्रै सुनेको ‘मिथक’सँग मेल खान्छ, जसलाई विज्ञानसम्मत मान्न सकिँदैन ।

अण्डाकालमा कुनै गीत नसुने पनि जुन प्रजातिको चरा हो, त्यो जन्मेपछि माउको जस्तै भाका निकाल्छ–निकाल्छ, अण्डाकालमा प्रशिक्षण दिइरहनै पर्दैन । कोरलेको अण्डाको छेउमा उभिएर माऊले गीत गाएछ नै भने पनि त्यो उसको प्राकृतिक स्वाभाव हो, बच्चाले भाषा सिकोस् भन्ने तर्कको उपस्थिति त्यहाँ मान्छेले मात्र गर्न सक्छ, चराले कसरी सक्छ ?

लेखकले एउटा प्रशंगमा फिस्टा, भँगेरा प्रजातिका कतिपय चराले ‘छोरी पाउन मरिहत्ते’ गर्ने गरेको समेत निश्कर्ष निकालेका छन् । कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताको हवाला दिँदै सापकोटाले आहाराको संकट भएका क्षेत्रमा पोथी चराले प्रोजेस्टोरोन हर्मोन कम छाड्ने, जसले गर्दा पोथी चरा बढी जन्मने बताएका छन् ।
तर, यसलाई पनि लेखकले प्राकृतिक नभएर पोथी चराको चेतना र नियतमा लगेर जोडेका छन् ।

‘अर्को बेतमा बचेरालाई आहारा खोज्न सास्ती हुने भएकाले पोथीहरुले छोरी जन्माउन चाहेको’ लेखकको अनौठो तर्क छ । आहारा कम भएर हर्मोन नै कम निस्किएको हो कि भविश्य सोचेर छोरी जन्माउने चराले सोचेको हो ? सापकोटालाई मात्र थाहा छ ।

तितु चराले सुतेका बेला संगीतको रियाज गर्ने गरेको, सेक्सी पोथीको बंश धेरै हुने गरेको, नराम्रा भालेहरु पोथी नपाएर तड्पिने गरेको जस्ता तर्कहरु लेखकले पुस्तकमा गरेका छन् । धेरै प्रशंगहरुमा ‘वैज्ञानिक अनुसन्धान’लाई शिरानी हालिएको छ ।

अब भाले बाघको ‘तर्क’ सुनौं ।

वन्यजन्तुविदहरुका अनुसार बाघका बच्चा प्रायः आमाले हुर्काउँछे । भाले बाघ बेलाबखत बघिनी भएको ठाउँमा सहवासको उद्देश्यले आउँछ र उसले बच्चाहरुलाई खासै वास्ता गर्दैन । तर, कहिलेकाँही बाघले बच्चाहरुलाई समेत शिकार गर्ने गरेको वन्यजन्तुविद स्वीकार्छन् ।

शायद पशुले तीन कारणले अन्य जीवको हत्या गर्छ– खानेकुरा नपाएपछि भोकाएर, डिस्टर्ब हुँदा चिढिएर अनि आत्मसुरक्षा गर्नुपर्ने परिस्थिति आएर ।

मैले यसलाई मारें भने मलाई यस्तो–यस्तो फाइदा हुन्छ भन्ने तर्क र विश्लेषण मान्छेले मात्रै गर्छ, जनावरले शायदै गर्ला ।

तर, लेखक ददि सापकोटा भने बच्चाहरुबाट बघिनीको ध्यान हटाएर यौनका लागि शारीरिक रुपमा ‘फिट’ बनाउने उद्देश्यले भाले बाघले बच्चाहरु मार्ने गरेको तर्क गर्छन् । मानौं, सापकोटालाई भाले बाघको ‘कार्य’ मात्र होइन ‘नियत’ समेत थाहा छ ।

अनुसन्धानकर्ता एवं दार्शनिकहरुका अनुसार पशु र मानिसको चेतनास्तरमा मौलिक भिन्नता छ । ‘पशु समाज’ मुख्यतः बाह्य इन्द्रीयजन्य प्रवृत्ति वा प्रतिक्रियात्मक व्यवहारमा आधारित हुन्छ । जबकि मानव समाज तर्क वा तर्कसंगत व्यवहारमा आधारित हुन्छ । पशुहरुमा कुनै अधिकार र कर्तव्य हुँदैन, हरेक प्राणी आफ्नो भौतिक शक्तिमा मात्र बाँच्छन्, तर्कका आधारमा होइन ।

बच्चा भएकै कारण पोथी बाघ शारीरिक सम्पर्कका लागि तयार नभएकी हो र बच्चा मारेपछि ऊ शारीरिक रुपमा फिट हुन्छे अनि मजाले यौन सन्तुष्टि लिन सकिन्छ भन्ने अपराधिक तर्कयुक्त विश्लेषणात्मक चेतना एउटा जनावरसँग हुन्छ कि हुँदैन ? कि जनावरले इन्द्रीयजन्य सत्य मात्र जान्दछ ? यो दार्शनिक विवेचनाको विषय हो ।

भाले बाघले पोथीसँगको संसर्गका बेला ‘डिस्टर्ब’ भएको स्थितिमा बच्चालाई झम्टेको हो या यिनीहरुको उपस्थिति नहुँदा आफूलाई पछिसम्म फाइदा पुग्ने विश्लेषण गरिकन बच्चा मार्ने गरेको हो ? अथवा उसले शिकारका रुपमा मासु खाने उद्देश्यले बच्चा मारेको हो ? के कारणले भाले बाघले बच्चा मार्ने गरेको हो ? यसको कुनै तथ्यपरक कारण हुन सक्छ । तर, ‘बच्चा मारेपछि आमा यौनका लागि फिट हुन्छे’ भन्ने तर्क गरिकन बाघले बच्चा मार्छ भनेर ठोकुवा गर्नुचाहिँ अलि बढी नै भयो कि ?

यो पनि-

‘जंगलको राजा’ले किन मार्छ आफ्नै छोराछोरी ?

बीबीसीको एक रिपोर्टका अनुसार केही वर्ष पहिले भारतको एउटा चर्चित नेशनल पार्कमा करिब तीन दर्जन बाघ र एक दर्जन बच्चा थिए । त्यहाँ एक बघिनीको मृत्युपछि करिब ८ महिनाका दुईवटा बच्चा टुहुरा बने । तिनलाई भाले बाघले सँगै लिएर हिँडेको र शिकार खुवाएको वन कर्मचारीहरुलाई उधृत गर्दै बीबीसीले लेखेको थियो ।

मान्छे र पशु, को अनुसाशित ?

मान्छेले पशुलाई हेप्छ । गाली गर्छ । खराब मान्छेलाई ‘पशुजस्तो’ भनेर उपमा दिन्छ । पशुको संसारमा, जंगलमा कुनै नियम, कानुन हुँदैन । बलियोले दुब्लोलाई पेल्ने हो, खाने हो । जंगलमा जस्तै समुद्रमा पनि बलियाको शासन चल्छ । ‘जंगल ल’ र ‘मत्स्य ल’ त्यसै भनिएको होइन ।

गाईगोरु बथानमा चर्छन्, तर मान्छेले जस्तो गाईले गोरुबाट असुरक्षित महसुस गर्दैनन् । मान्छेले भने महिलामाथि बाह्रैमास कुदृष्टि लगाउँछन् 

तर, यति भन्दा भन्दै पनि यौन अनुशासनको सन्दर्भमा कतिपय अवस्थामा मानिसहरुभन्दा पशुहरु अनुशासित हुन्छन् । कुकुर होस् या गाईवस्तु, यौनका लागि निश्चित ऋतु पर्खन्छन् । पोथीले आवश्यकता महसुस गरेपछि मात्रै भाले तयार हुन्छन् । कात्तिकमा बाहेक कुकुर्नीहरुले सडकमा भुस्याहा कुकुरबाट यौनहिंसा ब्यहोर्नुपर्दैन । तर मानिसको हकमा महिलाहरु सधैं असुरक्षित हुनुपरेको छ, किन ?

गाईगोरु बथानमा चर्छन्, तर मान्छेले जस्तो गाईले गोरुबाट असुरक्षित महसुस गर्दैनन् । मान्छेले भने महिलामाथि बाह्रैमास कुदृष्टि लगाउँछन् । ओशोले त्यसै भनेका होइनन्, भारतवर्षका लोग्नेमान्छेको जुनी फरियाका पछाडि दौडँदैमा बित्छ ।

पोथी जनावर नांगै हिँड्छन् तर तिनलाई देखेर भालेहरु बौलाउँदैनन् । मान्छेलाई चाहिँ महिलाले अलिकति छोटो लुगा लगाएको देख्नै हुन्न, सिठ्ठी बजाउन थालिहाल्छन् । सबै काम छाडेर त्यतैतिर आँखा तन्काउँछन् ।

यो सबै दृष्टान्तले के भन्छ ? कतै यौनको मामिलामा मर्द मानिसहरु भन्दा पशुपंक्षीका भालेहरु पो अनुशासित हुन् कि ? अनि यस्ता प्राकृतिकरुपमै अनुशासित जीवजन्तुलाई बलात्कारी, कामुक र फटाहाका रुपमा विद्रूपीकरण गरेर सापकोटाले कतै जनावरमाथि अन्याय त गरेका छैनन् ? जवाफ दिने जिम्मा लेखककै हो ।

वन्यजन्तुविदका अनुसार मैथुन ऋतु आउँदा पशुपंक्षीका भाले प्रजाति शारीरिक कारणले आक्रमक बन्छन् । तर, अन्य समयमा अधिकांश ‘पशु समाज’ मा मान्छेको भन्दा पनि भद्र यौन अनुशासन देखिने गर्दछ ।

अन्त्यमा,

लेखको प्रारम्भमा पूर्वीय ‘कामसूत्र’ र पाश्चात्य लेखकहरुको प्रशंग किन कोट्याइयो भन्नेबारे छोटो स्पष्टीकरण–

‘पशु समाज’ को  अध्ययन आज सुरु भएको नयाँ विषय होइन । यो एउटा रोचक प्राज्ञिक विषय हो भन्नका लागि माथिको सन्दर्भ उल्लेख गरिएको हो । मान्छेको सेक्सको विषयमा संस्कृतमा पनि साहित्य लेखिएका थिए भनेर सम्झाउन मात्र ‘कोकशास्त्र’ को उल्लेख गरिएको हो ।

तर, पशुको भाषा बुझ्ने दाबीका साथ तिनको बारेमा विश्लेषण गर्न भद्दा मजाकका रुपमा, कोकशास्त्रका रुपमा वा प्रकाश कोबिदको उपन्यास जसरी नभएर एकेडेमिक रुपमा पस्कनुपर्छ र अनुसन्धान, प्रमाणमा आधारित रहेर मात्र कुरा गर्नुपर्छ भन्ने यस आलेखको आशय हो । अन्यथा, जनावरको भाषा लेख्ने नाममा आफूभित्रको कुण्ठामात्र प्रकट हुन जाने खतरा रहन्छ ।

जनावरसँग जिस्किनु जोजिमपूर्ण कार्य हो, चाहे जंगलमा  होस् या किताबमा ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ६ : ३७ बजे

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ जनाको मृत्यु

दोहा– ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु

राष्ट्रपति पौडेल तनहुँमा

दमौली– राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन आज तनहुँ

एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित

सिमकोट– नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका

कानून निर्माणको रफ्तार बढाउन आवश्यक छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कानून निर्माणको काम

विपद्जन्य घटनामा ४९३ जनाको मृत्यु

काठमाडौँ– २०८० सालमा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु