'जंगलको राजा'ले किन मार्छ आफ्नै छोराछोरी ? | Khabarhub Khabarhub

‘जंगलको राजा’ले किन मार्छ आफ्नै छोराछोरी ?

जीवगाथा : जनावरको गाँस, बास र सहवास


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

चितवनका एकजना भाइले मलाई फोन गरेर भने, दाइ एउटा नयाँ हात्ती आएको छ । यस्तो जण्ड छ… । मैले भनें, ‘त्यस्तो जण्ड हात्तीको फोटो खिच्नुपर्‍यो ।’

उहाँले सेनाको मानिसलाई फोन गरिदिनुभयो । अनि म साइकलमा सुर्र गएँ । त्यहाँ पुग्दा आर्मीमा मानिसहरुबाहेक कोही थिएनन् । उनीहरुले मलाई पस्न दिएनन् ।

मैले भाइलाई फेरि फोन गरें । उहाँले फेरि फोन गरिदिनुभयो । अनि आर्मीको मान्छेले आएर भन्नुभयो, ‘तपाई त फरक मान्छे हुनुहुँदोरहेछ । तपाई त हात्तीको भाषा पनि बोल्नुहुन्छ रे । यो हात्तीले के–के भन्दोरहेछ, तपाई भित्र पस्नोस् ।’

म भित्र पसें । मान्छेहरु कराइराखेका थिए । जंगली हात्ती । पहिलोचोटि चितवनमा आएको । मलाई त दशवटा दशैं एकैचोटि मनाएजस्तो भयो । क्यामेरा, रेकर्डर सबै तयारी अवस्थामा राखेको हुन्छु जहिल्यै पनि । त्यहाँ पनि सबै कुरा तयारै थियो ।

त्यहाँ हात्ती अघिल्लो दिन आएको रहेछ । हात्तीकेन्द्रमा गइसकेपछि पोथी हात्तीचाहिँ अन्तै लगिदिएछन् । अब हात्ती त बौलाउने भो । जुन चिज खोज्न आएको छ, उसका प्रियसीहरु नै बिछोड गराइदिएपछि त हात्तीले छोड्छ ? त्यो हात्तीले त्यहाँ विध्वंश मच्चाएछ । म पुग्दा पनि फोटो खिच्न खोज्दैथिएँ, विध्वंश मच्चाउला मच्चाउला जस्तो गर्‍यो ।

हात्तीको गति भनेको ४० किलोमिटर प्रतिघण्टा हो । हामीचाहिँ २० किलोमिटरसम्म दौडन सक्छौं ।

अरु मानिसहरु नजिकै नभएका बेलामा फोटो खिच्न खोजेको, म मान्छेबाट अलि टाढा, हात्तीबाट अलि नजिक थिएँ । मलाई के कुरा थाहा थियो भने म जोखिम त लिन्छु, तर ‘क्याल्कुलेसन’ गर्छु । हात्तीको गति भनेको ४० किलोमिटर प्रतिघण्टा हो । हामीचाहिँ २० किलोमिटरसम्म दौडन सक्छौं ।

हात्ती ४० मिटर पर थियो । म २० मिटर पर थिएँ, ७ मिटरमा आर्मीको ब्यारेक थियो । मैले के सोचें भने २ मिनेटमा म ४/५ स्न्याप हान्न सकिहाल्छु, त्यो दौडेर आयो भने म फुत्त घरभित्र पसिहाल्छु । नभन्दै त्यो हात्ती आइहाल्यो हान्नलाई । म पनि भागिहालें । आर्मीमा मान्छेहरुले मलाई बेस्सरी गाली गर्नुभयो । तपाईले यहाँ पत्रकार हुँ भन्दै क्यामेरा तेस्र्याएर हात्तीले मान्छ ? भन्दै गाली गर्नुभयो ।

पछि मलाई त्यो हात्तीको फलो गर्न मन लाग्यो । सौराहामा एउटा फेस्टिबल थियो । त्यहीबेला एकजनाले फोन गरेर मलाई भन्नुभयो, ‘त्यो हात्ती नजिकै आएको छ ।’

म फेस्टिबल छाडेर त्यहाँ गएँ । त्यो हात्ती हामी सबैले देख्यौं । त्यो राप्तीको पारिपट्टि थियो, हामी राप्तीको वारि, होटल भएको साइटमा थियौं । मैले के अनुमान गरें भने अब यो हात्ती विस्तारै, तीन किलोमिटरजति हिँडेर पोथी हात्ती भएको ठाउँमा जान्छ ।

म साइकलमा छु । फोटो खिच्दै वारिबाट त्यसलाई फलो गर्दै गइरहेको छु । त्यो हात्ती नभन्दै त्यही हात्तीसारमा पुग्यो । मैले एकजना भेटेरीनरी डाक्टरलाई भनेको थिएँ, त्यो हात्ती रातभरि त्यहाँ बस्यो भने म त्यो हात्तीसारमा रातभरि कतै टुक्रुक्क बस्छु, मलाई खान दिनु पनि पर्दैन, खाली म त्यसको वाच गर्छु ।

पाँच बजेपछि हात्तीसार बन्द भयो, सबै घरतिर लागे । त्यो हात्ती त्यहीँ आयो । हात्तीसारमा राखेको दानापानी, घाँस खान थाल्यो । साँझ पर्न लागेको थियो । फोटो खिच्न जाँदा त्यो हात्ती मलाई हान्नलाई दौडेर कराउँदै आयो । त्यो हात्ती मकहाँ आउनुभन्दा पहिल्यै म बारभित्र पसिहाल्छु भनेर मैले पनि त्यहाँ हिसाब–किताब गरेको थिएँ । त्यहाँका मानिसहरुले के ठानेछन् भने हात्तीले मलाई सिध्यायो । त्यो हात्तीलाई धपाउन उनीहरुले टिन–सिन ठटाएर बेस्सरी कराए ।

म त्यहाँ साँझसम्म बसें । फोटो खिचें । त्यो हात्तीलाई दिनभरि पट्याउँदाखेरि मैले लगभग १६० वटा फोटोहरु खिचें होला । त्यसको आनीबानी हेर्नलाई मैले फोटो खिच्ने गरेको हुँ । त्यसले दानापानी कति खान्छ, कसरी खान्छ, त्यो हेर्न मन लाग्छ ।

बघिनीको दुःख

बघिनीको बिषयमा पनि म केही भन्न चाहन्छु । यो असाध्यै रोचक र मन छुने कथा पनि हो ।

बाघ जंगलमा बस्छ । त्यहाँ घर हुँदैन, केही हुँदैन । पानी पर्छ, हावाहुरी चल्छ, हिलो हुन्छ, त्यस्तो अवस्थामा बघिनीले आफ्ना बच्चाहरु पाउँछे । बच्चा पाउँदा सबैभन्दा दुःख पक्ष के छ भने सुरुमा उसका बच्चा आँखा नदेख्ने हुन्छन् । सिरेटो चल्यो भने साना बच्चाहरुलाई छिटो चिसोले पनि छुन्छ । त्यस्ता बच्चालाई न्यानो पनि दिएर, अरु शत्रुहरुबाट पनि जोगाएर, कतै गएर शिकार मारेर त्यो मासु ल्याएर बच्चालाई खुवाउनुपर्ने हुन्छ । हेर्नोस् त कति मन छुने कुरा छ त्यहाँ ।

बाघका भालेहरु कस्ता हुन्छन् भने जब पोथीले आफ्ना बच्चा हुर्काइरहेको हुन्छ, उसका सबै हर्मोन र ध्यान बच्चामा खर्च भइरहेको हुन्छ । त्यस्तो बेलामा आमालाई यौनको तृष्णा हुँदैन । तर, भालेको स्वार्थ फरक छ । भालेलाई त्यसमा कुनै सरोकार छैन, भालेलाई यौनको इच्छा जागेका बेलामा पोथी भेट्टाउनुपर्‍यो । जब उसले पोथी भेट्टाउँदैन, तब भाले बौलाउँछ ।

भालेको ध्याउन्न पोथीलाई एक्लो बनाउने अनि यौनको तृप्ति मेटाउने हुन्छ । त्यस्तो बेलामा पोथीले आफ्ना बच्चाहरुलाई भालेबाट पनि जोगाउनुपर्ने हुन्छ

प्रकृतिले उसलाई यस्तो सूचना दिएको छ कि यी बच्चा रहुञ्जेल पोथी यौनका लागि तयार हुन्न, त्यसैले बच्चा मार्दिनुपर्छ । भालेको ध्याउन्न चाहिँ बच्चा मार्ने अथवा बच्चाबाट छुटकारा गराएर पोथीलाई एक्लो बनाउने अनि यौनको तृप्ति मेटाउने हुन्छ । त्यस्तो बेलामा पोथीले आफ्ना बच्चाहरुलाई भालेबाट पनि जोगाउनुपर्ने हुन्छ ।

बिरालो प्रजातिमा मानिसहरुले ‘के बच्चा सारिराखेको होला, बिरालोले बच्चा सारेजसरी’ भन्छन् नि । यो त्यही कारणले भएको हो । उसलाई अर्को ठाउँ, अर्को ठाउँमा बच्चा सार्दै हैरानी हुन्छ । अरु मांसहारीबाट पनि जोगाउनुपर्ने छ । जसबाट संभोग गरेर बच्चा जन्मिएको हो, उसैबाट पनि जोगाउनुपर्ने छ आमाले । र, तिनलाई हुर्काएर पढाउनुपर्ने छ ।

बघिनीले भालेबाट आफ्ना बच्चाहरुलाई जोगाउन ढाडमा बच्चाहरुलाई चढाउँदै ओराल्दै गर्दोरहेछ । त्यो देखेपछि अलि टाढा भएको भालेले त्यो देखेपछि यो पोथी त अर्कैले ओगटिसकेको रहेछ भन्ने भ्रम पर्दोरहेछ र हत्तपत्त पोथी ओगट्ने दुस्साहस नगर्दोरहेछ ।

जंगलको राजा त्यसै भनेको हैन, बाघ धेरै इन्टिलिजेन्ट जनावर हो । बाघले हत्तपत्त लडाइँ गरिहाल्दैन । ऊ एकदमै कुशल सेना हो ।

बाघ ठूलो अजंगको जीव हो । बाघ असाध्यै छिटो दौडन्छ । बाघभन्दा पनि छिटो चितुवा दौडन्छ । चितुवा भन्दा पनि छिटो चित्तल दगुर्छ । तर बाघ र चितुवाले चित्तललाई त समाउँछ, कसरी ?

बिरामी वा बुढो भएको चित्तललाई समाउनु त स्वाभाविकै हो । तर, छिटो दुगर्ने चित्तललाई समाउन सक्ने खास कारण के हो भने दौडने क्रममा चित्तल डराएको हुन्छ । तुफान कुदिरहेको बेला चितुवा वा बाघ कहाँनेर आइपुगेछ भनेर पछाडि फर्केर हेर्छ र उसको गति कम हुन्छ र बाघ वा चितुवाले समात्छ ।

चराको भाषा

मार्स ह्यारियर नामको मांसहारी चरा हुन्छ । त्यसका भालेहरु प्रजननका बेलामा पोथी फकाउनका लागि ४० प्रतिशतले पोथीको भेष बदल्छन् । पोथी झुक्किएर आउँछ र त्यही बेलामा पोथीलाई आफ्नो बसमा पार्छन् ।

मान्छेहरुले पनि सहबास र प्रेमका कुराहरु प्रायः अँध्यारोमै गर्छन् । बत्ती बालिसकेपछि अलिकति मान्छेलाई डिस्टर्ब भइहाल्छ । यस्तो चराहरुमा पनि हुँदोरहेछ ।

बत्ती झ्याप्प बलेका बेलामा लाज मानिहाल्ने । अप्ठ्यारो अप्ठ्यारो लाग्ने । उनीहरु पनि बत्ती नभएको ठाउँ रोज्दारहेछन् । चराहरुले चुम्बन गरेको फोटो मैले धेरै खिचेको छु । त्यो प्रायः साँझ–साँझ परेको, घाम डुबेको बेलामै छ । यो बैज्ञानिक तथ्य हो कि हैन, थाहा छैन, तर चराहरुमा पनि त्यस्तो हुँदोरहेछ ।

हामी मानिसहरु व्यायाम गर्छौं । चराहरुले पनि व्यायाम गर्छन् । चार पाँच महिनाअघि बिहानै मैले एउटा तलाउमा चराहरुले व्यायाम गरिरहेको तस्बिर खिचेको छु ।
बसाइँ सुनुपर्ने छ भनेपछि मजाले खाने, पखेटाहरु झिक्ने गर्छ । पछाडि गुद्पवारनेर एउटा भाँडो, अंग हुन्छ, त्यसमा तेलीय पदार्थ हुन्छ, त्यो शरीरमा घस्ने गर्छन् । राम्रोसँग खान्छन् र एकदम तगडा बनेर बसाइँ सराइमा निस्कन्छन् । बसाइँ सर्दाखेरि चराहरु भी आकारमा उड्छन् । यसको पनि विशेष अर्थ छ ।

हामीले कुखुराको भाले बासेको त सबैले सुनेका छौं । घडी नहुने टाइममा हामी भाले बासेको सुनेर यति समय भयो भन्ने गर्दथ्यौं । सबैभन्दा ज्यांगो र तगडा भाले सबैभन्दा पहिले बास्छ । उसको रेटिनामा प्रकाशको सूचक परेपछि ऊ बास्छ ।

पहिलो मुख्य भाले नबासिकन अरु बास्दैनन् । र्यांकिंग अनुसार दोस्रो, तेस्रो भाले क्रमशः बास्दै जान्छन् । भालेको बासाइमा यौन पनि हुन्छ, धम्की पनि हुन्छ, आफ्नो बासस्थानको विषय पनि हुन सक्छ । पहिलो भाले मर्यो भने दोस्रो भाले पहिले बास्छ ।

(‘जीवनगाथा’ पुस्तकका लेखक ददि सापकोटाले शनिबार आयोजित विमोचित कार्यक्रममा व्यक्त गरेको विचारको अंश)

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : ४६ बजे

रुपन्देहीका नौ गाउँमा आगलागी

रुपन्देही– तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

वीरेन्द्रतालमा हिमपहिरो, बूढीगण्डकी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रतालमा हिमपहिरो खस्दा बूढीगण्डकीमा पानीको

काठमाडौँ आज विश्वको तेस्रो प्रदूषित सहर

काठमाडौँ– काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ ।

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न कभर्डहल निर्माण

कञ्चनपुर– राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल