काठमाडौं – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास साझेदारहरूले लगानीको वातावरण बनेको भन्दै खुलेर प्रशंसा गरेको जनाएको छ ।
लगानी सम्मेलन नसकिँदै अर्थमन्त्री पुनले आज बिहान पनि सचिवालयमार्फत सूचना सम्प्रेण गर्दै लगानी सम्मेलन सफल भएको दाबी गरेका थिए ।
परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन् – ‘लगानी सम्मेलन सफल भयो’
अर्थमन्त्रीको सचिवालयका अनुसार तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज (सोमबार) बिहान विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सत्तारुढ र प्रतिपक्षी दलबीच विकास बारेको समान धारणाको खुलेरै प्रशंसा गरेका हुन् ।
दाबी गरिएअनुसार अर्थमन्त्रीसँगको भेटमा विकास साझेदार प्रतिनिधिहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका हुन् । त्यसक्रममा उनीहरूले नेपाल सरकारले हालैमात्र कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगनाी वातावरण बताएको बताएका थिए ।
सम्मेलन उदघाटन सत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेण्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकातर्फ पनि उनीहरूको संकेत गरेका थिए । उनीहरूले कानूनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सरकारलाई सुझाए ।
दातृ निकायका प्रतिनिधिसँगको बैठकमा अर्थमन्त्री पुनका साथै मुख्य सचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजश्वसचिव डा. रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।
प्रतिक्रिया