बुवालाई चिठी लेखेर घरबाट भागेका दाजुभाइ फेसबुकको सहयोगमा भेटिए | Khabarhub Khabarhub

बुवालाई चिठी लेखेर घरबाट भागेका दाजुभाइ फेसबुकको सहयोगमा भेटिए


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


59.1k
Shares
  • change font
  • change font
  • change font

झापा- गणतन्त्र दिवसको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएपछि १४ वर्षीय खगेन्द्र खड्का र उनका १३ वर्षीय भाइ देव खड्का फुर्सदिला थिए ।

जुम्ल्याहा जस्ता देखिने यी दाजुभाइले मंगलबार अनौठो हर्कत गरे । जसले मंगलबार दिनभर र रातभर उनका बाबुआमा र नातागोतालाई दिनुसम्म तनाव दियो ।

गणतन्त्र दिवसका कारण सार्वजनिक बिदा हुँदा फुर्सदिला बनेका दुई दाजुभाइ मंगलबार बिहानैदेखि गाउँनजिकै धान झार्न आएको ट्याक्टर हेर्न व्यस्त थिए । खासमा बाबु एकै भए पनि उनीहरू दुई आमाका सन्तान हुन् । उनीहरू एकअर्कालाई बहुतै माया गर्छन्, भाग्ने कुरामा पनि उनीहरूबीच मत मिल्यो ।

झापाको गौरादह नगरपालिका-१ बेलडाँगी चौकमा बसोबास गर्दै आएका भूपेन खड्का सन्तान यी दाजुभाइले मंगलबार बुवाआमाको नाममा लेखेको चिठी भाइरल भयो ।

कारण थियो, बयस्क मानिसले जस्तै उनीहरूले बुवा भूपेनको नाममा चिठी लेखेर घर छाडेका थिए ।

उमेरले जेठा भए पनि खगेन्द्र स्थानीय मोती माध्यमिक विद्यालय गौरादहको कक्षा ६ र भाइ देव कक्षा ९ का विद्यार्थी हुन् । घरबाट भाग्ने सल्लाह गरेपछि बुवाको नाममा चिठी लेखेका थिए भाइ देवले ।

जुन चिठीमा उनीहरूकै भाषामा भनिएको थियो, ‘ड्याडी अब हामी गएको, अब हामीलाई नखोज्नू, हामी जहाँ गए पनि खुसी हुनेछौँ । हामी तपाईंकै यादमा बस्नेछौँ । ड्याडी हामी गौरीगञ्जतिर गएका छौँ । हामी ममी र दिदीलाई पनि सम्झिनेछौँ, हामी ठूलो भएपछि आउनेछौँ । अब हामी गयौँ ड्याडी, हामीलाई नखोज्नु है। हामी खुसी रहनेछौँ । ड्याडी तपाईंले हामीलाई जति खोज्नु हुन्छ, हामी त्यति नै भाग्छौँ , त्यही भएर हामीलाई नखोज्नू, बाई ड्याडी !’

बिहानभरी ट्याक्टरले धान झारेको रमिता हेरेका छोराहरू लेखेर छाडेको यो चिठी देखेपछि खैलाबैला भयो । बाबुआमा र नातागोताले छरछिमेकीदेखि प्रहरीलाई समेत गुहारे । गौरीगञ्ज बजार सबै चहार्दा पनि उनीहरू भेटिएनन् ।

खैलाबैला बढ्दै जाँदा उनीहरूको तस्बिर र चिठीसहितको विवरण सामाजिक सञ्जालसम्म पुग्यो । बाहुनडाँडोसहितका फेसबुक ग्रुपमा दाजुभाइको तस्बिर र चिठी राख्दै उनीहरू हराएको सूचना निकालियो ।

तर, उनीहरूको कुनै अत्तोपत्तो खुलेन । यसबीचमा मंगलबार राति फेसबुकमा हालेका तस्बिरसँग मिल्ने हुलियासहितका दुईजना किशोर मोरङको पथरी बजारमा देखिए । पथरी बजारकी एक महिलाले फेसबुकमा देखिएका तस्बिरसँग मिल्ने हु्लियासहित बालकहरू देखेपछि खैलाबैला गरिन्, प्रहरीलाई सूचना दिइन् ।

फेसबुकमा बालकहरूको विवरण तथा उनका अभिभावकको पनि मोबाइल नम्बर राखिएको थियो । पथरीमा भेटिएका उनीहरूलाई मंगलबार मध्यराति नै प्रहरीको जिम्मा लगाइयो । प्रहरीले पनि उनीहरूका बुवा भूपेनलाई तत्कालै फोन गर्‍यो ।

मध्यराति भइसकेको अवस्थामा यी दुई बालक मंगलबार राति पथरी प्रहरीमै बसे। बिहान झापाबाट आएर बुवा भूपेनले दुवै छोरालाई जिम्मा लिएर गइसकेका छन् । अहिले दुवैजना घर पुगिसकेका छन् ।

घरबाट निस्केपछिको कथा…

दुवैजनाले चिठीमा गौरीगञ्ज जाने बताए पनि करिब २० किलोमिटर पैदलै हिँडेर दिनभरमा मोरङको पथरीसम्मको यात्रा तय गरेका थिए । अहिलेको चर्की गर्मीको प्रवाह नगरी उनीहरू दिनभर पैदलै पथरीसम्म पुगे ।

बुवा भूपेनका अनुसार झापादेखि मोरङसम्म पुग्दा उनीहरूले तीन ठाउँमा पानी र खानेकुरा मागेका थिए ।

त्यसक्रममा उनीहरूले आफूहरूका बुवाआमा नभएको बताएका थिए । भूपेनका अनुसार मोरङको कानेपोखरीस्थित जेठीसासूको घरमा यसअघि पनि उनीहरू जाने गरेका थिए । दशैँसहितका चाडमा उनीहरू त्यहाँ पुग्थे । तर यसपटक कानेपोखरीमा नपसी पथरी बजार पुगेको अवस्थामा भेटिए ।

‘उनीहरूको मनमा के थियो, थाहा भएन । चौकीमा प्रहरीले के पिरलो भयो र घर छाड्यौ भन्दा आमाले कराउने गरेको जवाफ उनीहरूले दिएछन्’, भूपेनले खबरहबसँग भने, ‘भाइलाई अहिले घरमा ल्याएर सोध्दा, दाजुले जाऊँ भनेपछि हिँडेको जवाफ दिँदैछ । किन हिँड्यौ भन्दा ममीले कराएको करायै गर्नु हुन्छ अनि हिँडेको भन्दैछन् ।’

उनीहरूले बाटोमा खानेकुरा र पानी माग्दा पनि अनौठो तर्क गरेका थिए । ‘२० किलोमिटर यात्रा छिचोल्दा भोकैतिर्खै परेपछि केही ठाउँमा मागेछन् । गुवाबारी स्कुलतिर माग्दै माग्दै गएका रहेछन्’, भूपेनले भने, ‘माग्दै हिँड्ने क्रममा पथरीमा एकजना महिलाले देख्नु भएछ । उहाँले फेसबुकमा सूचना देखेकाले सजिलो भयो । मागेर हिँड्ने क्रममा दुवैले हाम्रा बाबुआमा छैनन्, क्यान्सरले बितिसक्नु भयो । हामीलाई बाँच्न गाह्रो भएकाले माग्दै हिँडेका हौँ भनेछन् ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : ०८ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि