कैदीले सीप सिकाए, लिम्बू दम्पती व्यवसायी बने | Khabarhub Khabarhub

उद्यम

कैदीले सीप सिकाए, लिम्बू दम्पती व्यवसायी बने


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्म गर्ने लक्ष्य लिए जति विघ्नबाधा आए पनि मानिस कर्मशील बनिछाड्छ । काम गर्न धेरै पढ्नुपर्ने वा पहिले नै जानेको हुनुपर्ने भन्ने सोचलाई गलत साबित गर्दै व्यवसायी बनेकी छिन् झापा अर्जुनधारा नगरपालिका-१० की कुमारी लिम्बू !

उनमा व्यवसाय गर्ने सोच थिएन । गाउँको सामान्य परिवारमा जन्मे/हुर्केकी कुमारीलाई व्यवसाय के हो भन्ने पनि थाहा थिएन । एक दिन गाउँमा एक जना जेलबाट छुटेर आएका व्यक्तिले मुढा बनाउँदै गरेको देखिन् ।

त्यस्तै मुढा बनाउन उनलाई पनि इच्छा लाग्यो । नजिकै गएर हेरिन् । बनाउन सकिन्छ जस्तो लाग्यो । त्यसपछि उनले पनि बाँसका सिन्का बनाइन्‌ । साइकलका टायर र धागो किनिन्‌ । अनि ती व्यक्तिले मुढा बनाएको हेर्दै आफूले पनि सिक्न थालिन्‌ ।

केही दिन निरन्तर प्रयास गरेपछि राम्रा मुढा बनाउन उनी सफल भइन् । उनी खुसी हुँदै घर गइन् र आफैँले मुढा बनाउन थालिन् । मुढा राम्रो बन्यो, सबैले प्रशंसा गरे ।

अब कुमारीको इलम नै मुढा बनाउने भयो । मानिसहरूले किन्न थाले । यसो गर्दा गर्दै व्यवसायीको रूपमा परिणत भएको उनलाई थाहै भएन । अहिले उनको व्यवसायले ‘कालिका मुढा उद्योग’ नाम पाएको छ ।

सुरुमा उनले गाउँघरका मानिसहरूलाई मुढा बेचिन्‌ । अहिले लिम्बू दम्पतीले नै यो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।  उनीहरूले उत्पादन गरेका मुढा नेपालभर पुग्छ । अहिले महिनामा ५ हजार गोटाभन्दा बढी मुढा बेच्ने गरेका छन् ।

मुढामै दुई दशक !
कुमारीले मुढा बनाउन थालेको निकै वर्ष भयो, दुई दशकभन्दा पनि बढी । मुढा बनाउँदै र त्यसलाई गाउँघरमा मात्रै बिक्री गर्दै आइरहेका थिए ।

बजारमा लगेर बेच्दा व्यापार र मुनाफा बढी भयो । अब लिम्बू दम्पतीमा हौसला थपियो । कामको रफ्तार बढाउन थाले । पछि उनीहरूले यसैलाई व्यवसाय बनाउने निर्णय गरे । वि.सं. २०६० सालमा उनीहरूले कालिका मुढा उद्योग दर्ता गरे ।

उनीहरू दिनरात गरेर मेहनत गर्छन् । एकछिन पनि काम नगरी बस्दैनन् । ‘काम नगरी बस्दा कस्तो-कस्तो लाग्छ । एकछिन फुर्सदको समय भयो भने सिन्का बनाउँछौ,’ कुमारी भन्छिन् ।

कुर्सीको तुलनामा हरेक घरमा बस्न लागि आवश्यक मुढा सस्तो पनि भएकाले यसको बजार राम्रो रहेको कुमारीको भनाइ छ । अहिले अर्जुनधारा र बुद्धशान्तिका अधिकांश स्थानीयले लिम्बू दम्पतीले बनाएकै मुढा किन्छन्‌ ।

कुमारीले आफूलाई थोरै फाइदा राखेरै मुढाहरू बेच्ने गर्छिन् । त्यसैले अहिलेसम्म अरूको भन्दा कालिकाको मुढाहरू धेरै बिक्री हुने गरेको उनी सुनाउँछिन् ।

स्थानीय उत्पादनले मात्र बजारको माग धान्न नसकेर उनीहरूले कहिलेकाहीँ जेलबाट पनि मुढा किनेर ल्याउँछन्‌ । अहिले उनीहरूले २० जिल्लामा आफैँ मुढा पुर्‍याउने काम गरिरहेका छन्‌ । अन्य ठाउँमा पनि स्थानीय बिक्रेताहरूमार्फत मुढा बिक्री भइरहेको उनीहरू सुनाउँछन्‌ ।

‘हामीले यो व्यवसाय ४० हजार रुपैयाँबाट शुरू गरेका हौँ । अहिले महिनामै १० लाख रुपैयाँसम्म कारोबार गर्छौं। महिनामा ५ हजार गोटाभन्दा बढी मुढा बिक्री गर्ने गरेका छौं,’ कुमारीले सुनाइन् ।

कच्चापदार्थमा भारतबाट
कुमारीले मुढा बनाउन आवश्यक सामग्रीहरू भारतबाट नै आयात गर्ने गर्छिन्‌ । नेपालमै पाइने साइकलको थोत्रा टायर पनि इटा भट्टाहरूले खपत गर्ने हुनाले सो समेत भारतबाटै मगाउने गरिएको उनले बताइन् ।

मुढा बनाउन चाहिने कपडाको धागो प्लास्टिकदेखि टायरसम्म विराटनगर भन्सारबाटै ल्याउने गरेका छन् । भारतबाट सामान ल्याउँदा अनेक झन्झटहरू पनि झेल्नुपर्ने उनको भनाइ छ । सामान आइसकेपछि चाहिँ कामगराइले गति लिँदा उनी खुशी हुन्छिन्‌ ।

‘आवश्यक सामान चाहिनेभन्दा एक साता अघि नै मगाउनुपर्ने हुन्छ, किनकी समयमै सामान व्यवस्था नगरे मुढा उत्पादनमा समस्या हुन्छ,’ उनी भन्छिन् ।

उत्पादनदेखि तालिमसम्म
कुमारी दम्पतीले विभिन्न ठाउँमा गएर मुढा बनाउने तालिम पनि दिने गरेका छन् । झापाका विभिन्न ठाउँ र अन्य जिल्लामा पनि उनीहरूले तालिम दिइसकेका छन् । उनीहरूलाई विभिन्न संघ-संस्थाहरूले पनि तालिम दिन अफर गर्छन्‌ ।

उनीहरूले सिन्धुलीसम्म आएर तालिम दिएका छन् । मानिसहरू उद्योगमै पनि सिक्न आउँछन् । उनीहरूलाई अरू पनि सीप सिकाउन पाउँदा रमाइलो लाग्ने लिम्बू दम्पती बताउँछन् ।

सीप सिकेर अन्य व्यक्तिहरू पनि आत्मनिर्भर भएको देख्न पाउँदा धेरै खुसी लाग्ने उनीहरूको भनाइ छ । ‘मैले धेरै मान्छेहरूलाई त तिमी सिकेर बनाऊ सबै मुढा म किनिदिन्छु भनेर प्रोत्साहन गर्ने गरेको छु,’ कुमारी भन्छिन् ।

गाउँमै सयौंलाई रोजगारी
उनले अहिले गाउँमै सयौँ मानिसहरूलाई सीप सिकाएर रोजगार बनाएकी छिन् । बिहान-बेलुका घरको काम गरेर दिउँसो फुर्सदको समयमा बाँसका सिन्का चिर्ने र बेच्ने काम अहिले अर्जुनधारा र बुद्धशान्ति नगरपालिकामा धेरैको रोजी रोटीको आधार बनेको छ । त्यहाँ मानिसहरूले बनाएका सिन्का कुमारीको उद्योगमा ल्याइन्छ ।

मुढा बनाउन बाँसका सिन्का अत्यावश्यक हो । सिन्का पश्चात् धागो वा प्लास्टिक पनि चाहिन्छ । अन्य कुरा बजारमा सजिलै किन्न पाइन्छ भने सिन्का किन्न चाहिँ गाउँ नै छिर्नुपर्ने हुन्छ ।

कतिलाई त कुमारीले आफैँ सम्पूर्ण सामानहरू उपलब्ध गराएर काम लगाउने र मुढा बुनिसकेपछि उचित पारिश्रमिक दिएर त्यसलाई उद्योगमा ल्याउने पनि गरेको उनी बताउँछिन् ।

‘हाम्रो गाउँमा धेरै मानिसहरू बेरोजगार छन्, यहाँका मानिसहरूको जग्गाजमिन पनि धेरै छैन । अन्य जागिर खानका लागि आवश्यक पढाइ पनि छैन । त्यसकारण उनीहरूलाई यो पेशा उपयुक्त हुन्छ । घरमै बसीबसी आम्दानी गर्ने स्रोत पनि बनेको छ । फुर्सदको समयमा परिवारले पनि सहयोग गर्न सक्ने भएका कारण एकै घरबाट पनि धेरै उत्पादन हुने गरेको छ,’ कुमारी सुनाउँछिन् ।

उद्योगलाई विस्तार गर्ने लक्ष्य
लिम्बूका दम्पतीले मुढा व्यवसायबाटै सम्पूर्ण खर्च धानेका छन् । तीनजना छोराछोरी पढाउनेदेखि सबै घर खर्च यसै व्यवसायले धानेको कुमारीको भनाइ छ।

आफ्नो जग्गा-जमिन धेरै नभएकाले नुनदेखि चामलसम्म यसै व्यवसायमा निर्भर रहेको कुमारीले बताइन्‌ । उनले मुढा उत्पादन गर्ने उद्योग खोल्दा गाउँलेहरूले पनि रोजगारी पाएका छन्‌ ।

मुढा व्यवसाय राम्ररी चलेका कारण यसलाई विस्तार गर्ने उनीहरूको लक्ष्य छ । यस क्षेत्रमा आफू लागेको समयबाट नै बजार राम्रो रहेकाले दीर्घकालीन रूपमा लैजान सकिने लिम्बूलाई लागेको छ ।

कति पर्छ एउटा मुढालाई ?
आफूले उत्पादन गर्ने मुमुढा गुणस्तरीय भएका कारण मानिसहरूले रुचाएको उनको दाबी छ । विशेषगरी जाडोको समयमा धागोका मुढा धेरै बिक्ने गरेको कुमारीले जानकारी दिइन्‌ ।

सामान्यतयाः अन्यत्र २०० रुपैयाँ पर्ने मुढा उनीहरू होलसेल मूल्य १७५ रुपैयाँमै दिन्छन् । धागोको डबल बिट भएको मुढालाई २०० रुपैयाँ पर्छ । धागोको तुलनामा प्लाष्टिकको मुढा केही महँगो पर्छ । सानोलाई २०० र ठूलोलाई २२५ रुपैयाँ पर्छ । तर, टाढा–टाढा लैजाँदा भने ढुवानी खर्च केही बढ्ने उनीहरू बताउँछन् ।

वित्तीय संस्था पनि संलग्न
स्थापनाकालमा एक्लै बढे पनि पछिल्लो समय वित्तीय संस्थाहरूले पनि सहयोग गरेको कुमारी बताउँछन् । आवश्यक परेको बेला वित्तीय संस्थाबाट धेरै पटक ऋण लिएको उनले जानकारी दिइन्‌ ।

अहिले संस्थामा विभिन्न खालका सामाग्रीहरू अनुदान दिने र आवश्यक रकम पनि सस्तो ब्याजदरमा उपलब्ध गराउने उनीहरूको भनाइ छ । ‘हामीले गरेको काम राम्रो र प्रशंसनीय रहेको भन्दै अहिले त सबै वित्तीय संस्थाहरूले आवश्यक रकम उपलब्ध गराउने गरेका छन्,’ कुमारीका पति भन्छन् ।

उनीहरू त्यति धेरै ऋण लिँदैनन् । कहिलेकाहीँ सामान आयात गर्न आवश्यक पर्दा मात्रै थोरै-थोरै ऋण लिन्छन् । पैसा लिएर मात्रै बच्ने गरेकाले धेरै ऋण लिनु नपर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १२ : ३२ बजे

डिजिटल ठमेल निर्माणलाई अगाडि बढाइने

काठमाडौं– मुलुकको संघीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल

आइतबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक सोमबारका लागि सारियो 

काठमाडौं– प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ

एमाले-कांग्रेस सरकारमा लोसपा सहभागी हुने, मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा

कांग्रेसले तय गर्‍यो मन्त्री चयनको मापदण्ड

काठमाडौं– नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ ।

मधेश प्रदेशमा ६६ स्थानीय तहको बजेट अन्योलमै

जनकपुरधाम– स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहहरूले असार