काठमाडौं– कर्म गर्ने लक्ष्य लिए जति विघ्नबाधा आए पनि मानिस कर्मशील बनिछाड्छ । काम गर्न धेरै पढ्नुपर्ने वा पहिले नै जानेको हुनुपर्ने भन्ने सोचलाई गलत साबित गर्दै व्यवसायी बनेकी छिन् झापा अर्जुनधारा नगरपालिका-१० की कुमारी लिम्बू !
उनमा व्यवसाय गर्ने सोच थिएन । गाउँको सामान्य परिवारमा जन्मे/हुर्केकी कुमारीलाई व्यवसाय के हो भन्ने पनि थाहा थिएन । एक दिन गाउँमा एक जना जेलबाट छुटेर आएका व्यक्तिले मुढा बनाउँदै गरेको देखिन् ।
त्यस्तै मुढा बनाउन उनलाई पनि इच्छा लाग्यो । नजिकै गएर हेरिन् । बनाउन सकिन्छ जस्तो लाग्यो । त्यसपछि उनले पनि बाँसका सिन्का बनाइन् । साइकलका टायर र धागो किनिन् । अनि ती व्यक्तिले मुढा बनाएको हेर्दै आफूले पनि सिक्न थालिन् ।
केही दिन निरन्तर प्रयास गरेपछि राम्रा मुढा बनाउन उनी सफल भइन् । उनी खुसी हुँदै घर गइन् र आफैँले मुढा बनाउन थालिन् । मुढा राम्रो बन्यो, सबैले प्रशंसा गरे ।
अब कुमारीको इलम नै मुढा बनाउने भयो । मानिसहरूले किन्न थाले । यसो गर्दा गर्दै व्यवसायीको रूपमा परिणत भएको उनलाई थाहै भएन । अहिले उनको व्यवसायले ‘कालिका मुढा उद्योग’ नाम पाएको छ ।
सुरुमा उनले गाउँघरका मानिसहरूलाई मुढा बेचिन् । अहिले लिम्बू दम्पतीले नै यो व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरूले उत्पादन गरेका मुढा नेपालभर पुग्छ । अहिले महिनामा ५ हजार गोटाभन्दा बढी मुढा बेच्ने गरेका छन् ।
मुढामै दुई दशक !
कुमारीले मुढा बनाउन थालेको निकै वर्ष भयो, दुई दशकभन्दा पनि बढी । मुढा बनाउँदै र त्यसलाई गाउँघरमा मात्रै बिक्री गर्दै आइरहेका थिए ।
बजारमा लगेर बेच्दा व्यापार र मुनाफा बढी भयो । अब लिम्बू दम्पतीमा हौसला थपियो । कामको रफ्तार बढाउन थाले । पछि उनीहरूले यसैलाई व्यवसाय बनाउने निर्णय गरे । वि.सं. २०६० सालमा उनीहरूले कालिका मुढा उद्योग दर्ता गरे ।
उनीहरू दिनरात गरेर मेहनत गर्छन् । एकछिन पनि काम नगरी बस्दैनन् । ‘काम नगरी बस्दा कस्तो-कस्तो लाग्छ । एकछिन फुर्सदको समय भयो भने सिन्का बनाउँछौ,’ कुमारी भन्छिन् ।
कुर्सीको तुलनामा हरेक घरमा बस्न लागि आवश्यक मुढा सस्तो पनि भएकाले यसको बजार राम्रो रहेको कुमारीको भनाइ छ । अहिले अर्जुनधारा र बुद्धशान्तिका अधिकांश स्थानीयले लिम्बू दम्पतीले बनाएकै मुढा किन्छन् ।
कुमारीले आफूलाई थोरै फाइदा राखेरै मुढाहरू बेच्ने गर्छिन् । त्यसैले अहिलेसम्म अरूको भन्दा कालिकाको मुढाहरू धेरै बिक्री हुने गरेको उनी सुनाउँछिन् ।
स्थानीय उत्पादनले मात्र बजारको माग धान्न नसकेर उनीहरूले कहिलेकाहीँ जेलबाट पनि मुढा किनेर ल्याउँछन् । अहिले उनीहरूले २० जिल्लामा आफैँ मुढा पुर्याउने काम गरिरहेका छन् । अन्य ठाउँमा पनि स्थानीय बिक्रेताहरूमार्फत मुढा बिक्री भइरहेको उनीहरू सुनाउँछन् ।
‘हामीले यो व्यवसाय ४० हजार रुपैयाँबाट शुरू गरेका हौँ । अहिले महिनामै १० लाख रुपैयाँसम्म कारोबार गर्छौं। महिनामा ५ हजार गोटाभन्दा बढी मुढा बिक्री गर्ने गरेका छौं,’ कुमारीले सुनाइन् ।
कच्चापदार्थमा भारतबाट
कुमारीले मुढा बनाउन आवश्यक सामग्रीहरू भारतबाट नै आयात गर्ने गर्छिन् । नेपालमै पाइने साइकलको थोत्रा टायर पनि इटा भट्टाहरूले खपत गर्ने हुनाले सो समेत भारतबाटै मगाउने गरिएको उनले बताइन् ।
मुढा बनाउन चाहिने कपडाको धागो प्लास्टिकदेखि टायरसम्म विराटनगर भन्सारबाटै ल्याउने गरेका छन् । भारतबाट सामान ल्याउँदा अनेक झन्झटहरू पनि झेल्नुपर्ने उनको भनाइ छ । सामान आइसकेपछि चाहिँ कामगराइले गति लिँदा उनी खुशी हुन्छिन् ।
‘आवश्यक सामान चाहिनेभन्दा एक साता अघि नै मगाउनुपर्ने हुन्छ, किनकी समयमै सामान व्यवस्था नगरे मुढा उत्पादनमा समस्या हुन्छ,’ उनी भन्छिन् ।
उत्पादनदेखि तालिमसम्म
कुमारी दम्पतीले विभिन्न ठाउँमा गएर मुढा बनाउने तालिम पनि दिने गरेका छन् । झापाका विभिन्न ठाउँ र अन्य जिल्लामा पनि उनीहरूले तालिम दिइसकेका छन् । उनीहरूलाई विभिन्न संघ-संस्थाहरूले पनि तालिम दिन अफर गर्छन् ।
उनीहरूले सिन्धुलीसम्म आएर तालिम दिएका छन् । मानिसहरू उद्योगमै पनि सिक्न आउँछन् । उनीहरूलाई अरू पनि सीप सिकाउन पाउँदा रमाइलो लाग्ने लिम्बू दम्पती बताउँछन् ।
सीप सिकेर अन्य व्यक्तिहरू पनि आत्मनिर्भर भएको देख्न पाउँदा धेरै खुसी लाग्ने उनीहरूको भनाइ छ । ‘मैले धेरै मान्छेहरूलाई त तिमी सिकेर बनाऊ सबै मुढा म किनिदिन्छु भनेर प्रोत्साहन गर्ने गरेको छु,’ कुमारी भन्छिन् ।
गाउँमै सयौंलाई रोजगारी
उनले अहिले गाउँमै सयौँ मानिसहरूलाई सीप सिकाएर रोजगार बनाएकी छिन् । बिहान-बेलुका घरको काम गरेर दिउँसो फुर्सदको समयमा बाँसका सिन्का चिर्ने र बेच्ने काम अहिले अर्जुनधारा र बुद्धशान्ति नगरपालिकामा धेरैको रोजी रोटीको आधार बनेको छ । त्यहाँ मानिसहरूले बनाएका सिन्का कुमारीको उद्योगमा ल्याइन्छ ।
मुढा बनाउन बाँसका सिन्का अत्यावश्यक हो । सिन्का पश्चात् धागो वा प्लास्टिक पनि चाहिन्छ । अन्य कुरा बजारमा सजिलै किन्न पाइन्छ भने सिन्का किन्न चाहिँ गाउँ नै छिर्नुपर्ने हुन्छ ।
कतिलाई त कुमारीले आफैँ सम्पूर्ण सामानहरू उपलब्ध गराएर काम लगाउने र मुढा बुनिसकेपछि उचित पारिश्रमिक दिएर त्यसलाई उद्योगमा ल्याउने पनि गरेको उनी बताउँछिन् ।
‘हाम्रो गाउँमा धेरै मानिसहरू बेरोजगार छन्, यहाँका मानिसहरूको जग्गाजमिन पनि धेरै छैन । अन्य जागिर खानका लागि आवश्यक पढाइ पनि छैन । त्यसकारण उनीहरूलाई यो पेशा उपयुक्त हुन्छ । घरमै बसीबसी आम्दानी गर्ने स्रोत पनि बनेको छ । फुर्सदको समयमा परिवारले पनि सहयोग गर्न सक्ने भएका कारण एकै घरबाट पनि धेरै उत्पादन हुने गरेको छ,’ कुमारी सुनाउँछिन् ।
उद्योगलाई विस्तार गर्ने लक्ष्य
लिम्बूका दम्पतीले मुढा व्यवसायबाटै सम्पूर्ण खर्च धानेका छन् । तीनजना छोराछोरी पढाउनेदेखि सबै घर खर्च यसै व्यवसायले धानेको कुमारीको भनाइ छ।
आफ्नो जग्गा-जमिन धेरै नभएकाले नुनदेखि चामलसम्म यसै व्यवसायमा निर्भर रहेको कुमारीले बताइन् । उनले मुढा उत्पादन गर्ने उद्योग खोल्दा गाउँलेहरूले पनि रोजगारी पाएका छन् ।
मुढा व्यवसाय राम्ररी चलेका कारण यसलाई विस्तार गर्ने उनीहरूको लक्ष्य छ । यस क्षेत्रमा आफू लागेको समयबाट नै बजार राम्रो रहेकाले दीर्घकालीन रूपमा लैजान सकिने लिम्बूलाई लागेको छ ।
कति पर्छ एउटा मुढालाई ?
आफूले उत्पादन गर्ने मुमुढा गुणस्तरीय भएका कारण मानिसहरूले रुचाएको उनको दाबी छ । विशेषगरी जाडोको समयमा धागोका मुढा धेरै बिक्ने गरेको कुमारीले जानकारी दिइन् ।
सामान्यतयाः अन्यत्र २०० रुपैयाँ पर्ने मुढा उनीहरू होलसेल मूल्य १७५ रुपैयाँमै दिन्छन् । धागोको डबल बिट भएको मुढालाई २०० रुपैयाँ पर्छ । धागोको तुलनामा प्लाष्टिकको मुढा केही महँगो पर्छ । सानोलाई २०० र ठूलोलाई २२५ रुपैयाँ पर्छ । तर, टाढा–टाढा लैजाँदा भने ढुवानी खर्च केही बढ्ने उनीहरू बताउँछन् ।
वित्तीय संस्था पनि संलग्न
स्थापनाकालमा एक्लै बढे पनि पछिल्लो समय वित्तीय संस्थाहरूले पनि सहयोग गरेको कुमारी बताउँछन् । आवश्यक परेको बेला वित्तीय संस्थाबाट धेरै पटक ऋण लिएको उनले जानकारी दिइन् ।
अहिले संस्थामा विभिन्न खालका सामाग्रीहरू अनुदान दिने र आवश्यक रकम पनि सस्तो ब्याजदरमा उपलब्ध गराउने उनीहरूको भनाइ छ । ‘हामीले गरेको काम राम्रो र प्रशंसनीय रहेको भन्दै अहिले त सबै वित्तीय संस्थाहरूले आवश्यक रकम उपलब्ध गराउने गरेका छन्,’ कुमारीका पति भन्छन् ।
उनीहरू त्यति धेरै ऋण लिँदैनन् । कहिलेकाहीँ सामान आयात गर्न आवश्यक पर्दा मात्रै थोरै-थोरै ऋण लिन्छन् । पैसा लिएर मात्रै बच्ने गरेकाले धेरै ऋण लिनु नपर्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया