समाचार

भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नु हुँदैन, कांग्रेस पनि यसमा तयार छ : प्रचण्ड

By खबरहब

August 29, 2024

धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका मुद्दामा पाँच वर्षे हदम्याद राख्न नहुने पक्षमा आफूहरू प्रष्ट रहेको बताएका छन् ।

धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भ्रष्टाचारका विषयमा मुद्दा चलाउन पाँच वर्षे हदम्याद लगाउनु नहुने पक्षमा माओवादी स्पष्ट रहेको बताउँदै कांग्रेस पनि त्यसको विपक्षमा उभिने विश्वास जनाए ।

उनले माओवादीको प्रदेश परामर्श बैठकले नयाँ एकताको भाव पैदा गरेको बताए । पार्टी फुट र विवादको हल्ला निराधार रहेको बताउँदै उनले बरु विगतमा विभाजित माओवादी पार्टीहरूसँग एकताको तयारी भइरहेको जानकारी दिए ।

उनले सुदूरपश्चिमको संसदीय दलमा देखिएको विवाद पनि परामर्श बैठकबाट समाधान भएको जानकारी दिए ।

पार्टीले यसअघि गरेको सर्कुलर अब कार्यान्वयनमा जाने जानकारी दिँदै अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य खगराज भट्टलाई नै दलको नेता बनाउने पार्टी निर्णय रहेको बताए ।