टुँडिखेल काण्डले जन्मायो प्रश्न : ओली र देउवाविरुद्ध बोल्नै नपाइने  ? | Khabarhub Khabarhub

टुँडिखेल काण्डले जन्मायो प्रश्न : ओली र देउवाविरुद्ध बोल्नै नपाइने  ?

विश्लेषक भन्छन्– प्रधानमन्त्री ओली निरंकुश बाटोमा अग्रसर



काठमाडौं- देशमा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएका नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार सिंहदरबारबाट चलिरहेको छ । सरकारको चालक र सारथीको आसनमा प्रधानमन्त्री केपी शर्मा ओली र भावी प्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन् । तर, विडम्बना ! सोमबार टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेकै आरोपमा दुई युवालाई प्रहरी हिरासतमा कोचेको छ ।

प्रधानमन्त्री र सत्तापक्षका नेताविरुद्ध आक्रोश पोख्दै नारा लगाए वापत सरकारले पञ्चायती व्यवस्थालाई सम्झाउने गरी शान्ति सुरक्षा उल्लंघन गरेको आरोपमा युवामाथि मुद्दा चलाएको छ ।

टुँडिखेलमा सोमबार गौरा पर्वको रौनक थियो । प्रत्येक वर्षझैँ यो वर्ष पनि गौरा पर्वमा प्रधानमन्त्री र विभिन्न पार्टीका शीर्षनेताहरु निम्त्याइएका थिए । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा अतिथिका रुपमा पुगेका थिए ।

विशेष गरी सुदरपश्चिममा मनाइने सामाजिक पर्व मनाउन टुँडिखेलमा भेला भएका युवाले मञ्चमा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध चर्को नाराबाजी गरे । उनीहरूले ठूलो स्वरमा नारा लगाउँदा कार्यक्रम स्थलमा केहीबेर होहल्ला मच्चियो ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले कार्यक्रमलाई सम्वोधन गर्दा युवाहरुले चर्को स्वरमा नारा घन्काए । कार्यक्रमबाट प्रधानमन्त्री ओली बाहिरिने बेलामा युवाले काठमाडौँका मेयर बालेन्द्र शाहको समर्थनमा हुटिङ गर्दै ओलीका कारण देशले दुःख पाएको नारा लगाए ।

युवाका नारा थिए– ओली फिर्ता जाऊ, बालेन यता आउ, देश बचाउ । बालेन जिन्दावाद, जिन्दावाद ।

कतिपयले नेताहरुलाई ‘चोर’ समेत भनेको प्रहरीको दाबी छ ।

त्यसो त मञ्चमा एमाले नेता भीम रावल पनि पुगेका थिए । तर, रावललाई भने युवाहरूले विरोध गरेनन् । युवाको आक्रोश ओली र देउवामाथि केन्द्रित थियो । मेयर बालेन्द्रको समर्थनमा केन्द्रित थियो । उनीहरूले देउवा र ओलीको भाषण नै अस्वीकार गरे ।

युवाको आक्रोशको सामना गरेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा दुबैले मञ्चबाट आ–आफ्नो शैलीमा प्रतिक्रिया पनि दिए ।

नयाँ पुस्तामा सभ्यता र शिष्टता हुनुपर्छ : प्रधानमन्त्री

नाराबाजीकै बीचमा मञ्चबाट प्रधानमन्त्री ओलीको बोल्ने पालो आयो । प्रधानमन्त्रीले भने, ‘नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले समाजलाई भड्काउने र बिथोल्ने प्रयास गर्नु हुँदैन । यो प्रयास सफल हुने छैन ।’

प्रधानमन्त्रीले यसो भन्दा युवाले झन् चर्को स्वरमा उनीविरुद्ध हुटिङ जारी राखे ।

प्रधानमन्त्रीले थपे, ‘नयाँ पुस्तामा सभ्यता र शिष्टताको पनि ख्याल नभएको देख्दा दुःख लागेको छ । सभ्यता र शिष्टतापूर्वक आचरण बनाउनुपर्छ । नेपाली जनता आफ्नो चाडवाडप्रति उत्साहित छन् । यत्ति हो, हाम्रो नयाँ पिँढीमा, नयाँपुस्तामा हाम्रो सभ्यता कस्तो हो, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने कुरा बिर्सन खोज्दा अलि अचम्म पनि लाग्छ ।’

हुटिङकै वीचमा प्रधानमन्त्रीले मञ्चबाट भने, ‘यस्ता घटनाहरू विभिन्न ठाउँमा देखिने गरेका छन् । अरूका कार्यक्रममा डिस्टर्व गर्नेखालका प्रवृत्तिहरु देखा पर्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु यो नेपालीपन होइन । नेपाली संस्कृति होइन । हाम्रो देश मेलमिलापको देश हो । शान्तिपूर्ण ढङ्गले चल्ने हो । नेपाली समाज जति बिथोल्न खोजे पनि भाडिँदैन, बिथोलिँदैन ।’

प्रधानमन्त्रीले यसो भनिरहँदा भिडबाट होई ! होई ! भन्ने आवाज घन्किइरहेको थियो ।

देउवाको आक्रोश– लाज सरम छैन ?

कांग्रेस सभापति शेरबहादुर देउवाको बोल्ने पालोमा पनि युवाहरूले होहल्ला र नाराबाजीलाई निरन्तरता दिए । सुदूरपश्चिमकै नेता रहेका देउवा भाषणमा रिसाएर प्रस्तुत भए ।

देउवाले भने, ‘तपाईँहरू जति कराउनुहुन्छ कराउनुस् । लाज सरम छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू १ यही हो तिमीहरूको संस्कृति ? यही हो नेपालीको चलन ? यही हो सिकेर आएको ?’

देउवाले थपे, ‘गौरा पर्व मनाउन, खेल्न र हेर्न आएकालाई न खेल्न दिएका छन् । कार्यक्रम बिथोल्न जथाभाबी बोलेका छन् । तपाईँहरू जति कराए पनि म बोल्नेवाला छु । कराउनुहोस् कराउनुहोस् । संस्कार सिकेर आएका हौ बदमासहरू ।’

मञ्चबाट देउवाले गाली गरिरहे, तलबाट भीडले होहल्ला र विरोध गरिरह्यो ।

टुँडीखेलमा यसरी ओली र देउवाको विरोधमा उत्रेको समूहले काठमाडौंमा मेयर बालेन्द्र शाहको पक्षमा समर्थन जनाउन भने छुटाएन । युवाहरूले ओली र देउवा कार्यक्रमस्थलबाट निस्केपछि पनि बादेन्द्रको पक्षमा नारा लगाएका थिए ।

अनि पक्राउ परे युवा

कार्यक्रममा नाराबाजी गरेको अभियोगमा अछामका रामबहादुर बुढा, सुर्खेतका गोपीकृष्ण जैसी र कञ्चनपुरका दीपक ठगुन्नालाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राऊ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब निरीक्षक भीष्मेन्द्र थापामा अनुसार उनीहरूलाई बुधबार अदालतबाट तीन दिनको म्याद थप गरिएको छ ।

उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको मुद्दामा कारबाही अगाडि बढाइएको थापाले जानकारी दिए । उनले भने, ‘प्रहरीले आफ्नो काम गरेको हो, थप कुरा थाहा भएन ।’

नाराबाजी गर्ने अन्य युवालाई पनि प्रहरीले खोजी गरिरहेको स्रोतको भनाइ छ । तर, थापाले यसबारेमा माथिल्लो निकायमा बुझ्न आग्रह गरे ।

सामाजिक सञ्जाल तरंगित

सोमबार टुँडिखेलमा भएको घटना र युवाहरुको गिरफ्तारीलाई लिएर सामाजिक सञ्जालमा सरकारविरुद्ध तीव्र प्रतिक्रियाहरु आएका छन् । केही प्रतिक्रियाहरु पढौं–

केदार मरासिनी नामक फेसबुक आइडी प्रयोगकर्ताले युवाहरुको प्रदर्शनलाई समर्थन गर्दै लेखेका छन्, ‘देश बरबादीको आक्रोश ।’

प्रबल विश्वकर्मा भन्छन्, ‘हो यी नेताहरू लाज नभएका बदमासहरू नै हुन् । बुझ्ने गरी भन्दिएछन् ।’

त्यस्तै, शंकर सामाजिक सञ्जालमा उप्रेती लेख्छन्, ‘नयाँ गठबन्धनले दुईवटा ठुल्ठुला गल्ती ग¥यो, त्यसैको परिणाम हो यो । एउटा– भ्रष्टाचारीलाई ५ बर्षे हदम्यादको कुरा ल्यायो । अर्को– विद्युत महसुल उठाउन रोकेर लाइन जोडिदिन आदेश दियो । यी दुई कुरामा अहिलेको सरकारले सच्चिएर आएन भने अर्को उथलपुथल अरूबाटै हुन्छ । हुन पनि कसैले सहन सक्ने काम गरेकै छैन। ’

मित्रप्रसाद भण्डारीले टुँडिखेल प्रकरणको समाचारमा कमेन्ट गर्दै लेखेका छन्, ‘देशका धमिराहरू अझै पनि लाज लाग्दैन तिमीहरूलाई रु युवाहरू नयाँ सोच र योजनाका साथ अब ०८४ मा आउँदैछन् । त्योभन्दा अघि नै विश्राम लेऊ । अन्यथा, हसिनाको भन्दा पनि ठूलो अवसान होला । यो युवाहरूको चेतावनी हो ।’

देवराज ढकालले समाचारको कमेन्टमा लेखेका छन्, ‘सिंह बुढो भएपछि वयस्क सिंहले जंगलबाट निकालिदिन्छन् र ऊ गाउँतिर छिर्छ अनि बाख्रा बस्तु मार्न थाल्छ । त्यसपछि मान्छेको हातमा चढ्छ । यिनीहरूको रजाइँ अति भो, अब युवाले त्यसै गर्नुपर्छ ।’

त्यस्तै, बाबुराम प्रधान लेख्छन् ‘अब नयाँ पुस्ताले देश चलाउनुपर्छ । बुढो पुस्ताले देश बरबाद पारिसके ।’

भरत गोर्खाली भन्छन्, ‘तिमीहरू देश बेचुवाहरूलाई नयाँ युवाले देश निकाला गर्छन्, दिन कुरेर बसे हुन्छ । युवाहरूलाई पनि दुःख लाग्ला भन्ने सोचेर कुनै राम्रो काम गरे रु अहिलेसम्म लाज घीन पचेपछि जे बोले नि हुने ।’

संसदसम्म पुग्यो आवाज

ओली र देउवाविरुद्ध नाराबाजी गर्ने युवाको रिहाइको माग गर्दै संसदमा समेत आवाज उठेको छ । प्रतिपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका दलका नेताले पक्राउ परेका युवालाई तत्काल रिहा गर्न प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने बताएका छन् ।

बुधबारको संसद बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सार्वजनिक रूपमा आएको आक्रोशलाई सरकारले सुन्न नसकेको बताए । सरकारले सुन्ने धैर्यता राख्नुपर्ने र अवसरबाट वञ्चित युवाहरूले सिंहदरबारभित्रका बेइमानीका विषयमा खबरदारी गर्न पाउनुपर्ने सांसद ढकालले तर्क गरे ।

जनता सरकारको कामबाट खुसी नभएको उपजस्वरुप यो घटना भएको सांसद सुमना श्रेष्ठको भनाइ छ । सरकारले जनताको स्वतन्त्रताको विषयलाई यसरी बन्धक गरे ठूलो मूल्य चुकाउनुपर्ने उनले बताइन् आग्रह गर्छिन् ।

टुँडिखेलमा देखिएको युवाको आक्रोशले दिएको सन्देश के हो ? के यो सत्तारुढ नेताहरुप्रति आम जनताको असन्तुष्टि हो ? अथवा, ओली र देउवाले भनेजस्तै नयाँ पुस्तामा शिष्टता र सभ्यताको कमी देखिएको हो त ? के भन्छन् विश्लेषक ?

नेपाल तानाशाहीतिर हिँडेको संकेत  : श्याम श्रेष्ठ

नेपालको संविधानले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको हक दिएको छ । संविधानले नै दिएको मौलिकलाई सरकारले दमन गर्न नहुने र पक्राउ परेका व्यक्तिलाई तुरुन्त रिहा गरिनुुपर्ने विश्लेषकको तर्क छ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ राजतन्त्रमा मात्र बोल्न नपाइने भन्दै कि सरकारले नेपालमा राजतन्त्र फर्कियो भन्नुपर्थ्यो, होइन भने स्वतन्त्रतापूर्वक कुरा राख्न दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘श्रीपेच नलगाएका राजाहरूले यसो गरेको भन्नुपर्छ, नत्र मान्छे पक्राउ गर्ने कुरा राम्रो संकेत होइन ।’

श्रेष्ठले अगाडि भने, ‘बङ्गलादेशमा नागरिक समाजको आन्दोलन हुँदा सरकारले दमन गरेका कारण कत्रो काण्ड भयो रु सरकारले आँखै अगाडि देखेको कुरालाई किन बिर्सिएको होला रु नागरिक समाज त सजग भइसक्यो नि । साना कुरा त पचाउनुपर्छ । जनताले निराशा व्यक्त गर्न पाउँछन् ।’

देशका ठूला शक्ति मिले पनि संविधानविपरीत जबरजस्ती कसैको स्वतन्त्रता हनन हुनेगरी पक्राउ गर्न नहुने भन्दै श्रेष्ठले तत्काल रिहा नगरे युवाले अझै आक्रोशको श्रृंखलालाई बढावा दिने बताए । उनले भने, ‘शान्तिपूर्वक भेला हुने स्वतन्त्रता संविधानले नै दिएको छ । कसैले विरोध जनायो भन्दैमा सनक प्रस्तुत गरेर प्रधानमन्त्रीले पक्राउ गर्न अधिकार दिनुहुँदैन ।’

उनी थप्छन्, ‘सबैसँग आलोचनात्मक चेत हुनुपर्छ । पछिल्लो समय नेताहरू आत्तिएको देखियो । बंगलादेशको केश आएपछि अझ प्रधानमन्त्री विचलित हुनुभयो कि ?’

श्रेष्ठ अगाडि भन्छन्,‘सरकारमा बसेकाप्रति जनतामा आक्रोश छ । यो विषय, त्यो विषय भन्ने छैन । सरकारले कसलाई संरक्षण गरेको छ, कसलाई छैन, त्यो विषयमा पनि मानिस जानकार छन् । कसैले हातहतियार प्रयोग गरेको भए संविधानविरुद्ध गएको भन्न मिल्थ्यो । तर, शान्तिपूर्ण ढंगले विरोध गर्ने अधिकार सबैलाई छ । यो गिरफ्तारी संविधानविरुद्धको कुरा हो । नेपाल तानाशाहीतिर हिँड्यो भने संकेत हो ।’

वाम विश्लेषक श्रेष्ठले सरकारलाई सचेत गराउँदै भने, ‘बंगलादेशमा शान्तिपूर्ण विरोध गर्दा व्यापक रूपमा दमन गरिएको थियो, तब सर्वसाधारण जनता उठेका थिए । यो स्मरण होस् । लेख्ने बोल्ने कुरा स्वतन्त्रता हो ।’

श्रेष्ठले यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूलाई पनि जनताले विभिन्न तरिकाले आलोचना तथा विरोध गर्ने गरेको भन्दै यसलाई ओलीले पनि सामान्यीकरण गर्नुपर्ने बताए । उनले भने, ‘यो त सामान्य भन्दा पनि सामान्य विषय हो ।’

प्रधानमन्त्री नै निरकुंश भएजस्तो देखियो : शंकर तिवारी

प्रहरीले युवालाई पक्राउ गरेपछि सरकारप्रति जनआक्रोश झन् बढेको राजनीतिक विश्लेषक शंकर तिवारी बताउँछन् । सरकारले यस्तो काम गर्न नहुने भन्दै जनताको आलोचना र आक्रोशलाई पदमा भएका व्यक्तिले सामान्यीकरण गर्नुपर्ने तिवारी बताउँछन् ।

सत्तारुढ नेपाली कांग्रेससँग निकट राजनीतिक विश्लेषक तिवारी संविधान पढ्न र त्यसको कार्यान्वयन गर्न नेतृत्वलाई सुझाव दिन्छन् । उनले खबरहबसँग भने, ‘प्रहरीले पक्राउ गर्न खोजे प्रधानमन्त्रीले यो सामान्य हो, छाडिदिनु भन्नुपर्ने हो । तर यहाँ त प्रधानमन्त्री नै अलि निरकुंश भएको हो कि जस्तो देखियो ।’

विश्लेषक तिवारी टुँडिखेलको नाराबाजीलाई विरोधको सामान्य घटनाका रूपमा लिइनुपर्नेमा सरकार अर्को बाटो लागेको भन्दै यसबाट सरकारलाई नै घाटा लाग्ने बताउँछन् ।

उनी भन्छन्, ‘अमेरिकाले राष्ट्रको झन्डा जलाएको विषय पनि राज्यको फरक मत राख्ने अधिकार हो भनेको छ । सार्वजनिक ठाउँमा जाने कुरामा पनि ठूला मान्छेले ध्यान दिनुपर्छ । कुन कार्यक्रममा जाने, कुन कार्यक्रममा नजाने ?’

तिवारी थप्छन्, ‘सार्वजनिक व्यक्तिले विरोध सहनुपर्छ । कालो झन्डा देखाउने, विरोध गर्ने तरिका सबै ठिक छन् । तर, जुन शैली सरकारले अपनाएको छ, अझ यसले नागरिकमा आक्रोश थप्छ ।’

गृहमन्त्रीको बचाऊ

टुँडिखेलको नाराबाजी प्रकरणमा भएको गिरफ्तारीलाई लिएर गृहमन्त्री रमेश लेखक भने प्रहरीको कदमको बचाऊ गरेका छन् ।

गृहमन्त्रीले लेखकले भने- प्रहरीले आफ्नो ड्युटी निभाएको छ, सरकारसँग जोडिएको कुरा नै भएन । हामीसँग भन्दा पनि यो प्रहरीसँगको कुरा हो   

गृहमन्त्रीले लेखकले सरकार यसमा संलग्न नै नभएको तर्क गरे । उनले खबरहबसँग भने, ‘प्रहरीले आफ्नो ड्युटी निभाएको छ, सरकारसँग जोडिएको कुरा नै भएन । सबै कुराको जवाफ सरकारले दिनुपर्छ भन्ने कुरा प्रतिपक्षलाई लागेको होला । हामीसँग भन्दा पनि यो प्रहरीसँगको कुरा हो ।’

म भए माफी दिन्थें : धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वकानूनमन्त्री धनराज गुरुङले भने समाजमा अराजकता बढेको र विरोधका नाममा अरुलाई ‘चोर’ इत्यादि भन्दै गाली गरिनु उचित नभएको बताए । तर, टुँडिखेलमा नारा लगाउने युवाहरुलाई क्रिाउ गर्नुको साटो नेताहरुले माफी दिनुपर्ने बताए ।

उपसभापति गुरुङले खबरहबसँगको कुराकानीमा भने, ‘मविरुद्ध त्यसरी नारा लागेको भए मचाहिँ पक्राउ गर्नुको साटो माफी दिने थिएँ ।’

विगतमा सुशील कोइरालाजस्तो सादगी नेतामाथि पनि प्रहार भएको र कतिपय नेतामाथि जुत्तासमेत प्रहार भएको तर नेताहरुले माफी दिने गरेको गुरुङले स्मरण गरे ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ९ : ३० बजे

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात

लण्डन – स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले