नागरिकले ज्यान बचाउन गुहार मागिरहँदा माला थाप्न ब्यस्त थिए कार्यवाहक प्रधानमन्त्री | Khabarhub Khabarhub

नागरिकले ज्यान बचाउन गुहार मागिरहँदा माला थाप्न ब्यस्त थिए कार्यवाहक प्रधानमन्त्री

कांग्रेस बैठकमा नेताहरूले गरे आलोचना



काठमाडौं- शनिबार सबेरै बिहान ललितपुरको नख्खु खोलाले घेरेपछि घण्टौंसम्म गुहार लगाउँदा पनि राजु साहको परिवारलाई उद्धार गर्न सरकारका कोही मान्छे पुगेनन् ।

टहरोमाथि बसेर ज्यानको गुहार लगाउँदा पनि कसैले उद्धार गर्न नआएपछि राजु साह, राज साह, मेघना साह र सेतु साहलाई नख्खुको बाढीले बगायो ।

टहरोको एकातर्फको भाग बाढीले ढालेसँगै बगाएका चारजनामध्ये तीनजनालाई काभ्रे तेमालका चनिकलाल तामाङले ज्यानको बाजी लगाएर आफैं हेलिएर बचाए । अहिले पनि सेतु साह बेपत्ता छिन् ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सरकारको कडा आलोचना भयो । समयमा हेलिकोप्टरसहितका उद्धारकर्मी नपुगेको भनेर कडा आलोचना हुन थालेपछि केही घण्टामा नेपाली सेनाको हेलिकोप्टर पनि परिचालन भयो । त्यही क्षेत्रमा पुगेर सेनाको हेलिकोप्टरले कयौँ सर्वसाधारणको ज्यान जोगायो ।

बाढीको विपद्‍बीच यतिबेला देशभित्र प्रधानमन्त्री केपी शर्मा ओली छैनन् । उनी अहिले राष्ट्रसंघको ७५ औँ महासाभामा सहभागी हुन न्यूयोर्कमा छन् । महासभामा उनले सम्बोधन गरिसकेका छन् तर उनी अझै पनि देश फर्किसकेका छैनन् । निर्धारित कार्यक्रम छोट्याएर आउने अपेक्षाविपरीत उनी अमेरिकामै ठूलो अर्थ नलाग्ने कार्यक्रममा ब्यस्त छन् ।

कार्यवाहकको आफ्नै ताल

प्रधानमन्त्री विदेशतिर व्यस्त भइरहँदा कार्यवाहकको जिम्मा शहरी विकास मन्त्री प्रकाशमान सिंहको काँधमा छ ।

शनिबार काठमाडौं उपत्यकासहित देशभर बाढी र पहिरोले बितन्डा मच्चाइरहँदा संघीय सरकारको भूमिकालाई लिएर सर्वसाधारणले अनेक प्रश्न उठाएका छन् ।

मौसम पूर्वानुमान महाशाखा र अन्य मौसमविद्‍हरूले पनि नेपालमा यस पटक ठूलो विपद् आउने चेतावनी एक सातादेखि नै दिइसकेका थिए ।

उनीहरूको चेतावनीअनुसार नै बिहीबारदेखि नेपालका अधिकांश भागमा भारी वर्षात् सुरु भयो । तीन दिनदेखिको अविरल वर्षाका कारण खासगरी काठमाडौं उपत्यका र त्यसभन्दा पूर्वी क्षेत्रका जिल्लामा ब्यापक क्षति भयो । काभ्रे र सिन्धुलीमा त कयौँ बस्ती नै बाढीले नामेट पारेर लगिदिएको छ ।

ठूला पक्की पुलदेखि कयौँ बस्ती यतिबेला बगरमा परिणत भएका छन् । सिंहले शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको आकस्मिक बैठक पनि राखे ।

ढिलो गरी बसेको उक्त बैठ अविरल वर्षाका कारण सिर्जित विपद्बारे राहत र उद्दारमा भइरहेको प्रयासबारे कार्यवाहक प्रधानमन्त्री सिंहले मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको उनको सचिवालयले शनिबार उल्लेख गरेको थियो ।

तर, सरकारको आपतकालीन बैठक राखेका उनै कार्यवाहक प्रधानमन्त्री सिंह शनिबार संकटसँग जुध्ने बेला एउटा सामान्य क्लबको कार्यक्रममा माला थाप्न दौडिए ।

यो पनि-

जनता बाढीमा डुबेपछि शिक्षामन्त्रीलाई बिदा घोषणा गर्ने हतारो

सिंहदरबारमा बसेर देशभर राहत र उद्धार अभियानको नेतृत्व गर्नुपर्ने कार्यवाहक प्रधानमन्त्री भोजपुरको एउटा गाउँका नाममा खोलिएको क्लबको कार्यक्रममा माला थाप्दै सम्मान लिन ब्यस्त भए ।

सचिवालयमार्फत राहत र उद्धार अभियान तीव्र पारिएको सन्देश दिँदै गर्दा सिंह भने बबरमहलस्थित कार्की बान्क्वेटमा दावाँली मिलन क्लबको १० औँ वार्षिक साधारण सभामा माला थापिरहेका थिए।

प्रधानमन्त्री देशबाहिर रहेको अवस्थामा कार्यवाहकको जिम्मेवारी पाएका सिंह एउटा क्लबको कार्यक्रममा केन्द्रित हुँदा राहत र उद्धार प्रभावकारी नभएको निष्कर्ष कांग्रेस नेताहरूले नै निकालेका छन् ।

सरकारको सारा संयन्त्र राहत र उद्धारमा लगाउन कमान्ड गर्नुपर्ने समय कार्यवाहक प्रधानमन्त्री सिंह क्लबको कार्यक्रममा सम्मान पत्र बाँडिरहेका देखिए ।

कांग्रेसमा आलोचना

कार्यवाहक प्रधानमन्त्री सिंहको यो कार्यशैलीलाई लिएर आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले आलोचना गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आलोचना भएको हो ।

उद्धार र राहत अभियानको नेतृत्व लिने समयमा कार्यवाहक प्रधानमन्त्री सिंह एउटा सामान्य क्लबको कार्यक्रममा माला थाप्न कुदेको भन्दै नेताहरूले उनको आलोचना गर्दै यस्तो कार्यशैलीले सरकार सफल नहुने पनि बताएका छन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहको यो कार्यशैली शोभनीय नभएको टिप्पणी बैठकमा नेताहरूले गरेका छन् । कार्यवाहक प्रधानमन्त्रीले स्थितिको गम्भीरता बुझेर सरकारको नेतृत्व गर्न नसकेको भन्दै नेताहरूले उनको विरोध गरेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार सिंहले शनिबार देखाएको व्यवहार शोभानीय नभएको भन्दै महामन्त्री र सहमहामन्त्रीहरूले आवाज उठाएका हुन् ।

बैठकको सुरुवात गर्दै महामन्त्री गगनकुमार थापाले आफ्ना कुरा राखेका थिए । त्यसपछि बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई सकरारको काम र शनिबार निम्तिएको विपद्‍बारे कुरा राख्न समय दिइएको थियो । उनले राहत र उद्धारमा सरकारका पहलकदमीबारे बोलेका थिए ।

त्यसपछि बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारको कार्यप्रगति र बाढी पहिरोका क्रममा सरकारका पहलदकमी र कामबारे ब्याख्या गरेका थिए ।

कार्यवाह प्रधानमन्त्री र गृहमन्त्री बोलेपछि कांग्रेसका कार्यसम्पादन समितिका सदस्यहरूले बोलेका थिए। त्यसक्रममा कार्यवाहक प्रधानमन्त्री सिंहको व्यवहार र कामको शैली ठिक नभएको भन्दै नेताहरूले आलोचना गरे ।

नेताहरूले सिंहपछि गृहमन्त्री लेखकको पनि आलोचना गरे । अरूलाई मात्रै गाली गर्ने तर आफूले जिम्मेवारी पाउँदा राम्रो पहलकदमी लिन नसक्ने भन्दै नेताहरूले गृहमन्त्री लेखकको पनि आलोचना गरे ।

‘गृहमन्त्री लेखकको व्यवहार र कार्यशैलीको पनि आलोचना भएको छ । बाढी पहिरोको विपद्‍मा सक्रिय भएर काममा लाग्नुको साटो उद्धार गर्न सकिएन भन्दै भाषण गर्नु शोभानीय भएन’, बैठकमा नेताहरूले गरेको टिप्पणीबारे एक नेताले भने ।

आलोचनापछि गृहमन्त्रीले आफूले गर्न सक्ने काम गरेको भन्दै हेलिकप्टरबाट राहत र उद्धारका लागि सुरक्षाकर्मीको खटाएको जवाफ दिएका थिए।

कार्यवाहक प्रधानमन्त्री र विपद्का बेला खटिनुपर्ने गृहमन्त्री फिल्डमा जान नसकेको भनेर नेताहरूले कडा टिप्पणी गरे । तर गृहमन्त्री लेखकले फिल्डभन्दा आफूले नेतृत्वमा बसेर गर्नुपर्ने काम गरेको भन्दै कामको फेहरिस्त सुनाए ।

कार्यवाहक प्रधानमन्त्री सिंहलाई पनि नेताहरूले एउटा क्लबको कार्यक्रमलाई महत्त्व दिएको भन्दै कार्यशैली सुधार्न भने । शनिबार सिंहले कम्तीमा आफ्नो निर्वाचन क्षेत्र (काठमाडौं १) कै बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्नसमेत नजाँदा सरकारको आलोचना बढेको भन्दै नेताहरूले बैठकमा कुरा राखे ।

‘कार्यवाहक प्रधानमन्त्रीले देश विपद्मा पर्दा, बाढी र पहिरोको चपेटमा पर्दा उद्धार र राहतमा खटिने हो’, बैठकमा एक पदाधिकारीले सिंह शनिबार युवा क्लबको कार्यक्रममा गएको कुरा राख्दै भने, ‘डुबानमा परेको बेला क्लबको कार्यक्रम ‘इम्पोर्टेन्ट’ कि जनतालाई राहत दिने, पीडितहरूलाई भेट्ने कुरा ‘इम्पोर्टेन्ट’, सरकारको यस्तो कार्यशैलीलाई जनताले मन पराएका छैनन्, यो ठीक भएन ।’

शुक्रबार रातिदेखि नै बाढी-पहिरोले क्षति गरिरहेको सूचना र मौसमविद्‍को चेतावनीलाई समेत लत्याउँदै कुनै संस्थाको वार्षिकोत्सवमा निस्कनु जायज हुन नसक्ने नेताहरूको भनाइ थियो । उनीहरूले सरकारको यो कार्यशैलीले पार्टीलाईसमेत घाटा लाग्ने कुरा बैठकमा राखे ।

नेताहरूको आलोचना भएपछि जवाफमा सिंहले आफू केही समय मात्रै त्यो उक्त कार्यक्रमलाई समय दिएको भन्दै आफ्नो बचाउ गरे । उनले क्लबको कार्यक्रममा केहीबेर बसेपछि सिंहदरबार पुगेर विपद् व्यवस्थापन तयारी कार्यक्रम र बैठकमा केन्द्रित गरेको जवाफ दिए ।

त्यही बैठकमा सिंहको निर्वाचन क्षेत्र धोबी खोलाको सुकुम्वासी बस्ती डुबान पर्दा, धोबी खोला आसपासका घरहरू डुब्दा पनि कार्यवाहक प्रधानमन्त्रीको नजरमा त्यसतर्फ नपरेको कुरा पनि नेताहरूले उठाए । यस्तो बेलामा सरकार जनतासम्म पुग्नुपर्नेमा त्यस्तो नदेखिँदा पार्टीलाई गम्भीर क्षति गर्ने बताएका नेताहरूले यो कार्यशैली सुधार्न सिंहलाई सुझाव दिए ।

कार्यवाहक प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सह-महामन्त्री जीवन परियार, नेता एनपी साउद लगायतले तिखो आलोचना गरे ।

फिल्डमा गएनन् सिंह

क्लबको कार्यक्रममा सहभागी हुन पुगेका सिंह शनिबार काठमाडौं, ललितपु र भक्तपुरका कुनै डुबान क्षेत्र पुगेनन्। आफ्नै निर्वाचन क्षेत्रमासमेत उनी पुग्न सकेनन् ।

उनी शनिबार बिहान आफूलाई समाजसेवीका रुपमा चिनाउने दावाँली मिलन क्लबको १० औँ वार्षिक साधारण सभामा सकेरे सिधै सिंहदरबार पुगेको बताउँछन् । त्यसपछि आफू विपद् व्यवस्थापन तयारीमा केन्द्रित भएको उनको तर्क छ।

‘उहाँ शनिबार बिहान ८–१० मिनेट जति हामी उक्त कार्यक्रममा बस्नु भएको हो । त्यसपछि सिधै सिंहदरबार गएर विपद् व्यवस्थापन तथा पूर्व तयारीका विषयमा छलफलमा जुट्नु भयो । त्यहीकारण बाढीले पुर्‍याएको क्षतिको अनुगमनका लागि फिल्डमा निस्कन पाउनु भएन’, उनको सचिवालयका एक सदस्यले भने ।

विश्लेषक भन्छन्- सरकार असफल भयो 

शनिबारको प्राकृतिक विपद‍मा सरकारको भूमिकालाई लिएर राजनीतिक विश्लेषक झलक सुवेदीले कडा आलोचना गरेका छन् । उनले जनता त्यति ठूलो संकटमा पर्दा सरकारको काम कारबाही ठीक नभएको टिप्पणी गरे ।

राजनीतिक विश्लेषक सुवेदी सरकारले जनतालाई नयाँ आश जगाउने काम गर्न नसकेको बताउँदछन् । खासगरी कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु उचित हुने उनको तर्क छ ।

उनले आइतबार खबरहबलाई भने, ‘सरकारको काम खासै ठिक भएन । कार्यवाहक प्रधानमन्त्री क्लबको कार्यक्रममा हिँडेको छ । गृहमन्त्री बचाउन सकिएन भन्दै बोलेको छ । ठिक भएन नि, यो ठिक भयो त ?’

सुवेदीले यसबारेमा शनिबार नै एक्समा लेखेका थिए, ‘गृहमन्त्री तत्काल राजीनामा देऊ, तिमी सम्पूर्ण रूपमा असफल भयौ ।’

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  २ : ४४ बजे

सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो प्रभावितको खोज तथा उद्धार प्राथमिकता

काठमाडौं– सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा

बाढीपहिरोबाट कोशी प्रदेशमा मात्रै १५ जनाको मृत्यु

विराटनगर– गएको तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी,

रास्वपाले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन

बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या

काठमाडौं- दशैं नजिकिँदै गर्दा चीनतर्फबाट सामग्री आयात गर्ने मुख्य तातोपानी नाका

 माओवादी केन्द्रको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौं– नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि