राजनीति

चणिकलाललाई सम्मान गर्दै प्रचण्डले भने- हाम्रै कार्यकर्ता हुनु हुँदो रहेछ, खुसी लाग्यो

By खबरहब

September 29, 2024

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले शनिबार बिहान बगाएका दुईजनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निजी निवास खुमलटारमा बोलाएर तामाङलाई आइतबार सम्मान गरेका हुन् ।

तामाङले शनिबार बिहान ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए ।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चारजनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू बगेका थिए ।

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्‍याएपछि तामाङले बाढीमा हेलिएर दुई जनाको उद्धार गरेका थिए ।

उद्धार गरिएका दुवैजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेर निस्किए । राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात छ ।

तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई दिए ।

संकटमा नै बहादुरहरू जन्मिने बताउँदै दाहालले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताए ।

आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको बताउँदै उनले तामाङको चर्चा देशबिदेशमा भइरहेकोमा खुसी जनाए ।

अध्यक्ष प्रचण्डले तामाङ नेकपा माओवादी केन्द्रकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताए ।

काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य रहेको प्रचण्डको सचिवालयको दाबी छ।

उनका दाजु तत्कालीन माओवादी सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा ज्यान गएको पनि खुमलटारले उल्लेख गरेको छ ।

तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए । आफू बिहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि हामफालेर उद्धारमा लागेको उनले बताए । उनले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सीपले दुई जनाको ज्यान बचाउन सकेको बताए ।