‘कालो सूर्य’का लेखकको सहकारीमा ‘ग्रहण’, कसरी मुछिइन् रविपत्नी निकिता ? | Khabarhub Khabarhub

‘कालो सूर्य’का लेखकको सहकारीमा ‘ग्रहण’, कसरी मुछिइन् रविपत्नी निकिता ?

भ्रष्टाचारविरोधी अभियन्ताकै संस्थामा बदमासी


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


24.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्टरनेटमा भण्डारण भएका विभिन्न जानकारी र सूचना प्राप्त हुनेमध्ये चर्चित सर्च इन्जिन हो गुगल । त्यही अमेरिकी सर्च इन्जिन गुगलमा ‘फादर अफ एन्टी करप्सन अफ नेपाल’ टाइप गर्दा सबैभन्दा पहिले भारत जंगमको नाम देखिन्छ ।

साहित्यकारसमेत रहेका जंगमले लामो समयदेखि भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका छन् । उनी आफूलाई भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा चिनाउने क्रममा नेताहरूलाई चर्का गाली दिन पछि पर्दैनन् । उनले वि.सं. २०३६ सालमै भ्रष्टाचारसम्बन्धी पुस्तक लेखेका थिए । जसको नाम थियो– कालो सूर्य ।

तिनै ‘कालो सूर्य’ पुस्तकका लेखक अर्थात् भ्रष्टाचारविरोधी अभियन्ता जंगम अध्यक्ष रहेको काठमाडौंस्थित ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड’मा अनेक गडबडी भेटिएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागले छानबिनपछि तयार पारेको प्रतिवेदनले जंगमको सहकारीमा कैफियत नै कैफियत देखाएको हो ।

विभागले सहकारी ऐन ०७४, काठमाडौं महानगरपालिका सहकारी ऐन ०७४, बचतऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका ०७७ को आधारमा तयार ८२ वटा सहकारी संस्थाको निरीक्षण सूचकको आधारमा उक्त प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनअनुसार काठमाडौं महानगरपालिका–३ मा स्थापना गर्ने उद्देश्यले दर्ता भएको साई स्वागत बचत तथा ऋण सहकारी संस्था सहकारी विभागको स्वीकृतिबिना कार्यालय स्थान्तरण गरेर वडा नम्बर १० मा लगिएको छ ।

महानगरपालिकाको अनुगमन प्रतिवेदनमा साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरूको रकम हिनामिना मामिलाबाट अध्यक्ष जंगमलाई चोख्याउन संस्थाको सदस्य नै नभएकी व्यक्ति (निमकुमारी छन्तेल)लाई सञ्चालक समिति अध्यक्ष बनाएको खुलेको छ । संस्थाले साधारणसभामा अनुपस्थित र सदस्य नै नरहेकी व्यक्ति (निशा खड्का)लाई उपाध्यक्ष मनोनीत गरेको महानगरको छानबिन प्रतिवेदनले किटान गरेको छ ।

प्रतिवेदनमा ०७८ साउन २८ मा व्यवस्थापकसमेत रहेका तत्कालीन सचिव शंकर उपाध्याय दाहाल, लेखा समिति संयोजक रामहरि अधिकारी तथा सदस्य जनक गौतमले करारनामा गरेर तत्कालीन अध्यक्ष भरतमणि जंगमलाई जिम्मेवारीमुक्त गर्ने मनसायबाट संस्थाको सदस्य नै नरहेकी छन्तेललाई अध्यक्ष र खड्कालाई उपाध्यक्ष बनाएको उल्लेख छ ।

प्रतिवेदनमा ‘मिति २०७८/०४/२८ गतेको संस्थाका तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहाल, लेखा समिति संयोजक रामहरि अधिकारी र सदस्य जनक गौतम तथा अध्यक्ष भरतमणि जंगमबीच करारनामा गरी संस्थाको तत्कालीन अध्यक्षलाई जिम्मेवारीमुक्त गर्ने मनसायबाट मिति २०७९/०८/१२ गते संस्थाको सदस्य नै नभएको श्रीमती निमकुमारी छन्तेललाई सञ्चालक समितिको अध्यक्ष, साधारणसभामा अनुपस्थित तथा सदस्य नरहेको श्रीमती निशा खड्का उपाध्यक्ष लगायत अन्य पदाधिकारी नियुक्ति गरी तरकालीन सञ्चालक समिति बचतकर्ताको बचत फिर्ता गर्ने जिम्मेवारीबाट उम्किने गरी कार्य गरेको देखिएको’ उल्लेख छ ।

प्रतिवेदनमा समितिमा आएका अधिकांश नयाँ व्यक्तिहरू संस्थाको सम्पर्कमा रहेको नदेखिएको पनि उल्लेख छ । संस्थाले नयाँ पदाधिकारी नियुक्त गरेको र राजीनामा स्वीकृतिसम्बन्धी निर्णय पुस्तिकामा केरमेट गरिएको पनि प्रतिवेदनमा लेखिएको छ ।

‘मिति २०७५/०९/२८ को साधारण सभाको निर्णय नम्बर ६ बमोजिम तत्कालीन अध्यक्ष नोखराज पोखरेल, कोषाध्यक्ष योगीता पुन, सदस्यहरु क्रमशः लिस्सा पौडेल, सरोज लामिछाने, रजनीश आचार्य तथा लेखा समिति सदस्य केदारबहादुर दाहालको मात्रै राजीनामा स्वीकृत गरी रिक्त पदमा मात्रै पदाधिकारी नियुक्त गरेकोमा निर्णय पुस्तिकामा केरमेट गरी विभिन्न पदमा सञ्चालक नियुक्ति तथा हेरफेर गरेको देखिएको,’ महानगरले प्रतिवेदनमा भनेको छ ।

महानगरको प्रतिवेदनमा सहकारी संस्था व्यवस्थापनले तत्कालीन उपाध्यक्ष निकिता पौडेलले ०७८ असोज ८ मा राजीनामा दिएको लिखित जानकारी गराए पनि राजीनामा सम्बन्धमा सञ्चालक समिति तथा साधारण सभाले निर्णय गरेको नदेखिएको दाबी गरिएको छ ।

महानगरको सहकारी विभागले प्रतिवेदनमार्फत ०७१ असोज १२ मा सम्पन्न सहकारीको साधारण सभाले सदस्य नै नभएको व्यक्ति सञ्चालक समितिको अध्यक्ष नियुक्ति गरेको र नयाँ सञ्चालक समितिका पदाधिकारी सम्पर्कविहीन रहेको परिप्रेक्षमा निर्णय पुनर्विचार गर्न उपयुक्त हुने पनि सुझाएको छ ।

महानगरपालिकाको सहकारी विभागले बचतकर्ताको लिखित उजुरीका आधारमा गरिएको छानबिन प्रतिवेदनले भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगम अहिले पनि साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र निकिता पौडेल उपाध्यक्ष रहेको ठहर गरेको छ ।

यसअघि ०८० असार पहिलो साता बचतकर्ताहरूले काठमाडौं महानगरपालिकामा उजुरी दिएपछिको छानबिनमा निकिताको नाम पनि मुछिएको थियो । तर, उनले पदबाट राजीनामा दिइसकेको भन्दै बचाऊ गर्दै आएकी छन् ।

चलचित्र विकास बोर्डकी पूर्वअध्यक्षसमेत रहेकी साई सहकारी बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष निकिता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती हुन् । पूर्वगृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि यतिबेला १० दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई २ पटक म्याद थपिएको छ ।

 

पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाटै नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला अदालत कास्कीले कात्तिक १५ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले रविमाथि ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । उनलाई जिल्ला अदालत रुपन्देहीले पनि पक्राउ गर्न प्रहरीलाई आदेश दिएको छ ।

स्रोतका अनुसार सञ्चारकर्ममा रहँदा रविले भरत जंगम अध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट ५० लाख रुपैयाँ ऋण लिएका थिए । उनले चलचित्र विकास बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलसँग विवाहको छेकोमा सहकारीबाट ५० लाख रुपैयाँ ऋण लिएको स्रोतको भनाइ छ । रवि लामिछाने र निकिता पौडेलले ०७५ माघ ७ मा अदालती विवाह (कोर्ट म्यारिज) गरेका थिए । त्यसपछि नगरकोटमा पार्टी दिइएको थियो ।

अदालती विवाह गरेको चार महिनापछि अर्थात् जेठ ३ गते उनीहरूले नगरकोटको सुविधा सम्पन्न एक होटलमा उनीहरूले औपचारिक रूपमा विवाह गरेका थिए ।

उनीहरूको विवाह समारोहमा भव्य भोज आयोजना गरिएको थियो । साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिएको ऋणबाटै रवि–निकिताले नगरकोटको सुविधा सम्पन्न होटलमा विवाहमा भोज आयोजना गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार केही समयपछि लामिछानेले सहकारीको ऋण चुक्ता गरेका थिए । तर, ऋण चुक्ता गर्नुअघि उनले भरत जंगमसँग श्रीमती निकिता पौडेललाई सहकारीको उपाध्यक्ष बनाइदिन आग्रह गरेका थिए । रविकै आग्रहमा निकिता साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा मनोनीत भएकी थिइन् ।

तर सहकारी संस्थाका बचतकर्ताहरूले रकम हिनामिनाको उजुरी दिएपछि उनले उपाध्यक्ष पदबाट राजीनामा दिएको बताउँदै आएकी थिइन् । तथापि, काठमाडौं महानगरपालिकाको सहकारी विभागको छानबिनका क्रममा निकिताले दिएको भनिएको राजीनामा कागजी रूपमा पुष्टि नभएको देखाएको छ ।

‘अनुगमनका क्रममा तत्कालीन उपाध्यक्ष श्री निकिता पौडेलले मिति २०७८/०६/०८ गते राजीनामा दिएको भनि व्यवस्थापकले लिखित जानकारी गराए पनि सो राजीनामा सम्बन्धमा सञ्चालक समिति तथा साधारण सभाले निर्णय गरेको नदेखिएको,’ महानगरपालिकाको सहकारी विभागको खबरहबलाई प्राप्त प्रतिवेदनमा भनिएको छ ।

महानगरले साई स्वागत बचत तथा सहकारी संस्थाको कर्जा लगानीमा कैफियत देखाएको छ ।

 

‘समितिको निर्णयबिना मिति २०७९/११/०४ गते सदस्य श्री योगिता पुन (०८–०१६२) लाई २४ लाख रुपैयाँ कर्जा लगानी भनी सिस्टममा प्रविष्ट गरेको देखिएको साथै उक्त रकम सम्बन्धित ऋणी सदस्यको बचत खातामा रकमान्तर गरेको देखिन्छ । तर, ऋणी सदस्यको कर्जा तमसुक, ऋण आवेदन लगायत कुनै पनि कागजातमा दस्तखत देखिँदैन । साथै, उल्लेखित २४ लाखमध्ये रु. १३,२६,८५८.९३ कर्जा नं. ०८–०१०५ को कर्जा खाता बन्द गर्न प्रयोग भएको देखिएको तर बाँकीमध्ये रु. १०,२०,४६०.०० अन्य ऋण खाता बन्द गर्न प्रयोग भएको भनि पोस्टिङ भए पनि संस्थाको सिस्टमबाट उक्त रकमको प्रयोग अनुगमनका क्रममा रुजु गर्न नसकिएकाले रकम दुरुपयोग गरेको हुन सक्ने,’ प्रतिवेदनमा भनिएको छ।

महानगरपालिकाको सहकारी विभागले उक्त सहकारीले ऋणीहरूबाट २२ प्रतिशतसम्म ब्याज लिएको देखिएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । सहकारी विभागले साई सहकारीलाई सुझाव दिँदै भनेको छ, ‘ब्याजदरको परिधिभित्र रहेर कर्जा लगानी तथा असुली गर्नुपर्ने ।’

सहकारीमा समस्या आएपछि र पीडितहरुले घर नै घेर्न थोलेपछि भरत जंगम अहिले अमेरिका पलायन भएका छन् । उनी छोरी ज्वाइँको शरणमा अमेरिका बसिरहेको स्रोतको भनाइ छ । काठमाडौंमा उनले एउटै कम्पाउण्डमा दुईवटा आलिशान महल ठड्याएका थिए, जहा सहकारी पीडितहरु दिनहुँजसो जान थालेपछि उनी विदेशिएका हुन् ।

भक्तपुरमा विसं. २००४ सालमा जन्मेका भरत जंगम पञ्चायतकालका पत्रकार पनि हुन् । ०२७ सालदेखि पत्रकारितामा प्रवेश गरेको बताउने उनले बहुदल कालमा पनि गोरखापत्र, कान्तिपुर, समाचारपत्र, हिमालय टाइम्स, लोकपत्र र राजधानी लगायतका पत्रिकामा भ्रष्टाचारविरुद्ध लेखहरु लेख्दै आएका थिए । उनी एक समय नेपाली आवाज पत्रिकाका सम्पादक तथा प्रकाशक पनि थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : १४ बजे

रविको हिरासत तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

भारतीय गायक सोनु निगम नेपाल आउँदै

काठमाडौं – भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार

रविको सांसद पद निलम्बन पत्रबारे खनाल भन्छन् : सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

काठमाडौं – नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा

रविको सांसद पद निलम्बन गर्न पठाएको पत्रमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि