सिक्किमकी मायलमित : धरानमा सुनाइन् टिस्टाको विध्वंस | Khabarhub Khabarhub

सिक्किमकी मायलमित : धरानमा सुनाइन् टिस्टाको विध्वंस

संसारलाई आदिवासी ज्ञान बुझाउँदै लेप्चा समुदायकी अभियन्ता



सुनसरी- सिक्किममा गत साल अक्टोबर ४ मा साउथ लोनाक हिमताल ग्लेसियर विस्फोटपछि आएको बाढीले विश्वभरका मिडियामा निकै दुःखद चर्चा बटुल्यो । अर्बौंको धनमालको क्षति भयो । सयौंले ज्यान गुमाए । वास्तवमा यो सबै १० मिनेटमा भएको थियो । यो दुर्दान्त घटना आदिवासी ज्ञानलाई नजरअन्दाज गर्दाको परिणाम भएको सिक्किमका लेप्चा समुदायको बुझाइ छ ।

केही दिनका लागि धरानमा आइपुगेकी ‘इफेक्टेड सिटिजन्स अफ टिस्टा (एसीटी)’ की महासचिव मालयमित लेप्चा भन्छिन्, ‘हामीले पहिल्यै दिएको सुझावलाई भारत सरकार, सिक्किम प्रान्तीय सरकार, दातृ निकाय र त्यहाँ हाइड्रोपावर निर्माण गर्ने कम्पनीहरुले सुनिदिएका र मानिदिएका भए सम्भवतः त्यस्तो विकराल घटना हुँदैन थियो ।’

लेप्चा आवद्धको संगठन एसीटीले उक्त विध्वंसको सम्भावनाबारे डेढ दशकअघि नै चेतावनी दिएको थियो । एसीटीले त्यसबेला सिक्किमका आदिवासी जनजाति लेप्चा समुदायले संरक्षण गरेको क्षेत्रमा सरोकारवालालाई जानकारी नै नदिई वा स्वीकृति नलिई आदिवासी जनजातिका परम्परागत ज्ञानको सहाराविना विकास र समृद्धिका नाममा निर्माण गरिएका ठूलाठूला परियोजनाले कुनै पनि दिन ठूलो विध्वंस ल्याउन सक्छ र त्यसले आदिवासी जनजाति लेप्चाको पहिचानलाई नामेट गर्छ भनेर अग्रिम चेतावनी दिएको थियो ।

आदिवासी ज्ञान र चेतनाको प्रयोग गरेर मात्र अबको विश्वको मानव सभ्यतालाई बचाउन सकिने मालयमित बताउँछिन् । अन्धाधुन्द आधुनिकताका नाममा गरिने विकास निर्माणले कसैलाई बाँकी राख्न सक्दैन भन्ने मान्यता राख्ने उनी आफू जातिवादी वा विकास विरोधी नभएर समग्र मानव सभ्यताको संरक्षण गर्नुपर्छ भन्नेमा अडिग छिन् ।

कुनै पनि बैंकले कुनै पनि सरकार वा कम्पनीलाई ऋण दिएर कुनै पनि ठाउँमा ठूलो परियोजना सञ्चालन गर्नु महत्वपूर्ण नभएर त्यो परियोजनाले स्थानीय बासिन्दाको भाषा, लिपि, कला, संस्कृतिसँगै आर्थिक, सामाजिक र राजनीतिकरुपमा कति विकास भयो भन्ने तथ्यले महत्व राख्ने उनी बताउँछिन् ।

उनी सिक्किमका लेप्चा जातिको परम्परागत ज्ञानको सन्दर्भलाई जोड्दै भन्छिन्, ‘एसीटीले सन् २००७ देखि २००९ सम्म अर्थात ९१५ दिनसम्म रिले भोक हड्ताल गरेर सिक्किमको जङगुमा बन्न लागेका अन्य चारवटा ठूला परियोजना बन्द गर्न सफल भयो । तर, टिस्टा ऊर्जा कम्पनीले भारु १४ हजार करोडमा निर्माण गरेको १२ सय मेघावाटको स्टेज–३ प्रोजेक्टलाई भने रोक्न सकेन ।

उनले खबरहबसँग भनिन्, ‘स्थानीय जनताको सरकोकार भएकाले हाम्रो संस्था एसीटीका अध्यक्ष अथुप लेप्चासहितको टिमले सिक्किम हाइकोर्टमा मुद्दा दर्ता गरे पनि दुर्भाग्यवस त्यो मुद्दा सन् २०१२ मा हार्‍यौं ।’

उनले थपिन्, ‘हामीले आदिवासी लेप्चाहरुको आदिम ज्ञानका आधारमा पहिलेदेखि नै त्यहाँ ड्यामसहितको हाइड्रोपावर उचित छैन भनेर भनिरहेका थियौं ।’

विकासको मुद्दालाई जलवायु परिवर्तन र आदिवासी जनजातिको मूल मुद्दासँग जोडेर बहस गर्दागर्दै प्रकृतिक विपत्ति आइलागेको उनले सुनाइन् । उनका अनुसार टिस्टा ऊर्जा कम्पनीले भारु ५ हजार ७०५ करोडको अनुमानित लागत तय गरेको थियो । तर, कम्पनीले १४ हजार करोडमा १२ सय मेघावाटको स्टेज–३ प्रोजेक्ट निर्माण सम्पन्न गर्‍यो । निर्माण पूरा गर्न १२ वर्ष लाग्यो तर ६ वर्ष मात्र चलायो । आदिवासी ज्ञान प्रयोग नगरी ठूलो परियोजना बनाउँदा एकै झड्कामा स्वाहा भयो ।’

मालयमित आदिवासी जनजातिका परम्परागत, मौलिक र सांस्कृतिक ज्ञानलाई सदुपयोग गर्न सके सबैको हित हुन्छ भन्ने पक्षमा वकालत गर्ने दक्षिण एसियाकी प्रखर अभियन्ता हुन् भनेर चिनाइ रहनुपर्दैन । सन् २०२३ नोभेम्बर–२८ देखि डिसेम्बर १२ सम्म दुबईमा सम्पन्न कप–२८ जलवायु परिवर्तन सम्मेलनमा भारतको आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै उनले सिक्किमलाई जोडेर आदिवासी ज्ञानबारे प्रवचन दिएकी थिइन् ।

कोप–२८ मा उनले भारतको सिक्किम राज्यमा स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारले बनाएका कानूनमा लेप्चा जातिको हक संरक्षित भएको तर जुन प्रकारले प्रान्तीय र केन्द्रीय सरकारले आधुनिक विकास र उन्नतिका नाममा ठूला मेघा हाइड्रो पावर निर्माण गरिदिने नीति अपनाउनु आपत्तिजनक रहेको जिकिर गरेकी थिइन् ।

उनले कोप–२८ मा आदिवासी जनजातिको हरेक पक्ष, भाषा लिपि धर्म, कला संस्कृतिमा असर पुर्‍याउने गरी कुनै पनि परियोजना सञ्चालन र निर्माण नगर्न सुझाव दिएर फर्केको बताइन् ।

जलवायु परिवर्तनको नराम्रो असरलाई नियन्त्रण गर्न आदिवासी जनजाति ज्ञानलाई प्रयोग गर्नुको विकल्प नरहेको मालयमितको भनाइ छ । उनी भन्छिन्, ‘अरु संघसंस्था वा व्यक्तिले पनि जलवायु परिवर्तनको असरबारे नबोलेका होइनन् तर हामी आदिवासीले त यो हिमाल, पहाड, खोला, नदी र वनजंगललाई भगवान नै मानेर सधैं पूजा अर्चना नै गरिरहेका छौंं । पवित्र र शुद्ध मानेकाले प्रकृतिको विरुद्ध हामी जानै सक्दैनौं ।’

सिक्किमको उत्तरी क्षेत्रमा पर्ने जङ्गुलाई लेप्चा जातिले आफ्नो पवित्र भूमि मान्छन् । त्यहाँका खोलानाला, पहाड पर्वतलाई पूजा गर्छन् । लेप्चा जातिमा मानिस मरेपछि त्यहीँको खोला, नदी हुँदै पुम्जुल्याङ अर्थात कन्चेन्च्यु (कञ्चनजंघा) को फेदमा पुग्छ भन्ने परम्परागत विश्वास र मान्यता छ ।

त्यस्तो विश्वास र मान्यता बोकेको स्थलमा भारत सरकारले १७ बर्षदेखि स्टेज–फोर ५२० मेघावाट र पनङ प्रोजेक्ट ३२० मेघावाटको हाइड्रोपावर परियोजना निर्माण गर्न खोजेको छ । तीमध्ये पनङ प्रोजेक्टमा भारत सरकारले बैंकबाट ऋण लिएर धेरै पैसा खर्च गरी जबर्जस्ती ड्याम बनाउँदै गर्दा सन् २०१६ अगस्त १३ मा टिस्टा नदीको एउटा शाखा रङ्ग्यङ खोलामा ठूलो पहिरो आएर बगाएको रर ठूलो जनधनको क्षति भएको मालयमितले सुनाइन् ।

‘पहिरोले खोलामा ड्याम बगाउँदा पानी भरिएर गाउँ नै डुबायो । हिमगिरी कम्पनी त्यो प्रोजेक्ट त्यतिकै छाडेर गयो,’ उनले थपिन्, ‘आदिवासी जनजातिको जमिनमा सरकारले त्यस्ता ठूला प्रोजेक्ट निर्माण गर्दा सबैभन्दा पहिले सहमति लिनुपथ्र्यो । किनकि त्यो जमिन संरक्षित हो ।’

उनले थपिन्, ‘आदिवासी जनजाति समुदायका लेप्चा जातिको आर्थिक, सामाजिक, पारिवारिक, सांस्कृतिक, भाषिक, लिपि, कला संस्कृति र धार्मिक पक्ष र समग्र जीवन दर्शनसँग भूमि–प्रकृति जोडिएको हुन्छ । त्यस्ता ठूलाठूला प्रोजेक्टले लेप्चाहरुको सांस्कृतिक, भाषा, लिपि संस्कृति नस्ट गरिदिन्छ भनेर नै विरोध गर्दै आएका छौं ।’

सिक्किमको हिमालयन बेल्ट भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ । त्यहीमाथि लेप्चाजातिको संरक्षित क्षेत्र भएकाले ती क्षेत्रमा ठूलो आयोजना निर्माण गर्नु हुँदैन भन्ने मान्यता अनुसार नै पछिल्लो समयमा मायलमितजस्ता अभियन्ताले आदिवासी ज्ञानलाई जलबायु परिवर्तनको मुद्दासँग जोड्दै आएका छन् ।

सन् २०२३ सेप्टेम्बरमा दक्षिण अमेरिकाको कोलम्बियामा आयोजित ‘फाइनाइन्स इन कमन सम्मेलन’ को निमन्त्रणामा पुगेका बेला मायलमितले विश्वका ठूल्ठुला बैंक, कम्पनीलाई आदिवासी ज्ञानविना बनेका परियोजनालाई कुनै पनि मुलुकको सरकारमार्फत एक पैसा पनि ऋण नदिन सुझाव र चेतावनी दिएकी थिइन् ।

‘फाइनाइन्स इन कमन’ सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक जस्ता विश्वका ठूल्ठूला बैंकका सञ्चालकहरु सहभागी थिए । त्यहाँ आफूले बोलेको प्रशंग सुनाउँदै उनले भनिन्, ‘त्यो सम्मेलनमा मलाई आदिवासी ज्ञानको विषयमा आफ्नो धारणा राख्न दिइएको थियो । मैले आदिवासी जनजाति संरक्षित क्षेत्र र आदिवासी जनजातिको भाषा, लिपि, कला, संस्कृति लोप गराउने गरी बन्ने विकास र उन्नतिको नाममा हाम्रो देश (भारत) भारतीय कम्पनीलाई ऋण नदिनू, दिएमा सशक्त आन्दोलन गर्नेछौं भनें ।’

को हुन् मायलमित अफिमु लेप्चा ?

अंग्रेजी, नेपाली र हिन्दी भाषा खरर बोल्ने खुला मनकी धनी मायलमित सिक्किमको जङ्गुमा २२ अक्टुवर १९८५ मा जन्मेकी हुन् । स्थानीय टासी नाम्ग्याल एकेडेमीमा पढेर गान्तोककै इन्दिरा गान्धी विश्वविद्यालयबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन गरेकी उनका दुई दाजु, दुई बहिनी र आमाबुवा छन् ।

आर्थिक आत्मनिर्भरताका लागि उनले ६ बर्षसम्म इक्फाइ, अर्थात द इस्टिच्युट अफ चार्टड फाइनाइन्सियल एनालिस्ट अफ सिक्किम युनिभर्सिटीमा परीक्षा र ह्युमान रिसोर्स विभागमा काम गरिन् ।

विकासका लागि सरकारले त्यहीँका स्थानीय समुदायको विकास हुने गरी आदिवासी ज्ञानकै आधारमा प्रोजेक्ट सञ्चालन गर्नुपर्ने तर कुनै पनि कम्पनी वा ठेकेदार पोसिने विकास हुनुहुँदैन भन्ने पक्षमा रहेकी उनलाई इक्फाइमा पर्याप्त तलब भत्ता सुविधा भए पनि बिहानदेखि साँझसम्म पढाएर बस्ने दैनिकी मन परेन । त्यसपछि जागिर छोडिदिइन् ।

सिक्किमलाई भारतमा विलय गराइएको इतिहास र लेप्चाको उद्गम भूमिमा आदिवासी ज्ञान प्रयोग गरेर सिक्किमको जङगुमा लेप्चा अवधारणामा आधारित पर्यटन उद्यमका लागि होम स्टे व्यवसाय गर्ने र त्यसैबाट जिविका चलाउने उनले निधो गरिन् । उनी भन्छिन्, ‘अहिले परिवारलाई सामान्य खान, लाउन र बस्नका लागि आम्दानीको स्रोत त्यही होम स्टे बनेको छ । किन धेरै लोभ गर्नु ?’

आदिवासी ज्ञानका आधारमा सञ्चालित उनको लेप्चा होम स्टेबाट बाँकी रहेको समयलाई आदिवासी ज्ञान, जलवायु परिवर्तन र महिला तथा बालबालिका हिंसा विरुद्धका मुद्दामा आवाज बुलन्द गर्दै आएकी छिन् ।

आदिवासी जनजातिको ज्ञानकै विषयमा विद्यावारिधि गर्ने तयारी गर्दै आएकी उनी आगामी अप्रिलमा अमेरिका जाने र त्यहाँ पनि आदिवासी ज्ञानको विषयमा बोल्ने तयारीमा जुटेकी छन् ।

न्यूयोर्कमा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन इन्डिजिनिअस एण्ड जस्ट ट्रान्जेसन’ सम्मेलनले उनलाई अग्रिम निमन्त्रणा दिइसकेको छ । संयुक्त राष्ट्रसंघको स्थायी मञ्चले आयोजना गर्ने उक्त सम्मलेनमा आफूले आदिवासी जनजातिको मुद्दा उठाउने बताइन् ।

यसअघि सन् २०१९ मा गान्तोकमा आयोजित सिक्किमका ५० उत्कृष्ट महिलामध्ये वातावरण संरक्षण अभियन्ताका रुपमा वुमेन एचिभर्स अवार्डका एवं टप १५ इन्भाइरोमेन्टमा वुमेन एजिभर्स अवार्ड पाइसकेकी उनले छोरीलाई शिक्षा अनिवार्य शर्त राख्ने गरेकी छिन् ।

सिक्किममा लेप्चा जातिको जमिनको अधिकारका लागि पनि लड्दै आएकी उनी सिक्किम इण्डिजिनियस लेप्चा ट्राइबल एसोसोसिएसन (एसआइएलटिए–सिल्टा) की अध्यक्षसमेत हुन् । साथै उनी दुई–दुई वर्षमा सहभागी हुने आठ मुलुकको आदिवासी जनजातिको पक्षमा वकालत गर्ने ग्लोबल एडभोकेसी टिमकी सदस्य समेत हुन् । विश्वभरिका आदिवासी जनजातिका अन्तराष्ट्रिय संस्थाहरुको इण्डिजिनियस एडभाइजरी ग्रुपको सल्लाहकार रहेकी उनी भारतका विभिन्न संस्थामा आवद्ध छिन् ।

हालसम्म अविवाहित रहेकी उनले कुरैकुरामा आफ्नो परिवार र व्यक्तिगत जीवनबारे पनि भन्न भ्याइन् । ‘मेरा बाबा राजनीतिमा हुनुहुन्थ्यो पहिले । तर, राजनीतिमा अनेक षडयन्त्र गर्न, धोका दिन, भाषण एउटा गरेर जनतालाई मख्ख पार्ने अनि काम चाहीँ अर्कै गर्ने चतुर हुनुपर्ने र स्वार्थी पनि हुनुपर्ने भएपछि त्यसो गर्न नसक्दा माथिल्लो तहसम्म पुग्न सक्नुभएन । राजनीति छाडेर घर परिवारमै सीमित हुनुभयो । हामीलाई बाबाआमाले फूलजस्तै हुर्काउनुभयो ।’

प्रशंगबस मायलमितले हालसम्म कसैसँग पनि ‘लभ अफेयर’ वा ‘लव इनरिलेशन’ मा नबसेको बताइन् ।

धरान आएकी उनले भनिन्, ‘सामान्यतः उमेरको हिसावमा विवाह गर्न ढिला भएको त हो, तर आफूले खोजेको र चाहेको जस्तो युवक नपाएकाले विवाह गर्न ढिला भएको हो । मेरो विचार र धारणालाई सम्मान गर्ने इमान्दार र पुरुष पाएँ भने साँच्चै विहे गर्छु ।’

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : २२ बजे

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको