अर्थसंक्षेप : भारतमा ४०० मेगावाट बिजुली बिक्रीदेखि कृषि बीमा प्रिमियम भुक्तानीसम्म « Khabarhub

अर्थसंक्षेप : भारतमा ४०० मेगावाट बिजुली बिक्रीदेखि कृषि बीमा प्रिमियम भुक्तानीसम्म


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

आगामी आर्थिक वर्षको बजेट भाषण भएको दोस्रो दिन पनि शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घट्यो । यसपटक आएको बजेटले कोशी प्रदेशका व्यवसायीहरूको उत्साह बढाउन नसकेको व्यवसायीहरूको गुनासो रहेको छ । 

यस्तै, अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेको बताएका छन् । नेपालबाट दैनिक ४ सय मेगावट बिजुली भारत निर्यात शुरु भएको छ  । 

हेर्नुहोस् आजका मुख्य आर्थिक समाचारहरू :

बजेटपछि निरन्तर घट्दो ट्रेन्डमा शेयर बजार, बिहीबार १९.८९ अंकले घट्यो

आगामी आर्थिक वर्षको बजेट भाषण भएको दोस्रो दिन पनि शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेको हो ।

आज नेप्से ०.९५ प्रतिशतले घटेर १०६९ बिन्दुमा पुगेको छ । बिहीबार ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर ६१ हजार ७२ पटक किनबेच भयो ।

बिहीबार ३११ वटा कम्पनीको शेयर कारोबार हुँदा ७० वटा  कम्पनीको शेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।  

आज सेन्सेटिभ इन्डेक्स ३.९० अंकले, फ्लोट इन्डेक्स १.७० अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स १.७६ अंकले घट्यो । 

त्यस्तै, १३ समूहमध्ये ३ वटा समूहको शेयर मूल्य बढेको छ भने १० वटा समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी उत्पादन समूहको शेयर मूल्य बढेको छ भने सबैभन्दा बढी होटल एण्ड टुरिजमको घटेको छ । 

उत्पादन ८२.५८ अंकले बढेको छ भने होटल एण्ड टुरिजम १३९.१३ अंकले घटेको छ ।

बजेटले कोशी प्रदेशका उद्योगी–व्यवसायीमा जगाएन उत्साह

आगामी आर्थिक वर्ष २०८१-८२ को संघीय बजेटले आफूहरूमा आशा जगाउन नसकेको कोशी प्रदेशका केही उद्योगी–व्यवसायीले प्रतिक्रिया दिएका छन् ।

गत मंगलबार (जेठ १५ गते) संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका थिए । अर्थमन्त्रीले बाचन गरेको बजेट वक्तव्यले आफूहरूमा उत्साह जगाउन नसकेको पूर्वका उद्योगी-व्यवसायीले प्रतिक्रिया दिएका हुन् ।

खबरहबसँग कुरा गर्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुनारले उद्योगीलाई बजेटमा धेरै कुरा आउँछ भन्ने आशा नै नभएको र बजेट समेत त्यस्तै आएको बताए ।

 ‘बजेटमा धेरै कुरा आउँछ भन्ने थिएन’, सुनारले खबरहबसँग भने, ‘उधारो उठाउने कुरा, नवप्रवर्तनमार्फत सीप अभिवृद्धि गर्ने, कृषि दशक मनाउने लगायत केही सकारात्मक विषयहरू पनि आएका छन् ।’

अर्थमन्त्री पुनले कुल विनियोजनमा चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ (६१.३१ प्रतिशत), पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ (१९.७४ प्रतिशत) बजेट विनियोजन गरेका छन् ।

तथ्यमा आधारित बजेट ल्याउँदा आलोचना कम भयो : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकारवालाले स्वीकार गरेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा सरोकार भएका सबै क्षेत्रबाट सन्तुलित बजेट आएको भनेर प्रतिक्रिया पाइरहेको बताए ।

‘बजेटमा अलिअलि आलोचना स्वभाविक हो । केही ठाउँबाट आलोचना पनि भएका छन् । अधिकांश क्षेत्रले बजेट सन्तुलित आएको प्रतिक्रिया दिएका छन्’, अर्थमन्त्री पुनले भने । तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएका निकायले स्वागत गरी स्वीकार गरेका उनको भनाइ छ ।

बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिएको अर्थमन्त्री पुनले बताए । पछिल्लो समय सार्वजनिक वित्त व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ छ । 

‘आन्तरिक ऋणको मात्रा बढिरहेको छ । यस्तो अवस्थामा स्रोत जुटाउनु चुनौतीपूर्ण भएको छ । चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउनेतर्फ सबैले सोच्नुपर्ने बेला आएको छ’, उनले भने ।

कृषि बीमा ९७ करोड प्रिमियम भुक्तानी गर्दै कृषि मन्त्रालय 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमा बापत बिमा कम्पनीहरुले पाउनुपर्ने  ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी गर्ने निर्णय गरेको छ । बाली तथा पशुबिमा गरेवापत बीमा कम्पनीहरुले पाउनुपर्ने अनुदान बक्यौता नपाएका कारण बीमा कम्पनीहरुले गत चैतदेखि बीमा कार्य बन्द गरेको थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा बोल्दै कृषि मन्त्री ज्वालाले मन्त्रालयले यसै आर्थिक वर्षको अन्त्य सम्ममा भुक्तानी हुन बाँकी रकम भुक्तानी गर्ने बताइन ।

नेपालबाट ४ सय मेगावट बिजुली भारत निर्यात 

नेपालले भारततर्फ बिजुली निर्यात गर्न शुरु गरेको छ । वर्षायाम लागेर नदीमा पानीको बहाबमा वृद्धि भएर उत्पादन बढेपछि निर्यात गर्न शुरु गरेको प्राधिकरणले बताएको छ । 

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री शुरु गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिकरूपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत निर्यात भइरहेको बताए । 

द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४ सय हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले उल्लेख गरे ।  

केन्द्रीय विद्युत प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । 

६५६ मेगावाटबाटै मध्यकालीन विद्युत सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभिभिएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ । एनभिभिएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत रियल टाइम मार्केटमा विद्युत खरीदबिक्रीको पनि अनुमति पाएको छ ।

सुनको मूल्य २३ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्यमा भने कमी आएको छ । महासंघका अनुसार आज चाँदीमा ३० रुपैयाँ घटेर प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ६ : १६ बजे

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा

माघ ११ सम्मको व्यस्त महोत्सव तालिका सकेर राजनीतिक सक्रिय हुने प्रकाशको संकेत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ उम्मेद्वारी दिएका गायक प्रकाश