केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला | Khabarhub Khabarhub

केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी प्याड र कपडा बनाउन अग्रसर भएका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत ५२ जना महिलाले केराको थामबाट रेसा निकालेर सेनेटरी प्याड र कपडा बनाउने तालिम लिइरहेका छन् ।

ज्यामरुककोटका १४ वटा आमासमूहका महिलाहरु सहभागी उक्त तालिम सात दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिमपश्चात् सहभागीले सेनेटरी प्याडलाई आर्थिकोपार्जनको माध्यम बनाउने र व्यावसायिकरुपमा उद्योग सञ्चालन गर्ने जनाएका छन् ।

बेनी नगरपालिका–२ खबरा र बगरफाँट गाउँ केराको पकेट क्षेत्र मानिन्छ । फल दिने समय सकिएपछि किसानलाई केराको थाम व्यवस्थापनमा झन्झट हुँदै आएको थियो । खेर गएको केराको थामबाट सेनेटरी प्याड बन्ने भएपछि किसानलाई पनि सहज हुने भएको छ ।

तालिमका प्रशिक्षक सन्दिप सापकोटाका अनुसार सेनेटरी प्याड बनाउन पहिलो चरणमा केराको थामलाई लामोरुपमा टुक्रा निकालेर सुकाइन्छ । दोस्रो चरणमा सुकेको टुक्रालाई मेसिनमा पेलेर फाइबर बनाइन्छ र फाइबरलाई ‘प्यूरीफाइ’ गरी सेनेटरी प्याड बनाइन्छ ।

केराको थामबाट फाइबर निकाल्ने चरणसम्म आउन चारदेखि पाँच दिन लाग्ने उनको भनाइ छ । केराको फाइबरबाहेक आवश्यकपर्ने अन्य कपडा बजारबाट खरिद गरेर ल्याइन्छ । फाइबर निकाल्ने मेसिन धेरै महँगो नहुने भएकाले महिलाले समूह बनाएर व्यवसाय सुरु गर्नसक्ने उनले बताए ।

तालिम लिएर समूह बनाई उद्योग सञ्चालन गर्ने तालिमका सहभागी उषा घिमिरेले बताए । “गाउँघरमा खेर गएको केराको थामबाट सेनेटरी प्याड बनाउन सकिने रहेछ । अब समूह बनाएर आवश्यकपर्ने मेसिन उपलब्ध गराउन नगरपालिकासँग अनुरोध गर्छौं”, उनले भने ।

उद्योग सञ्चालनका लागि धेरै महँगो पनि नपर्ने प्रशिक्षक सापकोटाको भनाइ छ । “रु चारदेखि पाँच लाखसम्ममा मेसिन पाइन्छ । त्यसबाहेक कपडा सिउने मेसिन आवश्यक पर्छ । त्यो पनि धेरै महँगो नहुने भएकाले यो पेसा थोरै लगानीमा सुरु गर्न सकिन्छ”, उनले भने।

जिल्लाभित्रका स्थानीय तहहरुले वार्षिक रु १५ लाखदेखि २० लाखसम्म सेनेटरी प्याडमा खर्च गर्दै आएका छन् । पालिकाले विद्यालयमा सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको छ । तालिम लिएका महिलाले सामूहिकरुपमा उद्यम सञ्चालन गर्न खोजे पालिकाले मेसिन र आवश्यक सामग्री खरिदको व्यवस्था गरिदिने बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले बताए ।

“यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ । कार्यक्रम वडा नं २ र १० मा लागू भएको छ”, उपप्रमुख लामिछानेले भने, “आमासमूहलाई परिचालन गरेर महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य छ ।”

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ८ : ५५ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति