केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला « Khabarhub

केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी प्याड र कपडा बनाउन अग्रसर भएका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत ५२ जना महिलाले केराको थामबाट रेसा निकालेर सेनेटरी प्याड र कपडा बनाउने तालिम लिइरहेका छन् ।

ज्यामरुककोटका १४ वटा आमासमूहका महिलाहरु सहभागी उक्त तालिम सात दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिमपश्चात् सहभागीले सेनेटरी प्याडलाई आर्थिकोपार्जनको माध्यम बनाउने र व्यावसायिकरुपमा उद्योग सञ्चालन गर्ने जनाएका छन् ।

बेनी नगरपालिका–२ खबरा र बगरफाँट गाउँ केराको पकेट क्षेत्र मानिन्छ । फल दिने समय सकिएपछि किसानलाई केराको थाम व्यवस्थापनमा झन्झट हुँदै आएको थियो । खेर गएको केराको थामबाट सेनेटरी प्याड बन्ने भएपछि किसानलाई पनि सहज हुने भएको छ ।

तालिमका प्रशिक्षक सन्दिप सापकोटाका अनुसार सेनेटरी प्याड बनाउन पहिलो चरणमा केराको थामलाई लामोरुपमा टुक्रा निकालेर सुकाइन्छ । दोस्रो चरणमा सुकेको टुक्रालाई मेसिनमा पेलेर फाइबर बनाइन्छ र फाइबरलाई ‘प्यूरीफाइ’ गरी सेनेटरी प्याड बनाइन्छ ।

केराको थामबाट फाइबर निकाल्ने चरणसम्म आउन चारदेखि पाँच दिन लाग्ने उनको भनाइ छ । केराको फाइबरबाहेक आवश्यकपर्ने अन्य कपडा बजारबाट खरिद गरेर ल्याइन्छ । फाइबर निकाल्ने मेसिन धेरै महँगो नहुने भएकाले महिलाले समूह बनाएर व्यवसाय सुरु गर्नसक्ने उनले बताए ।

तालिम लिएर समूह बनाई उद्योग सञ्चालन गर्ने तालिमका सहभागी उषा घिमिरेले बताए । “गाउँघरमा खेर गएको केराको थामबाट सेनेटरी प्याड बनाउन सकिने रहेछ । अब समूह बनाएर आवश्यकपर्ने मेसिन उपलब्ध गराउन नगरपालिकासँग अनुरोध गर्छौं”, उनले भने ।

उद्योग सञ्चालनका लागि धेरै महँगो पनि नपर्ने प्रशिक्षक सापकोटाको भनाइ छ । “रु चारदेखि पाँच लाखसम्ममा मेसिन पाइन्छ । त्यसबाहेक कपडा सिउने मेसिन आवश्यक पर्छ । त्यो पनि धेरै महँगो नहुने भएकाले यो पेसा थोरै लगानीमा सुरु गर्न सकिन्छ”, उनले भने।

जिल्लाभित्रका स्थानीय तहहरुले वार्षिक रु १५ लाखदेखि २० लाखसम्म सेनेटरी प्याडमा खर्च गर्दै आएका छन् । पालिकाले विद्यालयमा सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको छ । तालिम लिएका महिलाले सामूहिकरुपमा उद्यम सञ्चालन गर्न खोजे पालिकाले मेसिन र आवश्यक सामग्री खरिदको व्यवस्था गरिदिने बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले बताए ।

“यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ । कार्यक्रम वडा नं २ र १० मा लागू भएको छ”, उपप्रमुख लामिछानेले भने, “आमासमूहलाई परिचालन गरेर महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य छ ।”

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ८ : ५५ बजे

चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ

रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा

सप्तरीमा एमालेको झण्डा जलाएको घटनामा म्यादी प्रहरी पक्राउ 

सप्तरी– सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत रहेका महदेवा गाउँपालिका-५ भगवतपुर

रौतहटमा दुई समुदायबीच झडप उग्र, दर्जनौँ सवारी साधनमा आगजनी

रौतहट– रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

काठमाडौं– क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा