अत्यधिक गर्मीले विद्यालयको पठनपाठन प्रभावित « Khabarhub

अत्यधिक गर्मीले विद्यालयको पठनपाठन प्रभावित


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अत्यधिक गर्मीका कारण मुलुकका विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित भएको छ । तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालकालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो ।

दाङको घोराही उपमहानगरपालिकाले यही जेठ १८ देखि २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका र देउखुरीमा चार पालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेका हुन् ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले तापक्रम बढेका कारण विद्यार्थीमा समस्या देखिएपछि बिदा दिइएको बताए । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका राप्ती, गढवा, राजपुर गाउँपालिकाले जेठ १७ गतेदेखि २० गतेसम्म विद्यालय बिदा दिएका छन् । दाङमा आज ४३ डिग्री तापक्रम मापन गरिएको छ ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका विद्यालय एक साताका लागि बन्द गरिएको छ । बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै यही जेठ १८ गते २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

बर्खे बिदाबाट कट्टा हुनेगरी उपमहानगरपालिकाअन्तर्गत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाइने उपमहानगरपालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेखित छ ।

सर्लाहीको लालबन्दी, बरहथवा, मलङ्गवा, चक्रघट्टालगायतका पालिकाले पनि सूचना जारी गर्दै यही जेठ २० गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने जनाएका हुन् । चर्को गर्मीले बालबालिकालाई विद्यालय आवतजावत गर्न तथा कक्षाकोठामा बसेर पठनपाठन गर्न समस्या भएपछि तत्कालका लागि विद्यालय बन्द गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

लालबन्दी नगरकार्यपालिकाले बुधबार जारी गरेको सूचनाअनुसार आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि पठनपाठन बन्द गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा तीन दिनसम्म तातो हावा बहने सूचना जारी गरेको थियो । उक्त सूचनालाई ध्यान दिँदै विद्यालय बन्द गरिएको पालिकाका प्रशासकीय प्रमुख वसन्त न्यौपानेले बताए ।

यस्तै बुधबार एक सूचना जारी गर्दै बरहथवा नगरपालिकाले आइतबारदेखि पुनःविद्यालय नियमित हुनेगरी तीन दिन विद्यालय बन्द गरेको जनाएको हो ।

विद्यालय वाताअनुकूलित नरहेका तथा कयैन विद्यालयका कक्षाकोठामा सामान्य पङ्खाको व्यवस्थापन नहुँदा चर्को गर्मीमा बालबालिका कष्टपूर्ण ढङ्गले पठनपाठन गर्नुपर्ने बाध्यता छ । विद्युत् नियमित नहुँदा पङ्खा भएका विद्यालयमा समस्या रहेको शिक्षक शिक्षिकाको भनाइ छ ।

जिल्लाको मलङ्गवा नगरपालिकाले भने तत्कालका लागि विद्यालयको समय तालिका व्यवस्थापन गर्न निर्देशन दिएको छ । दिउँसोको समयमा धेरै गर्मी हुने गरेको भन्दै नगरका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई बिहानी कक्षा १० बजे सम्ममात्र सञ्चालन गर्न निर्देशन दिइएको शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले बताए । अर्को सूचना जारी नभएसम्मका लागि प्रत्येक कक्षाको समय १० देखि १५ मिनेट घटाएर समय व्यवस्थापन गर्न पालिकाले आग्रह गरेको हो ।

साथै रुपन्देशीको सिद्धार्थनगर नगरपालिकाले पनि विद्यालय बन्द गरेको छ । भैरहवा तथा यस आसपासको तापक्रम लगातार बढ्दै गएको कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै नगरपालिकाले एक सूचना गरी विद्यालय बिदा दिने जनाएको छ ।

नगर प्रमुख इस्तियाक अहमद खानद्वारा जारी सूचनामा बर्खे बिदाबाट कट्टा हुनेगरी यही जेठ १८ गते जेठ २५ गतेसम्म बिदा दिइएको उल्लेख छ । यसअघि जिल्लाको मायादेवी गाउँपालिकाले पनि यही जेठ १६ गतेदेखि १८ गतेसम्मलाई विद्यालयमा बिदा दिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित विद्यालय पनि यही जेठ २० गतेदेखि एक सातासम्मका लागि बन्द हुने भएका छन् । आज वीरेन्द्रनगरमा अधिकतम तापक्रम ४० डिग्री मापन गरिएको छ । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक भएपछि सामुदायिक विद्यालय पनि बन्द गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो । “गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौँ, यदी पानी प¥यो र तापक्रम घट्यो भने विद्यालयहरु बन्द हुँदैनन्”, उनले भने ।

गर्मीका कारण सुर्खेतमा जेठ १३ देखि २६ गतेसम्मका लागि सञ्चालित पोलियो रोगविरुद्धको खोप अभियान कार्यक्रम पनि प्रभावित भएको छ । सुर्खेतका पालिकाहरुमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो ।

वीरेन्द्रनगर, गुर्भाकोट, पञ्चपुरी नगरपालिका सिम्ता, वराहाताल र चौकुने गाउँपालिकामा यही २२ गतेदेखि २५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तालिका छ । गर्मीका कारण विद्यालय बन्द हुने भएपछि खोप तालिका समेत प्रभावित बनेको हो ।

विद्यालयसँगको समन्वयमा खोप अभियान सञ्चालन भइरहेको भन्दै वीरेन्द्रनगर नगरपालिकाका विद्यालय बन्द भए आफूहरुले खोप अभियान तालिका परिवर्तन गर्ने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप सम्पर्क व्यक्ति घनबहादुर बुढाले बताए ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ९ : २० बजे

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा

माघ ११ सम्मको व्यस्त महोत्सव तालिका सकेर राजनीतिक सक्रिय हुने प्रकाशको संकेत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ उम्मेद्वारी दिएका गायक प्रकाश