अन्तर्राष्ट्रिय

पाकिस्तानको खैबर पख्तुनख्वामा अतिवादी लडाकु समूहको बिगबिगी

By खबरहब

August 30, 2024

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अतिवादी लडाकु समूहको बिगबिगी बढ्दै गएको पाइएको छ । अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा पाकिस्तानमा सक्रिय लडाकु समूहको सक्रियता बढ्दै गएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सो क्षेत्रमा तहरिक ए तालिबान पाकिस्तान, लस्कर ए इस्लामजस्ता लडाकु समूहले गस्ती गर्दै आएका छन् । यसबाट स्थानीय बासिन्दा त्रसित भएको समाचारमा जनाइएको छ ।

खैबर पख्तुनख्वाको पिर मेला र मैदान लगायतका क्षेत्रमा तालिबान र लस्कर ए इस्लाममा संलग्न लडाकु गाडी चढेर आउने जाने गरेका छन् । त्यसबाहेक बार कम्बरखेल, आदमखेल, थियराइजस्ता क्षेत्रमा पनि लडाकु समूहको सक्रियता बढेको पाइएको छ ।

सो क्षेत्रमा सुरक्षाकर्मीले स्थानीयलाई बारम्बार चेकजाँच गर्ने भए पनि लडाकुहरू भने खुल्लमखुल्ला हिँडिरहेको भन्दै स्थानीयहरू आक्रोशित भएका छन् । असुरक्षाका कारण ती क्षेत्रबाट मानिसहरू पलायन समेत हुँदै आएको जनाइएको छ ।