समाचार

अवरुद्ध राजमार्ग खुल्न थाले, बीपी राजमार्ग अनिश्चित

By खबरहब

September 30, 2024

काठमाडौं– गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण अवरुद्ध राजमार्गहरू खुल्न थालेका छन् ।

आइतबारदेखि मनसुन केही कम हुँदै जाँदा सडक विभागले राजमार्गको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याएको हो ।

देशको संघीय राजधानी काठमाडौं भित्रिने मुख्य नाका र सडक राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध छन् ।

विभागका अनुसार, सोमबारसम्म काठमाडौं– हेटौँडा र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालनमा आएका छन् ।

त्यस सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । जसका कारण काठमाडौंदेखि हेटौँडाको सडक सञ्जाल पूर्ण रुपमा बिच्छेद भएको थियो ।

त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडक र सिमभन्ज्याङ–पालुङ–नौबिसे सडकमार्ग पनि सोमबार बिहानदेखि सुचारु भएको छ ।

त्यस्तै, सडक विभागले काठमाडौं उपत्यका भित्रिने मूख्य नागढुंगा नाकास्थित धादिङको झ्याप्लेखोलामा पहिरो जाँदा काठमाडौंदेखि मुग्लिनसम्मको सडक अवरुद्ध बनेको छ । मुग्लिन–नौबिसे हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन यतिबेला ठप्प छन् ।

सडक विभागबाट खटिएको जनशक्ति, प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणले पहल गरेकाले उक्त सडकखण्डको पहिरो हटाउने काम तीव्र रुपमा अघि बढेको छ ।

उक्त सडकमा सोमबार साँझसम्म यातायात सुचारु गर्ने गरी पहिरो हटाउने काम भइरहेको विभागका प्रवक्ता तथा उपमहानिर्देशक उमेश विन्दु श्रेष्ठले बताए । उनका अनुसार, बीपी राजमार्ग तत्काल खुल्न नसक्ने देखिएको छ । उक्त मार्गको विभिन्न ठाउँमा सडक नै भासिएकाले सञ्चालनमा ल्याउन समय लाग्ने उनको भनाइ छ ।

‘मूख्यगरी काठमाडौं आउने बीपी राजमार्ग तुरुन्त खुल्ने अवस्था छैन । ठाउँ ठाउँमा गरेर १४०० मिटर सडक नै भासिएको छ,’ उनले भने, ‘नागढुंगा सुरुङ नजिकैको पहिरो हटाउने काम पनि भइरहेको छ ।’

धादिङको झ्याप्लेखोला हुँदै सुरुङमार्गमार्फत यात्रुहरुलाई काठमाडौं ल्याउने काम भइरहेको छ । सडक अवरुद्ध भएसँगै अलपत्र यात्रुलाई आपतकालीन रुपमा सुरुङमार्ग हुँदै काठमाडौं ल्याउन प्रहरी परिचालन गरिएको छ ।

मुलुकभर बिहीबारदेखि शनिबारसम्म निरन्तर वर्षा हुँदा देशभरका सडक, पुल, ऊर्जा क्षेत्रमा ठूलो क्षति हुन पुगेको र धनजनको क्षति भएपछि आइतबार सरकारको आकस्मिक बैठक बस्यो । उक्त बैठकले संघीय राजधानीलाई बाँकी भूभागसँग जोड्ने सडकमार्ग अवरुद्ध भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी सडक सुचारु गर्न निर्देशन दिएको थियो ।

बैठकले ‘राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो ठूलो रोकावट आउँदा आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाएर सडक सुचारू गर्ने निर्णय गरेको थियो ।

वर्षापछिको बाढीपहिरोले देशभरका राजमार्गका विभिन्न ५८ ठाउँमा सडक अवरुद्ध हुन पुगेको थियो । तर, सरकारको निरन्तरको प्रयासका कारण सडक खुल्ने क्रम बढ्दै गएको छ । सोमबार यो समाचार तयार पार्दासम्म सडक राजमार्गका ४२ स्थानमा मात्रै सडक अवरुद्ध हुन पुगेको छ ।