उखु उत्पादनलाई प्रोत्साहन गर्न पोखरामा खुदो मेला « Khabarhub

उखु उत्पादनलाई प्रोत्साहन गर्न पोखरामा खुदो मेला


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पुस १५ होस् वा माघे सङ्क्रान्ति अथवा अन्य चाडपर्व पोखरा र आसपासका क्षेत्रमा मालेपाटन ढोडबेँसीको खुदो माग बढ्छ । पुस १५ मा त टिनभरी बोकेर ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै हिँड्ने प्रचलन यस क्षेत्रको छुट्टै संस्कृति जस्तै बनिसकेको थियो ।

यातायातको सुविधासँगै बढ्दो बजारीकरणले घरघरमा पुगी खुदो बेच्ने चलन लोप जस्तै बनेपनि यहाँको खुदोको माग भने झन्–झन् बढ्दो छ । उखु उत्पादनको आकर्षणलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता वडा नं ३२ को मालेपाटन ढोडबेँसी क्षेत्रलाई उखु पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।

महानगरपालिकाले उखु पकेट क्षेत्रका रूपमा यस क्षेत्रमा विभिन्न किसिमका प्रोत्साहन सहयोग गरिरहेको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए।

‘हामीले यस क्षेत्रमा उखु खेतीको आकर्षण एवं सम्भावनालाई दृष्टिगत गरी तीन वर्षयता उखु पकेट क्षेत्र घोषणा गरेका छौँ’, उनले भने, ‘पकेट क्षेत्रअन्तर्गत यस क्षेत्रमा कृषकलाई प्रतिरोपनी एक हजार पाँच सय दरले प्रोत्साहन रकम प्रदान गरिएको छ भने उखु पेल्ने मेसिन खरिदमा ५० प्रतिशत अनुुदान उपलब्ध गराइएको छ । यहाँको खुदोको पहिचानलाई हराउन नदिन प्याकेजिङ, ब्राण्डिङ, प्रयोगशाला परीक्षण आदिमा सहयोग गरिएको छ ।’

मालेपाटन ढोडबेँसीको खुदो उत्पादनको इतिहासलाई जगेर्ना गर्दै कृषकलाई थप उत्प्रेरित गर्न महानगरका कृषि विकास शाखा एवं व्यवसाय प्रवर्द्धन केन्द्रले खुदो मेला आयोजना गरेका केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

मेलाका अवसरमा खुदो खाने प्रतियोगिता, सबैभन्दा राम्रो व्यापारिक कक्ष (स्टल) लाई पुरस्कार, उखु उत्पादक कृषकलाई सम्मानसँगै तातो खुदो खान पाउने व्यवस्था गरिएको थियो ।

मेलाका अवसरमा राम्रो व्यवस्थापनसहित धेरै क्षेत्रफलमा उखु उत्पादन गर्ने उत्कृष्ट कृषकहरू तुलसी तिमल्सिना, पूूर्णबहादुर धमला, रामचन्द ओझा र लोकनाथ अधिकारीलाई महानगरपालिकाका तर्फबाट पहिलो, दोस्रो, तेस्रो र चौथो पुरस्कार स्वरुप क्रमशः १० हजार,  सात हजार,  पाँच हजार र  तीन हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै खुदो खाने प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने क्रमश: रञ्जन सुवेदी, गुरुदत्त पराजुली, बाबुराम पौडेल र शेखरनाथ लामिछानेलाई पुरस्कृत गरिएको थियो । उनीहरूलाई क्रमशः चार लिटर, तीन लिटर, दुई लिटर र एक लिटर खुदो प्रदान गरी पुरस्कृत गरिएको थियो ।

मेलाका अवसरमा सहभागीलाई तातो खुदोको स्वाद चखाइएको थियो भने विभिन्न व्यापारिक कक्षमार्फत खुदो किनेर लैजाने व्यवस्था गरिएको थियो । मेलामा उखु उत्पादक कृषक मीना धमलाले उखुबाटै बनाइएको बाला, मालाका साथै छड्के तिलहरी आदि गरगहना लगाएर आकर्षणको केन्द्र बनेका थिए । उखु खेतीबाटै आफू आत्मनिर्भर बनेको र यसैका माध्यमबाट गरगहना समेत किन्ने भएकोले प्रतिकात्मक रूपमा उखुबाट गरगहना बनाएर लगाएको उनले बताए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले कृषकलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। महानगरपालिकाले उत्पादनमा जोड दिएको बताउँदै उनले उत्पादनमा आधारित अनुदानमा जोड दिँदै त्यसमार्फत उत्पादनकै माध्यमबाट रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने योजनामा महानगर रहेको बताए।

कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक वासु रेग्मी, पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्क्लबहादुर कार्की लगायतले मालेपाटन ढोडबेसी क्षेत्रको उखु खेतीको इतिहास र सम्भावनालगायत विषयमा आ आफ्ना धारणा राखे ।

बुढापाकाहरूका अनुसार दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन थियो । उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै अझै व्यावसायिक बनाउनेतर्फ जोड दिइएको स्थानीयवासी बताउँछन् ।

नेपाली संस्कृतिअनुसार पुस १५ मा लट्टे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार)खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले यस अवधिमा निकै माग हुुने गर्दछ ।

उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको स्थानीयवासी महेश्वर पौडेलले बताए।

व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालन पनि गर्दै आएको छन् । मालेपाटन र ढोडबेँसी क्षेत्रमा एक करोड बराबरको कारोबार हुने गरेको छ ।

विगतमा यस क्षेत्रमा रैथाने, काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई विसं २०५० मा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : ५१ बजे

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी