गठबन्धन र एमाले दुबैले देश लुटिरहेका छन् : प्रभु साह | Khabarhub Khabarhub

गठबन्धन र एमाले दुबैले देश लुटिरहेका छन् : प्रभु साह

‘एमाले माओवादी कम्युनिस्ट हैनन्, यिनीहरु मिले पनि काम छैन’



काठमाडौं – रौतहट जिल्लाबाट चापाकल चिन्ह लिएर स्वतन्त्र रुपमा प्रतिनिधिसभामा निर्वाचित प्रभु साहले संसदमा आइसकेपछि नयाँ पार्टी खोलेका छन्- आम जनता पार्टी। पूर्वमाओवादी नेता साह पूर्वएमाले नेतासमेत हुन्।

नयाँ पार्टी खोलेर भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा गरेका साहलाई खबरहबले तपाईको नजरमा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्न गर्दा उनले आफ्नो पार्टी भर्खरै गठन भएकाले यसबारे राजनीतिक विश्लेषण गर्न बाँकी नै रहेको बताए। उनले भने, ‘यसबारे प्रश्न नगर्नोस्, पार्टीले दृष्टिकोण बनाउन बाँकी छ।’ तर, वर्तमान नेकपा एमाले र माओवादी लगायतका दलहरु कम्युनिष्ट नभएको र उनीहरु आपसमा मिले पनि खासै अर्थ नहुने साहको विश्लेषण छ।

नेकपा फुटेपछि केही समय एमालेमै बसेर ०७९ पुष १४ गते ‘आम जनता पार्टी’ गठन गरेका साहको पार्टीबाट उनी आफूमात्र प्रतिनिधिसभा सदस्य छन्। नयाँ पार्टी खोलेर विभिन्न क्रियाकलाप गरिरहेका साहसँग हामीले समसामयिक विषयमा कुराकानी गरेका छौं।
मिसन ८४ भनेर हिँड्ने दलहरूले जनतालाई गुमराहमा राखेको बताउँदै साह रवि लामिछानेतिर लक्षित गर्दै भन्छन्, ‘गर्नेबेलामा केही नगर्ने अनि ८४ देखाएर जनता गुमराह बनाउने ? जे गर्नु छ, अहिले गर्नुहोस् न। भोट माग्नुभयो, जित्नुभयो अब सर्भिस दिनेबेला होइन र ?’
नयाँ पार्टी खोलेर विभिन्न क्रियाकलाप गरिरहेका साहसँग हामीले समसामयिक विषयमा कुराकानी गरेका छौं।

अहिलेको गठबन्धन सरकारलाई तपाई कसरी हेर्नुहुन्छ ?
प्रधानमन्त्रीज्यूले आफै एक वर्ष यत्तिकै बितेको छ, अब गर्छु भनेर भनिसक्नुभएको छ। उहाँले आफैँले भनेपछि सरकारले के गरेको छ र। जनतालाई दुःखी पीडित बनाउने बाहेक सरकारले केही गरेन।

जनतामा उत्साह, आत्मविश्वास र गैरव बढ्ने काम गर्न सक्नुपर्ने थियो। गर्ने त जनताले हो। देश बनाउने जनताले हो। जनता टुटिसकेको छ। देशको सबैभन्दा पढेलेखेकाले त नेपालको भविष्य देखेको छैन। भोलिको कर्णधार विद्यार्थी, जसले अगाडि नै हात उठाइदियो। यो सरकारकै कारणले हो। नेताकै छोराछोरीले नेपालमा भविष्य नदेख्ने, यो कसका कारण हो ? यी नेताका कारणले होइन ? यी नेताले जवाफ दिनुपर्दैन ?

प्रतिपक्षको भुमिका नि ?
यो सरकार अलग र प्रतिपक्षी भन्ने छैन। प्रतिपक्षी र सरकारले मिलीजुली लुटिरहेका छन्। एमाले त ३० प्रतिशत सत्ताको हिस्सामा छ। ब्युरोक्रेसीमा, न्यायालयमा ठूलो पकड छ। संसदमा, सबै आयोगहरूमा एमालेमय छ। त्यसैले एमाले सरकार बाहिर र अरू सरकारमा, त्यस्तो मान्यता मैले राख्दिनँ। किनकि यो मिलीजुली लुट हो। सरकार र प्रतिपक्षी भन्ने छैन। सबैले मिलीजुली भाग मिलाएर खाइरहेका छन्। छद्मभेषी राजनीति छ। एमालेको उम्मेदवार कांग्रेसले जिताएको छ, कांग्रेसको उम्मेदवारले राप्रपाका सभामुखलाई सहयोग गर्छ। कांग्रेसको मुख्यमन्त्रीलाई एमालेले जिताएको छ। प्रचण्डलाई ओलीले सहयोग गर्छन्। भनेपछि यो त सबै छद्मभेषी राजनीति हो। यो राजनीतिले जनता निराश भए। खसीको टाउको राखेर कुत्ताको मासु बेच्ने काम भइरहेको छ।

यो सरकार र वर्तमान गठबन्धनको भविष्य कस्तो देख्नुहुन्छ ?
यो सरकार विभिन्न कम्पनीले नाफाका लागि झगडा गर्ने खालको छ। अहिलेको सरकार अंग्रेजका पालाको इष्ट इन्डिया कम्पनी जस्तै नेपालको लुट मच्चाउने कम्पनी हो। भाग मिलेन भने संसद् अवरोध हुन्छ, तालाबन्दी हुन्छ। भाग मिले सकियो। जहाँ पनि भागबन्डा हुन्छ। केन्द्र, प्रदेश र स्थानीय तहमा कुनै नेताको झगडा जनताका, लागि राम्रो कामका लागि भएको छ र ? म किसान, युवाका लागि लडिरहेको छु भनेको सुन्नुभएको छ ? रोजगारीका लागि, भ्रष्टाचारको अन्त्यका लागि लडिरहेको छु भन्ने सुन्नु भएको छ ? मेरो भाग भएन, मान सम्मान भएन, यस्तै लडाइ छ। यो त लुटेराहरूको ग्याङगको लडाइ हो। यसबाट जनताले के पाउने ? यिनको बिदाइ गर्न र यसको विकल्पतिर जान जरुरी छ।

स्वतन्त्र सांसद प्रभु शाहलाई सरकारमा नलगेको कि नगएको ?
मैले सरकारको राजनीति गरिनँ। सरकारको राजनीति गर्न मैले पार्टी बनाउनुपर्ने थियो। संख्या ल्याउनुपर्ने थियो। भाग लिनलाई संख्या चाहिँदैन। नेपालमा संख्याले भाग पाउने हो। मैले संख्याको राजनीति गरिनँ। संख्यावाला पद छोडेँ। ठूलो पार्टी लिनुपर्ने थियो। संख्या लिन मैले ठूलो पार्टी छोडेँ। संख्या, भाग र पदको राजनीति गरिनँ। कहाँ अपेक्षा राख्नु ?

प्रधानमन्त्री प्रचण्डसँग त तपाईंको सम्बन्ध राम्रै छ क्यारे ?
प्रधानमन्त्री त मेरो नजिकको, आदरणीय नेता हो। मैले उहाँलाई सपोर्ट गरिरहेको छु। सापेक्षतामा जति नेता छन्, ती भन्दा गतिशील नेता पनि मैले भनेको छु। त्यो अलग कुरा भयो। तर, मैले राजनीतिक यात्रा सत्ता र कुर्सीको लागि गर्ने होइन। गर्ने भए म पार्टी बनाउने थिएँ वा कुनै ठूलो पार्टी रोज्ने थिएँ र त्यहाँबाट कुर्सीको यात्रा गर्ने थिएँ। जनताको यात्रा अलग छ। कुर्सीको यात्रा अलग छ। कुर्सीमा गएर देश लुट्ने यात्रा म गर्दिनँ। म ठूलो पार्टी समातेर कुर्सीमा पुग्ने थिएँ नि। म त्यो बाटोमा लाग्दिनँ। जनताको बाटो लागेर आत्मविश्वास जागृत गर्ने काम गर्छु। देश बनाएर छोड्ने बाटोमा छु।

तपाईंले आफ्नो नेतृत्वमा आम जनता पार्टीचाहिँ किन खोल्नुभएको ?
हामीले हिजो विभिन्न आन्दोलनहरु गर्दा आम जनतालाई देशको मालिक बनाउन खोजेको थियौँ। देशमा लोकतन्त्र स्थापना गर्न चाहेका थियौँ। जनतालाई साँच्चै नै राज्यको मूल नेतृत्वमा ल्याउन हामीले आम जनता पार्टी खोलेको हौँ। अहिले आम जनता जुन समस्याबाट जुधिरहेका छन्, त्यो समस्या समाधानका लागि हामीले यो पार्टी बनाएका हौं। जनताको मनोबल बढाउन नै आम जनता पार्टी खोलिएको हो। समाजमा जबसम्म राम्रो मान्छे उत्साहित हुँदैन, तबसम्म नेपाल निर्माण भएको छैन।

कुर्सीमा गएर देश लुट्ने यात्रा म गर्दिनँ। म ठूलो पार्टी समातेर कुर्सीमा पुग्ने थिएँ नि। म त्यो बाटोमा लाग्दिनँ। जनताको बाटो लागेर आत्मविश्वास जागृत गर्ने काम गर्छु। देश बनाएर छोड्ने बाटोमा छु।

पार्टी त खोल्नुभयो, अहिले के काम गरिरहनुभएको छ ?
जनता वैदेशिक रोजगारीबाट ठगिरहेका छन्, तिनलाई न्याय दिलाउन र ठगहरुलई कारबाही गराउन लागिहरेका छौँ। बैंकहरुले लुटेर व्यवसायीहरूले आत्महत्या गर्न बाध्य भएका छन्। किसानहरू पीडित भइरहेका छन्। हाम्रो लोकतन्त्र पुरै धराशायी भइरहेको छ। यसलाई समाधान गर्ने प्रयास गरिरहेका छौँ। हाम्रो राजस्व उठिरहेको छैन। राजस्वमा ठूलो लुट छ। भन्सारमा ठूलो लुट छ। खुलेलाम लुट, यो रोक्न हामी लडिरहेका छौँ। अहिले देश लुटेर विदेश गइरहेका भगौडाहरु, यो देशको सम्पत्तिलाई अवैध बाटोबाट विदेश पुर्याई देशलाई कंगाल बनाउने दलालहरुको विरुद्ध लडिरहेको छौँ।

बच्चाहरूको भविष्यसँग खेलबाड गर्नु हुँदैन, युवालाई रोजगारी दिनुपर्छ भनेर लडिरहेका छौं। दलितहरूसँग आवास छैन, गरिबको घरको पैसामा समेत भ्रष्टाचार भइरहेको छ। त्यसका लागि हामी लडिरहेका छौँ। किसानहरूलाई उत्पादन छैन, बजार छैन भाउ छैन। किसानलाई पेन्सन दिनु पर्छ भनेर हामी लडिरहेका छौँ। त्यसैले आम जनताका जनजीविकासँग जोडिएका कुरा र दिन दैनिकीसँग जोडिएका विषयमा आमजनता पार्टी लडिरहेको छ। आगामी माघ २० गते भ्रष्टाचारीको खबरदारीका लागि ‘खबरदारी र्याली’ काठमाडौंमा निकाल्दैछौँ।

तपाईं माओवादी जनयुद्ध लडेर आएको मान्छे, एमालेमा पनि केही समय बस्नुभयो। अहिले अर्कै पार्टी खोल्नुभएको छ। जनताले यहाँलाई विश्वास गर्छन् त ?
पीडित दलित र जनतालाई न्याय दिलाउन, देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन मैले राजनीतिमा पाइला राखेको थिएँ। त्यतिबेला उत्पीडितलाई न्याय दिने लक्ष्य निर्धारित थियो। किसान मजदुरलाई शासनको मूलधारमा ल्याउने भन्ने लडाइँ थियो। अहिले हामी त्यसैमा छौँ। प्रचण्डजीले धोका दिनुभयो। माओवादी त हामी सक्कली माओवादी नै छौँ। कम्युनिस्ट भनेको हामी ओरिजिनल कम्युनिष्ट छौँ।

सरकार बनाउने जनादेश भनेको त कम्युनिस्ट सरकार बनाउने थियो। तर प्रचण्ड र माधव नेपालजी कम्युनिस्टको मत लिएर कांग्रेसको सरकार बनाउनेतिर जानुभयो। त्यसमा हामी जनतालाई धोका दिन सकिँदैन, कम्युनिष्टको नै सरकार बनाउनुपर्छ भनेर बस्यौँ।

नेकपा एमाले जब फुट्यो, मैले ओलीलाई यदि तपाईं माओवादी चिन्नुहुन्न भने म नेकपा एमाले चिन्दिनँ भनें। अहिले एमालेमा प्रभु शाह प्रवेश गरेको हैन, एमाले प्रभु शाहको पछाडि लागेको हो। एउटा सामान्य मान्छेले सोध्नु हुन्छ कि पृथ्वीले सूर्यको परिक्रमा गरिरहेको छ कि सूर्यले पृथ्वीको भन्दा सूर्यले पृथ्वीको परिक्रमा भन्छ तर वास्तविकता अर्कै हो नि। प्रभु शाह जहाँ थियो, त्यहीँ चट्टानजस्तै छ। अहिले पनि नेपाली जनता उत्पीडित नै दबिएको नै शासित नै छ। त्यसैका लागि लडिरहेको छ भने गरिबका लागि भन्ने पार्टीको अवस्था त अर्कै छ।

मानिसहरु प्रभु शाह राजनीतिको चतुर खेलाडी हो भन्छन् नि ?
मलाई कुनै खेल खेल्नु छैन। म शुद्ध गाउँमा जन्मिएको मान्छे हुँ। जनताका लागि नै निःस्वार्थ ढंगले लड्दै आएको छु। खेलाडी भएको भए सायद प्रभु शाह अर्कै ठाउँमा हुन्थ्यो। हामी जनताको लागि लडिरहेका छौँ।

तपाईँको आम जनता पार्टी कम्युनिष्ट हो कि लोकतन्त्र पक्षधर ?
अहिले केही नेताले कम्युनिस्टहरूलाई विकृत गरी दिए। पहिला गरिखानेलाई मान्छेले कम्युनिस्ट बुझेका थिए। हिजो ०४६ सालमा जनआन्दोलन भएपछि मान्छेले चिन्न थाले कि हुनेखाने धनी मान्छेहरु कांग्रेस र गरीबहरूको पार्टी कम्युनिस्ट भनेर। जब ०६३ साल आयो, सबै पार्टीहरू सरकारमा गएर मिलीजुली सरकार चलाउन थाले, ती कम्युनिस्ट रहेनन्।

हिजो कांग्रेस शासक थियो, कम्युनिस्ट शासित थिए। अहिले त कम्युनिष्टको नै सरकार छ तर मिलीजुली सरकार छ। कांग्रेस–कम्युनिष्ट चिन्न नै गाह्रो छ। कुनै फरक छैन। नाम मात्र अलग, कर्म एउटै छ। एउटा दलको शासन, दलका नेताहरू मिलेर लुट्ने एउटा वर्ग। अब कांग्रेस र कम्युनिष्टको कुनै फरक नै छैन। कम्युनिष्ट भन्ने सोचलाई विकृत गरी दिए।

मलाई कुनै खेल खेल्नु छैन। म शुद्ध गाउँमा जन्मिएको मान्छे हुँ। जनताका लागि नै निःस्वार्थ ढंगले लड्दै आएको छु। खेलाडी भएको भए सायद प्रभु शाह अर्कै ठाउँमा हुन्थ्यो। हामी जनताको लागि लडिरहेका छौँ।

उदाहरणका लागि म एकपटक कम्बोडिया गएको थिएँ। त्यहाँको विष्णु मन्दिरमा मुर्गीहरु चढाएको देखेँ। हाम्रो गाउँघरमा गणेश, विष्णुलाई शाकाहारी देवता मानिन्छ। मिठाई चढाउने गरिन्छ। तर काठमाडौंमा अण्डा, माछा चढाएको देख्छौँ। यो भनेको देवता विकृत भयो। देवतालाई कयौँ मान्छेले विकृत गराए। त्यस्तै, आज कम्युनिष्टहरुले मुखमा कम्युनिष्ट र काममा अर्कै गरेका छन्। त्यसैले कम्युनिष्ट कांग्रेस दुबै शासक भए। सबैले मिलीजुली सरकार चलाएका छन्। कम्युनिष्ट पार्टीमा दलालहरूको कुरा चलिरहेको छ, गरिबहरूको कुनै कुरा छैन। आम जनता शासित नै छ। त्यसैले अहिले आम जनताको भावलाई नै सही ढंगले सम्बोधन गर्न जरुरी छ। त्यसैलाई असली कम्युनिष्ट भनिन्छ।

तपाईँको पार्टीलाई असली कम्युनिस्ट मान्ने ?
नेपाललाई दुई कित्तामा बाँड्ने हो भने गरिब र धनीमा त बाँडेको छैन अहिले। दलको नेता, आसेपासे, शासक र बाँकी शासित। चाहे कांग्रेस होस् या कम्युनिस्ट, जो नेताको आसेपासे भएको छ त्यो खास पहुँचवाला भयो। अहिले धनी-गरिब पनि छैन। हिजो धनी र गरिबमा देश बाँडिएको थियो। गरिबका लागि कम्युनिष्ट पार्टी थियो। अहिले गरिब पनि नेताको पहुँचमा छ भने अलग छ। धनी छ र पहुँच छैन भने उ आम भयो। अहिलेको विशेष भनेको दल र जनता हो। जनता भनेको अहिले उत्पीडित छ र शासित छ।

पीडित वर्गलाई कम्युनिष्ट भनिन्छ। कम्युनिष्ट त्यसको पक्षमा लड्छन्। अहिले को कम्युनिष्ट छन्, जो गरिबका लागि लडिरहेका छन् ? एमाले थियो कुनै बेला। त्यसपछि माओवादी आयो। तर अहिले कम्युनिस्ट नाम राखेर ठग्ने बाहेक केही काम भएको छैन। हामी कम्युनिष्ट भनेर जनता झुक्क्याउने काम गर्नहुँदैन। जे छ, त्यही भन्नुपर्छ।

तपाईँको पार्टीको भूगोल मधेस मात्र हो कि पहाड पनि ?
देशका सबै आम जनता हाम्रा हुन्। देशका सबै आम जनतालाई जोड्ने शासनको प्रत्याभूति गराउने, देशलाई बनाउने काम हाम्रो हो। किनकि आम जनता जबसम्म देश बनाउन लाग्दैन, तबसम्म देश नै बन्दैन। घरमा हरेक सदस्यमा मेरो घर हो राम्रो गर्नु पर्छ भन्ने भावना आएन भने घर कहिल्यै राम्रो र सफल हुँदैन। हामीले आम जनतालाई जबसम्म राज्यको पहुँचमा ल्याउँदैनौँ, तबसम्म देश बन्दैन भनेर हामीले आम जनता पार्टी बनाएको हो। देश सबै हामी आम मानिसको हो। नेपाललाई लुटेर विदेशमा लैजानेको त देश भएन नि। हामी विदेशमा नै भविष्य देख्नेहरू नेपाली भएनौँ। जसले नेपालमा भविष्य देखिराखेको छ, त्यो हाम्रो पार्टीको मान्छे हो। म नेपालको मान्छे हुँ भन्ने सबै हाम्रा हुन्। मेचीदेखि महाकालीसम्मका सबै जनता हाम्रा हुन्।

तपाईँको संगठन कहाँ–कहाँ छ ?
करिब सबै ७७ जिल्लामा यति छोटो समयमा पार्टी बिस्तार भएको छ। हामी नपुगेको ठाउँका जनता पनि हाम्रो साथमा छ। अहिलेको दुनियाँ आइटिको दुनियाँ हो। हामी देश विदेशमा हरेक नेपालीलाई मन पराउने मानिसहरू हाम्रो पार्टीमा जोडिएरहेका छन्। एउटा निर्माणाधीन पार्टी कहाँ पुगिरहेको छ भन्ने हैन, हामीले जनता र देशको स्वार्थलाई हेरेर हिँडिरहेको छौँ। यो सबैले हेरि पनि रहेका छन्।

 

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र तपाईको आम जनता पार्टीमा के फरक छ ?
राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा मलाई धेरै थाहा छैन। तर, आम जनता पार्टीको टार्गेट भनेको नै अहिलेको नेताहरू बेइमान भए, देश डुबाए, यसको विकल्प दिनुपर्छ भन्ने हो। अहिलेको सिस्टम भनेको खिचडी सिस्टम हो। यो सिस्टमले भगौडा वर्गको पक्षमा पक्षपोषण गरिरहेको छ। देशबाट लुटेर विदेश लैजानेहरूको हालीमुहाली बढ्दै छ। त्यसैले यो सिस्टम र लिडरसिपको विकल्प दिनुपर्छ भनेर बनाएको पार्टी हो।
रास्वपाको धारणा पनि मैले बुझे अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र बनाउने नै सोच छ भन्ने सुनेको छु। त्यसैले अग्रगामी शक्तिका रूपमा पनि बुझ्छु।

तपाईँले आइटी आर्मी खोल्नुभएको रहेछ, यो के हो ?
अहिलेको युग भनेको आइटीको सुचना प्रविधिको युग हो। सबै थोक मोबाइलमा छ। डाटा पुजीँवादको युग हो यो। हिजो वित्तीय पुजीँवाद भन्दा एक स्टेपमाथिबाट डाटा पुँजीवाद आयो। जोसँग डाटा छ, त्यो धनाढ्य हो। जोसँग डाटा छ, त्यो एक स्टेप माथि छ। उसको शासन छ। उसको नेतृत्व छ। यो कुरा ठिक ढंगले जनतालाई देखाउन जरुरी छ।

अहिले पनि नेपालका सबै सफ्टवेयर विदेशी छन्। कुनै डाटाको पुहँच नेपालीसँग छैन। पासपोर्टहरु सबै विदेशीका हातमा छन्। टेलिकम सबै विदेशीको हातमा छ। पुजीँपतिको हातमा डाटा भएपछि जनता नेपाली कसरी अगाडि आउँछन् ? त्यसैले हामी यो डाटा पुजीँवादको युगमा डाटाको एप्रोचमा सबैलाई जोड्न जरुरी छ।

हिजो वित्तीय पुँजीवाद थियो, पैसाबाट पैसा कमाउँथ्यो। यो एक दुईजना बुझक्कडले गरेर सम्भव छैन, आम जनतामा जोड्न जरुरी छ। हामीले सेना बनाउन खोजेको हैन, सेनाको गतिमा काम गर्न खोजेको हो। अहिले हामीले आइटीको महत्व बढाउनलाई आइटी आर्मी बनाएको हो।

द्रुत गतिमा किसान मजदुरलाई डाटासँग जोडिएन र डाटाको पहुँचलाई माथि उकास्न सकिएन भने हाम्रो देशमा युवाको भविष्य छैन भनेर हामी लडिरहेका छौँ। अहिले आम्दानीको स्रोत डाटा हो। हिजो वित्तीय पुँजीवाद थियो, पैसाबाट पैसा कमाउँथ्यो। यो एक दुईजना बुझक्कडले गरेर सम्भव छैन, आम जनतामा जोड्न जरुरी छ। हामीले सेना बनाउन खोजेको हैन, सेनाको गतिमा काम गर्न खोजेको हो। अहिले हामीले आइटीको महत्व बढाउनलाई आइटी आर्मी बनाएको हो।

आम जनता पार्टी देश केन्द्रित कि मधेस केन्द्रित ?
देश बनेन भने मधेस बन्दैन। अहिले मधेस मानव विकाश सुचाङ्कमा पछाडि छ। यो नेताको कु कर्मका कारणले भएको हो। मधेसी ठगहरूको गद्दारीले गर्दा मधेस बदल्न सकिएन। मधेस उजाड भयो । यसको जवाफ हामी खोजिरहेका छौँ। देशका नेता सुध्रिएनन् भने मधेस पनि सुध्रिदैन। मधेस र कर्णाली लुट्ने पनि देशका नेता हुन्। कर्णाली लुट्ने पनि यी नै हुन्। पहाडहरू अभिशाप होइनन्।
नेता ठिक हुने हो भने नेपालमा सबै थोक छ। नेता मात्र राम्रो छैन, अब हामीले लिड दिनुपर्छ। जनता अगाडि आउनुपर्छ। यसैको प्रयास गरिरहेका छौँ।

तपाईं आफ्नो राजनीतिक गुरु कसलाई मान्नुहुन्छ ?
त्यसरी कुनै फिगरलाई मैले राखेको छैन। तर, इतिहासका सफल व्यक्ति सबैलाई मान्छु। नेपालका सफल व्यक्ति मेरा गुरु हुन्।

अहिलेका यी फुटेका कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छ कि पर्दैन ? यहाँलाई कस्तो लाग्छ ?
त्यो कम्युनिस्ट एक भएर, नभएर कुनै काम छैन। कम्युनिष्टहरू विकृत भइसके। गणेशको मूर्ति काठमाडौँमा बिक्री भइसक्यो। विष्णुजीको मूर्ति पनि बिक्री भइसक्यो। कम्युनिष्ट पुजारी, जसले कम्युनिष्टको तक्मा लगाएर बिगारे। भाषणले पेट भर्दैन। त्यसैले ढोंगी बन्नुभन्दा जे छ, त्यही गर्नुपर्छ। प्रभु शाह र आम जनता पार्टी ओरिजनल कम्युनिष्ट हो।

अहिले सबै मान्छे ८४–८४ भनेर हिँडिरहेका छन्। त्यो जनतालाई गुमराह बनाउने खेल हो। आज केही दिन नसक्ने, अनि ८४ मा दिने ? ८४ मा के हुन्छ र अहिले दिनुहुन ?

०८४ को निर्वाचनमा आम जनता पार्टीको आकार कत्रो बनाउने लक्ष छ ?
अहिले सबै मान्छे ८४–८४ भनेर हिँडिरहेका छन्। त्यो जनतालाई गुमराह बनाउने खेल हो। आज केही दिन नसक्ने, अनि ८४ मा दिने ? ८४ मा के हुन्छ र अहिले दिनुहुन ? त्यत्रो ओलीजीले लड्नुभयो, बहुमत ल्याउनुभएन अब ८४ मा ल्याउँछु भन्नुहुन्छ। रविजीले लड्नुभयो, केही गर्नुभएन अब ८४ मा ल्याउँछु भन्नुहुन्छ। अहिले गर न। सांसद् हुनुहुन्छ, उल्लेखनीय संख्या छ। यदि प्रधानमन्त्री बन्ने भए अहिले ३२ सिटे प्रधानमन्त्री छन्। १० पनि प्रधानमन्त्रीको लाइनमा छन्। तपाईँसँग यत्रो संख्या छ, प्रधानमन्त्री बन्छु अनि मात्र गर्छु भन्ने हो भने यतिबेला पनि गर्ने ठाउँ छ त। अनि किन जनतालाई ८४, ८४ ? गर्नेबेलामा केही नगर्ने अनि ८४ देखाएर जनता गुमराह बनाउने ? जे गर्नु छ, अहिले गर्नुहोस् न। भोट माग्नुभयो, जित्नुभयो अब सर्भिस दिनेबेला होइन र ? म एक सिटले त केही गर्छु भनेर लागेको छु। मैले ८४ को प्रतीक्षा गरेको छैन जनतालाई । म जे सक्छु लड्छु र जनताका समस्या समाधान गरेर देखाउँछु। सदन कि सडकबाट जनतालाई गरेर देखाउँछु। प्रभु शाहले गरेर देखाउँछ भनेपछि। गर्नेले ८४ कुर्नु पर्दैन। ८४ को कुरा गर्ने ढोंगी र ठग हुन्। यिनले जनतालाई गुमराह बनाए।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : ३१ बजे

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा