काठमाडौं – आज विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस ‘सूर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाऔं’ भन्ने नाराका साथ नेपाल विश्वर मनाइदैछ।
विश्वभर नै सूर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष नसर्ने रोग बढ्दो क्रममा रहेको तथ्याङ्क छ। विश्व स्वास्थ्य संगनका अनुसार विश्वमा हरेक वर्ष सूर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ। चिकित्सकका अनुसार धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने गर्दछन्।

डा. अरुणा उप्रेती ।
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले सूर्तीजन्य पदार्थको सेवन गर्दा मान्छेको शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यमा पनि धेरै असर गर्ने बताउँछिन् । उनका अनुसार सूर्तीजन्य पदार्थको सेवनले क्षयरोग, फोक्सोको क्यान्सर लगायतका रोग लाग्छन्। मस्तिष्कका नसा पनि संकुचित हुन जान्छन्। यसले गर्दा विभिन्न मानसिक रोग लाग्ने सम्भावना हुन्छ।
त्यस्तै मधुमेह, उच्च रक्तचाप, बढ्ने मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवणशक्ति कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखापर्ने उनले बताइन्। सूर्तीजन्य पदार्थको सेवनले महिलाको प्रजनन स्वास्थ्य लगायत जनस्वास्थ्यका हरेक विषयमा नराम्रो असर पार्ने उनको भनाइ छ।
मुटु र फोक्सोमा असर
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल लम्सालका अनुसार पछिल्लो समय युवा उमेरमा नै मुटुरोग देखिनुको प्रमुख कारण नै सूर्तीजन्य पदार्थको सेवनलाई लिने गरिएको छ। डा. लम्सालले भने, ‘केही वर्ष अगाडिसम्म मुटु रोग भन्ने बित्तिकै ४० वर्ष माथिका उमेर समूहलाई धेरै लाग्ने गथ्र्यो। तर हाल आएर ४० वर्षभन्दा कम उमेरका अर्थात् युवा उमेर समूहलाई पनि मुटुरोग बढ्दै गएको छ। यसको प्रमुख कारण सूर्तीजन्य पदार्थको सेवन हो।

युवा अवस्थामा नै मुटुमा समस्या देखिएर अस्पताल आउने बिरामीसँग कुरा गर्दा उनीहरुले धेरैले चुरोट तथा सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइने गरेको उनले बताए। ‘धेरै महिलालाई हृदयाघात हुने गरेको छ। यसको प्रमुख कारण सूर्तीजन्य पदार्थको सेवन नै हो’, उनले भने।
अभिभावकले धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउने उनको भनाइ छ। परिवारमा एक जनाले सूर्ती सेवन गरेको छ भने परिवारका अन्य सदस्यलाई त्यसको असर हुने अनुसन्धानले देखाएको उनले बताए।
हरेक क्यान्सरको कारक सूर्तीजन्य पदार्थ
क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यले नेपालमा धूम्रपान तथा सूर्तीजन्य पदार्थका कारण क्यान्सर रोगी बढ्दै गएको बताएका छन्। त्यसमा पनि फोक्सोको क्यान्सर हुनुको मुख्य कारण धुम्रपान रहेको उनले बताए।
उनले भने, ‘नेपालमा फोक्सोको क्यान्सरको अवस्था एकदमै भयावह छ। पुरुषमा त एक नम्बरमै छ। महिलामा पहिलो पाठेघर, दोस्रो स्तन क्यान्सर र तेस्रोमा फोक्सोको क्यान्सर पर्छ। धुम्रपान गर्नेको संख्या पनि धेरै भएकाले फोक्सोको क्यान्सरको अवस्था राम्रो छैन। अचेल स्कुले बालबालिकादेखि लिएर पाको उमेर समूह सबैमा चुरोटको लत छ। यही अवस्था रहने हो भने केही वर्ष पछाडि नेपालमा फोक्सोको क्यान्सरको अवस्था झन् जटिल हुनसक्ने देखिन्छ।’

त्यस्तै मुखमा हुने ७० प्रतिशत क्यान्सरको कारण सूर्तीजन्य पदार्थलाई मानिने म्याग्जिलो फेसियल तथा सर्जन डा.रुबिना सुवालले बताइन्। गुटखा, सूर्ती, पान, चुरोट तथा मादक पदार्थ सेवनका कारण मुखमा क्यान्सर हुने जोखिम हुने उनको भनाइ छ।
नेपालमा सूर्तीजन्य पदार्थ प्रयोगकर्ताको अवस्था
नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। जुन संख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो।
नेपालको ग्रामीण क्षेत्रका महिलाले पनि एकदमै धेरै धुम्रपान गर्ने गरेको जनस्वास्थ्यविद् उप्रेतीले बताइन्। उनले भनिन्, ‘विशेष गरी उमेर पुगेका ग्रामीण भेगका महिला सानैदेखि हामीलाई खाने बानी परेकोले हामी छोड्नै सक्दैनौ भन्छन्। अहिले सहर बजार तिरका किशोर किशोरी पनि सूर्तीजन्य पदार्थको लतमा लागिसकेका छन्।’

सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको अवस्था र चुनौती
सूर्तीजन्य पदार्थको नियन्त्रण सरकारले गर्छु भनेर पनि सक्ने अवस्था नरहेको जनस्वास्थ्यविद् उप्रेतीको भनाइ छ। उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले प्रयास गरेकै हो खै त ? सफल भएन। त्यसको लागि त यसबारे बारम्बार छलफल गर्ने, स्वास्थ्यकर्मीले बोल्ने र यसलाई जनस्वास्थ्यको एउटा मुद्दा बनाइनुपर्छ। तब मात्रै नियन्त्रण गर्न सकिन्छ।’
नियम सरकारले बनाएको छ कुनै नियम केही हदसम्म लागु पनि भएका छन्। तर रोकथाम गर्नको लागि धेरै चुनौती रहेको देखिन्छ। हाल पनि नेपालमा सूर्ती उद्योगको हस्तक्षेप र उनीहरुको रणनीतिले चुनौती भने यथावत नै रहेको अवस्था छ। ई-सिग्रेट, सिसा, हुक्कालगायतका सूर्तीजन्य पदार्थका आधुनिक र परिष्कृत रुपलाई समेट्ने गरी बृहत तरिकाले कार्यक्रम सञ्चालन गर्नसमेत आवश्यक देखिने उनको भनाइ छ।
सूर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न राज्य सँगसँगै आम नागरिक नै अग्रसर हुनुपर्ने उनले बताइन्। उप्रेतीले भनिन्, ‘सूर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन सबैभन्दा पहिले भएकै नियम कडाइका साथ लागू गर्न राज्य नै लाग्नुपर्छ, जसको लागि चुरोट बिक्री गर्न नपाइने सार्वजनिक स्थान जस्तै स्कुल, कलेज छेउमा बिक्रीवितरण गर्न नपाइने, सूर्ती चुरोट उत्पादन गर्ने उद्योगलाई निरुत्साहित गर्न राज्य नै लाग्नुपर्छ।

यस्तो छ ऐनमा व्यवस्था
– सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्न पाइँदैन। यदि नियम उल्लंघन गरेमा सय रुपियाँ जरिवाना वा उक्त हाताबाट निष्कासन वा दुवै सजाय हुनसक्छ।
– कुनै पनि सञ्चारमाध्यमबाट सूर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम, समाचार, सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइँदैन। यदि नियम उल्लंघन गरेको खण्डमा एक लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ।
– १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न, गराउन वा निःशुल्क उपलब्ध गराउन पाइँदैन। यदि त्यसो गरेमा १० हजार रुपियाँसम्म जरिवाना हुनसक्छ।
– सूर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइँदैन। यदि यो नियम उल्लंघन गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।
– फुटकर रुपमा चुरोट, बिडी बिक्री वितरण गर्न पाइँदैन। यदि त्यसरी बिक्री गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।
– निःशुल्क रुपमा सूर्तीजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइँदैन। यदि यस्तो गरेको खण्डमा १० हजार रुपियाँ जरिवाना हुनसक्छ।













प्रतिक्रिया