मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य माग्दीको ‘पुनहिल’ « Khabarhub

मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य माग्दीको ‘पुनहिल’


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज ।

भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृष्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलमा आज बिहान देखिएको हो । 

समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाइमा रहेको पुनहिलबाट मौसममा सुधार हुन थालेसँगै मनमोहक र रमणीय दृष्य देखिन थालेको छ । 

बेनीका ओक्कार श्रेष्ठले पुनहिलको हरियाली सहितको दृष्यले मोहित बनाएको अनुभव सुनाए ।

 ‘बेनीदेखि पोखरेबगर–घार–शिख–फलाते–चित्रे हुँदै घोडेपानी जोड्ने सडकमा मोटरसाइकल र घोडेपानीदेखि पुनहिल हाइकिङ गर्न २४ जना एक्सपल्स ब्राण्डको मोटरसाइकल प्रयोगकर्ता आएका थियौँ,’ उनले भने ‘कच्ची सडकमा मोटरसाइकल र उकालोमा हिँड्दाको सबै थकान पुनहिलको दृष्यले मेटाइदियो ।’

चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथि, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न पाउँदा उमङ्ग र उत्साह थपिएको धवलागिरि गाउँपालिका–७ का दिपेन्द्र न्यौपानेले बताए । एकान्त वातावरणमा योग, ध्यान गरेर तनाव व्यवस्थापन गर्नका लागि पनि यो ठाउँ उपयुक्त भएको बेनीका व्यवसायी मुकुन्द शर्माले बताए। 

‘शीतल हावापानी र शान्त वातावरणले तनाव भुलायो,’ उनले भने ‘छुट्टी मनाउन र छोटो अवधिको पारिवारिक भ्रमणका लागि पुनहिल उपयुक्त गन्तव्य रहेछ ।’ अन्य समयमा सुख्खा हुने पुनहिल बर्खा ऋतुमा हरियाली हुन्छ । 

घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले शान्त र एकान्त वातावरण रुचाउने पर्यटकका पुनहिल घुम्न उपयुक्त समय भदौ, असोज र कात्तिक भएको बताए । 

‘पुनहिलमा ऋतु अनुसार फरक÷फरक दृष्य अवलोकन गर्न सकिन्छ,’ उनले भने ‘एकै ठाउँबाट धेरै हिमाल, वनजङ्गल, पहाडी भूगोल, सूर्योदय तथा सूर्यास्तको दृष्य अवलोकन गर्न पाउनु पुनहिलको विषेशता हो ।’

पर्यटकीय राजधानी पोखरा नजिकै सहज र आकर्षक गन्तव्य खोज्नेहरुको लागि चक्रीय अन्नपूर्ण पदयात्रामा समेटिएको पुनहिल÷घोडेपानी आकर्षक र रोमाञ्चक गन्तव्य हो । पोखरादेखि कास्कीको नयाँपुलसम्म गाडी र त्यहाँदेखि पदयात्रा गरेर एकै दिनमा पुगिने घोडेपानीदेखि आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ । 

म्याग्दीको बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै साँढे दुई घण्टामा सवारी साधनमार्फत घोडेपानी पुगिन्छ । पुनहिल र घोडेपानी पदयात्रामा निस्कनेहरू धम्पुस वा घान्द्रुकसम्म घुमेर आउन सक्छन् । घोडेपानीमा बास बसेका पर्यटक सूर्योदय र हिमाल हेर्नका लागि मिर्मिरेमै पुनहिल पुग्छन् । सूर्योदयको बेलामा घामको झुल्कोसँगै देखिने हिमालको सुन्दरताले मन लोभ्याउँछ । 

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटल रहेको बताए। 

‘गुराँसको जङ्गलको बिचमा अवस्थित घोडेपानीका होटलको कोठाबाटै हिमाल देखिन्छ,’ उनले भने ‘मगर सङ्ग्रहालय र संस्कृति तथा जीवनशैली पनि घोडेपानीको आकर्षण हो ।’

वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानी–पुनहिल क्षेत्र घुम्न सो भन्दाबढी सङ्ख्यामा नेपाली पर्यटक आउने पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । 

पुनहिलमा प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न गत वर्ष गाउँपालिकाले ६६ लाखमा ठेक्का लगाएको थियो । यस वर्ष ५५ लाख न्यूनतम मूल्य राखेर दुई पटक ठेक्का आह्वान गरेपनि प्रस्ताव नपरेकाले तेस्रो पटक सूचना खुलाउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताए । 

पुनहिलको आम्दानी स्थानीयवासीको माग र आवश्यकताका योजनाका साथै गाउँपालिकाको विकास निर्माण तथा पर्यटन प्रवद्र्धनमा परिचालन गरिएको उनले बताए। 

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ३ : ३० बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको