पुस १६ : बीपीले खाएका तीन धोका | Khabarhub Khabarhub

इतिहास

पुस १६ : बीपीले खाएका तीन धोका

राजा, भारत र आफन्त : जसले बीपीलाई धोका दिए….



आज पुस १६ । ठीक ४९ वर्षअघि नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । कांग्रेसका नेताहरुले आज राष्ट्रिय मेलमिलाप दिवसका रुपमा बीपीलाई स्मरण गर्दैछन् । तर, जोसँग मिलापको नीति लिए, उसैले बीपीको नीतिको सान्दर्भिकता र महत्व बुझेनन् अनि स्वयं कांग्रेस र यसका नेताहरुले पनि।

नेपालमा मेलमिलापभन्दा धोकाधडीको राजनीति चल्छ । सायद राजनीतिमा यस्तै हुन्छ होला । पहिले राणाले राजालाई, पछि राजाले कांग्रेसलाई, अनि विस्तारै एउटा दलले अर्को दललाई, एक नेताले अर्को नेतालाई, यस्तै-यस्तै । यहाँ प्रसंग जोड्न खोजिएको बीपी कोइरालाको हो र उनले आफ्नो राजनीतिक जीवनमा कस कसबाट धोका पाए भन्ने हो ।

बीपीले राष्ट्रियता र प्रजातन्त्रका सवालमा कोही कसैसँग सम्झौता गरेनन् । न कसैलाई दोष नै लगाए । बीपी मुलुकमा जनताको शासन होस् भन्ने चाहन्थे । यसो भनिरहँदा राजाको गद्दीमाथि कहिल्यै प्रश्न उठाएनन् । तर, तिनै बीपीलाई दरबारले पटक-पटक धोका दियो ।

पार्टीकै केही नेताले पनि साथ छाडे । अनि, नजिकको छिमेकी मुलुक भारतले पनि उनै बीपीलाई धोका दियो ।

यो आलेखमा बीपीलाई यी तीन पक्ष दरबार, पार्टीका नेता अनि भारतले कसरी धोका दियो भनेर केलाउन खोजिएको छ ।

बीपीका लागि दरबार सधैं तरबार

जब २००७ सालमा नेपाली कांग्रेसले देशव्यापी आन्दोलन घोषणा गर्यो, राणा मात्रै होइन, राजा पनि तर्सिए । राजा त्रिभुवन दरबारबाट निस्केर पाल्पा पुग्ने योजनामा थिए । तर, उनी भारतीय दूतावास हुँदै दिल्ली पुगे। भारतको मध्यस्थतामा राजा, राणा र कांग्रेसबीच सहमति भयो । त्यही सहमतिअनुसार २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य र प्रजातन्त्रको घोषणा गरियो ।

मोहन शमशेरको नेतृत्वमा यी तीनै पक्ष सम्मिलित मन्त्रिपरिषद बन्यो । मन्त्रिपरिषदमा कांग्रेसको नेतृत्व गरेका थिए बीपी कोइरालाले गृहमन्त्रीका रुपमा । सहमतिअनुसार एक वर्षभित्र संविधानसभाको चुनाव गर्ने भन्ने थियो । तर, राजा त्रिभुवनले चुनाव टार्दै गए । एकातिर चुनाव हुन सकेन, अर्कातिर सरकार पनि स्थिर हुन सकेन । फागुनमा बनेको सरकार कात्तिकमै ढल्यो । पहिले बीपीलाई गृहमन्त्रीबाट राजीनामा गर्न लगाइयो । प्रधानमन्त्री मोहन शमशेरले पनि राजीनामा दिए ।

गृहमन्त्रीबाट राजीनामा गराउँदा बीपीलाई प्रधानमन्त्री बनाउने भनिएको थियो । तर, बीपीलाई होइन, मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाइयो । बीपीमाथि राजा त्रिभुवनले सबैभन्दा ठूलो घात यहीँ गरेका थिए ।

पहिले राणाको अधीनमा रहेको राजदरबार प्रजातन्त्र आएपछि शक्तिशाली बनिरहेको थियो । त्रिभुवनपछि राजा बनेका महेन्द्र त बीपीप्रति झनै अनुदार र कठोर बने । बीपी र महेन्द्रबीच व्यक्तिगत घनिष्ठ सम्बन्ध पनि थियो । महेन्द्र दरबारभित्रै समस्यामा पर्दा बीपीले सघाएका थिए भनेर त दरबार निकटस्थले नै बताउने गरेका थिए ।

जब महेन्द्रकी पत्नी इन्द्र राज्यलक्ष्मीको निधन भयो, महेन्द्रले इन्द्रकै कान्छी बहिनी रत्नलाई बिवाह गर्न चाहन्थे । तर, राजा त्रिभुवन सहमत थिएनन् । बीपीले नै रत्नसँग महेन्द्रको विवाहका लागि त्रिभुवनलाई राजी बनाएका थिए  

जब महेन्द्रकी पत्नी अर्थात तत्कालीन युवराज्ञी इन्द्र राज्यलक्ष्मीको निधन भयो, महेन्द्रले इन्द्रकै कान्छी बहिनी रत्नलाई बिवाह गर्न चाहन्थे । तर, राजा त्रिभुवन सहमत थिएनन् । प्रजातन्त्र आइसकेकाले राणाकी छोरीसँग विवाह गर्न नहुने उनको तर्क थियो । राजा त्रिभुवन र युवराज महेन्द्रबीच रत्नसँगको विवाहको विषयमा झगडा परिरहेका बेला बिपीले नै रत्नसँग महेन्द्रको विवाहका लागि त्रिभुवनलाई राजी बनाएका थिए । यसरी व्यक्तिगत जीवनमै सघाएका बीपीलाई उनै महेन्द्रले सबैभन्दा ठूलो धोका दिए ।

२०१५ सालको फागुनमा संविधानसभा चुनाव गर्ने भनिएकोमा महेन्द्रले एकाएक संसदीय चुनावको घोषणा गरिदिए । बीपीले त्यसलाई पनि स्वीकार गरे । पार्टीलाई पनि सहमत गराए । २०१५ साल फागुन ७ गते सुरु भएको चुनाव ४५ दिन चल्यो । एक सय नौ सिट रहेकोमा कांग्रेसले ७४ सिट जित्यो । निर्वाचन परिणामप्रति महेन्द्र खुसी थिएनन् ।

चुनावको नतिजा आएको कैयौं हप्तापछि २०१६ असार १६ गते मध्यराति मात्रै महेन्द्रले संसदको पहिलो बैठक बोलाए । बीपी नै प्रधानमन्त्री बन्ने निश्चित थियो । महेन्द्र भने बीपीलाई प्रधानमन्त्री बनाउन चाहँदैनथे । तर, उनै बीपी एक वर्षपछि पद छाड्ने सर्तमा प्रधानमन्त्री नियुक्तिका लागि सिफारिस भए । बीपीलाई प्रधानमन्त्री नियुक्त गरियो । यसरी बीपी नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री भए ।

बीपी प्रधानमन्त्री, महेन्द्र राजा । यी दुवैबीच व्यक्तित्वको टकराव बढ्न थाल्यो । अन्तर्राष्ट्रिय रुपमा पनि बीपीको प्रभाव बढ्न थाल्यो । महेन्द्रले यो देखिसहेनन् । २०१७ साल पुस १ गते महेन्द्रले कु गरिदिए, संसद भंग गरिदिए, प्रधानमन्त्री बीपीसहित मन्त्रीहरुलाई जेल हालिदिए ।

२०२८ साल माघ १७ गते राजा महेन्द्रको निधन भएपछि नयाँ राजा बने वीरेन्द्र । महेन्द्रभन्दा अलि उदार मानिन्थे वीरेन्द्र । पढेलेखेका पनि थिए । अन्तर्राष्ट्रिय परिवेश पनि फरक थियो । देशमै पनि आन्दोलन चलिरहेको थियो । भारतले दक्षिण एसियाका अन्य देशसँगै नेपालको राजनीतिमा पनि एकपछि अर्को हस्तक्षेप बढाउँदै थियो । भारतमै निर्वासनमा रहेका बीपी कोइरालाले यसलाई राम्ररी बुझेका थिए । देशमा प्रजातन्त्र पुनर्वहाली र राष्ट्रियताको रक्षाका लागि कांग्रेस र राजा मिल्नुपर्छ भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला २०३३ साल पुस १६ गते स्वदेश फर्किए ।

तर, राजा वीरेन्द्रले बीपीलाई विमानस्थलमै पक्राउ गरी सिधै सुन्दरीजल जेल पुर्याइदिए । वीरेन्द्रले पनि बीपीलाई बुझेनन् । बीपीको स्वास्थ उपचारमा वीरेन्द्रले तत्परता देखाए तर राजनीतिक रुपमा भने वीरेन्द्र पनि कठोर बने ।

भारत : जसका लागि लडे, उसैले रुचाएन

नेपालका राजाहरुले त बीपीलाई धोका दिए नै, नेपालको सबैभन्दा नजिकको छिमेकी भारतको संस्थापन पक्षले पनि बीपीलाई पटक्कै रुचाएन । बीपी तिनै व्यक्ति हुन्, जसले भारतमा प्रजातन्त्र नआई नेपालमा प्रजातन्त्र ल्याउन सम्भव छैन भनेर भारतमा चलेको अंग्रेजविरोधी आन्दोलनमा आफैं संलग्न भएका थिए । आन्दोलनका क्रममा उनी पक्राउसमेत परे । बेलायतले भारतलाई स्वतन्त्र बनाएपछि बीपीले नेपालमा आन्दोलनका लागि आह्वान गरेका थिए ।

जतिबेला राजा, राणा र कांग्रेसबीच दिल्लीमा सहमति भयो, भारतमा प्रधानमन्त्री थिए जवाहरलाल नेहरु । सोही सहमतिका आधारमा नेपालमा प्रजातन्त्र घोषणासँगै नयाँ सरकार बनाइएको थियो । फागुनमा गृहमन्त्री बनेका बीपीले कात्तिकमा राजीनामा दिए । राजीनामा दिँदा उनलाई प्रधानमन्त्री बनाउने भनिएको थियो । तर, नेहरुकै दबावमा त्रिभुवनले बीपीलाई प्रधानमन्त्री बनाएनन् । बरु उनकै दाजु मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाइयो । मातृका दरबार र भारतप्रति लचिलो रहेको प्रदीप गिरिद्वारा सम्पादित ‘विश्वेश्वरप्रसाद कोइरालाः आधारभूत संकलन’ नामक पुस्तकमा उल्लेख छ ।

पहिले कांग्रेसकै सभापति रहेका मातृकालाई पार्टी छाड्न लगाइयो । मातृकाले नेपाल प्रजा पार्टी बनाए, त्यसपछि फेरि प्रधानमन्त्री बने । अनि जुन नेता भारतप्रति लचिलो छन्, पालैपालो प्रधानमन्त्री बने । जस्तो- टंकप्रसाद आचार्य र के आई सिंह । संसदको चुनावपछि प्रधानमन्त्री बन्न पनि भारतले अड्को थापिरह्यो । नेहरुलाई मनाउन बीपीले डाक्टर तुलसी गिरीसहितका नेताहरुलाई दिल्ली पठाउनु परेको थियो । डेढ वर्ष सत्ता सम्हालेका बीपीलाई भारतले परराष्ट्र र सुरक्षा नीतिमा सल्लाह गरेर मात्रै अगाडि बढ्न दबाब नै दिएको थियो ।

यतिसम्म कि चीन भ्रमणमा नजानसमेत नेहरुले सुझाएका थिए भनेर त बीपीले फर्केपछि पार्टीको बैठकमै भनेको कांग्रेसका दस्तावेज र इतिहासमा भेटिन्छ । बीपी चीन भ्रमणमा गए । चीनले भव्य स्वागत गर्यो । चीनका प्रधानमन्त्री चाउ एन लाई र बीपीबीच घनिष्ठ सम्बन्ध स्थापित भयो । भारतसँग सम्बन्ध झनै चिसियो ।

इन्दिरा गान्धी नेपाललाई पनि सके सिक्किम जस्तै भारतमा बिलय गराउने, नसके भुटानमा जस्तो विदेश र सुरक्षा नीति भारतले लिने योजनामा थिइन् । बंगलादेशलाई स्वतन्त्र देशको मान्यता दिन महेन्द्रले ढिलाइ गरेपछि इन्दिराले बारम्बार दबाब दिइरहेकी थिइन् । यतिसम्मकि दियालो बंगलामा महेन्द्रको निधन हुनुभन्दा एक दिनअघिसम्म पनि इन्दिरा गान्धीले दरबारमा फोन गरेकी थिइन्    

यता राजा महेन्द्र बीपीलाई हटाउन चाहन्थे, उता भारत । १७ साल पुस १ को कू मा यी दुवैको स्वार्थ मिलेको थियो । सुन्दरीजल जेलबाट छुटेपछि बीपी फेरि भारत निर्वासनमा गए । जुनबेला बीपी भारत निर्वासनमा थिए, भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री थिइन् । उनी यति शक्तिशाली थिइन् कि त्यसैबेला सिक्किम भारतमा बिलय भयो, पाकिस्तान विभाजित भयो । इन्दिरा गान्धीकै सहयोगमा पूर्वी पाकिस्तान बंगलादेश बनेको थियो ।

इन्दिरा गान्धी नेपाललाई पनि सके सिक्किम जस्तै भारतमा बिलय गराउने, नसके भुटानमा जस्तो विदेश र सुरक्षा नीति भारतले लिने योजनामा थिइन् । बंगलादेशलाई स्वतन्त्र देशको मान्यता दिन महेन्द्रले ढिलाइ गरेपछि इन्दिराले बारम्बार दबाब दिइरहेकी थिइन् । यतिसम्मकि दियालो बंगलामा महेन्द्रको निधन हुनुभन्दा एक दिनअघिसम्म पनि इन्दिरा गान्धीले दरबारमा फोन गरेकी थिइन् । महेन्द्रको निधनपछि राजा बनेका वीरेन्द्रमाथि पनि इन्दिराले दबाब बढाइरहेकी थिइन् ।

भारत निर्वासनमा रहेका नेपाली नेताहरुमाथि इन्दिरा प्रशासनले निगरानी बढाएको थियो । अर्कातिर सोसलिस्ट इन्टरनेसनलनमा बीपीको उचाइ जसरी बढिरहेको थियो, त्यसमा पनि भारत खुसी थिएन । हो, यही अवस्था बुझेर बीपीले स्वदेश फर्किने नीति लिएका थिए । बीपीले आफ्नै आत्मवृत्तान्तमा यी कुरा खुलाएका छन् । एकातिर बीपीमाथि, अर्कातिर दरबारमाथि इन्दिराको दबाब बढ्दै गयो ।

पञ्चायतमा पसे गिरी र थापा

महेन्द्रले कु गर्नुअघि नै कांग्रेसका नेताहरुलाई एक्लाएक्लै दरबारमा बोलाउने र भोज खुवाउने गर्थे । यसको कारण हो, केही नेतालाई कांग्रेसबाट भड्काउने । यो कुरा बीपीलाई पनि थाहा थियो । दरबार जान पाउँदा कतिपय नेताले त बीपीलाई खबरसमेत गर्दैनथे । सुरुमा थाहा नपाएझै गरेका बीपीले पछि त खबर नगरी दरबार नजानसमेत नेताहरुलाई भनेका थिए । चलाख महेन्द्रले कतिबेला के गर्ने हुन् भन्ने चासो सर्वत्र थियो ।

डाक्टर तुलसी गिरी र विश्वबन्धु थापा बीपीले अत्यन्तै विश्वास गरेका नेता थिए । यी दुवैलाई सम्भावना भएका नेताका रुपमा बीपीले ‘ग्रुमिङ’ पनि गरिरहेका थिए । तर, उनीहरु दुवै जना राजा महेन्द्रको कित्तामा पुगे । उनीहरुले किन बीपीलाई छाडेर महेन्द्रलाई रोजे ? यसको मुख्य कारण हो, प्रधानमन्त्री बन्ने उनीहरुको महत्त्वाकांक्षा

डाक्टर तुलसी गिरी र विश्वबन्धु थापा बीपीले अत्यन्तै विश्वास गरेका नेता थिए । यी दुवैलाई सम्भावना भएका नेताका रुपमा बीपीले ‘ग्रुमिङ’ पनि गरिरहेका थिए । तर, उनीहरु दुवै जना राजा महेन्द्रको कित्तामा पुगे । उनीहरुले किन बीपीलाई छाडेर महेन्द्रलाई रोजे ? यसको मुख्य कारण हो, प्रधानमन्त्री बन्ने उनीहरुको महत्त्वाकांक्षा ।

बीपीसँगै पार्टीमा बस्दा प्रधानमन्त्री बन्न नपाइने, राजासँग मिले पाइने उनीहरुको बुझाइ थियो । तुलसी गिरी प्रधानमन्त्री बने पनि विश्वबन्धु थापाले भने प्रधानमन्त्री बन्ने अवसर पाएनन् । डक्टर गिरी त पछि ज्ञानेन्द्रले कु गरेपछि पनि नेपाल आएर मन्त्रिपरिषदको उपाध्यक्ष बने ।

कहाँ छ कांग्रेस ?

कांग्रेसका आधारभूत सिद्धान्त हुन्- राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता । यी सिद्धान्त बीपी कोइरालाको नेतृत्वमा नै तय गरिएको थियो । प्रजातान्त्रिक समाजवाद त बीपी स्वयंले नै प्रतिपादन गरेको सिद्धान्त हो । अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । मुलुक धर्मनिरपेक्ष छ । संविधानमै समाजवादउन्मुख भनेर लेखिएको छ ।

बीपीले त्यतिबेला गणतन्त्रको कल्पना गरेका थिएनन् । अहिले गणतन्त्र छ । समय अनुसार राजनीति पनि फेरिएको छ । अवस्था फेरिएको छ । राजतन्त्रको ठाउँमा गणतन्त्र आयो । समाजवाद निकै पुरानो भइसक्यो । बीपीले देखेको ‘एउटा सानो घर, दुहुनो गाई …’ को परिभाषाबाट संसार निकै अगाडि बढिसक्यो ।

बीपी विशेषगरी दोस्रो विश्वयुद्धपछि युरोपेली मुलुकहरुले अंगीकार गरेको समाजवादी अर्थव्यवस्थाबाट प्रभावित थिए । अहिले युरोपेली मुलुकहरु त्योभन्दा अगाडि बढिसकेका छन् । युरोपमा अहिले चलनचल्तीमा रहेको अर्थराजनीतिक व्यवस्था सामाजिक लोकतन्त्र ‘सोसियल डेमोक्रेसी’ हो । त्यसैले पनि होला समाजवाद नै भनेर बसिरहने कि सामाजिक लोकतन्त्रको अभ्यासमा जाने भनेर कांग्रेसमा बहस हुन थालेको छ ।

सामाजिक लोकतन्त्र समाजवादकै उन्नत रुप हो र समाजवादकै धरातलतमा रहेर सामाजिक लोकतन्त्र अवलम्बन गर्न सकिने कांग्रेसकै नेताहरुले बताउन थालेका छन् । तर, यसको नेतृत्व लिन भने कुनै पनि नेता तयार भइसकेका छैनन् ।

अन्त्यमा,

जब, पुस १६ आउँछ, कांग्रेसले अरु सबै पार्टीलाई मेलमिलापको पाठ सिकाउँछ । कांग्रेसका नेताहरुले, ‘बीपीले यसो भन्नुहुन्थ्यो, उसो भन्नुहुन्थ्यो’ भनेर भाषण गर्छन् । तर, उनै बीपीले निर्माण गरेको पार्टीमा मेल हुन छाडेको वर्षौं भयो । बीपीले कहिल्यै कसैलाई दोष लगाएनन् । तर, अहिले एकले अर्कालाई दोष लगाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति कांग्रेसमा हाबी भएको छ ।

चुनावमा घात र अन्तरघातको खेल चल्छ । सत्ताका लागि जो कसैसँग पनि कुम जोड्छन् । उतिबेला प्रजातन्त्र बहाली र राष्ट्रियताको रक्षाका लागि देशभित्रका सबै शक्तिबीच मेलमिलाप आवश्यक थियो । तर, अहिलेको आवश्यकता सुशासन र आर्थिक विकासमा मेलमिलापको हो । के कांग्रेसले यो अभियानको नेतृत्व लिन सक्ला ?

( लेखक अर्याल पत्रकार हुन् )

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १० : २४ बजे

 समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

महोत्तरी– चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका

साताको शेयर बजार : धान खाने मुसो, चोट पाउने भ्यागुतो !

काठमाडौं – नेपालमा एउटा प्रख्यात उखान छ; ‘धान खाने मुसो,

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर– जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण

वीरगञ्जबाट धान चामल आयात बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात

मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का

काठमाडौं – शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प