माओवादीले जितेको ग्रामथानमा नहरको माटोले निम्त्यायो विवाद | Khabarhub Khabarhub

माओवादीले जितेको ग्रामथानमा नहरको माटोले निम्त्यायो विवाद

अध्यक्ष र उपाध्यक्षवीच अधिकारको लडाइँ सुरु




विराटनगर– मोरङको ग्रामथान गाउँपालिकामा नहर उत्खननको  विवाद उत्कर्षमा पुगेको छ । सुनसरी-मोरङ सिँचाई आयोजनाको नहर उत्खनन रोक्ने विषयमा पालिका अध्यक्ष र उपाध्यक्षबीचको विवाद सतहमा आएको हो । उत्खनन भएको स्थान ग्रामथान १ र २ को सिमाना पर्छ ।

अध्यक्ष नमोनारायण माझी काठमाडौं गएका बेला उपाध्यक्ष गुणावती देवी थारुसहित जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले त्यसको अनुगमन गरेका थिए।

गैरकानूनी उत्खनन गरेको निष्कर्षसहित उपाध्यक्ष थारुको निर्देशन लगतै प्रशासकीय अधिकृत पौडेलले उत्खनन रोक्न सहयोग माग्दै प्रहरीलाई पत्र लेखेका थिए । पत्र लेखेको विषयलाई लिएर गाउँपालिकाका प्रमुख माझीले प्रशासकीय अधिकृत पौडेललाई स्पष्टीकरण सोधेका थिए । त्यसपछि पालिका अध्यक्ष र उपाध्यक्षबीचको विवाद सुरु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ मा ग्रामथानकै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेका थिए ।

 पत्रमा भनिएको छ, ‘ग्रामथान गाउँपालिका वडा नम्बर २ अन्तर्गतका विभिन्न नहर, सडक लगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपले माटो उत्खनन भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन कार्य रोकी उत्खनन कार्यमा संलग्न सवारी साधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ।’

सोही पत्रको विषयलाई लिएर अध्यक्ष माझीले पौडेललाई पुस ११ गते स्पष्टीकरण सोधेका थिए ।

‘सुनसरी-मोरङ नहरको शाखा नहर तथा कुलोहरूमा अवैध उत्खनन भएको गुनासो आएपछि अनुगमन गरेका थियौं’, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने‘अनुगमन गरेर आएपछि उत्खनन रोक्न झोराहाट प्रहरीलाई पत्र लेखेका हौं । 

अनुगमन गर्न जाँदा स्काभेटर नै  प्रयोग गरेर माटो उत्खनन गरी अन्यत्र लागेको देखेपछि रोक्न पत्र पठाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।  उत्खनन गर्न अनुमति दिएको र नदिएको भन्ने बारेमा भने जानकारी नभएको उनले बताए । 

स्पष्टीकरण सोधिएको विषयमा अध्यक्षको विरोध भएपछि उनले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा समेत सार्वजनिक गरेका छन् । अध्यक्ष माझीले आफूसँग सरसल्लाह नगरी अनुगमन गरिएको बताए । 

पत्रकार सम्मेलनमा अध्यक्ष माझीले भने, ‘त्यहाँ नहरको व्यवस्थापनको समिति पनि छ । त्यो समितिलाई पनि थाहा छैन। म त्यहाँको कार्यकारी प्रमुख हो । उत्खनन रोक्न पत्राचार गर्दा मलाई सोधिएको छैन ।’ 

माझीले उत्खनन भने नरोकिने बताए ।

अनुगमन गर्ने अधिकार उपप्रमुखको हुन्छ । उक्त नहर भने सुनसरी-मोरङ सिचाइ आयोजनाले हेर्छ । उसले उत्खनन गर्न अनुमति दिएको र नदिएको बारेमा समेत पालिकालाई जानकारी छैन । 

गाउँपालिका उपाध्यक्ष थारुले पनि अनुगमनमा जाँदा जथाभावी उत्खनन देखेपछि रोक्न पत्राचार गरिएको दाबी गरिन् । गाउँपालिकाको अनुगमन समितिको संयोजक समेत रहेकी उपाध्यक्ष गुणावतीदेवी थारुले आफूसहित गएर अनुगमन गरेको बताइन् । उनले अनुगमनमा जाँदा नहरको दुवैतिर सडक भासिने गरी खनेको पाइएको बताइन् ।

‘गहिरो गरी खनेको छ, तपाईँहरूले हेर्दा पनि हुन्छ, दुवैतिरबाट खन्दा त सडक नै भासिन्छ, नहर खनिरहेको छ भनेर अनुगमनमा जाँदा तीन वटा टिफर र डोजर भागिहालेछ, रोक्नुपर्छ भनेर नै अनुगमन गरेको हो’ उपाध्यक्ष थारुले भनिन् ।

‘अनुगमनको संयोजक त म हो नि, सबै वडाध्यक्षसहित मैले गएर अनुगमन गरेको हो भनेर अध्यक्षलाई पनि भनेको छु, सोध्ने भए मलाई स्पष्टीकरण सोध्नु भनेँ, तर अध्यक्ष त सन्किन थाल्नुभयो, मेरो मात्रै पालिका भन्ने अध्यक्षको कुरा आयो। नहरको  उत्खननको  काम भने अहिलेपनि जारी छ।’

नमोनारायण गत मंसिर १६ गतेको उपनिर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका हुन् । गाउँ कार्यपालिकामा माओवादीसँग बहुमत नभएपछि पेल्ने योजनामा उपाध्यक्षसहितका बहुमत जनप्रतिनिधि लागेपछि विवाद उत्पन्न भएको  बताइएको छ । 

कार्यपालिकामा माओवादीबाट अध्यक्ष माझी र ५ नम्बर वडा अध्यक्ष भेषनारायण चौधरी मात्रै छन् । उपाध्यक्ष थारू एमालेकी हुन । कार्यपालिकामा बहुमत पनि एमाले–कांग्रेसकै छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : १५ बजे

बागमती प्रदेशसभा बैठक बस्दै 

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका छन्

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

अष्ट्रेलिया– अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गभर्नर जनरल साम

‘मिसेस ब्युटी क्विन नेपाल– २०२५’ को ताज वर्षा कुवरलाई  

काठमाडौं– व्यवसायी वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको