माधवनारायणका व्रतालुले आज दोस्रो परदेश यात्रा गर्दै « Khabarhub

माधवनारायणका व्रतालुले आज दोस्रो परदेश यात्रा गर्दै


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका व्रतालुले आजदेखि फेरि दोस्रो परदेश यात्रा गर्दैछन् ।

माधवनारायणका व्रतालुले प्रत्येक वर्ष माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसी त्रिवेणीघाटमा स्नान र माधवनारायणको पूजा आराधनासहित सांस्कृतिक शहर पनौतीको परिक्रमा गर्ने व्रत विधि रहेको छ ।

शनिबार बिहानको नित्यकर्म सकी व्रतालु साँखुबाट भक्तपुर, बनेपा हुँदै पनौती जाने तयारी गरेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले  जानकारी दिए ।

आज बेलुका पनौती पुग्ने माधवनारायणका व्रतालुले आइतबार बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि त्यहाँ माधवनारायणलाई विशेष पूजा आराधना गर्छन् । स्नान र पूजा सकिएपछि माधवनारायण भगवानलाई लिएर व्रतालुले आइतबार सांस्कृतिक शहर पनौती परिक्रमा गर्छन् ।

माघ शुक्ल चौथीका दिन आइतबार पनौतीको परिक्रमा सकी व्रतालुले दिउँसोको भोजन बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा गर्छन् । आइतबार दिउँसो भोखुसीको भोजनपछि व्रतालु साँखु फर्कन्छन् । माधवनारायणका व्रतालुले साँखुमा श्रीपञ्चमी  र लगला सप्तमी पर्व मनाउँछन् ।

माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाउने प्रचलनसमेत रहेको छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको तेस्रो परदेश यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ । चाँगुको यात्रा गरेका बेला भने व्रतालुले दिउँसोको भोजन साँखु फर्किएर नै गर्ने व्रत विधि छ ।

माधवनारायण व्रतालुले गर्ने यो यात्रालाई प्राचीनकालदेखि नै परदेश यात्राको सङ्ज्ञा दिने गरिएको साँखुको धार्मिक, सांस्कृतिक विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका स्थानीयवासी प्रकाशमान श्रेष्ठ सक्व बताउँछन् ।

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट बज्रयोगिनी, पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका व्रतालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने गर्छ । तेस्रो यात्रा पनि दुई दिन र एक रातको हुने प्राचीनकालदेखिको परम्परा छ ।

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि व्रतालुले लानुपर्ने व्रत विधि छ । नजिकका आफन्तले निराहार बसी दुध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताए ।

परदेश यात्रामा व्रतालुका साथ स्वयंसेवक पनि हुन्छन् । व्रतालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि रहेको छ । स्वयंसेवकले व्रतालुलाई सहयोग गर्छन् ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ८ : ५७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण