वडामै योजना सम्झौता : समय र खर्चको बचत « Khabarhub

वडामै योजना सम्झौता : समय र खर्चको बचत


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा जान आउन अपायक पर्ने वडा नम्बर ६ मराङमा शुक्रबार र ५ मल्कवाङमा बिहीबार घुम्ती शिविरमार्फत योजना सम्झौता भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्यालले मल्कवाङमा ९ र मराङमा १५ वटा उपभोक्ता समितिसँग योजना सम्झौता भएको बताए । बुधबार वडा नम्बर २ लुलाङमा सात वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको थियो ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीहरूलाई पालिकामा जाने आउने समय, झन्झट हट्नुका साथै व्ययभार घटेको धौलागिरि गाउँपालिका– ६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए । ‘मराङ, मल्कवाङका बासिन्दालाई मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा तीन दिन लाग्ने गर्छ’, उनले भने, “वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको हो ।’

मराङ र मल्कवाङका बासिन्दालाई धौलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ ।

पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झन्झटपूर्ण उल्टो यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ ।

उपाध्यक्ष रेशम पुनमगरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्याल, योजना अधिकृत हरिहर पनेरू, पूर्वाधार शाखाका लोकेन्द्र रावल, प्रशासनका रमेश पौडेलको टोलीले माघ २३ गते ताकम र २४ गते मुदीमा पुगेर योजना सम्झौता गर्ने समय तालिका बनाएको छ ।

वडाका अध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गरेका छन् । प्राविधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरी पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको छ । ठूला योजना ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तीव्रता दिइएको छ ।

यस वर्ष धौलागिरि गाउँपालिकाले एक सय २३ वटा योजना कार्यान्वयन गर्दैछ । वडामा पुगेको गाउँपालिकाको टोलीले स्थानीयवासीसँग छलफल, विकास योजनाको अनुगमन पनि गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ९ : २३ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर