काठमाडौं – काठमाडौँ महानगरमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा पछिल्लो स्थानीय सरकार चुनिएपछि ‘डोजर अभियान’ व्यापक चल्यो ।
सार्वजनिक जग्गाबाट अतिक्रमण हटाउन र संरचना मापदण्ड पालना गराउन महानगर डटेर लाग्यो । त्यसैको निरन्तरतामा गएको जेठ ६ गते गौशाला चोकदेखि पिङ्गलास्थानसम्म सडक अतिक्रमण गरेको भन्दै महानगरले १० वटा घरमा डोजर चलायो ।
चक्रपथ विस्तार गर्न राखिएको सडक क्षेत्राधिकारभित्रको जग्गा अतिक्रमण हटाउन सूचना जारी गरे पनि त्यहाँका बसोबासीले घरटहरा भत्काउन मानेनन् । त्यसपछि महानगरले अतिक्रमित जमिनमा ठड्याइएका संरचनामा डोजर चलाएको जनाएको थियो ।

सरकारले दुई दशकअघि वि.सं. २०६० भदौ २ गते चक्रपथको चौडाइ बढाउने निर्णय गरेको थियो । त्यस यताका २० वर्षसम्म पनि सडकको राइट अफ वे (क्षेत्राधिकार)बाट बसोबासी हटेनन् । बरु, अतिक्रमित सरकारी जग्गामै पक्की संरचना बनाइ व्यवसाय गरेरै बस्न थाले ।
सरकारी निर्णयको दुई दशकपछि महानगरले अतिक्रमित जमिनबाट अवैध संरचना हटाउन डोजर चलाउँदा एउटा कामले त गति लिएको छ, तर यसको फरक नतिजा पनि देखिएको छ । तिनै अवैध संरचना भाडामा लिएर जीविकोपार्जन मेसो गरिररहेकाहरूको बिचल्ली भएको छ ।
विवाद त सरकार (महानगर) र घरबेटीको थियो, तर मारमा पर्यो तेस्रो पक्ष । त्यहाँका घरका सटर भाडामा लिएर व्यवसाय गरेकाहरू यतिखेर यता न उताका भएका छन् ।
महानगरले भत्काएका १० वटा घरमा करिब २५ वटा सटर छन् । ती घरमा डोजर चलाउन थालेपछि घरधनीले अदालतबाट अन्तरिम आदेश लिएका छन् । त्यसपछि डोजर चलाउन महानगर तत्काललाई रोकिएको छ । तर, एकझमेट महानगरको डोजरले कोपरेको संरचना पहिलेजस्तो सुरक्षित छैन ।
अर्कातिर साना व्यवसायीहरूले घरबेटीलाई मौखिकमै वर्षदिनभन्दा बढी समयको घरभाडा बुझाइसकेका छन् । त्यसैले उनीहरू आफ्नो व्यवसाय छाडेर हिँड्नु न रोकिनुको अवस्थामा छन् । त्यहीँ बसेर व्यवसाय गर्न सकिँदैन, किनकी संरचना ध्वस्त छ । हिँड्ने हो भने उनीहरूको लगानी त्यहीँ डुबेको छ ।
उक्त क्षेत्रमा व्यवसायीले कागजी रूपमा कुनै घरबेटीसँग सम्झौता नगरिएको बताए । तर, लगानी डुब्ने चिन्ताले त्रिपाल लगाएर पनि आफ्नो ठाउँमा बसिरहेका छन् ।
काभ्रेकी राधा बडाल (५५)ले पाँच वर्षअघि गौशालास्थित राजस्थानी स्वीट्स एण्ड मारवाडी भोजनालय किनिन् । २०४८ मा काठमाडौं आएकी राधाले अरूकहाँ काम गर्दै केही रकम जोगाएर सानो किराना पसलबाट व्यवसाय सुरु गरेकी थिइन् । श्रीमान र देवर सबैको मेहनतले व्यापार राम्रो हुँदै गयो ।

पशुपति मन्दिरको दक्षिण गेट, जो निकै भिडभाडयुक्त क्षेत्र हो । मन्दिरमा दर्शन गर्न आउनेदेखि देशको पूर्वी क्षेत्रतर्फ छुट्ने बसको टिकटसमेत काट्ने ठाउँ भएकाले त्यहाँ मानिसहरूको आवतजावत कहिल्यै टु्ट्दैन । यस्तो ठाउँमा भोजनालय सञ्चालन गर्नु निकै फाइदाजनक हुन्छ ।
मारवाडीले सञ्चालन गर्दै आएको भोजनालय बेच्ने भएपछि बडालले किनेकी थिइन् । दुईवटा सटरको महिनाकै भाडा दुई लाख ५० हजार रुपैयाँ थियो । भोजनालय राम्रै चलिरहेकाले त्यति भाडा सजिलै तिर्न सकेकी थिइन् ।
श्रीमान्, आफू र देवरको परिवार खट्दा किराना र होटल व्यवसायले राम्रै आम्दानी दिएको थियो । तर, गत जेठ ६ गते महानगरले होटल भत्काइदिएपछि राधाको व्यापार चौपट भएको छ ।
उनले भनिन्, ‘यो घरबारे ३० वर्षदेखि विवाद चलिरहेको रहेछ । यत्तिका वर्ष केही भएन, विवाद चलिरहन्छ, हामी जुनी जाने गरी यहाँँ होटल चलाएर बस्ने पनि होइन भनेर लगानी गरियो । पहिलेका मेयरले चेतावनी दिएर छाड्थे । तर, हालका मेयरले भत्काइदिए ।’

सार्वजनिक जमिन अतिक्रमण गरी भवन ठड्याएका घरबेटीले पछिल्लो समय भाडामा केही सहुलियत दिएका छन् । दुई लाख ५० हजार रुपैयाँ मासिक भाडा तिर्ने गरेकोमा अहिले एक लाख ७५ हजार रुपैयाँ लिने गरेका छन् । तर बडाल परिवारको लगानी त्यही अनधिकृत संरचनामा फसेको छ । उनीहरू न लगानी उठाउन सक्छन्, न त व्यवसाय गरिरहेको ठाउँ चटक्क छाड्न नै !
महानगरले डोजर चलाएपछि व्यापार घाटासँगै असुरक्षासमेत भएको राधाको गुनासो छ । उनी थप्छिन्, ‘पहिले धेरैले त्यहाँ होटल नखोल्नू भनेका थिए । होटल भत्काइदिएपछि व्यापार छैन । भत्किएको होटलमा ग्राहक पस्न मानिरहेका छैनन् । कि घर जम्मै भत्काइदिएको भए अर्को ठाउँमा सुरु गर्न हुन्थ्यो । सटरमात्रै भत्काइदिएको छ । हामी छोड्नु न बस्नुको स्थितिमा छौँ । अधकल्चो भयो । बेलुकी सामानभित्र हाल्ने र बिहान फेरि निकाल्ने गरेका छौँ । होटलका यी सबै सामान भित्र हाल्ने र बाहिर निकाल्ने गर्दा समय र श्रम खर्च भएको छ ।’
१२ वर्षदेखि पश्चिम नेपाल बस प्रालि सञ्चालन गर्दै आएका मुकेश भुसालले घरबेटीले भाडा नघटाएको गुनासो गरे । उनले भने, ‘मैले सक्ने भएदेखि यातायातकै क्षेत्रमा काम गरे । अब अर्को काम गर्न जान सक्दिनँ । विदेश जाऊँ भने पनि उमेर गयो । सहचालक र चालक हुँदै कम्पनी खोल्न सक्ने भएको हुँ । महानगर र घरबेटीको विवादले हाम्रो लगानी चौपट भयो ।’

सरकारले उचित मुआब्जा नदिएको कारणले घरबेटीले जग्गा छोड्न नमानेको बताउने गरेका छन् । ‘घरबेटीले त्यसो गर्दा नोक्सानी हामीले ब्यहोर्नुपर्यो,’ भुसाल थप्छन्, ‘केही कमाउँला भनेर लगानी गरेको हो । हामीजस्ता साना व्यवसायीलाई सरकारले सहुलियत देला भन्दा उल्टो ऋण बोकाउने काम गर्छ ।’
भुसालले सो ठाउँमा पुनः पाँच वर्षका लागि नयाँ सम्झौता गरेको जम्मा दुई वर्ष भयो, सम्झौताअनुसार तीन वर्ष समय अझै बाँकी छ, पाँचै वर्षको भाडा रकम पनि बुझाइसकेका छन् ।
‘घरबेटीले पाएको भाडा फिर्ता गर्दैन । यो ठाउँ छाडेर कसरी हिँड्नु ? यो प्रश्न कसलाई गर्ने भन्ने अन्योलमा छु’, भुसालले आफ्नो अलमल सुनाए ।
विवादित जग्गाको घर भाडामा लगाउन नहुने उनको तर्क छ । त्यहाँ भएको घर गैरकानुनी हो भने व्यवसाय सञ्चालन गर्ने अनुमति पनि दिन नहुने उनले बताए । ‘२० देखि ३० वर्षसम्म विवादित भैइराख्ने भन्ने पनि हुन्छ ? उनी महानगरसँग प्रश्न गर्छन् ।

त्यही स्थानमा १० वर्षदेखि फूटवेयर (जुत्ताचप्पल)को व्यापार गर्दै आएकी सरिता गिरी पनि अन्योलको स्थितिमा छिन् । उनको पसलको सटर पनि महानगरले भत्काइदिएको छ । घरको एक भित्तालाई उनले व्यापारिक स्टल बनाएकी छन् । उनी भन्छिन्, ‘काठमाडौंमा व्यापारिक केन्द्र पाउन निकै मुस्किल छ । जहाँ पायो त्यहीँ सटर लिएर व्यापार हुँदैन । यहाँ मानिसहरूको चहलपहल भइराख्ने हुँदा व्यापार राम्रो थियो । संरचना केही नहुँदा पनि सामान लिएर यहीँ बस्नुपरेको छ ।’
मिथिला एअर बस सेवा सञ्चालन गर्दै आएका झापाका विक्रम गुप्ताले भने घरबेटीले भाडा घटाइदिएको बताए । उनले भने, ‘यतिबेला घरबेटी पनि चिन्तामा छन् । एक भित्तामात्रै भत्काउँदा घरको पूरै संरचना बिग्रिएको छ । पूरै घर भत्काउन सरकारले मुआब्जा दिएको छैन, उनीहरू दोधारको स्थितिमा छन् ।’

लामो समयदेखि आफ्नो गाडीको रुट गौशालाबाट जाने भएकाले तुरुन्त यहाँबाट स्थानान्तरण हुन नसकिएको उनको भनाइ छ । उनको टिकट काउन्टरमा धरान, धनकुटा, हिले, खाँदवारी, भोजपुर, काँकडभिट्टा र इलामसम्म पुग्ने एसी बस सेवा चल्छ ।
‘हाम्रा सेवाग्राहीलाई गौशालामा टिकट पाइन्छ भन्ने जानकारी छ । अन्त गएर बसे ग्राहक आउँदैनन् । ग्राहकबिना व्यवसाय छैन । आफ्ना ग्राहकलाई असुविधा हुने हुनाले भत्किएकै सटरमा आएर बस्नुपरेको हो ।’
व्यवसायीलाई परेको मारबारे सरकार र महानगर सबैले बेवास्ता गरेको गुप्ताको आरोप छ । उनले थपे, ‘हामी हाम्रो टिकट, पैसा लगायतका कागजपत्र पनि झोलामा बोकेर हिँडिरहेका छौ । यहाँ सटर छैन, तर ठाउँ छाडेर हिँड्न मिल्दैन । बसेपछि सटर नभए पनि भाडा तिर्नुपर्यो । घरबेटीको घरको पिल्लर समातेपछि त भाडा लागिहाल्यो । हावाहुरी आए, पानी परे कहाँ जाने ?’
काठमाडौँका कुष्णमणि शर्माको विचार अरूको भन्दा फरक छ । उनले देशमा नेता निकम्मा भएका कारण जनताले सास्ती ब्यहोर्नुपरेको आरोप लगाए ।
भने, ‘गौशालाको सटर भत्किएपछि हामी व्यवसायीको बिजोग भयो । देशमा बसिरहेका अधिकांश नागरिकको समस्या एकै छ । सानोतिनो भए पनि आफ्नै देशमा काम गरेर खान्छु भन्नेलाई सरकारले कुनै सहुलियत दिएको छैन ।’

नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको उनको टिप्पणी छ । ‘साना व्यवसायीले आत्मदाह गर्दा पनि मुकदर्शक बनेर बसेको सरकार न हो ! नागरिक मर्नु र कुनै सडकमा जनावर मर्नु एकैजस्तो भएको छ । नेताहरूले आफू र आसेपासेका लागि तयार गरेको यो व्यवस्था नै नै नेपालीका लागि घातक छ । नेताका आफ्नै समस्या मात्रै समाधान हुन्छ ।’
६० वर्षका शर्माले वैदेशिक रोजगारमा नबिकेका नागरिक मात्रै देशमा रहेको दाबी गरे । ‘खाडीमा शौचालय सफा गर्न र भाडा माझ्न लगाएर नेताहरू यहाँ मोजमस्तीमा बाँचिरेहका छन् । हामीलाई बेच्न नसकेर हो, बेच्न सक्ने जति नागरिकलाई यो व्यवस्थाले सधैँ बेच्छ’, शर्माले भने ।

प्रतिक्रिया