दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलशौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवाको आज शुभारम्भ गरेका छन् ।
लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा केन्द्रमा सो सेवा थालनी गरिएको हो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ । यसअघि तीन उपकरणबाट परीक्षणसमेत सफल भएको जनाइएको छ । सो अवसरमा मन्त्री पौडेलले स्वास्थ्य बीमाको बक्यौता रकममध्ये २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुने जानकारी दिए।
‘स्वास्थ्य बीमाको कूल बक्यौता रकमको २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुन्छ’, पौडेलले भने ‘वैशाख महिनासम्मको यदाकदा बाहेक भुक्तानी भइसकेको छ, अब साउन महिनासम्मको भुक्तानी हुन्छ ।’
मुटु उपचार सेवा विस्तार, क्यान्सर र मिर्गौला प्रत्यारोपण कार्यलाई सात वटै प्रदेशमा पु¥याउने लक्ष्यसहित अघि बढिएको उनले बताए।
जीपी श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा उपलब्ध भएसँगै मिर्गौलाका बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए । शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामील डायलासिसका लागि चितवन, पोखरा र काठमाडौँलगायतका लामो दूरी जानुपर्ने बाध्यता रहेको थियो ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी र भीमाद नगरपालिका, म्याग्दे र रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।
अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ ।
अस्पतालमा ओपिडी सेवा, चौबीसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक २५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । यसमध्ये ४०-५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया