काठमाडौं– नेपालको कृषि क्षेत्र परम्परागत ज्ञान र अनुभवले पुस्तौंदेखि माटो उर्वर बनाउँदै आएको छ । आज जलवायु परिवर्तन, जनशक्तिको अभाव र अप्रत्याशित बजारको चुनौतीसँग जुधिरहेको छ ।
यही जटिल परिदृश्यमा, प्रविधिको शक्तिमार्फत साना तथा सीमान्तकृत किसानहरूको जीवनस्तर उकास्न कृषि उत्पादनमा क्रान्ति ल्याउने लक्ष्यका साथ सन् २०२० मा काठमाडौंको कोटेश्वर, महादेवस्थानमा ‘थोप्लो मेसिन प्रालि’ स्थापना भयो ।
पाँच वर्षभन्दा बढी समयदेखि इन्टरनेट अफ थिङ्स (आईओटी) सेवामा अनुभव संगालेको यो कम्पनीले विभिन्न क्षेत्रमा स्वचालित (अटोमेसन) एप्लिकेशनहरू विकास गर्दै आएको छ । अहिले कृषि क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । कम्पनीको कार्यक्षेत्र देशभर फैलिएको छ ।
थोप्लो मेसिनका प्रमुख रणनीति अधिकृत (सीएसओ) तथा सह–संस्थापक प्रभाष कुमार ठाकुर भन्छन्, ‘हाम्रो मूल काम अटोमेसनमा हो । सिँचाइ प्रणाली, फर्टिगेसन प्रणालीदेखि लिएर अहिले ‘डायल’ कार्यक्रमअन्तर्गत हामीले क्लाइमेट कन्ट्रोल वातावरणमा जर्मिनेसन (अंकुरण) र ग्राफ्टिङ (कलमी) गर्ने प्रक्रियामा काम गरिरहेका छौं। यो प्रविधिले बिरुवाको उत्पादकत्व, आयु र समग्र दक्षता बढाउने लक्ष्य राखेको छ ।’
थोप्लो मेसिनको ध्येय ‘उत्पादकत्व बढाउने, सीमान्तकृत समुदायलाई स्मार्ट, दिगो, र स्थानीय रूपमा अनुकूलन गर्न सकिने प्रविधिहरूमार्फत सशक्त बनाउने हो । कृष्ण केशव चौधरी, प्रभाष कुमार ठाकुर, र पेशल भट्टराईले मिलेर यो संस्था स्थापना गरेका हुन् ।
नेपालको पहिलो अफलाइन ग्राफ्टिङ र जर्मिनेसन प्रणाली
साना तथा सीमान्तकृत किसानहरूका लागि देशको पहिलो अफलाइन ग्राफ्टिङ र जर्मिनेसन प्रणाली विशेष रूपमा तयार पारिएको छ । यसरी कलमी गरेर तयार गरिएको बिरुवाको आयु ४५ प्रतिशतभन्दा बढी हुने गरेको छ । त्यस्तै, उन्नत अनुगमन र जलवायु स्वचालनले किसानहरूको अमूल्य समय र श्रमको बचत गर्दछ ।
‘काभ्रे, धादिङ र काठमाडौंका तालिम प्राप्त साना किसानहरूबाट प्राप्त प्रत्यक्ष प्रतिक्रियाले यो प्रविधिको सफलता प्रमाणित गरेको छ,’, ठाकुर भन्छन्, ‘कलमी गरेर निकालेको बिरुवाले धेरै फल पनि दिन्छ । उदाहरणका लागि, गोलभेडालाई भ्यान्टाको बोटसँग ग्राफ्ट गर्दा, सामान्यतया ९–१० महिना बाँच्ने गोलभेडाको बोट १८ महिनासम्म बाँच्ने र उत्पादन पनि डेढदेखि दुई गुणा बढी हुने देखियो ।’
हाल कम्पनीले यस प्रविधिको महत्वबारे किसानहरूमाझ जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिरहेको छ। ‘अहिले पृथ्वीकै जलवायु अवस्था परिवर्तन भइरहेको छ, परम्परागत कृषि पद्धतिहरू परिवर्तन भइरहेका छन् । परिवर्तित समयअनुसार प्रविधि प्रयोग गरेर कसरी राम्रो उत्पादकत्व र दक्षता हासिल गर्ने भन्ने हाम्रो ध्येय हो’, उनले भने ।
विभिन्न संघसंस्था र सरकारी निकायसँगको सहकार्यमा केही किसानहरूलाई अनुदानस्वरूप यो प्रविधि उपलब्ध गराइएको र ३०–४० किसानसँग जोडिएर काम गरिसकेको कम्पनीले जनाएको छ ।

थोप्लो मेसिन
स्मार्ट ग्राफ्टिङ प्रणाली : यसले ग्राफ्टिङ प्रक्रियालाई स्वचालित बनाई बिरुवाको जीवित रहने दर बढाउँछ र श्रम घटाउँछ ।
सटीक सिँचाइ नियन्त्रक : यो प्रणालीले माटोको चिस्यान, मौसमको अवस्था र बालीको आवश्यकताजस्ता विभिन्न सेन्सर तथ्याङ्कको आधारमा स्वचालित रूपमा पानीको वितरण गर्दछ । यसले अनावश्यक खपत रोक्छ र बालीलाई ठीक समयमा आवश्यक मात्रामा पानी पुर्याउँछ, जसले गर्दा स्रोतको सही व्यवस्थापन हुन्छ र अनावश्यक फोहोर पनि उत्पादन हुँदैन ।
स्वचालित फर्टिगेसन प्रणाली : यो प्रणालीले सिँचाइ तालिकाअनुसार पानीसँगै आवश्यक मललाई एकीकृत रूपमा बिरुवाको जरासम्म पुर्याउँछ ।
डिजिटल रूपमा नियन्त्रित जर्मिनेसन चेम्बर : केही बोटबिरुवालाई हुर्कनका लागि विशेष तापक्रम र मौसम अवस्था चाहिन्छ । यो चेम्बरले त्यस्तै नियन्त्रित वातावरण प्रदान गर्दछ ।
भिजुअल ट्रेनिङ टुलकिट : प्रविधिको सफल कार्यान्वयनका लागि किसानको क्षमता अभिवृद्धि अपरिहार्य छ । यो अफलाइन–मैत्री गाइड हो, जसले कम साक्षरता भएका किसानहरूलाई पनि सजिलै प्रयोग गर्न मद्दत गर्दछ । ‘धेरै किसानहरू डिजिटल रूपमा साक्षर हुनुहुन्न । त्यसैले हामीले अफलाइन माध्यममा पनि तालिम सामग्रीहरू र नेपाली भाषामा विभिन्न स्रोतहरू विकास गर्दैछौं, ताकि उहाँहरूलाई मद्दत पुगोस्,’ ठाकुरले भने । थोप्लो मेशिनमा हाल १५ जना कर्मचारी कार्यरत छन्, जसमा कृषि विज्ञ, सफ्टवेयर इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, कृषि इन्जिनियर, सिस्टम डेभलपर र टेक्निसियनहरू रहेका छन् ।
कृषि क्षेको आकर्षण र ‘डायल’को भूमिका
ठाकुरका अनुसार पुरानो पुस्ता अझै पनि कृषिमा आबद्ध छ । तर, पहिलाको जस्तो कृषि अहिले छैन । उत्पादकत्व घटेको छ, गाउँघरमा जनशक्ति छैन । अटोमेसन र इन्जिनियरिङमा लगेर गाउँघरकै समस्या समाधानको कोसिस गरिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत संस्थाहरुबाट प्राविधिक तथा आर्थिक सहयोग लिएर आफ्नो अनुस्न्धानलाई अगाडि बढाएको उनले बताए । माइक्रोफोनिक्स (माटोरहित कृषि) मा १४ वटा विभिन्न बालीमा माटो प्रयोग नगरी पानी र सेन्सरहरू प्रयोग गरेर अनुसन्धान गरिएको थियो ।
जलवायु परिवर्तनले परम्परागत कृषि पद्धतिमा चुनौती थपेको ठाकुरले बताए । ‘२०–३० वर्षअघि माटोको गुणस्तर राम्रो थियो, अर्गानिक थियो । समयसँगै सबै परिवर्तन भयो । पहिला किसानहरूसँग जुन ज्ञान थियो, त्यसैको आधारमा काम चल्थ्यो । अहिले मौसम अप्रत्याशित भएको छ । त्यसैले प्रविधिको प्रयोग आवश्यक भएको छ’, उनले भने ।
डायलको ह्याकाथन सेशनमा थोप्लो मेसिनले एउटा प्रणाली विकास गरेको थियो, जसअन्तर्गत किसानले जर्मिनेसनका लागि अर्डर गरेपछि बिरुवाको वृद्धिको प्रत्यक्ष अवस्था, लोकेसन र वातावरणीय अवस्था ट्रयाक गर्न सक्नेछन् । यस संस्थाले विगतमा युएसएड, इरास्मस प्लस र नार्कजस्ता प्रतिष्ठित संस्थाहरुसँग काम गरिसकेको छ ।
प्रतिक्रिया