बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार « Khabarhub

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन् । कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन् ।

बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका हुन् । लगातार दुई दिनदेखि अविरल वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्न थालेपछि जीउज्यान जोगाउनका लागि सुरक्षित स्थानमा सर्नुपरेको कलावती दमाईले बताइन् ।
 
‘गत वर्ष रातिका बेला सुत्ने तरखर गरिरहेका बेला बाढीले शिविर डुबाउँदा एकसरो लुगामा भागेर ज्याउन जोगाएका थियौँ’, उनले भनिन्, ‘यो वर्ष पनि त्यो पीडा खेप्नु नपरोस् भनेर निरन्तरको वर्षा भइरहेकाले नदीमा बाढी आउने सम्भावना बढेपछि बाढी आउनुआगावै ओढ्ने, ओछ्याउने कपडासहित बालबालिकालाई सुरक्षित स्थानमा सार्नुपरेको छ ।’

 केही भूमिहीन परिवारले दातृ निकायले उपलब्ध गराएका त्रिपाल, केहीले पुराना च्यातिएका प्लाष्टिक र कपडाले ढाकेर झोपडी बनाएका छन् । जति पानी बाहिर पर्छ, त्यति नै पानीभित्र चुहिने भएकाले बालबालिकालाई काखीमा च्याप्दै भिज्दै रात काट्नुपरेको दलबहादुर बोहराले बताए ।

‘वर्षा नभएका बेला नदीमाथिको पक्की पुलमुनि सुत्ने गरेका छौँ’, उनले भने, ‘वर्षा भएपछि पुलमुनि बाढीको पानी आउने भएकाले चुहिने झोपडीमा गएर बस्नुपर्ने बाध्यता छ ।’

पहिला नदीमा बाढी आउन थालेपछि सामुदायिक वन क्षेत्रको उँचो क्षेत्रमा गएर रुखमुनि ओत लाग्ने गरेको प्रकाश साउदले बताए । ‘वन क्षेत्रमा लामखुट्टेले टोकेर हैरान बनाउँथ्यो’, उनले भने, ‘बर्खे झरीमा भिजेरै भए पनि ज्यान जोगाउने गरेका थियौँ, खाद्यान्नलगायत सामान बोकेर लैजान नसकिँदा नोक्सानी हुन्थ्यो, त्यही भएर राजमार्ग छेउमा झोपडी बनाएर बस्न थालेका हौँ ।’

भूमिहीन परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । वर्षात्को समय भएकाले मजदुरी नपाइँदा भोकभोकै बस्नुपरेको गुनासो माघी रावतले सुनाइन् ।
 
झुल, त्रिपाल र टर्च लाइटको व्यवस्था गरिदिनका लागि भन्दै वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म पटक पटक धाए पनि सुनवाइ हुन नसकेको भूमिहीन परिवार बताउँछन् ।

‘सुरुमा जाँदा जनप्रतिनिधिले समस्या समाधान गर्छौँ भन्थे, अहिले जाँदा झर्केर बोल्न थालेपछि माग्नका लागि जानै छाडेका छौँ’, भूमिहीन परिवारहरूले भने  ।

 शिविरमा बस्दै आएका परिवारले भूमि समस्या समाधान आयोगको लगतमा जग्गा र आवासका लागि निवेदन दिएका छन् । निस्सा प्राप्त गरे पनि अहिलेसम्म बसोबासको टुङ्गो भने लाग्न सकेको छैन । 

वनहरा भूमिहीन शिविरमा २८ परिवारको बसोबास छ । भूमिहीन परिवारले झोपडीमा राख्नका लागि त्रिपाल, वर्षात्का बेला काम नपाइँदा दुई छाक खानका लागि अन्नको व्यवस्था र रातिका बेला हिँडडुल गर्न टर्चलाइटको व्यवस्था गरिदिनका लागि दातृ निकायसँग अनुरोध गरेका छन् । रासस

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : १४ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने