काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्ने संचारकर्मीहरुको प्रश्नमा गर्दै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टी बाट बिदा लिन सुझाव दिए ।
उनले सम्मानित नेता खनालले पटक पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाइको अर्थ नरहेको बताए ।
एक प्रश्नको जवाफमा नेता नेपालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरूको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गरे ।
अध्यक्ष नेपालले शेर बहादुर देउवा र केपी ओली एक ठाउँमा रहे सम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए । उनले वर्तमान सरकार सबै क्षेत्रमा असफल भए पनि अर्को सरकार बन्ने सम्भावना नरहेको जानकारी दिए ।
उनले अहिले आफूहरू पार्टी सङ्गठन सुदृढीकरण र समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपरेको बताए । अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकीकरण गर्ने कुरा नभएको र अहिले मोर्चा र सहकार्य गरेर अघि बढ्ने कुरा मात्रै भएको स्पष्ट पारे ।
प्रतिक्रिया