काठमाडौं – कलाकार हरिवंश आचार्यको प्रेसर बढेको छ । एक उनी आफू साढे २ दशकदेखि उच्च रक्तचापको औषधि खाइरहेको बताउँछन् ।
उनी भन्छन्,‘फिल्म तँ त साह्रै सुध्रिस् नि बद्री प्रदर्शनका दौरानदेखि मैले प्रेसरको औषधि खान लागेको हो । फिल्मले नै मलाई प्रेसरको औषधि खान बाध्य पारेको हो ।
यो दशैँमा भने फिल्म ‘हरिबहादुरको जुत्ता’ले मानसिक प्रेसर थपेको उनले सेयर गरे ।
उनले सुनाए, ‘यो फिल्म बनाएर प्रदर्शन गर्दा चिन्ता लिन्नँ भने पनि लाग्ने रहेछ । अहिले राति निद्राले छोड्यो भने पनि दर्शकले फिल्म मन पराउने हुन् कि होइनन् भन्ने चिन्ता लाग्ने रहेछ ।’

हरिवंशको लेखन र अभिनय रहेको फिल्म ‘हरिबहादुर’ फूलपातीबाट प्रदर्शनमा आइसकेको छ । उनले आफूले निर्वाह गरेको आइकोनिक क्यारेक्टर ‘हरिबहादुर’ शीर्ष भूमिकामा राखेर ‘हरिबहादुरको जुत्ता’ फिल्म बनाएका हुन् ।
उनी भन्छन्, ‘फिल्मको व्यापारभन्दा पनि नाम जोडिएको छ । चर्चित पात्रबारे फिल्म बनाएर जोखिम लिएको छु । केही चिन्ता त हुने भइहाल्यो ।’
यो उनलाई प्रेसर भएको पाटो भयो ।
सँगै अहिले दशैँको माहोल छ । सोही कारण उनी ‘फेस्टिभ मुड’मा पनि छन् । यस मौकामा हरिवंशसँग खबरहबले गरेको दशैँ विशेष कुराकानी :
तपाईं ‘फेस्टिभ मुड’ पुगिसक्नुभयो कि बाँकी नै छ ?
दशैँ आउँदै गर्दा ‘मालश्री’ धून बज्छ । अत्यन्तै सकारात्मक भाइव आउँछ । यो धूनले नै चाडपर्वलाई निम्ता गर्छ जस्तो लाग्छ। यो धूनले मलाई मात्रै होइन, सबैलाई फेस्टिभ मुडमा ल्याउँछ जस्तो लाग्छ ।
मलाई यो धूनले चाहिँ भौतिकरुपमा हामी माझ नभएकी श्रीमती (मिरा आचार्य) को याद दिलाउँछ । आँखा नै रसाउँछ ।
तर, त्यसरी नै बस्न त भएन । मैले नयाँ जीवन सुरु गरिसकेँ । त्यसरी नै बसियो भने अहिले मेरो जीवन साथी बनेकी मान्छेलाई अन्याय हुन्छ ।
तर, यो धूनले किन मलाई उनको याद दिलाउँछ, किन हो अझै थाहा पाएको छैन । जे होस् यो धून शक्तिशाली छ । मलाई पूरानो याद र फेस्टिभ मुडमा प्रवेश गराउँछ ।
नयाँ लुगा किन्नुभयो ?
नयाँ लुगा नकिन्ने । अरु नै प्रसंगमा प्रधानमन्त्री सुशीला कार्कीले नयाँ लुगा नकिनेको दुई वर्ष भयो भन्नुभएको रहेछ । त्यो भिडियो श्रीमतीलाई पनि देखाएँ ।
पहिला पहिला मेरो दुई जोर लुगा मात्रै हुन्थ्यो । एक जोर धुने एक जोर लगाउने । दुई जोर नै धोयो भने बाहिर निस्कनका लागि कपडा हुँदैन थियो । घरमै बस्नुपर्ने हुन्थ्यो ।
कहिले चिसो लुगा लगाएर नै हिँडेको क्षण पनि छ ।
अहिले त विदेश भ्रमणमा लुगा उपहार पाइन्छ । अहिले लगाउन लागि जत्ति पनि लुगा छ । दशैँका लागि नै किन्नुपर्छ भन्ने छैन ।
नयाँ लुगा नलगाइ विगतमा दशैँ नमानेको क्षण छ ?
अहिले नयाँ लुगाको मोह नै छैन । बाल्यकालमा थियो ।
अहिले त म प्रायः नयाँ लुगा नै लगाउँदिन । धेरै वर्ष भयो । पुरानै लुगाले दशैँ मनाउँछु ।
पहिला लुगा नै हुँदैन थियो । त्यसबेला दशैँको बाहाना बनाएर किन्दा मात्रै हो नयाँ लुगा लगाएको ।
बाल्यकालको दशैँको स्मृति कस्तो छ ?
बुवा–आमा म सानै छँदा बित्नुभयो । म र दिदीहरु टुहुरा थियौं । अभाव हुने भइहाल्यो ।
अरुले बुवा–आमाको हातको टीका लगाउँदै हामीले पाउँदैन थियौं । आमा बुवा भएको भए दशैँ कस्तो हुन्थ्यो होला ? भन्ने लाग्थ्यो । खल्लो लाग्थ्यो ।
तर, दिदीहरुले आमा बुवाको जिम्मेवारी बहन गर्नुहुन्थ्यो ।
आफूले चाहेको लुगा र दशैँभरी मासु खान पाइएन भने साह्रै नरमाइलो लाग्थ्यो ।
अर्को रमाइलो पक्ष नयाँ लुगा नै थियो । नयाँ लुगा टीकाको दिन मात्र लगाउने भन्ने हुन्थ्यो । किनेर बाकसमा राखिन्थ्यो । म बाकस खोलेर नयाँ लुगाको बास्ना सुँघ्थेँ । निकै मिठो लाग्थ्यो ।
शास्त्रअनुसार जुठो नलाग्ने व्यक्ति बितेर दशैँ नमानेको वर्ष छ ?
छ । दिदीहरुको जुठो माइती खलकले बार्नु पर्दैन भन्छन् । मेरा दुई दिदीहरु बित्नुभयो । दुई वर्ष नै मैले टीका लगाइनँ ।
साथीहरु बितेर टीका नलगाएको क्षण छैन । सुखद कुरा नजिकका साथीहरु बितेको घटना एकदमै कम छ ।
दशैँमा तास खेल्ने बानी छ ?
म तास खेल्दै खेल्दिनँ । आउँदैन पनि । बच्चा बेला एउटा खेल आउँथ्यो, त्यो पनि बिर्सिएँ ।
फेरि दशैँको बेला घरमा चाहिँ खेल्छन् । श्रीमती र बुहारीहरु खेल्छन् । ससुरालीमा जाँदा पनि त्यहाँ खेलिरहेका हुन्छन् ।
सालोहरुले ‘भिनाजु आउनुुस् खेलौं’ भन्छन् तर म तासमा इन्जोय गर्न सक्दिनँ ।

दशैँमा भुइँ छोड्नुपर्छ भन्छन् । पिङ खेल्नुहुन्छ ?
पिङ त बच्चामा मात्रै हो । बाल्यकालमा पिङ चुडिएर लडेको अनुभव छ । मलाई पिङमा मच्चिन भने आउँछ ।
अहिले धेरै वर्ष भयो खेलेको छैन ।
बाल्यकालमा र अहिलेको दशैँमा के फरक ?
मेरा हकमा बुवा–आमाको अनुपस्थिति दशैँ पनि हामी आफैँले मान्नुपर्थ्यो । जोहो गर्नुपर्थ्यो ।
म ११ वर्षको हुँदासम्म आमाले धान्नुभयो । उहाँले कसरी जोहो गर्नुहुथ्यो होला जस्तो लाग्छ, आज भोलि । आमाको पनि आम्दानी थिएन । बुवा बितिसक्नु भएको थियो ।
अहिले म आमालाई सम्झन्छु । कसरी धान्नुभयो होला जस्तो लाग्छ ।
अहिले चाहिँ दशैँ भनेको नातागोता भेट्ने अवसर हो जस्तो लाग्छ । पहिला जस्तो नाताका मान्छे भेट्ने चलन पनि छैन । कम्तीमा दशैँले भेटाउँछ ।
बुवा र मेरो ‘एज ग्याप’ धेरै छ । सोहीकारण म भन्दा बढी उमेरका मेरा भजितहरु छन् । ९० वर्षका मान्छेले पनि मलाई काका भन्छन् ।
त्यो हिसाबले टीका थाप्ने मेरो घरमा राम्रै संख्यामा मान्छेहरु आउनुहुन्छ । अनि अहिले अभाव छैन । उहाँहरुलाई खुवाउने त्यसैमा रमाइलो गर्ने गरिन्छ ।
आफ्न्तलाई खुसी बनाएर आफू खुसी हुन मन लाग्छ ।
बाल्यकालमा आफू खुसी हुन मन लाग्थ्यो, अहिले अरुलाई खुसी बनाउन मन लाग्छ ।
यसपालीको दक्षिणा लिस्ट कस्तो छ ?
न्यूनमत एक सय । अधिकतम पाँच सय । ज्वाइँ चेलाहरुलाई एक हजार दिनुपर्ला ।
नयाँ नोट साट्नुभयो ?
अहिले राष्ट्र बैंकले नयाँ होइन सुकिला नोट दिन्छ । मलाई नयाँ नोट खासै महत्वको विषय लाग्दैन ।
नयाँ र पुरानोको विनिमय महत्व उही हो क्यार । नयाँ नोट साटिएको छैन ।
आफूले दक्षिणा पाउने ठाउँ पनि छ ?
छ, एक दुई स्थान । ससुराली र श्रीमतीका दिदीहरु । त्यहाँ मैले पनि पाउँछु नि ।
दर्शकलाई के भन्नुहुन्छ ?
शुभकामना । अभाव सम्पन्नता जे भए पनि सकेसम्म रमाइलो गर्नुहोस् ।
प्रतिक्रिया