रास्वपातिर पनि सम्पर्कमा छन् शनिबार कुलमानसँग चार घण्टा बिताएका बालेन « Khabarhub

रास्वपातिर पनि सम्पर्कमा छन् शनिबार कुलमानसँग चार घण्टा बिताएका बालेन

उज्यालो नेपाल पार्टीको घोषणा सभामा सहभागी हुन निम्तो



काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जा मन्त्री कुलमान घिसिङबीच भेटवार्ता बाक्लिएको छ ।

यी दुई जनाबीच आगामी फागुन २१ गतेको निर्वाचनमा एकै पार्टी वा मोर्चा बनाएर अगाडि बढ्नेबारे छलफल भइरहेको छ ।

ऊर्जामन्त्री घिसिङले उज्यालो नेपाल पार्टी दर्ता गराइसकेका छन् । जसको अध्यक्ष उनले अहिले पूर्वसचिव अनुपकुमार उपाध्यायलाई बनाएका छन् ।

उनले ५१ जनालाई केन्द्रीय सदस्य बनाएका छन् । तर कुलमानले बालेन, सुदन गुरूङ र सुमना श्रेष्ठसहित वैकल्पिक धारका कसैलाई पनि समेट्न सकेका छैनन् । कुलमान अहिले मन्त्रालयको काम र पार्टी संगठन निर्माणको कामलाई एकसाथ अघि बढाइरहेका छन् । त्यहीअनुसार उनी देश दौडाहामा छन् ।

उनले विभिन्न वैकल्पिक पार्टी र नेताहरूलाई एक ठाउँमा आउनुपर्ने आवश्यकता सुनाइरहेका छन् । उनले शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग चार घण्टा लामो वार्ता गरे ।

शनिबार राति ७ बजे बालेन निवास पुगेका कुलमान ११ बजे मात्रै फर्किएको उनीसँगै रहेका उज्यालो नेपालका एकजना केन्द्रीय सदस्यले जानकारी दिए ।

भेटमा बालेनका तर्फबाट उनको सचिवालयका केही सदस्यहरू उपस्थित थिए । कुलमानका तर्फबाट तीन जना सदस्य पनि सहभागी थिए।

‘शनिबार साँझ ७ बजे कुलमानजी जानुभएको हो । सिनामंगल ओरालोस्थित बालेनको घरमा ४ घण्टा भेटवार्ता भएको छ’, उज्यालो नेपालका एक केन्द्रीय सदस्यले भने, ‘कुलमानसँग तीनजना नेताहरू पनि थिए । बालेनको तर्फ उनको सचिवालयका केही सदस्य थिए ।’ 

कात्तिक अन्तिम साता पनि कुलमान र बालेनबीच भेटवार्ता भएको थियो । त्यसअघि र पछि पनि दुवैजना सहयोगीहरूले सम्भावित सहकार्यका लागि निरन्तर भेट गरिरहेका छन् ।

वार्ता

यी दुईजनाबीच शनिबार भएको भेटलाई अर्थपूर्ण मानिएको छ । भेटमा वैकल्पिक शक्तिहरू एकजुट हुने विकल्पबारे लामो कुराकानी भएको छ।

‘कसरी अगाडि बढ्नेबारे छलफल भएको छ । एउटै पार्टीबाट नगए पनि कार्यगत एकता अथवा मोर्चा बनाएर जाने कुरा भएको बुझेको छु’, भेटमा सहभागी कुलमानको पार्टीका एक सदस्यले भने, ‘दुवै नेताहरू रास्वपासँग सम्पर्कमा पनि हुनुहुँदो रहेछ । वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्ने दुवैको एक मत छ । अहिले नै सहमति नभए पनि निर्वाचनसम्म केही न केही निर्णय होला ।’ 

उज्यालो नेपालका नेताहरूले यी दुईजनाबीच अझै पनि सहकार्यको सम्भावना जीवितै रहेको बताए । ‘बालेनसँग कुलमानजीको सम्बन्ध बिग्रिएको छैन, दुवैले मिलेर जाने कुरामा एकअर्कालाई नकार्न सक्दैनन् । विकासका एजेन्डामा कुरा मिलेको छ’, बालेननिकट एक सहयोगीले, ‘पार्टी एउटै नभए पनि चुनावसम्म कार्यगत एकता हुन्छ।’ 

तर बालेन अहिले पनि कुलमानको पार्टीका जाने कुरामा अझै अनिर्णित छन् । उनी पर्ख र हेरको रणनीतिमा छन् । अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि सम्पर्कमा रहेकाले यो अलमल देखिएको हो ।

उज्यालो नेपाल र रास्वपा दुवै बालेनलाई पार्टीमा भित्र्याउन लागिरहेका छन् । बालेनको पछाडि रहेको ठूलो युवा पंक्तिको लोभ यी दुवैलाई छ ।

निम्तो 

घिसिङको उज्यालो नेपाल पार्टीले मंसिर १७ गते काठमाडौंमा घोषणा सभा गर्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा घोषणा कार्यक्रममा प्रमुख अतिथि कुलमान घिसिङ छन् । उनी उक्त घोषणासभामार्फत् पहिलो पटक नयाँ दलको कार्यक्रममा ‍औपचारिक रुपमा देखिँदैछन् ।

उक्त घोषणा सभाका लागि कुलमानले प्रमुख अतिथिका रूपमा बालेनलाई मौखिक निम्तो दिएका छन् । बालेनले सकारात्मक जवाफ फर्काए पनि उपस्थित हुने-नहुने निर्णय गरिसकेका छैनन् । तर उनका बुवाको सोमबार निधन भएकाले अब उनी शोकमा परेका छन् । त्यसकारण उक्त कार्यक्रममा उनी देखिने सम्भावना छैन ।

‘कुलमानले मौखिक निम्तो दिनुभएको छ । लिखित पत्र पनि जान्छ’, ती केन्द्रीय सदस्यले भने, ‘उहाँले सकारात्मक जवाफ फर्काउनुभएको छ ।’ 

मंसिर १७ गते उज्यालो नेपाल पार्टीले  दीर्घकालीन दृष्टि र मूल ध्येय समेटिएको घोषणापत्र सार्वजनिक गर्नेछ। घोषणापत्रमा पार्टीको सैद्धान्तिक आधार, प्राथमिकता र आगामी कार्ययोजना समेटिने छ ।

बालेनसँगको फोटोको कथा

बालेनसँग शनिबार बेलुका भेटेपछि आइतबार बिहान कुलमान पूर्वी नेपालको यात्रामा निस्किए । उनी नेता-कार्यकर्तासहित धरान लागे । आइतबार दिनभर धरानमै उनको कार्यक्रम थियो । त्यस राति उनी धरानमै बसे । धरानको उक्त होटेलमा कुलमानले आफ्ना समर्थक र पहिचानवादी नेताहरूसँग राति १२ बजेसम्म छलफल गरे। 

उक्त छलफलमा धरान उपमहानगरपालिका मेयर एवम् श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङलाई नेता मानेकाहरूको पनि उपस्थित थियो । उनीहरू कुलमानलाई साथ दिन त्यहाँ आएको स्रोतको दाबी छ । 

‘त्यहाँ विगतमा हर्कलाई नेता मानेका थुप्रै साथीहरू हुनुन्थ्यो । धरानमा कुलमान र हर्कबीच संवाद हुन सकेन। त्यसपछि बालेनसँगको फोटो सामाजिक सञ्जालमा राख्नु भएको हो ।’  

उनी धरानपछि मोरङको बेलबारी र झापाको भद्रपुरसहित केही स्थानमा संवादमा हुनेछन् । त्यहाँ उनले पुलको अवस्था पनि अवलोकन गर्नेछन् ।

स्रोतका अनुसार कुलमान पूर्व आएको खबर धरानका मेयर साम्पाङलाई पुगिसकेको थियो । तर उनले कुलमानलाई भेट्ने मन गरेनन् ।

धरानमा सुधार नेपालको कार्यक्रममा कुलमानले मन्तव्य पनि राखे । ‘नयाँ शक्ति मिलेर जानुपर्छ । एकअर्कालाई गालीगलौज गर्नुहुन्न भन्नु भयो’, उज्यालो नेपालका एक केन्द्रीय सदस्यले भने, ‘उहाँले सम्पन्न नभएका विकास आयोजनाबारे पनि चिन्ता जनाउनु भयो ।’

कुलमानले आफूलाई भेट्न नमानेका हर्कलाई म्यासेज दिन पनि धरान आएर बालेसँगको फोटो हालेका हुन् । उनी धरानमै हुँदा यो फोटो आइतबार राति १० बजेपछि सार्वजनिक गरिएको हो । जसमा उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ ।’

धरानमा कुलमानले मेयर साम्पाङसँग भेट्ने तयारी गरेका थिए । तर हर्क सम्पर्कमै आएनन् । भेट्ने मनसाय नराखेपछि सोमबार मोरङको उर्लाबारी, बेलबारी र झापाको कार्यक्रम सकेर कुलमान काठमाडौं फर्किनेछन् । 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १ : ३४ बजे

नेपालमा सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइने 

काठमाडौं-सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ । 

आईईएसएफ विश्व स्पोर्ट्स च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाई

काठमाडौं–  नेपालले आईईएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप २०२५ मोबाइल लेजेन्ड् : ब्याङ

सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न

मौद्रिक नीतिको पहिलो समीक्षा : राष्ट्र बैंकले के–के गर्‍यो नीतिगत व्यवस्थामा परिवर्तन ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष(आव)का लागि ल्याएको मौद्रिक

चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार छैन : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१