काठमाडौं– सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न भएको छ । आयोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् ।
सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
मनाङस्थित नार्पा भूमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरि ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत् आयोजना निर्माण गरिनेछ ।आयोजनाको प्रवर्द्धक कम्पनी नारखोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एन आइ सी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी सोमबार लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।
नारखोला जलविद्युत आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाले वार्षिक २ अर्ब १० करोड रुपैयाँको विद्युत बिक्री गर्नेछ । ६१.११ मेगावाट विद्युत उत्पादनका लागि २०.३७ मेगावाट क्षमताका ३ वटा टर्बाइन प्रयोग हुनेछन् । आयोजनाको हेडरेस टनेल करिब ८ किलोमिटर लम्बाइको रहनेछ ।
आयोजनाको बाँधका संरचनाहरू नार्पा भूमि गाउँपालिकामा र विद्युत्गृह नासो गाउँपालिकामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङको धारापानीमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ ।
आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा बैंकको कर्जा ९ अर्ब ६३ करोड रुपैयाँ र स्वपुजी ३ अर्ब २१ करोड रुपैयाँ लगानी हुनेछ । स्वपुँजीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।
आयोजनाले पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको र ३ महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माणको काम सुरु गरेर आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।













प्रतिक्रिया