अटो क्षेत्र सुरक्षित भएन, अरू व्यवसायमा लाग्दैछु | Khabarhub Khabarhub

अटो क्षेत्र सुरक्षित भएन, अरू व्यवसायमा लाग्दैछु



नाडा यस्तो संस्था हो, जसले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा २३ प्रतिशत योगदान गर्छ । अहिले त्यो नौ प्रतिशतमा झरेको छ ।

एउटा चिज हामीले छुटाउने गरेका छौँ । २३ प्रतिशतसम्म योगदान गरेको क्षेत्रलाई सरकारले कहिल्यै जरुरी क्षेत्रका रूपमा हेरेको छैन । नाडाले गाडीमा लगाएको कर घटाउनुपर्छ भनिरहेको छ । तर, हामीलाई कर नबढाइदिए पनि धेरै सन्तोष हुन्छ । करको समयमा जहिल्यै ढुकढुकी बढ्छ । ‘अब कर बढ्ने भयो, अब कर बढ्ने भयो’ भन्ने हुन्छ ।

सबैभन्दा बढी ढुकढुकी मौद्रिक नीति आउँदाका बखत बढुछ । विगत १० वर्षको अवस्था हेर्ने हो भने बैंकिङ क्षेत्रले उत्साहित भएर निकै धेरै लगानी गरेको छ ।

शुरूको आधा वर्ष व्यवसाय प्रोत्साहन गर्ने निकै हौसला दिन्छन् । दशैँलगायत चाडबाड त्यही समयमा पर्छ । हामीले अटो शो पनि त्यही समयमा गर्छौं । अटोमोबाइल क्षेत्रको विकासमा सबैजना इच्छुक भएजस्तो देखिन्छन् । के कसो गर्न सकिन्छ भनी सोध्ने पनि गर्छन् ।

त्यसपछिका ६ महिनामा भने अवस्था ठीक उल्टो बन्छ । दशैँ अघिसम्म खुशीयाली मनाउने हामीहरू त्यसपछि रुनुपर्ने अवस्थामा पुग्छौँ । ब्याजदर त्यही बेला परिवर्तन हुने, बैंकहरूमा कर्जा जारी गर्न सक्ने रकम नहुने अवस्था बन्छ ।

कुनै समय बैंकिङ क्षेत्रले नै लगानी गर्न सबैभन्दा सुरक्षित क्षेत्र अटोमोबाइल भन्थ्यो । उक्त तथ्याङ्क बैंकिङ क्षेत्रले नै निकालेका हुन् तर, आजको दिनमा यही क्षेत्र सबैभन्दा बढी अनुत्पादक भएको छ । ‘किन ?’ भन्ने प्रश्नमा कहिल्यै मन्थन भएन । यसबारे मन्थन हुनुपर्छ ।

सरकारले ठूलो आशासहित ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिरहेको छ । विद्युतीय गाडीले उत्पादित ऊर्जा खपत गर्छ । सरकारले ऊर्जासँगै अटो क्षेत्रलाई पनि प्राथमिकतामा राख्यो । तर, हामीले के पाएका छौँ त ? नेपालमा १०० वटा गाडी बिक्री हुँदा ७२ वटा त इलेक्ट्रिक भेहीकल (ईभी) नै हुन्छन् ।

पहिले पहिले दोस्रोपटक गाडी किन्नेले मात्रै ईभी किन्ने गरेका थिए । अहिले पहिलोपटक नै ईभी लिन थालेका छन् । मूल्य घटेको छ । ३०/४० लाखमा चार/पाँच सिटको राम्रो ईभी खरिद गर्न सकिन्छ । एक/ढेड करोड रुपैयाँसम्मका ईभी बजारमा उपलब्ध छन् ।

बैंकको क्षमता साँच्चै घटेको हो वा होइन भन्नेबारे ठूलो चर्चा छ । कालोसूचीमा परेका अधिकांश अटोमोबाइल्स क्षेत्रकै छन् । यस्तो किन भनी हेर्दा अर्थतन्त्रको श्रृङ्खला नै कहीँ न कहीँ टुटेको छ । त्यो श्रृङ्खलालाई पुनः जोड्न खोजिएको छैन ।

बैंकिङ क्षेत्रलाई सचेत गराउन चाहन्छु । अहिले मान्छेहरू ‘पैसा तिर्छु, म तपाईंको ऋण जसरी भए पनि तिरेर मुक्त हुन्छु’ भन्नुको साटो उल्टो गर्न थालेका छन् । ‘म कर्जा तिर्दिनँ’ भन्छन् । किन ?

अटो क्षेत्रमा एक खालका व्यक्तिले पाँचदेखि १० लाख रुपैयाँ कर्जा तिरिरहेका छन् । किनभने यो देशमा हुँदै भएन भने विदेश जानुअघि प्रहरीबाट ‘क्यारेक्टर सर्टिफिकेट’ लिनकै लागि !

अर्का खालका मानिस आत्महत्या गर्न बाध्य छन् । यो कुरा हामीले महसुस गरेका छैनौँ । किनभने अझ पनि कोही मान्छेले आत्महत्या गर्‍यो, तर त्यो मान्छे के मा आबद्ध थियो ? किन त्यसले आत्महत्या गर्‍यो भन्ने तथ्य कहिल्यै खोतल्न सकेनौँ ।

हामी स्वच्छ र स्वस्थ व्यवसाय गरौँ भनेर लागेका हौँ । त्यसमाथि पनि अटो क्षेत्रको व्यवसाय स्वच्छ हुन्छ । आजभन्दा आठ/नौ वर्षअघि अनलाइन बिलिङ आयो । त्यो बेला अटो क्षेत्रमात्र यस्तो व्यवसाय थियो – जसले अभियान चलाएर अनलाइन बिलको शुरूवात गर्नैपर्छ भनेर लागेका थियौँ । हामी स्वच्छ व्यवसाय गर्न रुचाउँछौं । तर अटो क्षेत्र सबैभन्दा पिछडिएको क्षेत्र भएको छ ।

अबको पाँच वर्षपछि अटो क्षेत्र यति विस्तारित हुँदैन । हो ! चीन र भारतबाट ईभी आयात गर्ने केही रहन्छन् । तर, अटो क्षेत्रमा अझै पनि ईभीको बाहुल्यता छैन । नाडामा ३३०० सदस्यमध्ये अटोमोबाइल्स आयातकर्ता बढीमा २०० छन् । ३१०० जना त पाटपूर्जा, टायर, ट्यूब र लुब्रिकेन्टजस्ता सामान बिक्रेता छन् । यिनीहरूको व्यवसाय संरक्षणमा बैंकिङ क्षेत्रले के गरिरहेको छ ?

बैंकले कर्जा दिएको हो भने त्यो उठाउनुपर्‍यो । त्यो समयमा पैसा तिरेन भने बैंकले धरौटी खिच्छ, जुन स्वाभाविक पनि हो । तर, बैंकले व्यवसायीलाई साँच्चै सहयोग गरिरहेका छन् त ? कर्जा तिर्न सक्ने बनाउन के काम भइरहेको छ ?

यसमा सरकारको पनि ठूलो दायित्व छ । सरकारले अटो क्षेत्रलाई सबैभन्दा पहिले आर्थिक विधेयकबाट हात बाँधिदिन्छ । मौद्रिक नीतिले खुट्टा बाँधिदिन्छ । त्यसपछि व्यवसायले पानीमा धकेलिदिन्छ । बैंकले मुख छोपिदिन्छ । त्यसपछि अन्य विकल्प हुँदैन ।

यो स्थिति किन आउँछ भन्नेबारे विदेशी मुद्रा सञ्चितिको सन्दर्भ उल्लेख गरौँ । कोरोनापछि विदेशी मुद्रा सञ्चिति घटेर सात महिनाका लागि आवश्यक वस्तु तथा सेवाको आयातमात्रै धान्नसक्ने अवस्थामा पुगेको थियो । त्यतिखेर अटोमोबाइल्स क्षेत्रमै बढी कडाइ गरियो । कतिपय सवारीसाधन आयातमै प्रतिबन्ध लगाइयो । अटो क्षेत्रका लागि आयात बन्द गर्नुजस्तो भयावह निर्णय अरू हुन सक्दैन । त्यतिबेला अटोको कुनै पनि चिज आयात गर्नसक्ने अवस्था थिएन ।

अहिले हाम्रो विदेशी मुद्रा सञ्चिति उक्त समयभन्दा दोब्बरले बढी छ । यस्तो बेला पनि गाडीको मूल्यको ५० प्रतिशत मात्र ऋण लिन पाइने व्यवस्था छैन । जब कि अहिले त पर्याप्त ‘फरेन रिजर्भ’ छ । त्यतिखेर हामी छाडा थियौँ होला, तर अवस्था सुधार भइसकेपछि पनि किन पुरानै नियम त ? ईभीलाई ८० प्रतिशत छ भने इन्टर्नल कम्बस्टन इञ्जिन (आइसीई)लाई ७० प्रतिशत किन गर्ने सकेनौँ ?

कोभिडका बेला सबैभन्दा ठूलो व्यवसाय अटो नै थियो । अरू व्यवसाय घट्दा अटो व्यवसाय बढेको थियो । पाटपूर्जा र लुब्रिकेन्ट्समा ३० प्रतिशतको वृद्धि थियो । म नाडाको अध्यक्ष भएको एक वर्ष पुग्यो । मन्त्रालय विभाग, कतिपय अवस्थामा प्रहरी संगठनहरूमा भेटघाट गर्दा, उहाँहरूलाई मैले बुझाउँदा भलिबल खेलेजस्तो बाहेक अरू केही भएको छैन । न्यायालयमा अनुरोध गर्दा पनि यसको उत्तर आउँदैन ।

यस्तो अवस्थामा म विस्तारै अरू व्यवसायतिर लम्कन थालिसकेको छु । किनभने अटो क्षेत्र सुरक्षित भएन । मेरो परिवार ४० वर्षभन्दा बढी समयदेखि अटो क्षेत्रमा छ । अहिले जस्तो विषम परिस्थिति कहिल्यै थिएन । आज ठूलो घरानालाई त यस्तो स्थिति छ भने त्यो साना व्यवसायीहरूको हालत के होला ? दिनभरको कमाइबाट बिहान/बेलुकीको छाक टार्नेहरू कस्तो परिस्थितिबाट गुज्रिएका छन् ? यसतर्फ सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

म उचित समयमा नाडाको अध्यक्ष भएछु जस्तो लागेन । किनभने काम जति सबै मेरो टाउकोमा थुप्रिने परिस्थिति बन्यो । तर पनि कोसिस जारी छ, हार मानेको छैन

(खबरहब डटकम र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च [आइएसएसआर]को संयुक्त आयोजनामा सम्पन्न ‘बैंकिङ क्षेत्रका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा चौधरीले राखेका धारणाको सम्पादित अंश ।)

यो पनि –

अर्थतन्त्र चौबाटोमा छ, अब चेतौँ

बैंकिङ क्षेत्र धराशायी भए नेपालको अर्थतन्त्र कसैले सम्हाल्न सक्दैन

राष्ट्र बैंकमाथि प्रश्न : विदेशीले जे भन्छन्, त्यतै दौडिने ?

बैंकहरू ‘साइलक’ को नयाँ संस्करण नबनून्

‘चेक बाउन्स’मा जेल, बैंकको झेल ?

बैंकिङ क्षेत्रको चुनौती : सहकारीपछि बैंकमा जोखिमको घण्टी

पूर्वमन्त्री र पूर्वमुख्यसचिवको दोहोरी : कर्मचारी खराब कि नेता ?

बैंकले उत्पादनशील क्षेत्रमा लगानी नगरे समस्या पर्नसक्छ

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ५ : १४ बजे

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका

कर्मचारी आन्दोलनले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि ठप्प

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले लेखा क्षेत्रका कर्मचारीको वृत्ति विकास सुविधा

अनमेल विवाहबारे कानून मौन, ८२ वर्षमा पिता बनेका भन्छन्- ‘छोरो हाकिम भएको हेर्न मन छ’

केही दिन अगाडि टिकटकमा विवाह भाइरल भयो। लगनको समयमा धेरैले

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक

किसानलाई उन्नत जातका राँगा वितरण 

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा