विराटनगर- कोशी प्रदेशमा बिहीबारदेखि सुरू लगानी सम्मेलन शुक्रबार समापन भएको छ ।
उक्त लगानी सम्मेलनलाई प्रदेश सरकारले विशेष प्राथमिकतासहित प्रचार प्रसार गरेको थियो ।
प्रदेशमा भएको यो नौलो अभ्यासमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया र भारतसहितका मुलुबाटसमेत लगानी सहभागी भए ।
प्रदेश राजधानी विराटनगरमा भएकव यो लगानी सम्मेलनमा गैरआवासीय नेपाली पनि सहभागी थिए । स्वदेशी लगानीकर्तातर्फ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नै सहभागी भए ।
सम्मेलनको पहिलो दिन प्रदेश सरकारले एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसमा राख्यो ।
परियोजना छनोट गरेर सोकेसमा राखिनुको अर्थ हुन्छ, भोलिका दिनमा तिनको निर्माणका लागि बजेटको सुनिश्चितता ।
सोकेसमा राखिएका आयोजनामा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटी र फोहोर प्रशोधनलगायत रहेका लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताए ।
कोइरालाका अनुसार दुई दर्जनभन्दा बढी परियोजनाको सम्झौता हुने गरी फाइनल चरणको कुरा भइसकेको छ । सम्मेलनको पहिलो दिन पर्यटनसम्बन्धी १५ वटा परियोजना सोकेसमा राखियो ।
कोइरालाका अनुसार पूर्वाधारतर्फ १४, कृषितर्फ ९, उद्योगतर्फ ९ र ऊर्जा क्षेत्रका ९ वटा योजना सोकेसमा राखिएको छ ।
लगानी सुरक्षित गर्न र विभिन्न अड्चन हटाउन भन्दै प्रदेश सरकारले ८ वटा कानुन अध्यादेशमार्फत् संशोधन गरेको मुख्यमन्त्री हिक्मत कार्कीले बताएका छन् ।
उनका अनुसार एक वर्षसम्म निजी क्षेत्रसँग समन्वय र छलफलका आधारमा यी परियोजना छानिएका हुन् ।
एमओयू
यसैबीच लगानी सम्मेलनको दोस्रो दिन १ खर्ब ५२ अर्ब १६ करोडका परियोजनामा एमओयूसमेत भएको छ ।
मुख्यमन्त्री कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. कोइराला र लगानीकर्ताबीच सम्झौता भएको हो।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिका आठ परियोजनामा ३ अर्ब, ऊर्जाका तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनको १० परियोजनाका ३४ अर्ब १९ करोड र फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजनामा एमओयू भएको छ ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना एमओयू भए । प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरेको थियो। सोकेसिङ परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो।
दुई मुख्यमन्त्रीको जिल्लामा खोई
प्रदेश सरकारको लगानी सम्मेलनबाट ७१ वटा परियोजना सोकेसमा राखिँदा दुईजना मुख्यमन्त्री जिताएको भोजपुर भने खाली हात भएको छ ।
भोजपुरबाट दुई दल नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमा दुईजना प्रभावशाली नेता छन् । पहिलो हुन्, एमालेका स्थायी कमिटी सदस्य शेरधन राई, अर्का हुन् एकीकृत समाजवादीका सचिव राजेन्द्रकुमार राई ।
एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका प्रिय पात्र मानिन्छन् शेरधन । उनी कोशीका पहिलो मुख्यमन्त्री पनि हुन् । उनी २०७४ फागुन २ देखि २०७८ भदौ २० गतेसम्म करिब ४ वर्ष मुख्यमन्त्री पदमा रहे ।
उनले आफ्नो कार्यकालमा भोजपुरमा करिब ५ अर्ब बजेट लगेको दाबी गर्दै आएका थिए । उनले त्यो फेहरिस्त २०७९ को चुनावमा भोजपुरका मतदातालाई सुनाए पनि जित्न सकेनन् । उनी प्रदेशबाट संघमा उक्लिन खोज्दा पराजित हुने एक्ला मुख्यमन्त्री पनि हुन् ।
उता एकीकृत समाजवादीका सचिव राजेन्द्र राई एमाले छाडेपछि कोशीको मुख्यमन्त्री पदमा पुगे । शेरधन पहिलो हुँदा उनी पनि तेस्रो मुख्यमन्त्रीका रुपमा कोशीको सत्तामा पुगे । राजेन्द्रले पनि भोजपुरमा अर्बौँ बजेट हालेको बताइन् ।
आफूले भोजपुरका लागि छुट्याएको बजेट हिक्मत कार्की मुख्यमन्त्री हुँदा काटिदिएपछि अदालतमा मुद्दा हालेर निरन्तरता दिए । अहिले उक्त बजेटले भोजपुरको खासगरी प्रदेश १ क्षेत्रमा सडकदेखि अन्य पूर्वाधार धमाधम बनिरहेका छन् ।
दुवैजना पहुँचवाला नेताहरू हुँदा पनि लगानी सम्मेलनमा भोजपुर प्राथमिकतामा परेन । कोशीका १४ जिल्लामा लगानी सम्मेलनले नपत्याउनेमा भोजपुर पनि परेको छ
यी दुवैजना पहुँचवाला नेताहरू हुँदा पनि लगानी सम्मेलनमा भोजपुर प्राथमिकतामा परेन । कोशीका १४ जिल्लामा लगानी सम्मेलनले नपत्याउनेमा भोजपुर पनि परेको छ। पर्यटनतर्फ २१ वटा परियोजना सोकेसमा राखिँदा पनि भोजपुरलाई कार्की नेतृत्वको सरकारले पत्याएन ।
वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले अलग दलमा रहेका राजेन्द्रका माग नसुन्नु स्वभाविक हुन सक्छ । यसअघि राजेन्द्रले मुख्यमन्त्री हुँदा छुट्याएको बजेट हिक्मत मुख्यमन्त्री हुँदा रोकिदिएकाले पनि यस पटकको लगानी सम्मेलनबाट योजना सोकेसमा नपार्नु अनौठो भएन ।
तर आफ्नै दलका शेरधनलाई पनि माइनस गर्ने गरी लगानी सम्मेलनबाट एउटा पनि परियोजना कार्कीले सोकेसमा पारिदिएनन्।
पछिल्लो समय यी दुई नेताबीच सम्बन्ध पनि राम्रो नरहेको उनीहरू निकटस्थ नै बताउँछन् । शेरधनले हिक्मतमाथि कार्यक्षमता नभएको नेताका रुपमा टिप्पणी गर्ने गरेका छन् । स्रोतका अनुसार उता कार्कीले आफू सिनियर भए पनि शेरधनले सम्मानभाव देखाउन कञ्जुस्याइँ गरेको गुनासो गर्ने गरेका छन् ।
यी दुई नेता एमालेका मञ्चहरूमा सार्वजनिक रुपमा संयोगवश एकठाउँ त देखिन्छन् । तर, उनीहरूबीच सौहार्दता भने छैन । शेरधन एमाले कोशी प्रदेशका इन्चार्ज पनि हुन् । हिक्मतले पार्टी इन्चार्जका रुपमा शेरधनबाट राम्रो साथ सहयोग नपाएको पनि गुनासो गर्ने गरेको स्रोत बताउँछ ।
हिक्मत र शेरधनबीचको चिसिएको सम्बन्धको असर पनि लगानी सम्मेलनमा देखिएको चर्चासमेत नेता-कार्यकर्ताबीच हुने गरेको छ ।
भोजपुरमा खासगरी मुन्धुम ट्रेललाई नयाँ गन्तव्यका रुपमा विकसित गरिँदैछ । जसका लागि स्थानीय सरकारहरूले निरन्तर लगानी गरिरहेका छन् । यो ट्रेललाई विस्तार गर्ने योजना पनि अघि बढाइएको छ ।
चतरा-बराहक्षेत्रबाट सुरू गरेर भोजपुरको हतुवागढी, ट्याम्के-मैयुङ हुँदै साल्पा-सिलिछोदेखि सोलुखुम्बुसम्म लैजाने योजना छ । तर यो ट्रेल पनि प्रदेश सरकारको सोकेसभित्र पर्न सकेन ।
प्रदेश सरकारले सोकेसमा राखिएका योजनामा ‘सबै पहाडी जिल्ला’मा कोदोको रक्सी परियोजनालाई उद्योग शीर्षकमा राखिएको छ । दुई पूर्वमुख्यमन्त्री समेटिएको अर्को परियोजना हो ‘डिजिटल कोशी प्रोजेक्ट ।’ जसलाई समग्र प्रदेशभर सञ्चालन गर्ने भनिएको छ ।
कार्की नेतृत्वको सरकारले कोशीका अन्य १२ जिल्लाका लागि पूर्वाधार, पर्यटन, उद्योग, कृषि, ऊर्जा, आईटीसहितका क्षेत्रमा योजना सोकेसमा राख्दा भोजपुर र तेह्रथुम भने हेपिएका छन् । यी दुई जिल्लाका लागि एउटा पनि योजना प्रदेश सरकारले सोकेसमा नराखेको हो ।
उता भोजपुरमा भने दुई-दुईजना पूर्वमुख्यमन्त्री हुँदा हुँदै एउटा पनि योजना सोकेसमा राख्न नसकेको भन्दै आलोचना सुरू भएको छ ।


प्रतिक्रिया