नेपाल र भारतका सेना कञ्चनजङ्गा चढ्दा सिक्किममा विरोध किन ? | Khabarhub Khabarhub

नेपाल र भारतका सेना कञ्चनजङ्गा चढ्दा सिक्किममा विरोध किन ?

कैलाश पर्वतमा जस्तै कञ्चनजंगा आरोणमा पनि प्रतिबन्ध लगाइनुपर्ने सिक्किमका पहिचानवादीको माग


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली भूमिमा पर्ने कञ्चनजङ्गा हिमाल आरोहणको विषयलाई लिएर यतिबेला भारतको सिक्किम राज्यमा विवाद चर्किएको छ । गत जेठ ५ र ६ गते नेपाली सेनाका १० र भारतीय सेनाका ५ जना सम्मिलित संयुक्त आरोहण दल कञ्चनजङ्गाको शिखरमा पुगेको विषयले सिक्किममा बहस निम्त्याएको हो ।

दुबै देशका सेनाको संयुक्त आरोहण दलले ताप्लेजुङस्थित नेपालको दोस्रो तथा विश्वको तेस्रो (८५८६ मिटर) अग्लो हिमालको आरोहण गरेको थियो । आरोहण दलको नेतृत्व सेनानी गजेन्द्र देउवाले गरेका गरेका थिए ।

भारतीय टोलीको नेतृत्व कर्नेल सर्फराज सिंहले गरेका थिए । यो टोली ०८२ जेठ ७ गते बिहान ७:१० मा कञ्चनजङ्गाको शिखरमा पुगेको थियो । टोलीले नेपाल र भारतको झण्डका साथै संयुक्त राष्ट्र संघको झण्डासमेत फहराएको थियो ।

त्यस्तै, भारतको अरुणाचल प्रदेशको राष्ट्रिय पर्वतारोहण तथा साहसिक खेलकुद प्रतिष्ठानका तर्फबाट कर्णेल रणवीर सिंह जम्वाल नेतृत्वको टोलीले कञ्चनजङ्गाको सफल आरोहण गरेको थियो । सो आरोहण दलमा जम्वालसँगै नेहपाल सिंह, केवल क्रिसान, छेवाङ चोसगइल र सुशील कुमार पनि थिए । उनीहरु सबै भारतीय सेनामा कार्यरत छन् । टोलीमा अरु चार जना शेर्पा पनि सहभागी रहेका थिए । ‘हर शिखर तिरङ्गा’ अभियानअन्तर्गत उनीहरुले नेपाली भूमिबाट गत मे १८ अर्थात् जेठ ४ गते बिहान ११ बजे कञ्चनजङ्गा आरोहण गरेका थिए ।

कञ्चनजङ्गा हिमाल संवेदनशील भूगोलमा अवस्थित छ । नेपालको ताप्लेजुङ जिल्लामा पर्ने यस हिमालको पूर्वी सीमाना सिक्किमसँग जोडिन्छ । सोहीअनुसार भारतले पनि यो हिमाल आफ्नो भूभागमा पर्ने दाबी गर्दै आएको छ । यो हिमालको पूर्वतर्फ सिक्किममा कञ्चनजङ्गा राष्ट्रिय निकुञ्ज र पश्चिममा नेपालतर्फ कञ्चनजङ्गा संरक्षण क्षेत्र पर्छ । यसको केही उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ ।

उसै पनि नेपालतर्फबाट कञ्चनजङ्घा हिमाल आरोहण सहज मानिन्छ । सिक्किमको तुलनामा नेपालतर्फबाट कञ्चनजङ्गा आरोहण गर्न पूर्वाधार र पहुँच पनि सहज रहेको बताइन्छ ।

सिक्किमतर्फबाट कञ्चनजङ्गाको शिखरमा पुग्न उर्ध्व उकालो चढ्नुपर्छ । त्यसबाहेक यस क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदायका लागि यस पर्वतको धार्मिक तथा साँस्कृतिक महत्व पनि धेरै छ । सोही कारण पनि सिक्किमतर्फबाट कञ्चनजङ्गा आरोहणमा बन्देज लगाइएको छ ।

सिक्किम र पूर्वी नेपालमा बसोबास गर्ने लेप्चा र भुटिया समुदायले ८ हजार ५ सय ८६ मिटर उचाइ भएको यस हिमाललाई पवित्र पर्वतका रुपमा लिने गरेका छन् ।

शेर्पा भाषामा यस हिमाललाई ‘खाङ्चेन चेङा’ भन्ने गरिन्छ । यसको अर्थ पाँच देवदेवीको बासस्थान हुन आउँछ ।

सिक्किममा कञ्चनजङ्गालाई ‘फो ल्हा’ भनिने कुल देवताका रुपमा पुज्ने चलन छ । कञ्चनजङ्गा पर्वतको सम्मानमा स्थानीय समुदायले हरेक वर्ष पाङल्हाब सोल पर्व पनि मनाउँदै आएका छन् । यस पर्वमा सिक्किममा बिदा समेत दिइन्छ ।

यसै आधारमा सिक्किमले आफ्नो सार्वभौमिकता दाबी गर्ने स्थानबाट कञ्चनजङ्गाको आरोहणमा भारतले सन् २००१ देखि रोक लगाएको हो । सन् १९९१ को प्रार्थानास्थल ऐन अनुसार सिक्किममा यस्तो व्यवस्था गरिएको हो ।

सोही कारण यस आरोहणलाई लिएर सिक्किममा चर्को विरोध भइरहेको छ । भारतीय सेनाको आरोहण दलले कञ्चनजङ्गा आरोहण गरेको समाचार सार्वजनिक भएपछि सिक्किमका राजनीतिक दलहरु र विभिन्न पहिचान पक्षधर संघसंस्थाले त्यसको विरोध गरेका छन् । उनीहरुले कञ्चनजङ्गाको आरोहण रोक्न सिक्किम सरकार असफल भएको टिप्पणी पनि गरिरहेका छन् । उनीहरुले आइन्दा कञ्चनजङ्गा पर्वतमा आरोहण हुन नदिन आवश्यक कदम चाल्न पनि सिक्किम सरकारसँग माग गरेका छन् ।

सिक्किम भोटिया लेप्चा एपेक्स कमिटी (सिब्ल्याक) का संयोजक छितेन टाशी भोटियाले यस आरोहणप्रति दुःख व्यक्त गर्दै आपत्ति जनाएका छन् । भोटिया भारतको केन्द्र सरकार सञ्चालन गरिरहेको भारतीय जनता पार्टी भाजपाको सिक्किम एकाइका प्रमुख सल्लाहकार पनि हुन् ।

भोटियाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सिक्किमका जनताका लागि कञ्चनजङ्गा केवल एउटा चुचुरो मात्र होइन, यो हाम्रो संरक्षक देवता हो, हाम्रो भूमिको दिव्य रक्षक, जुन हाम्रो आस्था, परम्परा र सामूहिक पहिचानका रुपमा स्थापित छ र यसलाई भारतीय संविधानको धारा ३७१ एफ अन्तर्गत संरक्षण गरिएको छ ।’

उनले तिब्बतको कैलाश पर्वतको धार्मिक महत्वको सम्मान गर्दै चीन सरकारले आरोहणमा पूर्ण प्रतिबन्ध लगाएको बताउँदै सिक्किम सरकारले पनि सबैभन्दा पवित्र पर्वतको आरोहण अभियानलाई किन रोक्न नसकेको ? भन्ने प्रश्न समेत गरेका छन् ।

त्यसैगरी, सिक्किम शेर्पा प्रोटेक्सन फोर्सका अध्यक्ष सोनाम ग्याछो शेर्पाले पनि कञ्चनजङ्गा पर्वत आरोहणको विषयमा विरोध जनाएका छन् । उनले यस घटनाप्रति सिक्किम सरकारको मौनताप्रति पनि प्रश्न उठाएका छन् ।

नेपाली भूमिबाट भइरहेको आरोहणको गान्टोकमा विरोध हुन थालेपछि सिक्किम सरकारले यसमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै प्रष्टीकरण दिएको छ । सिक्किमले यो आरोहणमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको पनि स्पष्ट पारेको छ ।

तिमात्रै नभई सिक्किमले यस आरोहणका भारत सरकारले समेत अनुमति नदिएको दाबी गरेको छ । यो आरोहणको सबै काम नेपालतर्फबाट भएकोे स्पष्टीकरण दिइएको छ ।

सिक्किम सरकारका पर्यटन एवं नागरिक उड्डयनमन्त्री टीटी भोटियाले सिक्किमबाट कञ्चनजङ्गा पर्वतको आरोहण गरिएको भन्ने आरोप निराधार रहेको स्पष्ट पारेका छन् । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले कञ्चनजङ्गा पर्वत आरोहणका लागि सिक्किमबाट कुनै पनि प्रकारको अभियान नभएको बताए ।

पवित्र पर्वतको आरोहण गर्ने गराउने कार्य सिक्किम सरकारले भुलेर पनि नगर्ने उनको भनाइ छ । मन्त्री भोटियाले आरोहणको खबर प्रकाशमा आउनेबित्तिकै मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस) गोलेले केन्द्रीय गृह मन्त्रालयमा पत्राचार गरेर यसबारे जानकारी दिएको पनि उल्लेख गरे ।

कञ्चनजङ्गा हिमाल आरोहणका विषयलाई लिएर सिक्किममा विरोध भएपछि मुख्यमन्त्री गोलेले गृहमन्त्री अमित शाहलाई सम्बोधन गरेर लेखेको पत्रसमेत सार्वजनिक भएको छ ।

यो पनि-

कञ्चनजङ्गा आरोहण रोक्न भारत सरकारलाई सिक्किमको पत्र, नेपाललाई दबाब दिन पीएस गोलेको माग (पत्रसहित)

उक्त पत्रमा मुख्यमन्त्रीले सिक्किमे जनताको आस्था र सांस्कृतिक मूल्य विपरीत पवित्र हिमालमा आइन्दा कुनै आरोहण नगराउनका लागि यो विषय नेपाल सरकारसमक्ष पेश गर्न गृहमन्त्री शाहसमक्ष आग्रह गरेका छन् ।

पत्रमा उनले नेपालतर्फबाट कञ्चनजङ्गा आरोहण गरिएको समाचारप्रति चिन्ता प्रकट गर्दै यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गरिएको जनाएका छन् । उनले यस विषयलाई नेपाल सरकारसमक्ष राख्न र भविष्यमा आरोहणमा बन्देज लगाउनका लागि नेपाललाई आग्रह गर्नसमेत माग गरेका छन् ।

सिक्किमेहरुले कञ्चनजङ्गा आरोहणमा गर्न नपाइने भन्दै नेपालतर्फबाट ‘अतिक्रमण’ भइरहेको आरोप लगाउँदा नेपाल सरकार भने अहिलेसम्म मौन छ । यद्यपि अहिलेको विवाद भने नेपालीहरुका तर्फबाट मात्रै नभएर स्वयं भारतीय सेनाकै टोलीले कञ्चनजङ्गा आरोहण गरेपछि उब्जिएको हो ।

पहिले नेपालजस्तै स्वतन्त्र देशका रुपमा रहेको सिक्किम यतिबेला भारतको प्रान्तीय राज्यका रुपमा रहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ८ : ४७ बजे

बस्नेत र पहारीको तर्क- पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुँदैन, एमालेमा ओलीको विकल्प छैन

काठमाडौं- नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले

‘६१ लाख फन्डा’ले ‘माग्ने राजा’लाई ब्याकफायर गरेपछि निर्देशकले मागे माफी, निर्माता बोल्दै बोलेनन् !

काठमाडौं – फिल्म ‘माग्ने राजा’का निर्देशक ऋषि लामिछानेले ‘६१ लाख

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

किमाथाङ्का– सङ्खुवासभामा हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन्

स्वास्थ्यमन्त्रीको एक वर्ष : सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्तमान सरकार गठनको एक वर्षमा

व्यास नगरपालिकामा १८ लाख बढी छात्रवृत्ति वितरण

तनहुँ–  व्यास नगरपालिका कार्यालयले २०८१-८२ मा २०६ विद्यार्थीलाई १८ लाख