कोदोप्रति किसानको आकर्षण, बाजुराबाट वर्ष दिनमै ५० लाख रुपैयाँको निर्यात « Khabarhub

कोदोप्रति किसानको आकर्षण, बाजुराबाट वर्ष दिनमै ५० लाख रुपैयाँको निर्यात


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी – कोदो प्रतिको दृष्टीकोण नफेरिए पनि यहाँका किसानका लागि प्रमुख आम्दानीको स्रोत बन्न पुगेको छ । कोदो उत्पादन गर्ने र उपयोग गर्ने कुरामा अझै किसानहरु कम उत्साहित छन् र उति इच्छुक देखिंदैनन् । तर पनि बजारको बढ्दो माग हेर्दा यहाँका किसानका लागि प्रमुख आम्दानीको स्रोत नै कोदो बन्ने देखिन्छ ।

बाजुराबाट मात्रै गएको वर्ष ५० लाख बढीको कोदो जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्‍क छ । कोदो पहाडी क्षेत्रका गाउँहरुमा जताततै उत्पादन हुने खाद्यान्न बाली हो । प्राय नेपालका पहाडी भूगोलमा पर्ने सबैजसो गाउँमा कोदो उत्पादन हुन्छ । त्यसैमा सुदूरका पहाडी जिल्ला बाजुरा, अछाम, बझाङ, डोटीलगायतका जिल्ला कोदोको प्रमुख उत्पादन केन्द्र नै हुन् ।

बाजुराबाट मात्रै व्यवसायिक खेतीबिनै आर्थिक वर्ष २०८१।८२ मा ५० लाख रुपैयाँभन्दा बढीको कोदो निर्यात गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जसिराम सहानीले जानकारी दिए । कोदो खेतीलाई व्यवसायिक रुपमा प्रवर्द्धन गरी उत्पादन बढाउन सके यहाँका किसानको जीवनस्तरमा राम्रै सुधार हुने सहानीको विश्वास छ ।

ज्ञान केन्द्रको तथ्याङ्‍कअनुसार गएको वर्ष बाजुराबाट दुई करोड ८० लाख बराबरको कृषि वस्तु जिल्ला बाहिर निर्यात छ । त्यसमध्ये कोदो मात्रै ५० लाख रुपैयाँ बढीको निर्यात गरिएको छ । कोदोसँगै सिमी, आलु, बन्दा, कागती, सुन्तला, फापर पनि निर्यात हुने गरेको छ । कोदो बाजुराका सबै भूगोलमा उत्पादन हुन्छ । कम लगानी मै उत्पादन हुने हुँदा यसको सम्भावना धेरै रहेको कृषि क्षेत्रका जानकार बताउँछन् ।

बाजुरामा पाँच हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा करिब ६ हजार मेट्रिकटन कोदो उत्पादन हुने गरेको छ । जिल्लामा पछिल्लो समय कोदो उत्पादन दिनप्रतिदिन घट्दै गएको छ भने यसको महत्व बारे किसान जानकार हुन थालेका छन् । कोदो खेतीमा मात्रै किसानको आकर्षण बढ्न सके यहाँका किसानले गाउँमै करोडौंको आम्दानी गर्न सक्ने अवस्था छ ।

यहाँका सामान्य परिवारले पनि पाँच क्विन्टलदेखि ४० क्विन्टलसम्म कोदो उत्पादन गर्ने गरेको तथ्याङ्‍क छ । तर कोदो बिक्री हुन्न, कसैले खाँदैनन्, गरिबीको ट्याग लाग्छ भनेर कतिपयले जमिन बाँझो छोड्नु हुन्न भन्ने मान्यताले मात्रै लगाउने गरेका छन् । बाजुराका किसान पछिल्लो समय कोदो खेतीमा आकर्षित देखिन्छन् । कोदो बाजुराबाट धनगढी, काठमाडौं, चितवन र भैरहवा निर्यात हुने गरेको छ ।

कोदो : हेलामा परेको खाद्य बाली

कम लागतमै राम्रो फल्ने खाद्यान्न बाली हो, कोदो । तर यहाँका किसानले त्यही कोदोलाई कुनै महत्व दिएको पाइँदैन । गाउँतिर कमजोर र गरिब परिवारले उपभोग गर्ने अन्न बालीका रुपमा लिइन्छ कोदोलाई । कोदो खाने मान्छे गरिब हुन्छ भन्ने गलत मान्यता र हेलाको दृष्टी अझै हाबी देखिन्छ । गहुँ, मकै र चामललाई मात्रै यहाँका स्थानीयले खाद्यान्न बाली मान्ने गरेका छन् ।

यही गलत मान्यताकै मागअनुसार कोदो उत्पादन भएको देखिंदैन् । खाली जमिनमा सामान्य खनजोतपछि कोदो बाली फल्ने गर्छ । वर्षामा फल्ने हुनाले सिँचाइको आवश्यकता पर्दैन । कोदोको बजार मूल्य पनि अरुको भन्दा बढी छ । तर स्थानीयले अझै धान, गहुँलाई मात्रै महत्व दिने गरेका छन् ।

सुदूरका पहाडमा कोदो माघ महिनाभर खानै हुँदैन । धामी झाँक्रीले नै ‘कोदो खाँदा जुठो हुन्छ । यो चोखो अन्न होइन । धार्मिक कार्यमा चढाउनु हुन्न ।’ भनिदिन्छन् । गलत मान्यता हाबी छन् । माघ मास धार्मिक महिना भएकाले कोदो खानु हुन्न । मठ मन्दिरमा चढाउनु हुन्न भन्ने मान्यता समेत हाबी छ ।

बजारमा कोदोको माग बढिरहेपछि यहाँका किसानलाई केही चेतना आएको देखिन्छ । शहरीया जीवनशैली बदलिएको छ । खानपानमा फरक स्वाद खोजिएको देखिन्छ । त्यसमा कोदो प्रमुख रोजाइ बनिरहेको छ ।

मानव स्वास्थ्यका लागि उपयोगी

कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । कोदोको गुण होइन रङ्‍ग देखेर मान्छे धारणा बनाउँछन् । तर, कोदो कम गुणकारी खाद्यान्न भने होइन । महत्त्व नबुझेर वा बुझेर पनि कमजोर खानाका रुपमा लिएर मात्रै हेलामा परेको खाद्य बाली हो ।

यसमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइने पोषणविद् बताउँछन् । कोदोमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । कोदो भविष्यको स्मार्ट खाना र शहर बजारमा अत्यधिक माग हुने खानाका रुपमा उपभोग हुँदै आएको छ ।

कोदो हाम्रो मुलुकका लागि फयुचर स्मार्ट फुड (भविष्यको स्मार्ट भोजन) हो, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पनि ‘यसलाई ढिँडोका रूपमा मात्र नभई मःम, सेल रोटी, बिस्कुट, चाउचाउ र रोटीलगायतका आधुनिक परिकारका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिँदै आएको छ ।

सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । स्वास्थ्यकर्मीले समेत मानव स्वास्थ्यका लागि अति फाइदाकर र उपयोगी खाना भएकाले अरु अन्न बाली भन्दा बढी प्रयोग गर्न सुझाव दिने गरेका छन् ।

कोदोबाट बनेको परिकार खाजाका रुपमा खाँदै विद्यार्थी : बाजुराको बडीमालिका नगरपालिकाले सामुदायिक विद्यालयमा खाजाका रुपमा कोदोको परिकार दिन प्रोत्साहित गरेको छ ।

कोदोको महत्त्व बढाउँदै स्थानीय तह, सामुदायिक विद्यालयको खाजामै कोदोको परिकार

कोदो बालीको प्रवर्द्धन र महत्त्व बढाउन यहाँका स्थानीय तहले कोदो दिवस भव्य रुपमा मनाएका छन् । स्थानीय कोदोको परिकार प्रर्दशनसहित कतै वक्तृत्व कला कतै अन्तर्क्रियासहित दिवस भव्य मनाइएको छ । सरकारले मन्त्री परिषद्को निर्णयअनुसार नै साउन १६ लाई कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ । निर्णय २०८२ असार २३ गते गरिएको हो ।

यो वर्षको कोदो दिवसको नारा नै ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ तय गरिएको थियो । सरकारकै प्राथमिकतामा परेपछि स्थानीय स्तरबाटै कोदो उत्पादनमा वृद्धि र प्रवर्द्धन गर्न सहयोग पुग्ने देखिन्छ । कोदोको राष्ट्रिय दिवसका मनाउने घोषणा गरेसँगै जिल्लाका स्थानीय पालिका रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जुटेका छन् ।

‘हामीले मङ्सिर १ लाई कोदो दिवसका रुपमा मनाउने घोषणा गरेका थियौं, त्यहीअनुसार गएको वर्षदेखि नै कोदो दिवस मनाउँदै आएका थियौं, सरकारले नै यसको महिमा बुझेर नीतिगत निर्णय गरेपछि झन बल पुग्यो, उत्पादन बढ्ने भयो ।’ बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले भने ।

कोदोको उत्पादनले पोषण, खाद्य सुरक्षा तथा कृषि विविधीकरणमा मात्रै नभई ग्रामीण क्षेत्रका किसानको जीवनस्तरमै सुधार हुने विश्वास प्रमुख खड्काको छ । उसो त बडीमालिका नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा खाजाका रुपमा कोदोको परिकार दिने गरिएको छ ।

सरकारले यो वर्ष निर्णय गरे पनि बडीमालिका नगरपालिको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा रैथाने बाली कोदोलाई प्राथमिकता दिंदै हरेक वर्षको मंसिर १ गतेलाई कोदो दिवसको रुपमा मनाउँदै आएको छ । कोदोले नै यहाँका केही किसान परिवारको जीवन नै कायापलट हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : २३ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे