महाकाली नदीको कटानले बस्ती जोखिममा « Khabarhub

महाकाली नदीको कटानले बस्ती जोखिममा


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– १० स्थित कुतियाकवर जोखिममा परेको छ ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।

बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि नदीको कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनारले बताए । उनका अनुसार डुबान र कटानका कारण यहाँबाट अधिकांश बसाइँ सरेर अन्यत्र गइसकेका छन् ।

‘नदीले निरन्तर कटान गरिरहेकाले नदी बस्ती छेउमा पुगिसकेको छ । सरकारले यहाँ तटबन्ध निर्माण गर्नुपर्नेमा हालसम्म नगर्दा बस्ती साँघुरिदै गएको छ’, उनले भने, ‘नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । हामीलाई त बस्ती नै नदीमा समाहित हुने चिन्ता बाढ्दै गएको छ ।’

२०२२ सालदेखि बस्ती बसेको कुतियाकवरमा यसअघि १५० परिवारको बसोबास थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि १०० परिवार विस्थापित भएका छन् । २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेर नगरसँग जोडिएपछि स्थानीयलाई केही राहत भएको थियो । त्यसअघि स्थानीयलाई नगरपालिका पुग्न ढुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

‘विगतका वर्षमा आउने बाढीबाट धेरै दुःख पायौँ’, स्थानीय खडक बूढाले भने, ‘२०७८ को बाढीले गाईभैँसी, बाख्रा सबै बगायो । घरमा रहेको अन्न पनि बचेन ।’ यसवर्ष जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु भएपछि डुबानबाट सुरक्षित हुने आशा गरिएको बताउँदै उनले निर्माण सम्पन्न नहुँदा निरन्तर कटान भइरहेको उल्लेख गरे । उनका अनुसार केही वर्षअघिसम्म बाक्लो बसोबास रहेको कुतियाकवर बाढीका कारण धेरै बसाइँ सरेर अन्यत्र गएपछि बस्ती पातलिँदै गएको हो ।

दोधारा–चाँदनीका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरमा महाकाली नदीले कटान गरिरहेकाले बस्तीको सुरक्षाका लागि दुई वटा ‘सेफहाउस’ (सुरक्षित आवास) निर्माण गरिएको बताए । ‘महाकाली नदीले बस्तीको भूभाग कटान गरिरहेको छ, हामीले पानी घटेको स्थानमा ग्राभेल हालेर सुरक्षाको उपाय अपनाइरहेका छौँ’, उनले भने, ‘मानवीय क्षति हुन नदिन पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ ।’ उनले महाकाली र जोगबुढा नदीका विभिन्न स्थानमा जलमापन यन्त्र जडान गरेर त्यहाँको सूचना सिधैँ नगरपालिकामा आउने व्यवस्था मिलाइएको उल्लेख गरे ।

बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो । ढिलोगरी ठेक्का सुरु भएकाले नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम नगर्दा पूर्ण हुन नसकेको नगरप्रमुख लिम्बूले जानकारी दिए ।

तटबन्ध निर्माणका लागि कार्यालयले गत चैत २५ गते पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध आगामी चैत २५ भित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

‘करिब ५० बिघा क्षेत्रफलमा रहेको बस्ती हरेक वर्षको कटानले साँघुरिदै गएको छ । कटानका कारण सीमास्तम्भ नम्बर २२ लामो समयदेखि हराइरहेको छ । २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ’, लिम्बूले भने । (रासस)

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ९ : ३४ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन