सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा « Khabarhub

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल अवरुद्ध भएपछि स्थानीय जनजीवन कष्टकर बनेको छ । सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको छ भने कृषक, व्यवसायी र बिरामीसमेत प्रत्यक्ष मारमा परेका छन् ।

बाढी गएको एक महिना बितिसक्दा पनि सडक सञ्चालनमा आउन नसकेपछि रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् । सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका होलसेल व्यापारीसमेत प्रभावित भएका छन् ।

रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङका अनुसार बाढीअघि सहज रूपमा सामान ढुवानी हुने गरेकामा अहिले सडक नहुँदा ढुवानी खर्च अत्यधिक बढेको छ । ‘सडक नहुँदा सामान ल्याउनै सकिँदैन, पाइहाले पनि ढुवानी खर्च मात्रै प्रतिपटक ५० हजारभन्दा बढी लाग्ने गरेको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा सरकारले राहत बाँड्नुभन्दा सडक सञ्जाललाई तत्काल जोडिदिए हामी व्यापारी र आम उपभोक्ता दुवैलाई सहज हुने थियो ।’

अर्का स्थानीय व्यवसायी सुन्दर श्रेष्ठले पनि सडक अवरुद्ध भएपछि मागअनुसार सामान भित्र्याउन नसकिएको र ढुवानी खर्च बढेको बताए। उनका अनुसार पहिले सहज रूपमा सामान भित्रिने गरेकामा अहिले दैनिक उपभोग्य वस्तुको आपूर्तिमै समस्या देखिएको छ ।

सडक अवरुद्ध हुँदा कृषकसमेत ठूलो आर्थिक क्षतिमा परेका छन् । भौगोलिक रूपमा विकट यस क्षेत्रका किसानले वर्षभरिको खर्च धान्न व्यावसायिक रूपमा लगाएको बन्दाकोपी तथा काउली बजारसम्म पुर्‍याउन नसक्दा बारीमै कुहिन थालेको छ । गतलाङमा उत्पादित लाखौँ रुपैयाँ मूल्य बराबरको कृषि उपज सडक अवरुद्ध भएकै कारण बजारमा लैजान नसकिएको स्थानीयवासीले बताएका छन् ।

गतलाङका स्थानीय फुर्पु सिङ्गी तामाङले राहतले केही समयको आवश्यकता धान्न सक्ने भए पनि दीर्घकालीन समस्या समाधानका लागि सडक सञ्चालनमा ल्याउनुपर्ने बताए।

 ‘बाढी गएको एक महिना बित्यो । राहतले केही महिना पुग्ला तर सधैँ पुग्दैन । कृषि उपज बजारमा लैजान नपाउँदा लगानी डुब्यो,’ उनले भने, ‘त्यसैले अहिले राहतभन्दा सडक सञ्जाल सञ्चालनमा ल्याउन प्राथमिकता दिनुपर्छ ।’

सडक सञ्जाल विच्छेद हुँदा स्वास्थ्य सेवासमेत प्रभावित भएको छ । जटिल प्रकृतिका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान सडक सुविधा नभएपछि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि हेलिकप्टरको खर्च धान्न कठिन छ ।

‘जटिल बिरामी पर्दा पैसा हुने हेलिकप्टरमार्फत काठमाडौँ जान्छन्, तर पैसा नहुने गरिब गाउँमै मर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले जति सक्दो चाँडो सडक खुलाउनुको विकल्प छैन ।’

दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन नुवाकोटलगायतका क्षेत्रबाट एस्काभेटर तथा डोजर ल्याएर काम भइरहेको छ ।

‘सडक खुलाउने काम भइरहेको छ । डाइभर्सन तथा पुल बनाउन केही समय लाग्ने देखिएको छ,’ प्रजिअ पाण्डेले भने, ‘निरन्तरको वर्षाका कारण काममा केही ढिलाइ भए पनि स्थानीय प्रशासनको समन्वय तथा सहकार्यमा सडक खुलाउन तीव्र रूपमा काम भइरहेको छ ।’

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ६ : ३८ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि