खुला सिमाना हुँदा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या « Khabarhub

खुला सिमाना हुँदा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– गत मंगलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या भएको छ । 

कात्तिक लागेसँगै चिसो बढ्नुका साथै हिमपात भएपछि सुरक्षाका लागि खटिएका नेपाली सेना तथा निकुञ्जका कर्मचारीलाई समस्या भएको हो ।

उच्च भाग भएका कारण सधैँ चिसो नै मौसम हुने गर्दछ । छ महिना माथिल्लो भाग र छ महिना सुलिगाडमा बस्दै आएको निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले यो पटक छिटो हिमपात भएको बताएको छ ।

हिमपात भए पनि पर्यटक माथिल्लो भागमा रहेका कारण उद्धार तथा अन्य सुरक्षाका काम हुने भएकाले फोक्सुण्डो ताल नजिकै रहेको निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले जानकारी दिएको छ । 

निकुञ्ज रहेका क्षेत्रमा अग्ला हिमाल हुनुका साथै १२ महिना हिउँले ढाक्ने क्षेत्रसमेत रहेका छन् । चिसो तथा हिमपातले गर्दा स्थानीयवासीलाई सास्ती हुने गरेको छ । निकुञ्जभित्र २५ वटा गाउँ रहेका रहेका छन् ।

देशकै सबैभन्दा ठूलो यो निकुञ्जमा सबैभन्दा बढी हिउँ चितुवा पाइन्छ । निकुञ्जलेसमेत चिसो तथा हिमपातको समयमा निकुञ्जमा रहेका वन्यजन्तुको सुरक्षाका लागि विशेष पहल गर्दै आएको छ । चिसो मौसममा उपल्लो डोल्पाका अधिकांश स्थानीयवासी तल्लो क्षेत्रतीर चिसो छल्ने आउने गरेका छन् । 

चिसोमा फाइदा उठाएर चोरी निकासी गर्ने कार्यलाई रोक्न विशेष संयन्त्र परिचालन गरिएको निकुञ्जका निमित्त प्रमुख किशोरकुमार महतले जानकारी दिए । 

चिसोको समयमा पलममा रहेको पोष्टबाट रिग्मो, सन्दुवालगायत ठाउँमा सुरक्षा गस्ती हुने गरेर व्यवस्थापन गरिएको प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । उता शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले निकुञ्जको सुरक्षाका नाममा कहिलेकाहीँ मात्र माथिल्लो क्षेत्रमा आउने गरेको आरोप लगाए । 

‘निकुञ्जको सुरक्षा स्थानीय तथा प्रकृति आफैँले गरेको छ’, उनले भने, ‘वर्षमा दुई पटक अनुहार देखाएर निकुञ्जको सुरक्षा हुन सक्दैन । मैले निकुञ्जको टिमलाई यही सल्लाह दिएको छु । पोस्टहरू सबै खाली रहेका छन् । कार्यालय मात्र राखेर कर्मचारीविहीन बनाएर के काम ?’

समुद्र सतहबाट दुई हजार २५० देखि छ हजार ८८३ मिटर उचाइमा पर्ने उक्त निकुञ्ज विश्वमै हिउँ चितुवा धेरै घनत्व भएको निकुञ्ज मानिन्छ ।

निकुञ्जका संरक्षण अधिकृत अर्यालका अनुसार आजभोलि तस्करी कम भएको छ । निकुञ्ज सुरक्षार्थ बसेको सुम्दो, तोइजुम पोष्टसमेत मुख्य कार्यालय सुलिगाडमा गाभिन्छन् । त्यो समयमा मान्छेको चहलपहलसमेत शून्य हुने भएकाले पनि चोरी तस्करीको क्रम कम हुने उनको दाबी रहेको छ । 

यहाँ ताल अवलोकन गर्ने भन्दै निकुञ्जको अनुमतिविना नै सिधै हेलिकप्टरहरु निकुञ्जको मुख्य भू–भागमा बसाल्ने गर्दछन् । यस्तो कार्यले वन्यजन्तु तथा जडीबुटीसमेत तस्करी हुनसक्ने खतरा बढिरहेको स्थानीयवासीको आरोप छ । 

कोर एरिया बाहिर निकुञ्जको मुख्य कार्यालय छ । सेनाको गुल्म कोर एरियामा स्थापित छ । तर पनि निकुञ्जको तल्लो दक्षिणी सिमानामा यी कार्यालय रहेका छन् । संरक्षित वन्यजन्तु, जडीबुटी तथा प्राकृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदा दूरीका हिसाबमा निकुञ्ज र सेनादेखि टाढा रहेका छन् । 
 
यस्तो बाध्यताले पनि विविधताको संरक्षण सोचेअनुरूप गर्न नसकिएको स्थानीयवासीको भनाइ रहेको छ । द्वन्द्वकालमा निकुञ्जको मुख्य कार्यालय साविकको फोक्सुन्डो गाविसको ‘पलम’मा थियो । कार्यालय सञ्चालनका लागि चार वटा आधुनिक भवन बनाइएका थिए । 

निकुञ्जको मुख्य कार्यालय नै मध्यविन्दुमा पर्ने भएपछि निकुञ्जको सुरक्षा व्यवस्था कडाइ गर्न सहज भएको थियो । हत्तपत्त तस्करको निशाना पनि पर्ने सक्दैनथ्यो । 

जैविक विविधता संरक्षणमा प्रभावकारी कामकाज भएको थियो । द्वन्द्वकालमा कार्यालय भत्किएपछि तीन वर्ष विस्थापित अवस्थामा निकुञ्जको कामकाज भयो । 

त्यसपछि मुख्य कार्यालय नै सुलिगाडमा सरेको थियो । सुलिगाडमा निकुञ्जको मुख्य कार्यालय तथा सेनाको गुल्म छ । निकुञ्जको सबै भू–भाग उत्तरीक्षेत्रमा पर्ने र मुख्य कार्यालय नै कोर एरिया बाहिर पर्ने भएकाले सुरक्षा व्यवस्थामा चुनौती खडा भएको छ । 

डोल्पालीको आर्यआर्जनसँग जोडिएको यार्सागुम्बा सङ्कलनकर्ताका विभिन्न क्रियाकलापले अस्तित्व खतरामा परेको कार्यालय बताउँछ । जबसम्म यार्सागुम्बा सङ्कलन कम हुँदैन तबसम्म आपराधिक चहलखेल बढ्ने निकुञ्जको दाबी छ । 

निकुञ्जभित्रको मानव आवासका कारण पनि संरक्षण सम्वन्धनमा कठिनाइ भएको कार्यालयको ठहर छ । 

सूचना पार्टी नहुँदा अन्योलमा पर्यटक निकुञ्जसम्म पुग्ने बाटो तथा पुलहरु जीर्ण छन् । जसले पर्यटकलाई सास्ती हुने गरेको छ । प्रत्येक वर्ष निकुञ्जमा करोडौँ बजेट आउने गरे पनि संरचना भने जेनतेन छन् । 

बाटोमा विभिन्न स्थानको सूचना दिने सूचनापार्टी नहुँदा पर्यटकसमेत अन्योलमा पर्ने गरेको फोक्सुन्डो पुगेका पत्रकार पेसल आचार्य बताउछन् । 

बारम्बार ठाउँठाउँमा सूचनापार्टी राख्ने गरे पनि यार्सागुम्बा सङ्कलन गर्न गएकाले काटेर दाउराका रूपमा प्रयोग गर्ने गरेको निकुञ्जको भनाइ छ । 

शे–फोक्सुन्डो ताल, फोक्सुन्डो सुलिगाड झरना, शे गुम्बा, त्रिपुरासुन्दरी मन्दिर यहाँको मुख्य आकर्षण छन् भने हिउँचितुवा, हिमाली भालु, कस्तुरी, नावर दुलर्भ संरक्षित वन्यजन्तु रहेका छन् । यार्सागुम्बा, जटामसी, पाँचऔँले यहाँका बहुमूल्य जडीबुटी हुन् । 

शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । 

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँचितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइने निकुञ्जले जनाएको छ । 

निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पन्छीहरू, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको निमित्त प्रमुख महतको भनाइ रहेको छ । 

यहाँ पाइने हिउँचितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको उनले जानकारी दिए । 

छ हजार ८६६ मिटर अग्लो काञ्जीरोवा दक्षिण, छ हजार ५५६ मिटर अग्लो सिकाल्पो खाङ, सात हजार १३९ मिटर अग्लो वेज चुचुरोजस्ता हिमशिखरहरू रहेको निकुञ्जले जनाएको छ । दर्जन बढी  हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको निमित्त प्रमुख महतले जानकारी दिए । 

निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औँ शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । 

विविधतायुक्त निकुञ्ज तथा उपल्लो डोल्पा भएका कारण यहाँ पर्यटकहरू सङ्ख्या अत्यधिक हुने गर्दछ । पाँच वर्षको अन्तरालमा १९ हजारभन्दा बढी पर्यटक यहाँ घुम्न आएको निकुञ्जसँग तथ्याङ्क रहेको छ । 

छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएका कारण डोल्पालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । हालसम्म यहाँ सीमा सुरक्षाका लागि कुनै पनि व्यवस्था गरिएको छैन । खुला सिमाना भएकाले चोरी ,निकासीको त्रास बढिरहेको छ । 

वर्षमा एक पटक १५ दिनका लागि हाटबजारका लागि सीमा खुला गरिए पनि औपचारिक जानकारी दिए पनि अधिकांश समय यहाँ नेपालतर्फ कुनै पनि सुरक्षा जाँचचौकी नहुँदा खुला रहने गरेको छ । मरिम यहाँको प्रमुख नाका हो । धेरै अग्ला हिमाल काटेर चीनतर्फ जाने गरिन्छ ।

उपल्लो डोल्पामा स्थानीयवासीको चीनको तिब्बतसँग रहनसहन तथा भाषा मिल्ने भएकाले आउन जानसमेत सहज रहँदै आएको छ । 

उपल्लो डोल्पामा रहेको खुला नाकामा सुरक्षा व्यवस्था गरी सुरक्षाको प्रत्याभूति गराउन पटकपटक माग गरिएको भए पनि सुनुवाइ नभएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए । उपल्लो डोल्पामा तीन पालिका रहेका छन् । रासस

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : १९ बजे

ठमेलमा गन्तव्य बनेको ‘एलओडी क्लब’ सातौँ वर्षमा

काठमाडौं- ठमेलस्थित ‘एलओडी क्लब’ले सातौँ वर्षमा प्रवेश गरेको छ। क्लबले

४ वर्षमा पनि बनेन सूर्यविनायक-धुलिखेल सडक (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक निर्माण सुरु भएको

लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन

एजेन्सी– लिबियाबाट १४० जना अवैध  आप्रवासीहरूलाई उनीहरूको मूल देशमा निर्वासन

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

देउखुरी– दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल